नगर सम्मेलन अभियाना धमाधम

भारतमा यतिखेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलन अभियान सञ्चालन भइरहेको छ । मौसमको प्रतिकूलताका कारण कतिपय स्थानका नगर सम्मेलन केही पछि सारिएको छ, धेरैजसो सहर वा गाउँमा भने नगर सम्मेलन जोडतोडका साथ चलिरहेको छ । मूल प्रवाहका कार्यकर्ताहरू सम्मेलन सम्पन्न पार्न जुटिरहेका छन् भने सम्मेलन सम्पन्न भइसकेका स्थानमा नयाँ कार्ययोजनाको तयारीमा चलिरहेको छ । सम्मेलनमा नेपालबाट अतिथिहरू पुगेका छन् । उनीहरूले भारतस्थित नेपालीलाई नेपालको राजनीतिक अवस्थाबारे जानकारी दिइरहेका छन् । यो क्रम सम्मेलन अभियानभरि चल्ने मूल प्रवाहले जनाएको छ ।

भारतमा मूल प्रवाहको गौरवशाली स्थान छ । सन् १९७९ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनविक्रम सिंहको मुख्य पहलकदमी, त्यसका साथै निर्मल लामा, चित्रबहादुर केसी, गोविन्दसिंह थापा, सी.पी. गजुरेललगायतको पहलकदमीमा मूल प्रवाह (तत्कालीन अखिल भारत नेपाली एकता समाज) गठन भएको थियो । त्यो सङ्गठन यतिखेर भारतस्थित नेपालीको अभिभावक वा संरक्षक बन्न पुगेको छ । नेपालीका आन्तरिक र बाह्य दुवै प्रकारका समस्या समाधानको लागि मूल प्रवाहले नै मुख्य भूमिका खेल्ने गरेको छ । सामाजिक, कानुनी र नैतिक पाटो मात्रै होइन, शोषण, दमन र उत्पीडनबाट मुक्तिका लागि राजनीतिक भूमिकाबारे समेत मूल प्रवाहले स्पष्ट दिशानिर्देशन दिने गरेको छ । त्यस अर्थमा मूल प्रवाह भारतस्थित नेपालीको लागि गम्भीर महत्वको सङ्गठन बन्न पुगेको छ ।

सन् १९७९ मा मूल प्रवाहको गठन भएलगत्तै त्यहाँ अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा गठन भएको थियो । त्यसभन्दा अगाडि नै अखिल भारत नेपाली विद्यार्थी सङ्घ गठन भइसकेको थियो । त्यसपछि नेकपा (मसाल) का जनवर्गीय सङ्गठनका भारत शाखा स्तरका समिति खुल्न थाले । त्यस क्रममा महिला, जनजाति, रक्तिम, विद्यार्थी, समतालगायतका भारत शाखा एकाइ खुलेका थिए । सन् २००९ मा सम्पन्न छैठौँ अखिल भारत नेपाली एकता सम्मेलनले ती सबै सङ्गठनका भारत शाखा एकाइलाई मूल प्रवाहको मातहतमा राख्ने निर्णय ग¥यो । सोही निर्णयअनुसार अहिले भारतमा विभिन्न विभाग गठन गरिएको छ । यसपालिको सम्मेलनद्वारा पनि मूल प्रवाहको नगर समितिका साथै महिला, जनजाति, समता, विद्यार्थी जस्ता विभिन्न विभाग गठन भएका छन् ।

भारतस्थित नेपालीको माझमा सामाजिक भावनाको विकास भएमा मात्रै उनीहरूको उन्नति हुन सक्दछ भन्ने आधारभूत धारणा मूल प्रवाहले राख्ने गरेको छ । त्यस क्रममा मूल प्रवाहले नागरिकताको आधारमा भेदभाव नगरिकन भारतभरिका सम्पूर्ण नेपालीलाई समेट्ने नीति अपनाएको छ । त्यसैले गर्दा मूल प्रवाहको सङ्गठन भारतव्यापी रूपमा विस्तार हुन पुगेको छ । जम्मुकस्मिर, उत्तराखण्ड, पूर्वोत्तर भारत, झारखण्ड, उडिसा, केरल, तमिलाडु, गुजराज जस्ता भारतको कुनाकुनामा मूल प्रवाह पुगेको छ । अहिलेको नगर सम्मेलन अभियान पनि भारतभरि नै चलिरहेको छ ।

सन् १९७९ मा नेपालमा पञ्चायती कालरात्री थियो । त्यस बेला जनजीविकाको सवाल गम्भीर थियो । २०४६ सालमा सीमित प्रकारको बहुदलीय व्यवस्था आयो । २०६२–६३ सालको जनआन्दोलनले देशमा गणतन्त्र, धर्मनिरपेक्षता, विकेन्द्रीकरण र समावेशिताको व्यवस्था ग¥यो । त्यसका बाबजुद जनजीविकाको समस्या अझै पनि समाधान भएको छैन । फलस्वरूप नेपाली युवाको रोजगारीको लागि विदेश पलायन रोकिन सकेको छैन । अहिले त तेस्रो मुलुकमा रोजगारीका लागि युवा पलायन बढ्दै जान थालेको छ । फेरि पनि खुला सिमानाका कारण नेपाली युवाहरूको ठुलो पङ्क्ति भारततिरै छ । भाषाको सहजता, खुला सिमाना र बाध्यताका कारण नेपाली युवाहरू दक्षिण प्रवेश गर्ने गर्दछन् । यस खालको स्थिति रहँदासम्म भारतमा मूल प्रवाह जस्तो सङ्गठन औचित्य रहिरहने छ । मूल प्रवाहले त्यो औचित्यपूर्ण भूमिका निर्वाह गरिरहनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार