ने.क.पा. (मसाल)को तात्कालिक राजनीतिक प्रस्ताव

(ने.क.पा.(मसाल)को २०७९ मंसिर २४-२६ गते बसेको बैठकमा प्रस्तुत तथा पारित)

(क)

यही २०७९ साल मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न भएको छ । त्यो चुनावको मुल्याङ्कन गरेर हामीले आगामी नीति र कार्यक्रम निश्चित गर्नु परेको छ । त्यो चुनावबारे विचार गर्दा हामीले त्योसित जोडिएको सम्पूर्ण राजनीतिक स्थितिबारे पनि विचार गर्नुपर्ने आवश्यकता छ । त्यो चुनावका सन्दर्भमा हाम्रो वा अन्य पार्टीहरूको कति जीत हार भयो ? त्यो कुरामाथि मात्र विचार गरेर पुग्ने छैन । त्यो चुनावको बेलामा विभिन्न देशी र विदेशी शक्तिहरूले खेलेको भूमिका तथा तिनीहरूको देशको राजनीतिमा सम्पूर्ण रूपले कति असर पर्नेछ ? त्यसबारे पनि हामीले विचार गर्नुपर्ने आवश्यकता छ । पार्टीको भूमिकामाथि विचार गर्दा आगामी दिनहरूमा हाम्रो नीति, कार्यक्रम र कार्यदिशा कसरी अगाडि बढाउने ? त्योसित जोडिएका सैद्धान्तिक, राजनीतिक र संगठनात्मक प्रश्नहरूबारे पनि हामीले मुल्याङ्कन गर्नुपर्ने आवश्यकता हुनेछ । ती कुराहरूमाथि ध्यान दिएर नै हामीले अहिलेको चुनावको मुल्याङ्ककन गर्नुपर्नेछ । त्यस सिलसिलामा मुख्यतः तलका विषयहरूमा विचार गर्नुपर्ने आवश्यकता छ ।

१. मंसिर ४ गते सम्पन्न चुनावको मुख्य उद्देश्य प्रतिगमनलाई पराजीत गर्नु नै थियो । हाम्रो त्यो उद्देश्य सामान्य रूपमा पूरा भएको छ । त्यो उद्देश्य पूरा गर्न पाँच दलीय गठबन्धन वा चुनावी तालमेलको महत्वपूर्ण भूमिका रहेको छ । जनताको उच्च स्तरको चेतनाका कारणले नै प्रतिगमनलाई पराजीत गर्नु सम्भव भएको छ । त्यसका लागि हामीले जनतालाई धन्यवाद दिनुपर्छ ।

२. नेपालको राजनीतिक इतिहासमा जब जब पनि प्रतिगमनको खतरा पैदा हुन्छ, त्यो अवस्थामा, प्रथम, आपसमा गम्भीर सैदान्तिक र राजनैतिक मतभेद भएका राजनीतिक पार्टीहरूले पनि आपसमा एकतावद्ध भएर प्रतिगमनका विरूद्धको संघर्षमा उत्रने गरेको ऐतिहासिक परम्परा छ । द्वितीय, उच्च प्रकारको जनचेतनाका कारणले जनता बारम्बार प्रतिगमनलाई पराजीत गर्न सफल हुने गरेका छन् । त्यो परम्परालाई कायम राख्दै अहिले पनि आपसमा गम्भीर प्रकारका मतभेद भएका राजनीतिक पार्टीहरूले गठबन्धन वा चुनावी तालमेल गरेर प्रतिगमनका विरूद्ध संघर्षमा उत्रे र त्यसलाई (प्रतिगमनलाई) पराजीत गर्न सफल भएका छन् ।

३. २०४६ साल वा २०६२/०६३ सालमा प्रतिगमनका विरूद्धको आन्दोलनको मुख्य उद्देश्य निरंकुश राजतन्त्र वा प्रतिगमनलाई समाप्त गर्नु थियो । तर अहिलेको प्रतिगमनका विरूद्धको संघर्षको मुख्य उद्देश्य आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धीहरू वा गणतन्त्र समेतको रक्षा गर्नु थियो । राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्न करिब डेढ दशकदेखि नै अभियान चलाउँदै आएका छन् । अब त्यो अभियानमा एमाले पनि थपिएको छ र अहिले त्यसले नै प्रतिगमनको मुख्य नेतृत्व गरिरहेको छ । ओलीले चुनावमा २ तिहाई वा बहुमत प्राप्त गर्ने दावी गरेका थिए । यदि गठबन्धन बन्न नसकेको भए उनले आफ्ना ती उद्देश्यहरू पूरा गर्ने थिए । उनले बारम्बार यो कुरामा जोड दिएका थिए कि गठबन्धन भंग भएर त्यसमा समावेश भएका राजनीतिक दलहरू एक्लाएक्लै चुनावमा उत्रनु पर्दछ । त्यसो भएको भए उनी बहुमतमा आउने धेरै सम्भावना थियो । तर पाँच दलीय गठबन्धन वा चुनावी तालमेलका कारणले उनका ती सबै दावीहरू असफल भएका छन् । ओलीको रणनीति सफल भएको भए देश निश्चित रूपले प्रतिगमन र अधिनायकवादतिर जाने सम्भावना थियो । ओलीले संसदमा दुई तिहाईको कुरा परै छ, बहुमत पनि प्राप्त गर्न सकेनन् । त्यो गठबन्धन वा चुनावी तालमेलको मुख्य सफलता हो । त्यो कारणले देश प्रतिगमन वा अधिनायकवादतिर जानुबाट रोकिएको छ ।

४. ओली वा एमालेका नेताहरूले बारम्बार यो स्पष्ट गर्ने गरेका थिए कि गठबन्धनलाई नतोडिकन चुनावमा उनीहरूलाई सफलता मिल्न सक्दैन । त्यसको लागि उनीहरूले विभिन्न प्रकारले प्रयत्नहरू पनि गरेका थिए । स्वयं गठबन्धनसित सम्बन्धित कतिपय दलहरू, खास गरेर नेकाभित्रको प्रतिपक्षले गठबन्धनका विरूद्ध सैद्धान्तिक रूपले नै हमला गरेको थियो । उनीहरूको मुख्य जोड यो कुरामा थियो कि “कम्युनिष्टहरूसित कुनै प्रकारको एकता वा गठबन्धन गर्न हुँदैन ।” आफ्नो पार्टीको केन्द्रिय कमिटीमा पनि उनीहरूले(नेकाको प्रतिपक्ष) त्यही प्रकारको अडान लिएका थिए । नेकाको केन्द्रीय कमिटीको बहुमतले गठबन्धनको पक्षमा निणर्य गरेको थियो । त्यसकारण नीतिगत रूपमा उनीहरूले त्यो निणर्यलाई स्वीकार गरे । तर व्यवहारमा उनीहरूले त्यो नीतिलाई असफल पार्न नै मुख्य शक्ति लगाए, यद्यपि कतिपय जिल्लाहरूमा स्थानीय स्तरमा नेकाभित्रको प्रतिपक्षका कतिपय स्थानीय नेता र कार्यकर्ताहरूले व्यक्तिगत रूपमा गठबन्धनलाई नै समर्थन गरेको वा संस्थापन पक्षका कतिपय नेता वा कार्यकर्ताहरूले व्यक्तिगत रूपमा गठबन्धनका उम्मेदवारहरूलाई भोट नदिएका उदाहरणहरू पनि पाइन्छन् । तैपनि देशभरको चुनावको सरसरी मूल्याङ्कन गर्दा के पाइन्छ भने मूल रूपमा नेकाको संस्थापन पक्षले गठबन्धनको पक्षमा भएको नेकाकोे गठबन्धनका उम्मेदवारलाई जिताउन इमान्दारीतापूर्वक प्रयत्न गरेको तथा प्रतिपक्षले गठबन्धनका उम्मेदवारहरू मात्र होइन आफ्नै पार्टीका पनि संस्थापन पक्षका उम्मेदवारलाई हराउन प्रयत्न गरेको पाइन्छ । नेकाभित्रको प्रतिपक्षको त्यस प्रकारको नीतिका वैचारिक स्रोतहरू के थिए र देशको राजनीतिमा त्यसका कुन प्रकारका गंभीर परिणामहरू हुनेछन् ? त्यसमाथि हामीले पछि प्रकाश हाल्ने प्रयत्न गर्नेछौँ । त्यसरी नेकाभित्रको प्रतिपक्ष गठबन्धन वा आफ्नै पार्टीका करिब दुईदर्जन उम्मेदवारहरूलाई हराउन सफल भएको अनुमान गर्न सकिन्छ । त्यसको पछाडिको उनीहरूको राजनीतिक उद्देश्य के थियो ? त्यसमाथि पनि हामीले पछि प्रकाश हाल्ने प्रयत्न गर्नेछौँ ।

५. कमरेड पुष्पलालले निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाका विरूद्ध कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले संयुक्त भएर संघर्ष गर्ने कुरामा जोड दिएका थिए । तर वीपीले कम्युिनस्टहरूसित कार्यगत एकताको प्रश्नलाई अस्वीकार गरेका थिए । त्यसैले वीपी जीवित रहँदासम्म निरंकुश व्यवस्थाका विरूद्ध कम्युनिस्ट र काँग्रेसको संयुक्त आन्दोलनको नीति कार्यान्वयन हुन सकेको थिएन । पछि गणेशमानले त्यो नीतिलाई अपनाए र २०४६ सालमा नेपाली काँग्रेस र सबै वामपन्थी शक्तिहरूले संयुक्त रूपमा निरंकुश राजतन्त्र र पंचायती तानाशाही व्यवस्थाका विरूद्ध संयुक्त भएर संघर्ष गरे । त्यसको परिणाम स्वरूप नै देशमा पंचायती तानाशाही व्यवस्थाको अन्त्य भयो र बहुदलीय व्यवस्था कायम भयो । यदि नेपाली कांग्रेसले वीपीको नीतिलाई नै अनुशरण गरिरहेको भए सम्भवतः २०४६ सालपछि पनि पञ्चायती तानाशाही व्यवस्था लामो समयसम्म कायम रहिरहेको हुन्थ्यो । गणेशमानको नीतिलाई पछि गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाहरूले पनि अगाडि बढाउँदै गए र अहिले शेरबहादुर देउबाले पनि त्यो नीतिलाई अनुशरण गरेको पाइन्छ ।

