काठमाडौँ । राष्ट्रिय जननमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशमा भ्रष्टाचारको छानबिन प्रक्रियाबारे कटाक्ष गर्दै अहिलेको स्थितिलाई ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ जस्तो भएको बताउनुभएको छ ।
उहाँको भनाइ : भ्रष्टाचारको मामिलामा सत्तावरिपरि घुम्ने राजनीतिक दलहरूको चरित्रमा तात्त्विक भिन्नता छैन ।
युगदर्शन साप्ताहिकलाई २०८० भदौ ५ गते मङ्गलबार संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष केसीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘सत्ताको रस चाखेका सबै दलहरू भ्रष्टाचारबाट अछुतो छैनन्’ उहाँले भन्नुभयो– ‘अहिले चर्को स्वरले भ्रष्टाचार छानबिनको सन्दर्भमा कैयौँ दिनदेखि संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी पनि यस मामिलामा चोखो छैन ।’
भ्रष्टाचार नेपालको गम्भीर रोग भएको बताउँदै अध्यक्ष केसीले त्यसलाई छुट दिने काम सबै ठुला राजनीतिक दलहरूबाट भएको बताउनुभयो । ‘गत कालका कुनै पनि सरकारले भ्रष्टाचार नियन्त्रण गर्न काम गरेनन्’ उहाँले भन्नुभयो– ‘अहिले त छानबिन मात्रै सुरु भएको हो, भ्रष्टाचार निर्मूल भएको कहाँ हो र ?’
कोही चोखो छैन :
अध्यक्ष केसीले राणा, राजा र राजनीतिक दल सबैले सरकार चलाउँदा भ्रष्टाचारको मामिलामा कोही चोखो नदेखिएको बताउनुभयो । यस सन्दर्भमा उहाँले ललितानिवास प्रकरणको प्रस· उठाउनुभयो ।
‘भीमशमशेरको जमिन हिरण्यशमशेरकहाँ सर्यो । राणाशासनको अन्त्यपछि सुवर्णशमशेरबाट त्यो जमिन निरङ्कुश पञ्चायती व्यवस्थामा आयो’ उहाँले भन्नुभयो– ‘यसरी त्यो जमिन जनताको अथवा सार्वजनिक स्वामित्वमा रहनुपर्नेमा २०४६ सालपछि राजनीतिक पार्टीका नेताहरूले भोगचलन गरे ।’
उहाँले २०४६ सालपछि मुख्यत: काङ्ग्रेस र एमालेका नेताहरूले ललितानिवासको जमिन आफ्नो नाममा बनाउन प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘काङ्ग्रेस हुँदै एमालेका नेताहरूसम्मले त्यो जमिन आफूमा बाँडे । त्यस क्रममा भ्रष्ट कर्मचारी र न्यायाधीशसमेतको मिलेमतोमा नक्कली मोही खडा गरियो । यस मामिलामा तलदेखि माथिसम्म मिलेमतो भएको देखियो ।’
अध्यक्ष केसीले ललितानिवास प्रकरण त एउटा उदाहरण मात्रै भएको बताउनुभयो । ‘यस्ता अरू पनि उदाहरणहरू छन्, जस्तै : नक्कली भुटानी शरणार्थी र सुनतस्करी प्रकरण’ उहाँको भनाइ थियो ।
उहाँले भ्रष्टाचार, अनियमितता र तस्करीको मामिलामा सत्तापक्षले आफ्नालाई बचाउने र सत्ताबाहिरकालाई पोल्ने प्रवृत्ति अहिले पनि यथावत रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘भ्रष्टाचारको मामिलामा कोही पनि चोखो छैन ।’
उच्चस्तरीय छानबिन आयोगको प्रस· :
अध्यक्ष केसीले उच्चस्तरीय छानबिन आयोग गठन गरेकै कारणले समस्या समाधान नहुने ठोकुवा गर्नुभयो । त्यस सन्दर्भमा उहाँले गत कालको अनुभव खोतल्नुभयो ।
‘उच्चस्तरीय छानबिन आयोग नयाँ कुरा हो र हाम्रा लागि ?’ उहाँले भन्नुभयो– ‘यसअघि पनि थुप्रै उच्चस्तरीय छानबिन आयोग गठन भएका हुन्; जस्तै : २०४६ सालको मल्लिक आयोग, २०६२–६३ सालपछि रायमाझी आयोग, मधेसवादी आन्दोलनपछि रेग्मी आयोग, लाल आयोग ।’
उहाँले नेपालमा उच्चस्तरीय छानबिन आयोग गठन गरेर त्यसको प्रतिवेदन आउने तर दोषीलाई कारबाही गर्ने काम कहिल्यै नहुने बरु दोषीलाई बचाउन यिनै राजनीतिक दलहरू लागिपर्ने स्थिति रहेको बताउनुभयो ।
‘२०४६ सालमा जनआन्दोलनमाथि भएको दमनको छानबिन गर्न मल्लिक आयोग गठन भयो; त्यसले मिहिनेत गरेर प्रतिवेदन पनि दियो तर त्यो प्रतिवेदन कार्यान्वयन भयो ?’ उहाँले प्रश्न गर्नुभयो– ‘त्यसै गरेर २०६२–६३ सालको जनआन्दोलनमाथि भएको दमनको छानबिन गर्न रायमाझी आयोग पनि गठन भएको थियो† त्यसले पनि प्रतिवेदन दियो तर त्यो प्रतिवेदन कार्यान्वयन भयो ? त्यस्ता थुप्रै उदाहरण छन् ।’
प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका केसीले भन्नुभयो– ‘यी प्रतिवेदन कार्यान्वयन गर्ने बेलामा यिनै काङ्ग्रेस र एमालेहरू सत्तामा थिए । यिनीहरूले नै ती प्रतिवेदनलाई कार्यान्वयनमा ल्याएनन् ।’
अहिले सुनतस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने कुरा आफैमा गलत नभए पनि यसको परिणति पहिलाका आयोगको जस्तै हुने धारणा राख्नुभयो ।
‘उच्चस्तरीय छानबिन आयोग गठन होला† त्यसले प्रतिवेदन पनि देला’ उहाँले भन्नुभयो– ‘तर अन्तिममा के हुन्छ ? मल्लिक आयोगको जस्तै, रायमाझी आयोगको जस्तै प्रतिवेदन कार्यान्वयन हुँदैन बरु दोषीलाई छानबिनकै क्रममा उम्काइन्छ ।’
स्वतन्त्र व्यक्तित्व भन्ने हुँदैन :
अध्यक्ष केसीले प्रतिपक्षद्वारा स्वतन्त्र व्यक्तित्वको नेतृत्वमा छानबिन समिति गठन गर्ने मागको सन्दर्भमा त्यस्तो स्वतन्त्र व्यक्ति नेपालमा पाउन नसकिने बताउनुभयो ।
‘स्वतन्त्र व्यक्ति पाउनुहुन्छ तपाईंले अहिले नेपाल ?’ जनप्रिय नेता केसीले भन्नुभयो– ‘एमालेले सर्वोच्च अदालतका न्यायाधीश वा यस्तै स्वतन्त्र व्यक्तिको नेतृत्व भनेको छ । अदालतमा छन् त स्वतन्त्र व्यक्ति ? यिनै दलले भागवण्डामा राखेका न्यायाधीश त छन् अदालतमा ।’
अदालतका न्यायाधीशले राजनीतिक दलको कार्यालयमा पुगेर बधाई दिन धुइरो लागेको घटनाको स्मरण गर्दैै उहाँले प्रमुख प्रतिपक्षी दलको स्वतन्त्रसम्बन्धी दाबीको पोल खोल्नुभयो ।
संसद् अवरुद्ध गर्नु अनुचित :
अध्यक्ष केसीले प्रतिपक्षद्वारा संसद् अवरुद्ध गर्ने कार्य कुनै पनि हालतमा उचित नहुने बताउनुभयो ।
‘अहिले देशैभरि डेङ्गु र आँखा पाक्ने रोगको प्रकोप छ† लम्पिस्किनले हजारौँ पशुचौपाया मरेका छन्; जताततै बाढीपहिरोले जनतालाई दु:ख दिएको छ’ उहाँले भन्नुभयो– ‘यस्तो अवस्थामा जनताका प्रतिनिधिले आफ्ना कुरा राख्ने ठाउँ संसद् हो । त्यसलाई बन्द गर्नुलाई सही मान्न सकिन्न ।’
‘अर्कोतर्फ, एमालेले सुनतस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गर्नु तर्कस·त छैन’ उहाँले एमालेको शासनकाल पनि भ्रष्टाचार, अनियमितता, तस्करीको प्रकरणमा चोखो नभएको टिप्पणी गर्नुभयो ।
‘एमालेको कालमा ओमनी, सेक्युरिटी प्रेस, अहिलेको ललितानिवास जस्ता घटना चर्चामा आएका होइनन् र ?’ उहाँले भन्नुभयो– ‘एमालेको शासनकालमा पनि यस्ता भ्रष्टाचार, अनियमितता र तस्करीका कुरा उठ्दथ्यो तर छानबिन हुँदैनथ्यो ।’
अध्यक्ष केसीले अगाडि भन्नुभयो– ‘जे जस्ता कारणले भए पनि अहिलेको सरकारको समयमा नक्कली शरणार्थी, ललितानिवास, सुनतस्करी जस्ता अनियमितताको छानबिन हुनु स्वागतयोग्य छ ।’
राजमो नेता केसीले सरल शब्दमा भन्नुभयो– ‘प्रमुख प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको त छानबिनको दिशा आफूहरूतिर सोझिन थाल्यो भनेर हो ।’
उहाँले संसद् अवरुद्ध गर्ने कार्य तत्कालै फिर्ता लिन प्रतिपक्षी दलसित आग्रहसमेत गर्नुभयो ।
दुधको दुध, पानीको पानी होस् :
अध्यक्ष केसीले भ्रष्टाचार, अनियमितता र तस्करी जस्ता घटनाको छानबिनको सन्दर्भमा प्रमाण पुगेका कसैलाई पनि छाड्न नहुने बताउनुभयो ।
‘यहाँ त के देखियो भने आफू सत्तामा रहँदा आफ्नालाई जोगाउने, सत्ताबाहिर भएकालाई मात्रै पक्राउ गर्ने’ उहाँले यस खालको तरिका सरकारमा बसेकाले गर्न नहुने बताउनुभयो ।
उहाँले यस्तो तरिकाले भ्रष्टाचार उन्मूलन नहुने बताउनुभयो । ‘यसरी आफ्ना पर्छन् कि भनेर छानबिन गर्ने तरिकाले भ्रष्टाचार उन्मूलन हुँदैन’ उहाँको भनाइ थियो ।
अध्यक्ष केसीले कानुनको अगाडि सबै बराबर भएकाले “बलियालाई चैन, सानालाई ऐन” हुन नहुने बताउनुभयो ।
छानबिनको क्रममा पक्षपात हुने प्रशस्त सम्भावना भएकोतर्फ इ·ित गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारीको कुनै जात, थर हुँदैन ।
जनताको सम्पत्ति हिनामिना गर्नेहरूलाई कानुनअनुसार कारबाही हुनुपर्दछ । कसैलाई छोडिनुहुन्न ।’
लोकतन्त्र भएकाले बोल्न पाइयो :
राजमो नेता केसीले भ्रष्टाचार, अनियमितता, तस्करी निरङ्कुश राणाशासन र पञ्चायती व्यवस्थामा पनि हुने स्मरण गर्दै अहिले लोकतान्त्रिक व्यवस्था भएकाले यसबारे यसरी छलफल भएको बताउनुभयो ।
‘कतिपय लोकतन्त्र विरोधीले बहुदलीय व्यवस्थामा मात्रै भ्रष्टाचार, अनियमितता, तस्करी हुन्छ भनेर प्रचार गरेका छन्’ उहाँले
भन्नुभयो– ‘यो झुट हो । राणा र पञ्चायतकालमा पनि यस खालका बेथिति हुन्थे तर त्यति बेला लोकतन्त्र नभएकाले बोल्न पाइन्थ्यो । अहिले देशमा लोकतन्त्र भएकाले बोल्न पाइएको छ ।’
भ्रष्टाचार जस्ता बेथितिको विरोधको नाममा प्रतिगामी चलखेलतर्फ इ·ित गर्दै उहाँले यस्तो भनाइ राख्नुभएको थियो ।
उहाँले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्दै यसभित्रका अनियमिताका विरुद्ध निस्पक्ष छानबिन हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
(२०८० भदौ ६ गते बुधबारको युगदर्शन साप्ताहिकको ब्यानर न्युज)