काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देश कस्तो बनाउने भन्ने तागत युवाहरूसँग रहेको बताउनुभएको छ ।
शनिबार अखिल नेपाल युवक संघ, काठमाडौंले कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा युवाहरूलाई प्रशिक्षण दिँदै सिंहले यस्तो बताउनुभएको हो ।
‘देशमा के कस्तो गर्ने, देश कस्तो बनाउने भन्ने तागत युवामा नै हुने गर्दछ’ सिंहले भन्नुभयो, ‘देश कस्तो हुने भन्ने कुरा युवामा नै निर्भर हुन्छ । विकास, राजनीति, शिक्षा सबै क्षेत्रमा राम्रो नराम्रो काम पनि युवाबाट नै हुन्छ ।’
युवा हुँदैमा सबै राम्र नहुने स्पष्ट पार्दै सिंहले कैयौं बदमासी गर्ने पनि युवाहरू नै हुने गरेको बताउनुभयो ।
महामन्त्री सिंहले नेपाली युवा विदेशका लागि प्रयोग भइरहेको बताउनुभयो । युवा विद्यार्थीहरू ठूलो संख्यामा विदेश जाँदा देशको राष्ट्रियता, उन्नती र लोकतन्त्रमा समेत यसले असर गरिहेको सिंहको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘नेपाली युवाहरू विदेशक लाागि निर्माण भएका छन् । देशले लागानी गर्छ, हुर्काउँछ पढाँउछ, पछि ऊ विदेशिन्छ । अहिले विद्यार्थीलाई एउटा मात्र चिन्ता छ १२ पास गर्ने अनि कतिबेला भिजा लगाउने र बाहिर जाने ।’
सिंहले युवाहरूलाई असल बाटोमा हिँडाउन सही नीतिको अनुशरण गर्नुपर्ने बताउनुभयो । गलत चिजका विरुद्ध डटेर सामना गर्नुपर्ने बताउँदै उहाँले देशभक्तिको भावना हुनुपर्नेमा जोड दिनुभयो ।
‘जसलाई जस्तो विचार छ त्यस्तै विचार अनुसार काम गर्छ । सही–गलत जे विचार छ त्यही गर्छ । त्यसैले युवकले सही विचार निर्माणका लागि प्रयत्न गर्नु पर्दछ’ महामन्त्री सिंहले भन्नुभयो, ‘देशप्रतिको भावना हुनु पर्छ । देश कमजोर छ बलियो बनाउनु पर्छ । विकासका लागि पहल गर्नु पर्छ । भ्रस्टाचारविरुद्ध डटेर लाग्नुपर्छ । गलत चिजका विरुद्ध लड्न पर्दछ । दर्शन सही नभए विचार सही हुँदैन ।’
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेता आनन्द शर्माले पनि प्रशिक्षण दिनुभएको थियो ।