६. वीपीले अपनाएको नीति भनेर संभवतः उनका उत्तराधिकारीहरूले अहिले पनि कम्युनिस्टहरूसित कुनै एकता नगर्ने नीतिलाई समातेर बसेका छन् । यदि नेकाको नेतृत्वले अहिले पनि वीपीको कम्युनिस्टहरूसित एकता नगर्ने नीतिलाई नै अनुशरण गरिरहेको भए सम्भवतः अहिले पनि प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने थिएन । वीपीको त्यो बेलाको नीतिलाई उनका उत्तराधिकारीहरूले जडवादी रूपमा लिएको देखिन्छ । उनले (वीपीले) त्यो बेला केही हदसम्म आफ्नो सैद्धान्तिक मान्यता र अंशतः त्यो बेला भारतका शोसलिष्टहरूमा विद्यमान उग्र कम्युनिस्ट विरोधी नीतिको असरमा परेर कम्युनिस्टहरूसित नमिल्ने नीति लिएको भएपनि पछि देशको बदलिएको सन्दर्भ र राजनीतिक आवश्यकता अनुसार उनले आफ्नो त्यो नीतिमा परिवर्तन गर्न सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । तर वीपीका उत्तराधिकारीहरूले वीपीको त्यो बेलाको नीतिलाई अहिलेको राजनीतिक आवश्यकता अनुसार गतिशील रूपमा नलिएर जडवादी रूपमा लिएको पाइन्छ । उनीहरूको त्यो नीतिले अहिलेको चुनावमा गठबन्धनलाई मात्र होइन, स्वयं कांगे्रसलाई पनि धेरै नोक्सान त पुर्‍याएको छ नै, आगामी दिनहरूमा पनि त्यो नीतिले देशलाई गम्भीर क्षति पुर्‍याउन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

७. नेकाभित्रको प्रतिपक्षको गठबन्धन वा कम्युनिस्टहरूसितको एकतालाई विरोध गर्ने नीतिको पछाडि अर्को स्रोतले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । अमेरिकी साम्राज्यवादले विश्वव्यापी रूपमा नै कम्युनिस्ट विरोधी रणनीति अपनाएको कुरा सर्वविदित नै छ । त्यसले संसारका विभिन्न राजनीतिक पार्टी वा संघ-संस्थाहरूलाई पनि त्यो नीतिलाई अनुशरण गर्न लगाउँछ । अमेरिकाको त्यो नीतिको नेकाभित्रको प्रतिपक्षमाथि पनि असर परेको र त्यो कारणले अहिले पनि उनीहरूले कट्टर कम्युनिस्ट विरोधी तथा गठबन्धन विरोधी नीति अपनाएको त होइन ? उक्त कुराहरूमाथि विचार गर्दा उनीहरूको गठबन्धन विरोधी नीतिका पछाडि अमेरिकाको कम्युनिस्ट विरोधी रणनीतिले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

८. विभिन्न अनलाईन वा पत्र पत्रिकाहरूको अध्ययनबाट सीआईएको निर्देशनमा नेपालमा कतिपय ‘स्वतन्त्र’ राजनीतिक संगठनहरूको गठन भएको र त्यस प्रकारका संगठनसित सम्बन्धित व्यक्तिहरूसित नेकाको प्रतिपक्षका उच्च तहका कतिपय नेताहरूको पनि घनिष्ट सम्बन्ध भएको कुरा पनि सञ्चार माध्ययमहरूले बाहिर ल्याएका छन् । त्यो अवस्थामा यो प्रश्न उठाउनका लागि ठाउँ छ : नेकाभित्रको प्रतिपक्षले अमेरिकाको त्यही रणनीति अन्तर्गत तथा नेपालका अमेरिकापरस्त तत्वहरूसित साँठगाँठ गरेर गठबन्धनका वामपन्थी उम्मेदवारहरूलाई चुनावमा पराजित गर्ने नीति लिएको ता होइन ?

९. जस्तो कि माथि भनियो नेकाभित्रको प्रतिपक्षले खाली गठबन्धनका वामपन्थी उम्मेदवारहरूलाई मात्र होइन स्वयं नेकाका कतिपय उम्मेदवारहरूलाई पनि हराउन प्रयत्न गरेको देखिन्छ । त्यो कुरा केही अस्वभाविक र नमिल्दो जस्तो देखिन्छ । तर त्यो कार्य पनि एउटा सुनियोजित चाल अन्तर्गत गरिएको निस्कर्ष निकाल्न मुश्किल पर्दैन । नेकाभित्रको प्रतिपक्षले संसदीय दलको नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने र त्यसरी प्रधानमन्त्री बन्ने समेत योजना अन्तर्गत काम गरिरहेको छ । त्यसका लागि चुनावमा संस्थापन पक्षका उम्मेदवारहरूलाई हराउने र उनीहरूलाई अल्पमतमा पार्ने योजना अन्तर्गत नै उनीहरूले आफ्नै पार्टीका संस्थापन पक्षका उम्मेदवारहरूलाई पनि चुनावमा हराउने नीति लिएको देखिन्छ । तर नेतृत्वको महत्वकाङ्क्षा पूरा गर्नको लागि उनीहरूले देशको सम्पूर्ण राजनीतिमा नै सांघातिक असर पार्ने र गठबन्धनलाई पराजय गर्ने जुन नीति लिएका छन्, त्यसलाई हामीले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ ।

१०. गठबन्धनले एमालेले प्रतिगामी नीति अपनाउँछ भन्ने स्पष्ट दृष्टिकोण राख्दछ र त्यही दृष्टिकोण अनुसार चुनावमा प्रतिगमनलाई हराउन पाँच दलीय गठबन्धन गरेको थियो । तर नेकाभित्रको प्रतिपक्षले एमालेलाई प्रतिगामी रूपमा व्याख्या गर्ने कुरालाई अस्वीकार गर्दछ । उनीहरूको मुख्य जोड नेका र एमालेका बीचमा गठबन्धन सरकार बन्नुपर्छ भन्ने कुरा तर्फ नै छ । त्यो पक्षका कतिपय नेताहरूका सामाजिक सञ्जालमा प्रकाशित अभिव्यक्तिहरूबाट पनि त्यो कुरामा कुनै शंका रहन्न । त्यो उद्देश्य पूरा गर्न नै उनीहरूले, एकातिर, गठबन्धन वा नेकाका उम्मेदवारहरूलाई हराएर गठबन्धनलाई बहुमतमा आउन नदिएर त्यसको सरकार बन्न नदिने र अर्कातिर, नेका र एमालेको गठबन्धन सरकार गठनको लागि आधार तयार पार्ने प्रयत्न गरिहेका छन् । एक प्रकारले भन्ने हो भने उनीहरूको नीति काफी हदसम्म सफल पनि भएको छ । उनीहरूले अपनाएको नीतिबाट गठबन्धन वा नेकाको संस्थापन पक्षका कैयौँ उम्मेदवारहरू पराजित भएका छन् र गठबन्धनको पक्षमा स्पष्ट बहुमत आउन सकेको छैन । त्यो अवस्थामा उनीहरूको प्रयत्न नेकालाई एमालेसित गठबन्धनको सरकार बनाउन दबाब दिनु नै हुनेछ । त्यसको लागि उनीहरूले यो प्रयत्न गर्ने छन् कि सरकारको गठनको प्रश्नमा नेका र वामपन्थीहरूका बीचमा विवाद चर्कियोस् र त्यो अवस्थामा नेकालाई एमालेसित गठबन्धन सरकार बनाउनका लागि बाध्य पार्न सकियोस् । एमालेका अध्यक्ष ओलीले यो स्पष्ट गरिसकेका छन् कि उनले गठबन्धनभित्र सरकारको गठनको प्रश्नमा कुन प्रकारको स्थिति सृजना हुन्छ त्यसका आधारमा नै आफ्नो सरकारको गठनको नीतिलाई अगाडि बढाउने छन् । त्यसको अर्थ हो, गठबन्धनमा फुट भएर नेका एमालेसित मिलेर सरकार बनाउन आएमा नै उनको उद्देश्य पूरा हुनेछ । नेकाभित्रको प्रतिपक्षले त्यस प्रकारको स्थिति तयार पार्नको लागि योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेको छ ।

११. नेकाभित्रको प्रतिपक्षको नीतिका कारणले नै गठबन्धन प्रतिगमनलाई पराजित गर्न सफल भए पनि स्वयं बहुमतमा आउन सकेन । यसले देशमा एक प्रकारको अस्थिर र अनिश्चित राजनीतिक स्थितिको सृजना गर्ने छ । त्यसका कतिपय राजनीतिक दुष्परिणामहरू हुन सक्नेछन् र त्यसका लागि नेकाभित्रको प्रतिपक्ष नै जिम्मेवार छ ।

१२. वीपीले कम्युनिस्टहरूसितको एकताको विरोध गर्नुका साथै राजासित पनि मेलमिलापको नीतिमा जोड दिएका थिए । नेकाभित्रको एउटा पक्षले वीपीको त्यो नीतिलाई आधार बनाएर अहिलेको सन्दर्भमा पनि राजासित मेलमिलाप गर्ने कुरामा जोड दिइरहेको छ । त्यस अनुसार, उनीहरूले गणतन्त्र समाप्त गर्न र वैधानिक राजतन्त्र कायम गर्ने कुरामा जोड दिइरहेका छन् । उनीहरूले धर्म निरपेक्षताको पनि विरोध गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरामा जोड दिइरहेका छन् । नेकाभित्र त्यस प्रकारका सोचाइ राख्ने पक्षको पनि ठूलो जनमत छ । यो सत्य हो कि वीपी आफ्नो समयमा वैधानिक राजतन्त्रका पक्षपाती थिए । देशमा निरंकुश राजतन्त्र भएको अवस्थामा वैधानिक राजतन्त्र पनि प्रगतिशील व्यवस्था हो । लेनिनले पनि त्यही बताएका छन् । त्यो बेला भारत सरकारले भारतमा शरणार्थी भएर बसेका वीपीप्रति असहिष्णु नीति अपनाएको हुनाले नै त्यसप्रकारको बाध्यात्मक अवस्थामा उनले राजाप्रति मेलमिलापको नीति अपनाएर भारतबाट नेपालमा आएका थिए । त्यसपछि नेपालको राजनीतिमा कैयौँ घटनाक्रमहरू हुँदै गए, मुख्यतः ०४६ सालमा निरंकुश राजतन्त्र र पंचायती तानाशाही व्यवस्थाको अन्त र २०५९ सालमा तत्कालीन राजाद्वारा वैधानिक राजतन्त्र वा बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरंकुश राजतन्त्र कायम गर्न गरिएको कारबाही । राजाले वारम्बार अपनाएको त्यस प्रकारको प्रतिगामी कदमको पृष्ठभूमिमा नै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसले पनि गणतन्त्रको पक्ष लिएको थियो । त्यस प्रकारको बदलिएको परिस्थितिमा वीपीले पनि राजासित मेलमिलापको नीति नै लिई राख्दथे भनेर सोच्नु वस्तुवादी सोचाइ होइन । राजाले झन् पछि झन् निरंकुश र प्रतिक्रियावादी नीति लिँदै गइरहेको अवस्थामा वीपीले गिरिजा भन्दा अगाडि बढेर राजतन्त्रको उन्मुलन गर्ने र गणतन्त्रको पक्षमा आउने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन । त्यो वास्तविकतालाई उपेक्षा गरेर अहिले पनि त्यो बेलाको परिस्थितिजन्य बाध्यताका कारणले वीपीले लिएको राजाप्रतिको मेलमिलापको नीति वा राष्ट्रिय मेलमिलापको नीतिमाथि जोड दिनु उनलाई(वीपीलाई) प्रतिगामी रूपमा उपयोग गर्नु, अर्थात् आफ्ना राजापरस्त नीतिका लागि वीपीलाई उपयोग गर्नु, नै हो । हाम्रो पार्टीले वीपीको त्यो नीतिलाई(राष्ट्रिय मेलमिलापको नीतिलाई) त्यो बेला पनि विरोध गरेको थियो । यो सोच्नका लागि आधार छ, वीपी जीवित भएको भए स्वयं उनले त्यो बेलाको राजाप्रतिको मेलमिलापको नीतिलाई विरोध गर्ने थिए र राजतन्त्रको उन्मूलनको सङ्घर्षमा जोड दिने थिए । अहिले देशमा गणतन्त्र समेत कायम भइसकेको अवस्थामा र राजावादीहरूले गणतन्त्र समाप्त गरेर राजतन्त्रको पुनस्र्थापनाका लागि अभियान चलाइरहेको अवस्थामा वीपीको राष्ट्रिय मेलमिलापको कुरा उठाएर राजतन्त्र पुनस्र्थापना गर्न खोज्नु इतिहासको धारालाई पछाडि फर्काउन खोज्ने प्रतिगामी वा राजापरस्त सोचाइ नै हो । अहिले नेकाभित्रको एउटा पक्षले वीपीको नाममा त्यही प्रतिगामी नीतिलाई अनुशरण गरिरहेको छ । गणतन्त्र र धर्मनिरपेक्षताको पक्ष लिएको हुनाले उनीहरूले गिरिजाको पनि विरोध गर्दछन् ।

१३. साम्राज्यवादी शक्तिहरूको संसारका कुनैपनि देशका संघ-संस्था, राजनीतिक दल, संसद, सरकार मात्र होइन, सेना, पुलिस र प्रशासनमा समेत घुषपैठ गर्ने नीति हुन्छ । भारतले त नेपालमा पहिलेदेखि नै त्यो नीति अपनाउँदै आएको छ । त्यो क्रम मा अब भारतको विस्तारवादी अवस्थाबाट साम्राज्यवादी अवस्थामा सङ्क्रमण भइसकेको छ । त्यसले नेपालमा दशकौँदेखि हस्तक्षेपको नीति अपनाउनुका साथै अब त्यसले नेपालको भूमि (कालापानी क्षेत्र)मा समेत कब्जा गरेको छ र त्यसले सम्पूर्ण नेपालमा अतिक्रमण गर्ने नीति अपनाउँदै गइरहेको छ ।

१४. एमसीसीलाई संसदद्वारा पारित गराउन नेपालबारे अमेरिकाले अपनाएको हस्तक्षेप त्यसको नेपालप्रतिको हस्तक्षेपको पछिल्लो नाङ्गो उदाहरण हो । तर त्यो प्रस्तावलाई पारित गराउन पनि त्यसले नेपालमा धेरै विरोधको सामना गर्नुपर्‍यो र लामो समयसम्म त्यो सन्धि संसदद्वारा पारित हुन सकेन र पछि धेरै जोड बल लगाएपछि नै संसदले त्यो सन्धिलाई पारित गर्‍यो । यद्दपि हाम्रो पार्टीले संसदभित्र र बाहिर त्यसका विरूद्ध कडा संघर्ष गरेको थियो । तर त्यसको एसपीपी प्रस्ताव संसदद्वारा पारित भएन । त्यो अवस्थामा अब अमेरिकाले भारतले जस्तै नेपालमा स्वयम् आफ्नो निर्देशनमा चल्ने राजनीतिक पार्टीको निर्माण गर्ने र त्यसलाई संसदमा पुर्‍याउने र त्यसको माध्यमद्वारा सत्ता पनि कब्जा गर्ने नीति अपनाएको देखिन्छ । अहिलेको चुनावमा अमेरिकाले त्यो दिशामा ठोस पहलकदमी गरेको देखिन्छ । त्यही अनुसार अमेरिकामा क्रियाशील राजनीतिक पार्टी, स्वतन्त्र पार्टी र त्यसको चुनाव चिन्ह (घण्टी) समेतको नमुनामा नेपालमा प्रत्यक्ष रूपले सिआईएको निर्देशनमा चल्ने राजनीतिक पार्टीको गठन गरेको र चुनावमा त्यसका उम्मेदवारहरू पनि उठाएको आम रूपमा थाहा भएको कुरा हो । उनीहरूले आवश्यक पूर्व तयारी, संचार माध्यमहरूको प्रयोग, पैसा, इसाई धर्म समेतको व्यापक प्रयोग गरेर चुनावमा घुषपैठ गरेको देखिन्छ । नेपालको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय हित समेतको लागि यो गम्भीर समस्या मात्र होइन, गम्भीर खतरा पनि हो । यसबारे अरू गम्भीर चिन्ताको विषय यो हो कि त्यस प्रकारको खतराप्रति विभिन्न राजनैतिक पार्टीहरू, बुद्धिजीवी र आम जनताले पनि कम ध्यान दिएको पाइन्छ । यो अवस्थामा हाम्रो पार्टीले देशको राजनीतिमा साम्राज्यवादी शक्तिहरूद्वारा भइरहेको घुसपैठप्रति उच्च प्रकारको सतर्कता अपनाउन जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

१५. हाम्रो पार्टीले यो स्पष्ट गरेको छ कि नेपालमा भएका कुनै पनि धार्मिक सम्प्रदायको धार्मिक स्वतन्त्रतालाई हामीले स्वीकार गर्दछौँ । तर हाम्रो पार्टीको आठौँ महाधिवेशनले यो पनि स्पष्ट गरेको छ कि कुनै पनि प्रतिगामी वा साम्राज्यवादी उद्देश्य पुरा गर्नका लागि धर्मलाई उपयोग गर्ने कार्यको हामीले विरोध गर्दछौँ । राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि हिन्दू धर्मलाई हतियारको रूपमा प्रयोग गरिरहेका छन् र हामीले त्यसको विरोध गर्दै आइरहेका छौँ । भारतीय साम्राज्यवादले पनि नेपालमा हिन्दु धर्मलाई प्रतिगामी उद्देश्यको लागि प्रयोग गर्ने काममा मदत गरिरहेको छ । त्यही प्रकारले साम्राज्यवादीहरूले आफ्नो साम्राज्यवादी स्वार्थ पुरा गर्नका लागि ईसाई धर्मलाई प्रयोग गर्ने कार्य गरिरहेका छन् । त्यस सन्दर्भमा अहिलेको चुनावमा उनीहरूले अपनाएको नीतिबाट नेपालमा ईसाई धर्म गम्भीर राजनीतिक खतराका रूपमा अगाडि आएको कुरा पनि छर्लङ्ग भएको छ । खास गरेर चितवनको चुनावले त्यो कुरा छर्लङ्ग पारेको छ । त्यहाँ ईसाई धर्मावलम्बीहरूले ‘स्वतन्त्र’ उम्मेदवारलाई जिताउनका लागि सक्रिय भूमिका खेलेको कुरा प्रकाशमा आएको छ । विभिन्न स्रोतहरूबाट थाहा भएअनुसार खालि चितवनमा मात्र होइन देशका धेरै भागहरूमा नै उनीहरूलाई जिताउन देशभरिका इशाई धर्मालम्बीहरूलाई उपयोग गरिएको छ । तर आस्थाका आधारमा ईसाई धर्म अपनाएका इमान्दार व्यक्तिहरूलाई पनि साम्राज्यवादी शक्तिहरूले आफ्ना साम्राज्यवादी स्वार्थहरू पूर्तिका लागि उपयोग गर्न सक्दछन् । तर नेपालका सबै इमान्दार ईसाईहरूले देशको राष्ट्रियतामा आँच पुग्ने वा कुनै पनि साम्राज्यवादी षडयन्त्रमा वा साम्राज्यवादी शक्तिहरूद्वारा सञ्चालित कुनै पनि राजनीतिक संगठनमा सामेल नहुनाका लागि हामीले सबै देशभक्त नेपालीहरूको ध्यान आकर्षित गर्न चाहन्छौं  ।

१६. देशमा अमेरिकी साम्राज्यवाद वा सिआइएले नेपालमा ईसाई धर्मको नाममा जुन प्रकारका गतिविधिहरू बढाउँदै लगिरहेको छ, त्यो अवस्थामा त्यसलाई खाली धार्मिक रूपमा मात्र हेर्नु सही हुँदैन । त्यसलाई साम्राज्यवादी स्वार्थको पक्षमा उपयोग गर्ने काम भइरहेको कुरा प्रष्ट हुन्छ । त्यो नेपालको लागि अत्यन्त गम्भीर कुरा हो र जसले आस्थाका आधारमा इमान्दारितापूर्वक ईसाई धर्मलाई अपनाएका छन्, उनीहरूलाई त्यस प्रकारको साम्राज्यवादी चालमा नफस्नको लागि हामीले विशेष रूपले सतर्क गराउन चाहन्छौँ । यो कुरालाई हामीले स्वीकार गर्नु पर्दछ कि इसाई धर्मलाई अपनाउने सबै मानिसहरू साम्राज्यवादी एजेण्ट होइनन् र कतिपय मानिसहरूले आस्थाका आधारमा पनि इसाई धर्मलाई अपनाएको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । तर इसाई धर्मलाई साम्राज्यवादी स्वार्थका पक्षमा उपयोग गर्न पश्चिमी साम्राज्यवादी शक्तिहरूले योजनावद्ध र व्यापक रूपले प्रयोग गर्ने प्रयत्न गरिरहेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा नेपालमा प्रचार प्रसार भइरहेको ईसाई धर्मलाई खाली धार्मिक क्रियाकलापको रूपमा मात्र हेर्नु गम्भीर प्रकारको गल्ती हुनेछ र त्यसका कैयौँ दीर्घकालिन दृष्परिणामहरू हुनेछन् । ईसाई धर्मावलम्बीहरूको ठुलो समर्थनमा अहिले चितवनमा जुन प्रकारले एउटा अमेरिकनपरस्त स्वतन्त्र व्यक्तिको विजय भयो, हामीले समयमा नै ध्यान नदिने हो भने त्यस प्रकारका दुर्घटनाहरू देशभरि नै हुन सक्दछन् र नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष सरकार वा प्रभुत्व कायम हुन सक्दछ । वास्तवमा चितवनमा मात्र होइन, देशव्यापी रूपमा नै त्यस प्रकारका कथित स्वतन्त्रहरूको पक्षमा जुन जनमत तयार भएको छ, त्यसलाई हामीले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ र सबै देशभक्त जनताको त्यसप्रति ध्यान जानु पर्ने आवश्यकता छ ।

१७. विभिन्न साम्राज्यवादी देशहरूले नेपालको राजनीतिमा सधैँ हस्तक्षेप गर्दै आएका छन् र हालै सम्पन्न चुनावमा पनि अमेरिकी, युरेपियन र भारतीय साम्राज्यवादले त्यसरी हस्तक्षेप गर्ने नीति अपनाएका छन् । त्यसरी उनीहरूले कतिपय ठाउँमा आफ्नो पक्षका उम्मेदवारहरूलाई जिताउने वा उनीहरूका नीतिहरूका विरूद्ध भएका उम्मेदवारहरूलाई हराउने मात्र काम गरेका छैनन्, आफ्नो नीति वा घुसपैठद्वारा सरकारको निर्माणलाई पनि असर पार्ने, खास गरेर गठबन्धनमा भएका राजनीतिक दलहरूको सरकारको निर्माणमा बाधा पुर्‍याउने प्रयत्न गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

१८. अहिले अमेरिकी साम्राज्यवादले विश्वभरि नै कम्युनिस्ट विरोधको रणनीति अन्तर्गत काम गरिरहेको छ । अहिलेको नेपालको चुनावको सन्दर्भमा पनि त्यसले त्यस प्रकारको रणनीतिलाई कार्यान्वित गर्ने पुरा प्रयत्न गर्‍यो । नेकाभित्रको प्रतिपक्षले कम्युनिस्टहरूसित कुनै प्रकारको एकता नगर्ने कुरामा जोड दिएको छ भने चितवनको अमेरिकापरस्त ‘स्वतन्त्र’ पक्षहरूसित पनि उनीहरूको साँठगाँठ भएको कुरा बाहिर आएको छ । उनीहरूको त्यस प्रकारको कम्युनिस्ट विरोधको नीतिको अमेरिकी साम्राज्यवादको कम्युनिस्ट विरोधी रणनीतिसित नै तालमेल भएको सोच्नका लागि आधार छ । त्यसरी अमेरिकी साम्राज्यवादले विभिन्न कोणबाट नेपालमा आफ्नो प्रभुत्व कायम गर्नको लागि योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेको कुरा बुझ्न गाह्रो पर्दैन । राष्ट्रिय जनमोर्चाले एमसीसी, एसपीपी सहित अमेरिकी साम्राज्यवादका विरूद्ध संसदभित्र र बाहिर दृढतापूर्वक र सम्झौताहीन प्रकारले संघर्ष गर्दै आएको आम रूपमा थाहा भएको कुरा हो । त्यसैले त्यसका उम्मेदवारलाई हराउन पनि पुरा शक्ति लगाएको कुरा बुझ्न गाह्रो पर्दैैन । त्यही रणनीति अन्तर्गत उनीहरूले संसदमा राजमोको उपस्थितिलाई शून्य पार्न चाहन्थे । त्यस अनुसार अमेरिका सहित सबै साम्राज्यवादी शक्तिहरू तथा नेपालका अमेरिका परस्त, प्रतिगामी तथा कम्युनिस्टविरोधी शक्तिहरू समेत सबैले बागलुङ, प्यूठान लगायतमा राजमोका उम्मेदवारलाई पराजित गर्न योजनावद्ध प्रकारले काम गरेका थिए । प्यूठानमा उनीहरू त्यो उद्देश्य पूरा गर्न सफल भए तर बागलुङमा उनीहरूको त्यो उद्देश्य सफल हुन सकेन । संसदमा कामरेड चित्रबहादुर के.सी.को उपस्थिति अमेरिकी साम्राज्यवाद सहित सबै प्रतिक्रियावादी शक्तिहरूलाई कम्युनिस्ट विरोधी रणनीतिका लागि राम्रो जवाफ हो ।

(ख)

१९. समग्र रूपमा चुनावमा हाम्रा उपलब्धीहरू सन्तोषजनक रहेका छैनन् । हामीले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ बाग्लुङमा एउटा सिट र समानुपातिक तर्फ प्रदेश सभामा लुम्बिनीमा एउटा सिट मात्र जितेका छौँ । यो सफलतालाई अवश्य पनि सन्तोषजनक भन्न सकिन्न । सामान्य र सरसरी प्रकारले हेर्दा त्यो कुरा सत्य हो । तर चुनावको समग्र स्थिति र हाम्रो पार्टीको वस्तुगत अवस्थामाथि ध्यान दिएर विचार गर्दा अहिले प्राप्त सीमित सफलताले पनि धेरै नै महत्व राख्दछ । सम्बन्धित तथ्यहरूमाथि विचार गर्दा त्यो कुरा प्रष्ट हुनेछ । अहिलेको चुनावमा हामीले प्रतिनिधि सभाका लागि दुई स्थानहरू (बागलुङ र प्यूठान) तथा प्रदेश सभा तर्फ एक स्थान (अर्घाखाँची) मा मात्र उम्मेदवार उठाएका थियौँ । तर हामीले चुनावमा खाली बाग्लुङको प्रतिनिधि सभाको एक स्थानमा मात्र चुनाव जित्यौँ र प्यूठानको प्रतिनिधि सभा र अर्घाखाँचीको प्रदेश सभाको चुनावमा हाम्रो हार भयो । तैपनि बाग्लुङको एउटा क्षेत्रमा विजय पनि महत्वपूणर् सफलता हो । पहिले पनि संसदमा हाम्रो एउटा मात्र सिट थियो । अहिले का. चित्रबहादुर के.सी.को विजयबाट त्यो कमी पूरा भएको छ । हामीलाई विश्वास छ, उहाँको विजयबाट संसदमा हामीले महत्वपूर्ण भूमिका खेल्न सक्नेछौँ र त्यसबाट देशको राजनीतिमा पनि महत्वपूर्ण मद्दत पुग्नेछ । तैपनि हामीले अहिलेको चुनावमा खालि बागलुङ र प्यूठानको प्रतिनिधि सभाका सिटहरूमा तथा अर्घाखाँचीको प्रदेश सभामा मात्र आफ्ना उम्मेदवारहरू उठाएका थियौँ । हामीले खाली ३ स्थानहरूमा मात्र उम्मेदवारहरू उठाएको हुनाले ती ३ ठाउँको चुनावले पनि हाम्रा लागि राष्ट्रिय महत्व राख्दछ । त्यसैले ती ३ ठाउँका चुनावहरूबारे हामीले बेग्लै र विस्तृत रूपले मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ ।

२०. प्यूठान, अर्घाखाँची दुबै स्थानमा हाम्रा उम्मेदवारहरू गठबन्धनको सहमतिका आधारमा नै उठेका थिए । तर ती दुबै स्थानहरूमा हाम्रो हार भयो । त्यो हारका पछाडि मुख्य रूपले गठबन्धनभित्रका कतिपय पक्षहरूको अन्तर्घातले पनि काम गरेको छ । प्यूठान र अर्घाखाँचीमा मात्र होइन, देशभरि नै गठबन्धनभित्रका कतिपय पक्षहरूका अन्तर्घातहरूका कारणले त्यस्तो हुन गएको छ । त्यसबारे पहिले पनि चर्चा भइसकेको छ र हामीले त्यसबारे पछि पनि प्रकाश हाल्ने छौँ । चुनावमा हाम्रो हारको लागि गठबन्धनसित सम्बन्धित कतिपय पक्षहरूको अन्तर्घातको चर्चा गर्नु मात्र पर्याप्त हुनेछैन । हाम्रो पार्टीको संगठन प्रणालीमा कतिपय कमजोरीहरूका कारणले पनि हाम्रो हार हुन गएको हो । त्यस प्रकारका कमजोरीहरूका कारणले नै हामीले आफ्नो पार्टी, बैधानिक मोर्चा, जनवर्गीय संगठनहरू र जनआधारलाई पनि पूरै परिचालन गर्न नसकेको कुरा पनि सत्य हो । त्यसबारे हामीले विस्तारपूर्वक विचार गर्नुपर्नेछ । हाम्रो संगठन प्रणालीमा भएको कमजोरीका कारणले नै, एकातिर, हाम्रो पार्टीको देशव्यापी रूपमा जनाधारको निर्माण हुन सकेन र हामी खाली सीमित स्थानहरूमा मात्र आफ्ना उम्मेदवारहरू उठाउन सफल भयौँ । अर्कातिर, सीमित स्थानमा उठाएका उम्मेदवारहरू मध्ये पनि कतिपय स्थानमा हाम्रो हार हुन पुग्यो ।

२१. आधारभूत रूपमा चुनावबारे हाम्रो पार्टीले अपनाएको नीति सही थियो । हाम्रो यो विश्लेषण सही छ र अहिले पनि सही छ कि अहिले देशमा प्रतिगमनको गम्भीर खतरा छ । त्यो अवस्थामा प्रतिगमनका विरूद्ध भएका राजनीतिक शक्तिहरूको संयुक्त प्रयत्नद्वारा नै प्रतिगमनलाई पराजित गर्न सकिन्छ र गर्नु पनि पर्दछ । प्रतिगमनका विरूद्धको संघर्षमा अहिलेको चुनावले निर्णयात्मक अर्थ राख्दथ्यो र त्यसका लागि पाँच दलीय चुनावी तालमेल भएको थियो । त्यो चुनावी तालमेल प्रतिगमनलाई पराजित गर्न सफल भयो । तर त्यो सफलतालाई निर्णयात्मक प्रकारको भन्न सकिन्न, किनभने त्यो चुनावको परिणामस्वरूप गठबन्धनलाई पर्याप्त बहुमत प्राप्त हुन सकेन । यो कुराको पहिले नै चर्चा भइसकेको छ कि स्वयं गठबन्धनभित्रका कतिपय कमजोरी, अन्तर्घात समेतका कारणले त्यस्तो हुन गएको हो । चुनावमा गठबन्धनलाई सन्तोषजनक सफलता प्राप्त हुन नसकेको हुनाले त्यसको परिणामस्वरूप गठबन्धनको बलियो वा स्थिर सरकार बन्न नसक्ने, देशमा राजनीतिक अस्थिरताको स्थिति उत्पन्न हुने, प्रतिगमनलाई खेल्ने अवसर प्राप्त हुने वा कैयौँ दुष्परिणामहरू हुने सम्भावना रहने छ । यो पनि हामीले पहिले नै स्पष्ट गरिसकेका छौँ कि यस प्रकारको स्थिति उत्पन्न हुनुका पछाडि स्वयं गठबन्धनभित्रका गठबन्धनका उम्मेदवारलाई पराजित गर्न अन्तर्घात गर्ने पक्षहरू नै जिम्मेवार छन् ।

२२. गठबन्धन र पाँच दलीय चुनावी तालमेल अहिलेको देशको ऐतिहासिक आवश्यकता हो । प्रतिगमनका पक्षमा भएका शक्तिहरूले सुरूदेखि नै यो कुरा बुझेका थिए कि पाँच दलीय गठबन्धन वा चुनावी तालमेल भएमा उनीहरूको प्रतिगामी उद्देश्य पूरा हुन सक्ने छैन । त्यसैले उनीहरूले पाँच दलीय गठबन्धनका विरूद्ध सुरूदेखि नै आक्रमण गर्दै आएका थिए । प्रतिगामी शक्तिहरूले त्यस प्रकारको आक्रमण गर्नु ता सामान्य र स्वभाविक कुरा नै थियो । तर कतिपय वामपन्थी शक्तिहरूले पनि त्यो गठबन्धनको विरोध गरेका थिए । त्यसकारण हामीले प्रतिगमनका विरूद्ध कडा संघर्ष गर्नुका साथै गठबन्धनका विरूद्ध देखा पर्ने त्यस प्रकारका विचारहरूका विरूद्ध पनि कडा सैद्धान्तिक संघर्ष गर्नु परेको थियो ।

२३. गठबन्धन वा पाँच दलीय चुनावी तालमेलका विरूद्ध सबैभन्दा कडा हमला यो आधारमा गरिएको थियो कि त्यो गठबन्धन सिद्धान्तहीन, अपवित्र गठबन्धन थियो । खास गरेर नेकासितको सहकार्यको लागि हामीमाथि सबैभन्दा बढी आक्रमण गरिएको थियो र अहिले पनि त्यो आक्रमण भइरहेको छ । त्यस प्रकारको आक्रमण सिद्धान्तहीन र अराजनीतिक प्रकारको छ ।

२४. गठबन्धनका विरूद्ध मुख्य हमला यो (गठबन्धन) सिद्धान्त र विचारहरू नमिल्ने शक्तिहरूका बीचको अपवित्र गठबन्धन हो भनेर नै गर्ने गरिएको छ । तर त्यस प्रकारका आलोचनाहरू गर्ने बेलामा उनीहरूले यो कुराप्रति ध्यान दिएको पाइन्न कि संयुक्तमोर्चा वा कार्यगत एकता बेग्लाबेग्लै सिद्धान्त, नीति वा विचारधारा भएका पक्षहरूका बीचमा नै हुन्छ । त्यसबारे माक्र्सवादी लेनिनवादीहरूको स्पष्ट सिद्धान्त र विचारधारा रहेको छ । मुख्य प्रश्न यो होइन नेकासित कार्यगत एकता वा तालमेल गर्नु सही हो या होइन्, मुख्य प्रश्न यो हो जुन विषयमा नेकासित तालमेल गरिएको छ त्यो सही छ वा छैन ? देशमा अहिले प्रतिगमनको खतरा छ वा छैन ? एमालेले प्रतिगमनको प्रतिनिधित्व गर्छ वा गर्दैन ? देशमा त्यसबारे नै परस्पर विरोधी धारणाहरू छन् । जुन पक्षहरूले देशमा प्रतिगमनको खतरा भएको र एमालेले प्रतिगामी धाराको प्रतिनिधित्व गरेको कुरालाई मान्दैनन्, उनीहरूले प्रतिगमन विरूद्धको गठबन्धन वा चुनावी तालमेललाई अस्वीकार गर्नु स्वाभाविक नै हो । नेका सहित जुन पक्षहरूसित हामीले गठबन्धन वा चुनावी तालमेल गरेका छौँ, उनीहरूसित हाम्रा कैयौँ मतभेद वा विरोध भएपनि ती सबैमा एउटा कुरा सकारात्मक रूपमा पाइन्छ । त्यो के हो भने ती सबैको प्रतिगमनका विरूद्धका संघर्षमा सकारात्मक भूमिका रहने गरेको छ । त्यो नै हाम्रा बीचको गठबन्धन वा चुनावी तालमेलको सकारात्मक र सैद्धान्तिक आधार हो । त्यसका साथै हामीले देशमा प्रतिगमनको खतरा भएको र एमालेले प्रतिगामी धाराको प्रतिनिधित्व गरेको कुरा मानेकाले त्यसका विरूद्ध आउने शक्तिहरू, जसमा नेका पनि आउँछ, सित गठबन्धन वा चुनावी तालमेल सही हुन जान्छ । जो प्रतिगमनका पक्षमा छन् उनीहरूले नै गठबन्धनका विरूद्ध अभियान चलाइरहेका छन् र उनीहरूले नै गठबन्धनको नीतिलाई गलत बताउँछन् । अहिलेको गठबन्धन २०४६ साल वा २०६२-६३ को प्रतिगमनका विरुद्धको संयुक्त आन्दोलनको निरन्तरता हो । २०४६ सालको संयुक्त आन्दोलनको परिणामस्वरुप निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्था समाप्त भएको थियो भने २०६२-६३ को संयुक्त आन्दोलनको परिणामस्वरुप संविधानसभाको चुनाव हुनाको साथै राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भएको थियो । ती दुबै बेलामा पनि राजावादीहरूले नेकासित मिलेको भनेर हामीमाथि धेरै आक्रमण गरेका थिए । त्यही प्रकारले अहिले पनि त्यही प्रकारको आक्रमण भइरहेको छ । त्यस प्रकारको आक्रमणले मूल रूपमा प्रतिगमनको नै सेवा गर्दछ ।

