हरितालिका तीज र फैलिंदै गएको विकृती

देवनारायण पोखरेल

हरितालिका तीज सदियौंदेखि चलिआएको जीवन्त संस्कृति हो । पूर्विय वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा । खासगरि स्कन्द पुराण र भविष्योत्तर पुराणमा ब्याख्या भए अनुसार राजा हिमालयले आफ्नी पुत्री गौरीको बिबाह भगवान बिष्णुसँग गरिदिने निधो गरे पश्चात साथीहरूले हरेर (सखीहरूको सहयोगमा) बिकट स्थानमा पुर्याए । त्यही गौरी (पार्वती)ले कठोर तपस्या गरिन् र उनको तपस्याबाट महादेव प्रशन्न भएर भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथी हस्ता नक्षत्रका दिन स्वयं प्रकट भई गौरीको तपस्या स्वीकार्दै आशिर्वाद दिएर तपस्या सफल तुल्याईदिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन तीज पर्व मनाउंदै आएको बताइन्छ । सखीहरू (आलीका) बाट हेरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भन्ने गरेको पनि भनिन्छ ।

तीज पर्व अहिले नेपालमा मात्र नभएर भारत वर्षका बिभिन्न स्थानहरूमा मनाउने गरेको पाइन्छ । यस पर्बलाई हरियाली तीज, काजरी तीज, केभाडा तीज, अखा तीज, काजल तीज, तीजरी तीज आदि आदि नामबाट मनाईन्छ । कतै कतै बैशाख तथा श्रावण महिनामा पनि मनाउने गरिन्छ । तर, समग्रमा तीजको महत्व र मान्यता समान देखिन्छ । हरितालिका तीज नेपाल लगायत भारतका बिभिन्न स्थानहरूमा धुमधामसँग मनाउने गरिन्छ । अहिले आएर संसारका बिभिन्न देशमा नेपाली र भारतिय समूदायले तीज पर्व मनाएको पाईन्छ ।

खासगरि नेपाली समूदायले बिदेशमा विशेष पर्वको रूपमा हरितालिका तिज पर्व अत्यन्तै धुमधामसँग मनाउँंदै आएको देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा बिदेशमा परिचित भईराखेको पनि  देखिन्छ । पुरातन कालमा सञ्चार र चेतनाको कमि थियो । जसले गर्दा चेलिवेटी विवाह भएपछि आफ्नो घरमा मात्र केन्द्रीत हुन्थे । त्यो बेला छोरी र बुहारीमा ठुलो भिन्नता थियो । जसले गर्दा तीज मात्र यस्तो समय थियो जुनबेला बुहारीले आफ्ना सुखदुख नाचगान मार्फत व्यक्त गर्न अवसर पाउथे । त्यतिबेला माइतीहरू आफ्ना चेलिवेटी लिन उनीहरूका घर जान्थे । माइती नआएमा माइत आउन पाउँदैनथे । त्यस समयमा उनीहरू ज्यादै दुःखी हुन्थे ।

तीजको समयमा चेलिवेटीहरू आफ्ना दाजुभाइलाई पर्खिरहेका हुन्थे । जब चेलिवेटीहरू माइत आउँथे उनीहरू दर खाएर अत्यन्तै खुसी भई तीज मनाउँथे । गाउँघरका सबै चेलिवेटी भेला भएर सुख दुःख साटासाट गर्ने गर्थे । तर, आजको व्यस्त समाजमा दिनप्रतिदिन चुनौतीहरू बढ्दै गइरहेको छन् । सञ्चार चेतना, यातायात र अवसरको बढ्र्दो विकासले सहज वाताारणको सृजना गरेको छ । तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, साँस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको पनि छ । त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्वले ओतप्रोत छन् । सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विविध बिसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्बको रूपमा हजारौं हजार वर्षदेखि यो चाड मनाईदै आएको पनि छ । यो चाडले साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबर्द्धन गर्दै आएको छ । हालका दिनहरूमा संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउने काम भईरहेको छ ।

समय परिबर्तनशील र गतीशील छ । समयको परिबर्तनशीलता र गतीशीलता संगसंगै मानव समाज र सभ्यताहरूको परिबर्तन हुंदै आएका छन् । समयको गती संगै भएका सकारात्मक एवं श्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई वैभवता प्रदान गर्दै बिकासको उचाईमा पुर्याएका छन् । समयको बदलिंदो प्रबाह संगसंगै नकारात्मक र अश्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई बदनाम गर्दै बिनाशको बिन्दूसम्म पुर्याएका छन् । तीज पर्ब पनि समयको परिबर्तित चक्र संगसंगै परिबर्तन हुंदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरि परिबर्तन हुन आवश्यक छ । हिजो माईती घर, ब्रत, पूजा, पंधेरो, चौंतारो अनि मन्दिरहरूमा सिमित हुने पर्व आज शहर, बजार, बस्ती, ब्यवसाय, बिद्युतीय सञ्चार माध्यमहरू, सामाजिक सञ्जालहरू लगायत हुंँदै ब्यापकता लिएको छ । हिंजो डम्फू, मादल, थपडी र मुर्चुंगामा गाईने तीजका भाकाहरू आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् ।

एक प्रकारले तीज पर्बको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगितिक उपलब्धि हांसिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यि सकारात्मक पक्ष पनि हुन् । तर, बिगत केही वर्षहरूदेखि आधुनिकताको नाममा, परिबर्तनको बहानामा अनि सस्तो लोकप्रीयता, सजिलो आय आर्जनको लोभमा, तीज जस्तो पबित्र चाडलाई बिकृति, बिसंगति र यौन स्वच्छन्दताको शिकार बनाईदै छ । पोईल जान पाम —-डिस्कोमा तीज —- छोटो लुगा— आदि आदि हुँदै अगाडि बढेको तीज गीतको आधुनिक यात्राले यसपालीको तीजमा दरको साटो रक्सी खाईन्छ —— देखियो जामा फाटेर —-सम्मको उचाई छुईराखेको छ ।

थाहा छैन यो आधुनिकताको स्वच्छन्द गतीले कुन उचाई छुने हो ? यस्ता उच्छृंखल र छाडा गीत, संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रीयता र सहज आर्जन गराए पनि हाम्रो संस्कार, संस्कृति एवं परम्परालाई पटक्कै फाईदा पुग्ने छैन । जीवन्त समाज र सभ्यताका बिनाशका कारक बन्न सक्ने यस्ता गलत कृयाकलापहरू रोक्न सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ । तिज पर्बलाई पश्चिमे छाडासँस्कृतीबाट उत्ताउलो तड्किलो भड्किलो हैन समाजमा नारी माथी हुने विभेद असमानता थिचोमिचोको विरुद्धमा समाज रुपान्तरण दिशामा तिज पर्बलाई मनाउन सकेउ भने मात्र हरितालिका तिज पर्बलाई न्याय गरिने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार