वर्तमान सरकार विघटन भयो भने प्रतिगामी सरकार बन्ने छ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले वर्तमान सरकार विघटन भए भने देशमा प्रतिगामी सरकार बन्ने सम्भावना औल्याएको छ ।महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असार ११ गते सोमबार जारी प्रेसवक्तव्यमा पार्टीले यस्तो सम्भावना औल्याएको हो ।

यस सन्दर्भमा पार्टीले एकातिर, एमाले र काङ्ग्रेसको माझमा सरकार बन्ने चर्चा र अर्कोतर्फ, बजेटलाई पारित हुन नदिएर सरकार विघटन गर्ने विषयमा आफ्नो पार्टीको ध्यान गएको उल्लेख छ ।

बजेटको सन्दर्भमा पार्टीले देशको सन्तुलित विकासको सवालमा सही नीति नपनाएकाले त्यसको आलोचना गर्ने अधिकार सुरक्षित राख्दै त्यसलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

एवम् प्रकारले वक्तव्यमा पार्टीको तीन ऐतिहासिक अभियान, पार्टी चुनाव प्रणाली, स्थानीय तहको अधिकारसम्पन्न अवस्था, सङ्घीयताको खारजी, आगामी चुनावमा तालमेलको प्रश्न, साम्राज्यवादको विरोधलगायतका विषयमा आफ्नो धारणा प्रष्ट पारेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“देशमा घटिरहेका र चर्चामा आएका कतिपय राजनीतिक प्रश्नबारे नेकपा (मसाल) को दृष्टिकोणबारे प्रकाश हाल्न यो वक्तव्य जारी गरिएको छ ।

१. हामीलाई यो बताउँदा खुसी लागेको छ कि ऐतिहासिक तीन अभियानअन्तर्गतको पहिलो कार्यक्रम अर्थात् सैद्धान्तिक प्रशिक्षण देशव्यापी रूपमा सम्पन्न भएको छ । त्यो सफलताले वर्षभरिका अन्य कार्यक्रमको सञ्चालनका लागि आधार तयार पार्ने छ भन्ने कुरामाथि हामीलाई पूर्ण विश्वास छ । हामीले लेनिनको मृत्यु भएको शताब्दी स्मृतिदिवस, पार्टीको स्थापनाको पचहत्तरौँ वर्ष तथा पार्टीको नवौँ महाधिवेशन समेतलाई सफल पार्न “ऐतिहासिक तीन अभियान सफल पारौँ, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ” भन्ने नाराका साथ वर्षभरि नै ऐतिहासिक तीन कार्यक्रम सञ्चालन गरिरहेका छौँ । देशव्यापी रूपमा भएको सैद्धान्तिक प्रशिक्षणको कार्यक्रमको सफलताले उक्त वार्षिक कार्यक्रमलाई सफल पार्न मदत पुग्ने छ भन्ने हामीले आशा र विश्वास गरेका छौँ ।

२. देशमा विद्यमान गठबन्धन सरकारको विघटन भएर नेका र एमालेको गठबन्धनको सरकार बन्ने चर्चाप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । यदि त्यस्तो भयो भने देश प्रतिगमनतिर जाने छ र हाम्रो पार्टीले त्यस प्रकारको कुनै कदमको विरोध गर्ने छ । वर्तमान सरकारसित हाम्रा कैयौँ प्रकारका मतभेद छन् । त्यो सरकारले अपनाएका कैयौँ नीति वा कार्यशैलीबाट पनि हामी पूरै सन्तोष छैनौँ तैपनि देश प्रतिगमनतिर जाने कुनै खतराको तुलनामा हामीले वर्तमान सरकारलाई सही मान्दछौँ र त्यसैले हामीले त्यसलाई समर्थन गरेका हौँ । कमसेकम वर्तमान सरकारले गणतन्त्र र धर्मनिरपेक्षतालाई समर्थन गर्ने जुन नीति अपनाएको छ, त्यो नीति कायम छँदासम्म त्यसलाई समर्थन गर्ने हाम्रो नीति कायम रहने कुरा हामीले स्पष्ट गर्न चाहान्छौँ । त्यसका साथै त्यसले अपनाउने सबै गलत नीति वा कार्यशैलीप्रति हाम्रो विरोध तथा आवश्यकताअनुसार सङ्घर्षको नीति कायम रहने कुरा पनि हामीले स्पष्ट गर्न चाहान्छौँ । हामीले आशा गर्दछौँ : गणतन्त्र र धर्मनिरपेक्षतामाथि विश्वास राख्ने कुनै पनि पक्षले प्रतिगमनलाई मदत पुग्ने प्रकारको कुनै कदम उठाउने छैन ।