२५. प्रतिगामी वा प्रतिगमनको पक्ष लिएका शक्तिहरूले गठबन्धनको विरोध गर्नु स्वाभाविक नै हो । तर यस सन्दर्भमा यो कुरा उल्लेखनीय छ कि कतिपय वामपन्थी वा आफुलाई ‘क्रान्तिकारी’ बताउने शक्तिहरूले पनि गठबन्धनको विरोध गरेको पाइन्छ । ती दुबै पक्षहरूको मुख्य मिलनविन्दु गणतन्त्रको विरोध वा गणतन्त्रलाई समाप्त गर्नु नै हो । राजावादीहरूले घोषित रूपले नै त्यो कुरालाई स्वीकार गर्दछन् । तर कतिपय वामपन्थीहरूले पनि गणतन्त्रमाथि हमला गर्ने नीति अपनाउँछन् । त्यसरी गणतन्त्रको विरोध ती दुवै पक्षहरूको मिलनविन्दु बन्न जान्छ । उनीहरूको गणतन्त्र विरूद्धको त्यो अभियानमा सबैभन्दा ठूलो बाधा पाँच दलीय गठबन्धनबाट नै पुग्दछ । त्यसैले पाँच दलीय गठबन्धन वा चुनावी तालमेलको उनीहरूले पूरै शक्ति लगाएर विरोध गर्दछन् । उनीहरूको त्यस प्रकारको नीति वा कार्यविधिबाट प्रतिगमनको नै सेवा हुन्छ ।

२६. माथि हामीले गठबन्धनसित सम्बन्धित कतिपय पक्षहरूभित्रका अन्तर्विरोध वा अन्तर्घातका कारणले, मुख्यतया गठबन्धनका उम्मेदवारलाई हराउने नीतिबाट चुनावमा बाधा पुग्यो र प्रतिगमनलाई मद्दत पुग्यो, त्यसबारे चर्चा गरिसकेका छौँ । तर स्वयं हाम्रो पार्टीभित्रका कतिपय वैचारिक वा संगठनात्मक समस्या वा कमजोरीहरूका कारणले पनि चुनावमा बाधा पुगेको कुरालाई अस्वीकार गर्न सकिन्न ।

२७. अहिले हामीले संसदीय चुनावलाई उपयोग गरिरहेका छौँ र लामो समयदेखि त्यसलाई उपयोग गर्दै आएका छौँ । हाम्रो त्यो नीति नै गलत त छैन ? संसदीय चुनावको उपयोगबारे विश्वभरिका माक्र्सवादी-लेनिनवादीहरू र स्वयं नेपालको कम्युनिस्ट आन्दोलनमा पनि बारम्बार प्रश्नहरू उठ्ने गरेका छन् । यदि त्यो नीति गलत हो भने त्यसको विकल्प के हो ? त्यसको विकल्पमा २ वटा कुराहरू हुन सक्दछन । प्रथम, चुनावको बहिष्कार र द्वितीय, शसस्त्र संघर्ष । विभिन्न देशहरूमा चुनावको विकल्पको रूपमा ती दुवै तरिकाहरूलाई प्रयोग गर्ने पनि गरिएको छ । मार्क्सवादी-लेनिनवादी सिद्धान्तले ती दुवै तरिकाहरूको उपयोग ठोस वस्तुगत स्थितिको विश्लेषणका आधारमा गर्ने नियम निर्धारित गरेको छ । ती कुराहरूको ख्याल नगरिकन खालि क्रान्तिकारी जोश वा आत्मगत चिन्तनको आधारमा तिनीहरूलाई प्रयोग गर्नुका कैयौँ दुष्परिणामहरू हुने तथा कम्युनिस्ट आन्दोलनलाई क्षति पुग्ने पनि गर्दछ । संसारभरि र नेपालका पनि त्यस प्रकारका कैयौँ उदाहरणहरू हाम्रो अगाडि छन् ।

२८. संसदको उपयोग सम्बन्धी गलत सोचाइका दुईटा परिणामहरू हुन्छन् । प्रथम, वामपन्थी संकीणर्वादी दृष्टिकोण । द्वितीय, उग्र वामपन्थी भड्काव । हाम्रो पार्टीमा बारम्बार त्यस प्रकारका गलत प्रवृत्तिहरू देखा पर्ने गरेका छन् । त्यस प्रकारका सोचाइहरूका परिणामस्वरूप हाम्रो पार्टीमा कैयौँपल्ट चरम प्रकारको अनुशासनविहीनता, अराजकता वा फूटहरू पनि देखा पर्ने गरेका छन् । त्यस प्रकारका गलत सोचाइहरूका विरूद्ध हामीले बारम्बार अन्तरसंघर्ष र सैद्धान्तिक संघर्ष गर्दै वा अनुशासनका कारवाहीहरू पनि गर्दै आएका छौँ । हामीले अपनाएको त्यस प्रकारको पद्धतिका कारणले नै हामी हाम्रो पार्टीको मार्क्सवादी-लेनिनवादी चरित्र र संगठनात्मक प्रणालीलाई ध्वस्त हुनबाट बचाउन काफी हदसम्म सफल रहँदै आएका छौँ । तैपनि त्यस प्रकारका गलत सोचाइहरूको केही न केही असर हाम्रो पार्टीमा रहने गरेको छ । त्यस प्रकारको असरले गर्दाखेरि पार्टीमा केही न केही वैचारिक अस्पष्टता र अनुशासनविहीनता पनि देखा पर्ने गरेको छ । त्यसैको परिणामस्वरुप नेपालको राजनीतिक इतिहासमा संयुक्त आन्दोलन वा गठबन्धनको औचित्यता बारम्बार प्रमाणित भइसक्दा तथा अहिलेको स्थितिमा प्रतिगमन अत्यन्त गम्भीर रूपमा देखा पर्दा पनि त्यसका विरुद्धको गठबन्धनको औचित्यताबारे प्रश्नहरू उठाउने वा त्यसलाई गलत बताउने गरिन्छ । त्यही प्रकारले जनवादी केन्द्रीयताको सिद्धान्तको ठाउँमा अराजकतावादी प्रकारका प्रवृत्तिहरू पनि प्रकट हुने गर्दछन् । त्यस प्रकारका वैचारिक अस्पष्टता वा अनुशासनसम्बन्धी कमजोरीहरु अहिलेको चुनावमा पनि केही न केही प्रकट भए । ती कारणले गर्दा पनि अहिलेको चुनावमा हाम्रो पार्टीका कार्यकर्ताहरू वा जनाधारको सम्पूर्ण रूपले परिचालन हुन नसकेको कुरालाई हामीले स्वीकार गर्नुपर्दछ ।

२९. वास्तवमा चुनावको सन्दर्भमा मात्र होइन, त्यस प्रकारका वैचारिक वा संगठनात्मक कमजोरीहरूलाई हटाउन नसकेमा हामीले सामान्य र शान्तिपूर्ण प्रकारका आन्दोलनहरूलाई पनि प्रभावशाली प्रकारले संचालन गर्न सक्दैनौँ । त्यसकारण पार्टीमा वैचारिक स्पष्टता ल्याउन र संगठनात्मक प्रणालीमा सुधार ल्याउनका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

३०. पार्टीबाट फुटेर गएका तत्वहरूले चुनावका बेलामा चुनावको बहिष्कारको कुरा गरेर बाग्लुङ र प्यूठानका हाम्रा उम्मेदवारहरूलाई हराउन धेरै नै प्रयत्न गरे । प्यूठानमा त त्यस सम्बन्धि उनीहरूको गतिविधि खास देखा परेन । तर बाग्लुङमा उनीहरूको नेतृत्व पंक्तिले नै त्यसका लागि पूरा शक्ति लगायो । उनीहरूले एक प्रकारले ‘के.सी. हराऊ’ अभियान नै संचालन गरे । तर उनीहरूले चुनावका विरूद्ध फैलाएको भ्रम र बहिष्कारको कार्यक्रमले प्रतिगमनलाई मदत पुग्यो र उनीहरूले (प्रतिगामीहरूले) हाम्रो पार्टीबाट फुटेर गएका फुटपरस्त तत्वहरूलाई बढी भन्दा बढी उपयोग गर्ने प्रयत्न गरे । तैपनि उनीहरूका त्यस प्रकारका प्रयत्नहरूका बाबजुद बाग्लुङमा का. चित्रबहादुर के.सी विजय हुनु भयो भने प्यूठानमा दुर्गा पौडेल पराजित भएपनि उहाँले ३५ हजारभन्दा बढी भोट पाउनु भयो । त्यसले प्यूठानमा जनमोर्चाको व्यापक आधार भएको कुरालाई बताउँछ । तर त्यसका साथै यो कुरा पनि प्रष्ट छ कि त्यो पूरै मत हाम्रो होइन । गठबन्धन पक्षधर शक्तिहरूबाट कतिपय अन्तरघात भएको भएपनि माओवादी, नेका वा समाजवादी पक्षहरूबाट पनि पर्याप्त समर्थन मिलेको हुनाले नै हामीलाई त्यति धेरै भोट प्राप्त भएको हो ।

३१. हाम्रो पार्टीको देशव्यापी रूपमा संगठनात्मक आधार कम भएकाले प्रत्यक्ष तर्फ हामीले धेरै सिटहरूको दावी गर्न वा उम्मेदवारहरू उठाउन सकेनौँ । समानुपातिक तर्फ केन्द्रमा वा प्रदेशमा पनि हामीले स्वतन्त्र रूपले आफ्ना उम्मेदवारहरूलाई मत दिन सक्दथ्यौ । तर त्यसका लागि पनि हामीलाई कम मत प्राप्त भएको छ । केन्द्रमा बढी भन्दा बढी मत हाल्नका लागि हामीले सबैतिर सर्कुलर नै पठाएका थियौँ र त्यसका लागि राष्ट्रिय स्तरको एउटा अभियान पनि संचालन गरेका थियौँ । तर त्यसका लागि हाम्रो संगठन भएका जिल्लाहरूबाट पनि कम मत प्राप्त भएको छ । प्रदेशको समानुपातिक तर्फ पहिले गण्डकी र लुम्बिनीमा एक/एक सिट प्राप्त भएको थियो । तर अहिले लुम्बिनीमा मात्रै एक सिट प्राप्त भएको छ र गण्डकीमा एक सिट पनि प्राप्त हुन सकेन । त्यसबाट के बुझिन्छ भने हाम्रो पार्टीको आधार भएका क्षेत्रहरूबाट पनि केन्द्र वा प्रदेशमा सन्तोषजनक मत आउन सकेन । प्रायशः गत कालमा पनि हाम्रा कार्यकर्ताहरूको बढी ध्यान प्रत्यक्ष चुनाव तर्फ जाने गरेको छ । समानुपातिक तर्फ कम ध्यान जाने गरेको छ । त्यसको परिणामस्वरूप नै समानुपातिक तर्फ हामीलाई कम मत प्राप्त भएको छ । आउने दिनहरूमा यो कमजोरीलाई सुधार्न हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ ।

३२. गएको स्थानीय चुनावमा हामीले विभिन्न जिल्लाहरूमा त्यो जिल्लाका देशभित्र अन्यत्र वा प्रवासमा गएर बसेका मतदाताहरूलाई चुनावका बेलामा जिल्लामा ल्याउने काम धेरै कम भएको थियो । तर अहिलेको चुनावमा त्यो दिशामा केही प्रयत्न गरियो । त्यस सिलसिलामा माओवादी, जसपा र नेका समेतका विभिन्न सम्पर्क मञ्चहरूसित पनि समन्वय गरेर हामीले काम गरेका थियौँ । त्यसको केही न केही सन्तोषजनक परिणाम पनि भयो । हामीले चुनावका बेलामा मात्र होइन, जिल्लाका देशभित्र वा विदेशमा बस्ने नेपालीहरूलाई पनि स्थायी रूपले संगठित गर्ने प्रयत्न गरिरहनु पर्छ ।

३३. गठबन्धन पक्षका अन्य दलहरू भन्दा हाम्रो पार्टी नीतिमा बढी इमान्दार र अनुशासित भएको कुरा आम रूपमा मानिन्छ । चुनावको बेलामा अन्य पक्षहरूद्वारा अन्तर्घात भएका कुराहरू व्यापक रूपमा अगाडि आएका छन् । तर हाम्रो पार्टीद्वारा पनि कतै यस प्रकारका कमजोरीहरू भएका त छैनन् ? हामीले त्यो कुराको इमान्दारितापूर्वक छानविन गर्नुपर्ने र आवश्यकता अनुसार कारबाही गर्नुपर्ने आवश्यकता छ ।

३४. आर्थिक कारणले पनि हामीलाई चुनाव लड्नको लागि धेरै नै अप्ठ्यारो भयो । अन्य पक्षहरूले करोडौँ खर्च गरेर चुनाव लड्दछन् । तर हामीलाई त्यसका लागि न्यूनतम खर्च जुटाउन पनि गाह्रो भयो । चुनावको खर्चका लागि देशभित्र कुनै कोटा लगाउन सकेनौँ । हामीले शुभेच्छुकहरूबाट चन्दा संकलन गर्ने नीति बनाएका थियौँ । तर त्यस अनुसार हामीले उल्लेखनीय रकम जम्मा गर्न सकेनौँ । प्रवासबाट र अन्य कतिपय देशहरूबाट सन्तोषजनक रूपमा नै कोटाको रकम प्राप्त भयो । तर त्यो रकम पनि हाम्रो आवश्यकताको तुलनामा अत्यन्त कम थियो । त्यसपछि हामीले केही ऋण सापटी मागेर खर्च चलाउने प्रयत्न गर्‍यौँ । तर त्यसका लागि पनि पर्याप्त रकम जम्मा हुन सकेन । जे-जति ऋण सापटी आएको थियो, त्यो ऋण चुक्ता गर्ने दायित्व अब हाम्रा अगाडि आएको छ । त्यसरी हामीले चुनावका लागि पर्याप्त रकम जुटाउन नसक्नुको पछाडि पनि पार्टीभित्र उत्साह र सक्रियताको कमी तथा जनतासितको हाम्रो सम्बन्ध कमजोर भएको कुरालाई लिन सकिन्छ । त्यसकारण उक्त दुवै कुराहरूमा सुधारका लागि हामीले प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

३५. अहिलेको चुनावमा प्राविधिक पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । तर हामीले त्यसका लागि आवश्यक व्यवस्था गर्न सकेनौँ । आर्थिक समस्याका कारणले त्यो कार्यका लागि बाहिरबाट प्राविधिकहरूलाई राख्न सम्भव भएन । पार्टीका केही साथीहरूलाई मिलाएर हामीले एउटा सेल बनाएका थियौँ । तर चुनावका बेलामा ती साथीहरू आफ्नो सम्बन्धित जिल्लाहरूमा जानु परेकोले त्यो सेलले पनि काम गर्न सकेन ।

(ग)

३६. हामीले अहिले प्रतिगमन विरूद्धको संघर्षमा गठबन्धन वा चुनावी तालमेललाई अगाडि बढाउने प्रयत्न गरेका छौँ । अहिले चुनावमा प्रतिगमन पराजित भयो र हामी प्रतिगमनमाथि विजय प्राप्त गर्न सफल भयौँ । ओलीले चुनावमा बहुमत प्राप्त गर्ने दाबी गरेका थिए, तर उनले दाबी गरेअनुसार उनलाई त्यसरी बहुमत प्राप्त हुन सकेन । त्यसरी प्रतिगमनमाथि हाम्रो जुन विजय प्राप्त भयो, त्यसको महत्व यो कुरामा छ कि त्यसको परिणामस्वरुप देश प्रतिगमन र अधिनायकवादतिर जानुबाट रोकिएको छ । त्यो गठबन्धनको ऐतिहासिक उपलब्धि हो । तर यस सन्दर्भमा हामीले यो वास्तविकताप्रति पनि ध्यान नदिइकन रहन सक्दैनौँ कि चुनावमा प्रतिगमनमाथि विजय प्राप्त गरेपनि, जस्तो कि पहिले पनि उल्लेख भइसकेको छ, गठबन्धनलाई सरकार बनाउन प्रर्याप्त बहुमत प्राप्त हुन सकेन । गठबन्धनभित्रका अन्तर्घातहरू, खास गरेर नेकाभित्रको प्रतिपक्षको गठबन्धनविरोधी नीति र अंशतः माओवादीभित्रका अन्तर्घातहरूका कारणले नै गठबन्धनलाई बहुमत प्राप्त हुन नसकेको हो । हामीले यो कुराको सजिलैसित अनुमान गर्न सक्छौँ कि गठबन्धनभित्रका त्यस प्रकारका अन्तर्घातहरुका गम्भीर दुष्परिणामहरु हुने छन् ।

३७. अहिलेको चुनावमा गठबन्धन महत्वपूणर् वा ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको भएपनि प्रतिगमनको खतरा अँझै समाप्त भएको छैन । अहिले पनि त्यो खतरा गम्भीर रूपमा छ । खास गरेर, एकातिर, राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धको अभियानलाई कायमै राखेका छन् भने, अर्कातिर, एमालेले उनीहरूको प्रतिगामी अभियानलाई साथ दिएको छ । पहिलेको चुनावको तुलनामा राजावादीहरुको शक्तिमा केही वृद्धि भएको छ, त्यसका पछाडि पनि ओलीले राजावादीहरुसित गरेको साँठगाँठले मदत गरेको कुरा प्रष्ट छ । भारतीय साम्राज्यवादको समर्थनले गर्दा देशमा प्रतिगमनको खतरा अरु गम्भीर बनेको छ । त्यो अवस्थामा प्रतिगमनलाई पराजित गर्नको लागि पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । तर त्यसो गर्ने बेलामा अन्य पक्षहरूसितका हाम्रा सैद्धान्तिक र राजनीतिक मतभेद वा सरकारसितका हाम्रा भिन्न मतहरूलाई पनि लगातार अगाडि बढाउने वा आवश्यकता अनुसार संघर्ष गर्ने नीतिलाई पनि कायम राख्नुपर्दछ । त्यस सिलसिलामा खास गरेर गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं तथा संघीयतालाई खारेज गरौं भन्ने नाराका साथ हामीले जनसंघर्षलाई अगाडि बढाउने नीति अपनाउनु पर्दछ ।

३८. अहिले पनि देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूका कारणले गणतन्त्र सहित जनताको आन्दोलनद्वारा प्राप्त उपलब्धिहरूका अगाडि गम्भीर खतरा छ । त्यसै गरेर अमेरिका र भारतीय साम्राज्यवादका कारणले राष्ट्रयतामाथि गम्भीर खतरा छ । तिनीहरूका विरूद्ध हामीले व्यापक संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । संघीयता झन्पछि झन् बदनाम हुँदै गइरहेको छ र त्यसका विरूद्ध जनमत पनि बढ्दै गइरहेको छ । त्यसकारण त्यसका विरूद्ध पनि हामीले आन्दोलन बढाएर लैजानुपर्ने आवश्यकता छ । ती बाहेक जनजीवनसित सम्बन्धित भ्रष्टाचार, महंगी तथा जनताका न्यायपूर्ण र प्रगतिशील मागहरूका लागि पनि संघर्ष बढाएर लैजानुपर्ने आवश्यकता छ । त्यसकारण हामीले, एकातिर, प्रतिगमनका विरूद्धको गठबन्धनको नीतिलाई कायम राख्ने प्रयत्न गर्दै, अर्कातिर, उक्त प्रश्नहरूमा जनआन्दोलनलाई पनि बढाउँदै जाने नीति अपनाउनु पर्दछ ।

३९. देशव्यापी रूपमा हाम्रो संगठन कमजोर भएको कुरा माथि नै उल्लेख भइसकेको छ । संगठन कमजोर भएमा हामीले आन्दोलन वा चुनाव मध्ये कुनैमा पनि प्रभावशाली भूमिका खेल्न सक्दैनौँ । त्यसैले संगठनात्मक विस्तार वा सुदृढीकरणको लागि हामीले योजनाबद्ध प्रकारले काम गर्नुपर्ने आवश्यकता छ । तर त्यसका लागि निर्णयात्मक महत्वको कुरा सैद्धान्तिक स्पष्टता हो । त्यसैले पार्टीका कार्यकर्ताहरूमा सैद्धान्तिक स्पष्टता नआइकन उनीहरू संगठनात्मक कार्य, अनुशासन, आन्दोलन वा चुनावमा पनि सक्रिय भएर वा उत्साहपूर्वक काम गर्न सक्दैनन् । कार्यकर्ताको सैद्धान्तिक स्तर कमजोर भएमा विरोधीहरूले बाहिरबाट फैलाउने सामान्य प्रकारका प्रचारबाट पनि पार्टीको काम र अनुशासनमा असर पर्दछ र पार्टीमा कैयौँ प्रकारका भ्रमहरू पैदा हुने गर्दछन् । त्यसकारण हामीले प्रशिक्षण कार्यक्रममा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

४०. अहिले खाली हाम्रो पार्टीमा मात्र होइन । विश्व स्तरमा पनि कम्युनिस्ट पार्टीहरूमा अराजकतावादी र उपभोक्तावादी चिन्तन प्रणाली बढेर गएको छ । पुँजीवादी पार्टीहरूमा व्याप्त त्यस प्रकारका सोचाइहरूबाट पनि कम्युनिष्ट पार्टीहरूमा धेरै नै असर पर्ने गरेको छ । त्यस प्रकारको सोचाइहरूका कारणले धेरै देशका कम्युनिष्ट पार्टीहरूको विघटन हुने वा उनीहरूमा पुँजीवादी रूपान्तरण हुने पनि गरेको छ । हाम्रो पार्टीले पनि त्यस प्रकारका प्रवृत्ति वा समस्याहरूका विरूद्ध बारम्बार संघर्ष गर्दै आउनु परेको छ । आगामी दिनहरूमा पनि सैद्धान्तिक वा संगठनात्मक रूपले त्यस प्रकारका प्रवृत्तिका विरूद्ध सैद्धान्तिक प्रशिक्षण वा संघर्षमा लगातार जोड दिइरहनु पर्ने आवश्यकता छ ।

४१. नेपालका कतिपय वामपन्थी शक्तिहरूमा “वामपन्थी” संकीणर्वादी दृष्टिकोणको पनि धेरै असर परेको पाइन्छ । त्यसको परिणामस्वरूप उनीहरूले, एकातिर, ठोस परिस्थितिको ठोस विश्लेषण गरेर तात्कालिक कार्यदिशा निश्चित गर्ने वा रणनीति र कार्यनीतिका बीचको अन्तरलाई सही प्रकारले ठम्याउने प्रश्नमा कैयौँ गल्तीहरू गरेको पाइन्छ । त्यसले गर्दा उनीहरू समाजवाद वा नयाँ जनवादलाई तत्कालिक कार्यदिशाको रूपमा प्रयोग गर्ने तथा पुँजीवादी गणतन्त्रलाई विरोध गर्ने जस्ता गम्भीर प्रकारका गल्तीहरू गर्न पुगेको पाइन्छ । हाम्रो पार्टीबाट फुटेर गएका फुटपरस्त तत्वहरूले पनि त्यस प्रकारका गलत सोचाइहरूलाई अनुशरण गर्ने गरेका छन् । त्यस प्रकारको गलत सोचाइका कारणले उनीहरूले देशमा गम्भीर रूपमा देखा परेको प्रतिगमनको खतरालाई अस्वीकार गर्दछन् । राजावादीहरूका प्रतिगामी नीतिहरूका नजिक पुग्दछन् । सामन्तवादसितको अन्तविरोधलाई गौण ठान्दछन् र भारतीय साम्राज्यवादप्रति सम्झौतापरस्त दृष्टिकोण अपनाउन पुग्दछन् । त्यस प्रकारका गलत नीतिहरूका कारणले उनीहरूले प्रतिगमन, सामन्तवाद र साम्राज्यवादको सेवा गर्न पुग्दछन् । हामीले उनीहरूका ती गलत सोचाइहरूका विरूद्ध पार्टीभित्र र जनतामा पनि सही प्रशिक्षण र चेतना दिने प्रयत्न गर्नुपर्छ ।

४२. पहिले संसदको लागि उम्मेदवारहरू चयन गर्दा जिल्ला स्तरका भेलाहरू गरेर तीन जनाको नाम केन्द्रमा पठाउने पनि गरिन्थ्यो । पछि पार्टीको जिल्ला समितिबाट तीनजनाको नाम पठाउने र संसदीय बोर्डले तिनीहरू मध्येबाट एक जनाको नाम छान्ने तरिका अपनाइयो । पहिले समानुपातिक उम्मेदवारहरूको चयन गर्दा एकपल्ट राष्ट्रिय परिषदको बैठक गरेर उम्मेदवार चयन गर्ने प्रणाली पनि अपनाइएको थियो । पछि केन्द्रीय संसदीय बोर्डले नै उम्मेदवारहरूको ठेगान गर्ने प्रणाली अपनाइयो । यसपल्टको चुनावमा उम्मेदवारहरू चयन गर्दा केन्द्रीय कमिटीको गोप्य मतदानद्वारा चयन गर्ने तरिका अपनाइयो । कुनै उम्मेदवारको चयन गर्दा नेतृत्व वा कुनै व्यक्ति विशेषबाट पक्षपात गरेको नठानियोस् भन्नका लागि त्यस प्रकारको गोप्य मतदान प्रणालीलाई अपनाइएको थियो । हाम्रो पार्टीमा गतकालमा उम्मेदवारहरूको चयनमा कुनै प्रकारको पक्षपात नहोस् र बढी भन्दा बढी जनवादी तरिका अपनाइयोस् भन्नका लागि यी बेग्लाबेग्लै तरिकाहरूको अभ्यास गर्ने गरिएको छ । तत्कालका लागि चुनाव समाप्त भइसकेको छ । आगामी चुनावका बेलामा पहिले अपनाएका पद्धतिमध्ये कुन वा कुनै नयाँ पद्धति अपनाउनु सही हुने छ ? त्यसबारे गम्भीरतापूर्वक विचार गरेर हामीले निणर्य गर्नुपर्नेछ ।

४३. देशको राजनीतिमा संविधानको निर्माणदेखि अहिलेसम्म संविधानसभा वा संसदभित्र हाम्रो पार्टीले जुन महत्वपूर्ण भूमिका खेलेको छ र हाम्रा सांसदहरूले कुनै प्रकारको भ्रष्टाचारमा नलागिकन विकासका कार्यक्रमहरूमा जसरी योगदान दिंदै आएका छन् वा विभिन्न प्रकारले जनताको सेवा गर्दै आएका छन्, तिनीहरूको प्रचार गर्नेतिर हामी धेरै नै पछाडि पर्ने गरेका छौं त्यो हाम्रो एउटा महत्वपूर्ण कमजोरी हो । त्यसले गर्दा हामीले गरेका कामहरूका आधारमा पनि हाम्रो जनतासँग प्रत्यक्ष रूपले सम्बन्ध स्थापित हुन नसकेको कुरा सत्य हो । त्यो कारणले पनि देशव्यापी रूपमा समानुपातिक वा प्रत्यक्ष तर्फ हाम्रो जति भोट आउनु पर्दथ्यो, त्यति आउन सकेन । त्यो बाहेक हाम्रा उम्मेदवारहरूका विरूद्ध विरोधी शक्तिहरूले कैयौं झुठा, निराधार वा अराजनीतिक प्रकारका व्यक्तिगत र चरित्रहत्या सम्बन्धी व्यक्तिगत आक्षेप लगाएको हुनाले पनि जनतामा हामीबारे कैयौं भ्रमहरू उत्पन्न भएका छन् । तिनीहरूलाई स्पष्ट गर्नेतिर पनि हाम्रो कमजोरी रहेको छ । उक्त विषयहरूमा पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

४४. हाम्रो यो स्पष्ट दृष्टिकोण छ कि विश्व स्तरमा नै संसदीय प्रणाली प्रतिक्रियावादी भइसकेको छ । त्यसकारण त्यसद्वारा जनताका आधारभूत समस्याको समाधान हुन सक्दैन । त्यसका लागि पुँजीवादी देशहरूमा समाजवादी क्रान्ति तथा पुँजीवादी विकासका दृष्टिकोणले पिछडिएका वा अर्धसामन्ती र अर्धऔपनिवेशिक देशहरूमा नयाँ जनवादी क्रान्ति आवश्यक हुन्छ । नेपाल पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक देश भएको हुनाले जनताका आधारभूत समस्याहरूको समाधान र देशको दिगो विकासका लागि नयाँ जनवादी क्रान्ति नै आवश्यक हुन्छ । तैपनि तात्कालिक वा कार्यनैतिक दृष्टिकोणले नेपालमा संसदीय वा बहुदलीय व्यवस्था प्रगतिशील छ । त्यही प्रकारले देशमा कायम भएको पुँजीवादी गणतन्त्रको पनि प्रगतिशील महत्व छ । खास गरेर अहिले प्रतिगामी शक्तिहरूले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समेत समाप्त गर्नका लागि अभियान चलाइरहेको हुनाले ती सबैको रक्षाका लागि संघर्ष गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार