लघु कथा : सहकारी रोगी

हेम बिजी

बैसाख महिनाको तातो सडक माथि उभिएर सहकारी पिडितहरु नब्बे दिन देखी नारा लगाई रहेका थिए-” सहकारी ठगी जेल कोच ! अरबौ ठगेर गर्यो मोज !! हाम्रो पैसा फिर्ता गर ! आईजा सरकार वार्ता गर !!”

सहकारी पिडित हजारौ हजार जनताहरुको आन्दोलन र आक्रोश थेग्न नसकेर सरकार बाध्य भएर एउटा सहकारी ठगलाई समातेर छानबिन समितिलाई बुझायो।

पैतिस दिन पछि सहकारी रकम ठगी सम्बन्धी छानबिन समितिले सरकारलाई छानबिन प्रतिवेदन बुझायो। प्रतिवेदनमा लेखिएको थियो- ” छानबिन समिति यो निष्कर्षमा पुग्यो कि सहकारी रकम ठगीमा आरोपित व्यक्तिको स्वास्थ्य जाँच गर्नु पर्ने र आरोपित व्यक्तिको स्वास्थ्य जाँचमा पिसाब रातो र रगत सेतो देखिएमा उक्त व्यक्ति सहकारी रकम ठगी ठहरिने छ ।”

छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले सहकारी ठगीमा समातिएको उक्त व्यक्तिको स्वास्थ्य जाँचको लागि सहकारी रोगी बनाएर ‘सहकारी अस्पताल’ पठायो।

एक साताको स्वास्थ्य जाँच पछि सहकारी अस्पतालले सरकारलाई स्वास्थ्य जाँचको रिपोर्ट पठायो। रिपोर्टमा उल्लेख गरिएको थियो- ” सहकारी रोगीको पिसाब रातो र रगत सेतो देखिएन। “

सरकारले सहकारी अस्पतालको रिपोर्ट अध्ययन पश्चत अरबौ सहकारी रकम ठगी गरेको सहकारी रोगी व्यक्तिलाई छोडी दियो ।

सहकारी रकम ठगी व्यक्तिलाई सरकारले छोडेकोमा राजधानीको सडकमा सहकारी पिडित जनताहरुको आवाज र आक्रोश अझै बढिरहेकै थियो। नाराहरु थपिदै गएका थिए- “सरकार जनताको माग सुन ! सहकारी ठगि पक्रेर थुन !!”

सहकारी पिडित जनताहरुको आन्दोलन सडकमा जारी नै थियो। सहकारी ठगी उक्त सहकारी रोगीको पिसाब रातो र रगत सेतो हुनु पर्नेमा किन सामान्य मान्छेको जस्तै पिसाब सेतो र रगत रातो आयो। सबैमा कौतुहल छाएको थियो। धेरै दिन पछि बल्ल थाहा भयो- छानबिन समितिका अध्यक्ष, सहकारी अस्पतालका संचालक र स्वास्थ्य जाँच गर्ने डाक्टर सबै सहकारी ठगीमा संलग्न रहेछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार