काठमाडौँ । पूर्वोत्तर भारतको मेघालयमा गत जुलाई ५ को घटनाले नेपालीभाषीमाझ भय सिर्जना भएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुरक्षाको प्रत्याभूति दिन भारत सरकारसित माग गरेको छ ।
अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा जुलाई ८, २०२४ का दिन जारी प्रेसवक्तव्यमार्फत् मूल प्रवाहले यस्तो माग गरेको हो ।
सन् १९५० को सन्धिले भारतस्थित नेपालीको जिउधनको रक्षाको दायित्व भारत सरकारलाई सुम्पिएको बताउँदै प्रेसवक्तव्यमा मेघालय घटनाको सन्दर्भमा उक्त प्रावधान लागु गर्न आग्रह गरिएको छ ।
मेघालयमा जुलाई ५ का दिन भएको घटनामा दुई नेपालीसहित चार जनाको हत्या भएको थियो । वक्तव्यमा मेघालयमा यस खालका थुप्रै घटना हुने गरेकोमा चिन्ता प्रकट गरिएको छ ।
यस्तो छ, प्रेसविज्ञप्तीको पूर्ण पाठ :
“मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जुलाई ५, २०२४ का दिन भारतको पूर्वोत्तर राज्य मेघालयको लाडरुम्बाईमा घटित हत्याकाण्डको घोर भत्र्सना गर्दै क्षोभ प्रकट गर्दछ । साथै उक्त घटनाप्रति नेपाल–भारत दुवै देशका सरकार एवम् सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै भारतस्थित नेपालीको हकहित र सुरक्षाको लागि आवश्यक कदम चाल्न माग गर्दछ ।
भारतको पूर्वोत्तरको राज्य मेघालयको लाडरुम्बाईमा जुलाई ५, २०२४ का दिन चार जना युवाको विभत्स प्रकारले हत्या भएको छ ।
अज्ञात हत्याराले अन्यत्र कतै हत्या गरी उनीहरूको शवलाई एकै ठाउँमा ल्याएर फ्याँकेको जानकारी छ । घटनामा परेका एक जना इलाम जिल्ला नेपाल निवासी सन्तोष राईका २४ वर्षीय छोरा रवि राई र दोस्रो सुनसरी धरान निवासी मनिकुमार राईका २४ वर्षीय छोरा राजेश राई रहेका छन् भने तेस्रो नेपाली या असमिया के हुन् ? अझै पहिचान खुल्न सकेको छैन भने चौथो स्थानीय खासी समुदायका हुन् । यो हत्याकाण्डको कारण अहिलेसम्म अज्ञात छ ।
मेघालयमा यस प्रकारका घटना हुने गरेका छन् । नेपालको रौतहट चन्द्रनिगाहपुर बसोबास गर्ने रोजगारको लागि मेघालयको लाडरुम्बाईकै ममपठ भन्ने ठाउँको कोइलाखानीमा सरदारको काम गर्ने रमेश कार्की गत जुन २४, २०२४ का दिन राति सुतेको स्थानबाट नै हराएको र खोजतलास गर्दा जुलाई १, २०२४ का दिन आफ्नो क्वारी (कोइला निकाल्न सुरुङ निर्माणको लागि खनेको खाडल) नजिकै रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । उनको शरीरमा भएका नीलडाम र घाउले कुटपिटपछि हत्या भएको अनुमान गर्न सकिन्छ ।
नेपाल–भारतको बिच सम्पन्न सन् १९५० को शान्ति तथा मैत्री सन्धिले दुबै देशका नागरिकको समान अवसर र अधिकारको कुरा गर्दछ तर व्यवहारमा त्यसको उल्टो छ । नेपालीहरू भारतको प्रत्येक प्रान्तमा अपमान र अपहेलनाको शिकार हुन परेको छ । त्यति मात्र हैन, नेपालीमा हुने विभेदकै कारण महिला यौनहिंसा तथा मारपिटदेखि लिएर हत्यासम्मको सिकार हुन पुगेका कैयौँ घटना घटिरहेका छन् ।
भारतको पूर्वोत्तर क्षेत्रमा त्यस प्रकारका ज्यादतिका घटना अन्य क्षेत्रको तुलनामा धेरै हुने गरेका छन् ।
सन् १९५० को सन्धिअनुसार भारतमा नेपालीको सुरक्षाको दायित्व भारत सरकारको हो र त्यसलाई सुनिश्चित गराउनु नेपाल सरकारको कर्तव्य हुन आउँछ तर दुबै देशका सरकारहरू आफ्नो दायित्व निर्वाह गर्नबाट यो वा त्यो बहाना गर्दै पन्छिने गर्दछन् । हालै पूर्वोत्तरको मेघालयमा भएको हत्याकाण्डले नेपालीमा थप भयत्रासको वातावरण पैदा गरेको छ किनकि त्यस क्षेत्रमा घटेका घटनाले अनेकौँपटक साम्प्रदायिक रूपसमेत लिएको र त्यसबाट नेपालीले चरम प्रकारको हिंसा सहनुपरेको दर्दनाक इतिहास छ ।
हामी सम्पूर्ण मानव अधिकारकर्मी, नागरिक समाज, पत्रकार एवम् दुबै देशका सरकार तथा सरोकारवाला निकायको यस घटनाप्रति ध्यानाकर्षण गराउँदै भारतस्थित नेपालीको जिउधनको सुरक्षाका लागि आवश्यक पहल गर्न माग गर्दछौँ ।”