-समीर सिंह
साहित्यकार ईश्वरचन्द्र ज्ञवालीद्वारा लेखिएको पुस्तक सौन्दर्य र संस्कृति चिन्तनको विमोचन कार्यक्रममा नेपाली समाजको चरित्र कस्तो हुने ? बहसको विषय बन्यो । एउटा साहित्यकारले यो विषयलाई सम्बोधन नगरीकन स्पष्ट साहित्यिक सिर्जना निर्माण गर्न सक्ने विषय पनि होइन । आजको विमोचन कार्यक्रमले यो विषयको बहसलाई पुनः कोट्याउने प्रयास गरेको छ ।
साहित्यकार ज्ञवालीले आफ्नो पुस्तकको सांस्कृतिक रूपान्तरण र आगामी कार्यभारबारे उपशीर्षकमा लेख्नुभएको छ, ‘आज पनि हाम्रो समाज अर्ध-औपनिवेशिक र अर्ध सामन्ती आधार संरचनाबाट नै चलिरहेको छ ।’ वहाँले अगाडि लेख्नुहुन्छ, ‘हाम्रो भनाई र गराइमा जुन भिन्नता छ अर्थात् शब्द र कर्मका बिच तादात्म्यको जुन अभाव छ त्यो त्यही सामन्ती औपनिवेशिक आधार र व्यवस्थाको परिणाम हो । वर्ग पक्षधरता सर्वहारा तर व्यवहार बुर्जुवा, विचार क्रान्तिकारी तर कार्यान्वयन सुधारवादी, दर्शन माक्र्सवादी तर आचरण पुँजीवादी, कुरा प्रगतिवादी तर काम अवसरवादी, भनाई सामूहिकताको गराइ व्यक्तिवादी, दृष्टिकोण वस्तुवादी तर कार्यशैली मनोगत-सङ्कीणर्-एकाङ्गी, शब्दमा समानता तर कर्ममा विभेद, पक्षपात, कुरा अनुशासनका काम अराजकता र अनुशासनविहीनताका, भनाइ आमूल परिवर्तनको तर सांस्कृतिक रूपान्तरणको प्रक्रियामा यथास्थितिवादी प्रभाव आदि ।’
भनाइ र गराइबिचको यस प्रकारको समस्या किन छ त ? यो प्रश्नलाई सम्बोधन गर्दै विमोचन कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि साहित्यकार ज्ञवालीले उठाएका प्रश्नहरू जायज भएको बताउनुभयो । सामन्ती उत्पादन सम्बन्ध यथावत् रहेकाले नै यस प्रकारको सांस्कृतिक विचलन आएको उपराष्ट्रपति पुनको तर्क थियो । एउटा जोडदार धक्का नदिईकन यस प्रकारको सामन्तवादलाई अन्त गर्न नसकिने हुँदा त्यस प्रकारको धक्का दिने आन्दोलनको नेतृत्व गर्न वहाँले साहित्यकार तथा लेखकहरूलाई सुझाव दिनुभयो ।
नेपालमा राजतन्त्रको अन्त भएसँगै पुँजीवाद आइसकेको तर्क गर्ने गरिन्छ । अब देशमा कृषि क्रान्ति होइन समाजवादी क्रान्ति गर्नुपर्ने धारणा पनि राखिन्छ । विमोचन कार्यक्रममा पनि सामन्तवादको नाइके राजतन्त्रको अन्त भएको र देशमा गणतन्त्र आइसक्दा पनि सामन्तवादको वकालत गर्न मिल्छ र ? भनी समालोचकहरू द्वारा प्रश्न गरियो । सामन्तवाद नै हो भने पनि त्यो बाघ जस्तो हो कि बिरालो जस्ता प्रश्नहरू पनि तेर्सिए ।
यी विभिन्न प्रश्नहरूको सन्दर्भमा साहित्यकार ज्ञवालीको प्रश्न थियो, ‘कृषि क्रान्ति सम्पन्न भई पुँजीवाद आइसकेको भए कृषि उत्पादन किन घट्दै छ ? चामल, पिठो जस्ता आवश्यक खाद्य सामग्रीहरू कि भारतबाट आयत गर्नुपर्छ ? जमीन्दारी प्रथा तथा हरुवा चरुवा प्रथा हटेको खोइ ? कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, वैज्ञानिकीकरण, व्यवसायीकरण भएर उत्पादनमा वृद्धि भएको खोइ ?’ यी विभिन्न प्रश्नहरूको नेपाली समाजले सम्बोधन गर्न नसक्नाको कारण पनि देशमा सामन्तवादी आधार र संरचना कायम रहेको वहाँको दाबी थियो । यस प्रकारको वस्तुगत आधारमा नै उपरि संरचनाको रूपमा रहेको साहित्य तथा सौन्दर्यको अस्तित्व रहेको साहित्यकार ज्ञवालीको तर्क थियो ।
नेपाली समाजको चरित्रको चिरफारको विषय महत्त्वपूणर् विषयवस्तु हो । यसको सही रूपमा विश्लेषण नगरी यथार्थतामा आधारित साहित्य सिर्जना सम्भव पनि छैन । ऐतिहासिक भौतिकवादी दृष्टिले पनि आधार र उपरि संरचनाबिचको अन्तरसम्बन्धको यथार्थ विश्लेषण नगरी विषयवस्तुको गहिराइमा पुग्न सम्भव पनि छैन । त्यो अवस्थामा हाम्रा सिर्जनाका कलात्मक पक्ष गौण विषय हुन जान्छ । त्यस कारण पनि यो बहसले विशेष महत्त्व पाउनु पर्दछ । त्यसका साथै एउटा स्पष्ट विश्व दृष्टिकोण निर्माणको दिशामा हाम्रो भूमिका निरन्तर रूपमा अगाडि बढिरहनुपर्दछ ।