३. अहिले सत्तापक्षसित सम्बन्धित कतिपय सांसदहरूले वर्तमान बजेटमा भएका कतिपय कमजोरीका कारणले वर्तमान बजेटलाई पारित गर्न नसकिने अभिव्यक्ति दिएको पाइन्छ । वर्तमान बजेटका कैयौँ कमजोरीप्रति हाम्रो गम्भीर मतभेद र विरोध छ । त्यसबारे हामीले बारम्बार आÇनो दृष्टिकोण प्रकट गर्दै आएका छौँ । हामीले पहिलेदेखि नै सन्तुलित विकासको नीतिमा जोड दिदै आएका छौँ । त्यसअनुसार देशका सबै पिछडिएका, दुर्गम र दूरवर्ती इलाकालाई विशेष प्राथमिकता दिएर सन्तुलित बजेट ल्याउनुपर्ने कुरामा हामीले जोड दिँदै आएका छौँ तर अहिलेको बजेटले त्यस प्रकारको सन्तुलित विकास नीतिमा ध्यान दिएको छैन । त्यो कारणले पनि हामीले अहिले संसद्मा प्रस्तुत बजेटप्रति आÇनो विरोध प्रकट गरेका छौँ । अहिले कतिपय पक्षले वर्तमान बजेटलाई पारित हुन नदिएर त्यसलाई असफल बनाउने र अहिलेको सरकारलाई समेत विघटन गर्ने जुन प्रयत्न गरिरहेका छन, त्यस प्रकारको नीतिलाई हाम्रो पार्टीले सही मान्दैन । त्यसो भएमा वर्तमान सरकारको सट्टा जुन सरकार गठन हुने छ, त्यसबाट देश प्रतिगमनतिर जाने नै बढी सम्भावना रहने छ । त्यसैले हाम्रो पार्टीले अहिले सरकारले पेस गरेको बजेटप्रति आÇनो विरोधलाई कायम राख्दै त्यो बजेटलाई असफल पारेर वर्तमान सरकारलाई विघटन गर्ने तथा देशलाई प्रतिगमनतिर लैजाने जस्तो कुनै पनि प्रयत्नलाई हाम्रो पार्टीले अदूरदर्शितापूर्ण र गलत मान्दै त्यस प्रकारको नीतिको दृढतापूर्वक विरोध गर्दछ ।

४. आगामी चुनावसम्म वर्तमान गठबन्धन कायम रहने छ वा रहने छैन ? त्यसबारे पनि देशमा विभिन्न पक्षले छलफल अगाडि बढाएको पाइन्छ । गत चुनावमा पाँचदलीय चुनावी तालमेल भए पनि नेकाको प्रतिपक्ष र माओवादीका कतिपय स्थानीय एकाइहरूले चुनावी तालमेलको नीतिलाई इमानदारितापूर्वक कार्यान्वयन नगरेका उदाहरण हाम्रा अगाडि छन् । अहिले कतिपय पक्षले आगामी चुनावमा कुनै चुनावी तालमेल नगरिकन एक्लै चुनावमा जाने प्रकारका विचार पनि बाहिर ल्याएको पाइन्छ । कुनै पक्षसित चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने कुरा हाम्रा लागि खालि चुनावी जितहारको प्रश्न नभएर सधैँ नीतिगत र राजनीतिक प्रश्न रहँदै आएको छ र आगामी चुनावमा पनि हाम्रो त्यही प्रकारको दृष्टिकोण रहने कुरा हामीले स्पष्ट गराउन चाहान्छौँ । अन्य पक्षसित चुनावी तालमेल हुन्छ वा हुन्न भन्ने प्रश्न हामीले एक्लै निर्णय गर्ने प्रश्न नभएर अन्य पक्षसित राजनीतिक समझदारी कायम हुन्छ वा हुन्न भन्ने कुरामाथि निर्भर गर्ने कुरा हो । अन्य पक्षसित त्यस प्रकारको राजनीतिक सहमति हुन नसकेमा वा अन्य पक्षसित चुनावी तालमेल हुन नसकेमा हामी एक्लै पनि चुनावमा जान तयार हुनुपर्ने छ र तयार पनि हुने छौँ । त्यो दृष्टिकोणले पनि आफूलाई तयार पार्दै लैजानुपर्ने आवश्यकतातिर हामीले विशेष जोड दिन चाहान्छौँ ।

५. अहिले देशमा चुनावको वर्तमान प्रत्यक्ष र समानुपातिकको मिश्रित प्रणाली अपनाउने वा ती दुबैमध्ये कुनै एउटा प्रणाली मात्र अपनाउने भन्नेबारे पनि बहस चलिरहेको छ । हाम्रो पार्टीले पहिले झैँ प्रत्यक्ष र समानुपातिक दुबै प्रणालीको मिश्रित प्रणालीलाई नै कायम राख्ने कुरामा नै जोड दिन्छ । त्यही प्रकारले प्रत्यक्ष रूपले निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको प्रणाली अपनाउने कुरालाई पनि हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ ।

६. हाम्रो पार्टीले सुरुदेखि नै स्थानीय निकायलाई अरू अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ । अहिले स्थानीय निकायको बजेटमा जुन कमी गरिएको छ, त्यसलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । हाम्रो यो निश्चित मत छ कि अहिले प्रादेशिक संरचनामा भइरहेको खर्च अनावश्यक छ र प्रादेशिक संरचनालाई पूरै खारेज गरेर त्यसमा खर्च भइरहेको बजेट स्थानीय निकायलाई दिनुपर्दछ । त्यसको परिणामस्वरूप स्थानीय निकायले विकासकार्यमा बढी योगदान दिन सक्ने छन् र देशको सर्वाङ्गीण विकास हुन सक्ने छ ।

७. हाम्रो पार्टीको यो कुराप्रति पनि गम्भीर ध्यान गएको छ कि भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादका नीतिका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुगिरहेको छ । उक्त प्रश्नमा सरकारले स्पष्ट र दृढ नीति अपनाउन नसकेको कारणले पनि स्थिति झन् पछि झन् गम्भीर हुँदै गइरहेको छ । त्यसकारण उक्त प्रश्नमा विशेष ध्यान दिन हामीले सरकारको ध्यान आकर्षित गर्न चाहान्छौँ । त्यसका साथै उक्त प्रश्नमा उच्च प्रकारको सतर्कता अपनाउन हामीले जनतासित पनि अपिल गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार