काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आज (असोज १६) लाई स्थगन गरिएको छ।
अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
असोज १० गते उद्घाटन भएको सम्मेलन उमेरहदका विषयमा अल्झिएर लम्बिइरहेको हो।संगठनमा रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद भइरहेको हो।
विवाद नटुंगिएपछि त्यसको समाधान गर्ने जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतले पाएका थिए। बस्नेतले मंगलबार रातिसम्म बागबजारस्थित होटल हार्दिकमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्षहरू हिमाल शर्मा, रमेश मल्ल, नरेन्द्र न्यौपाने र वर्तमान अध्यक्ष पञ्चा सिंहसहित छलफल गरेका थिए।
तर, उक्त छलफलबाट पनि समाधान ननिस्केको अध्यक्षका प्रत्यासी जीपी मैनालीले जानकारी दिए। उनले आफूहरू उमेरहद स्वीकार गर्न तयार भएको तर नेतृत्व भने चुनावबाटै छान्नुपने बताए।
‘उमेरहदमा चुनाव हुने कि नहुने अझै अन्योल छ,’ उनले भने, ‘हामी उमेदरहद मानेर २० वर्षकालाई पनि नेता मान्न तयार छौँ। तर, त्यो खुला निर्वाचनबाट टुंग्याउनुपर्छ।’
खासगरी अध्यक्षलगायतका प्रत्यासी रहेका विद्यार्थी नेता उमेरहदका पक्षमा छैनन्। उमेरहद लगाउँदा उनीहरू सबै बाहिरिने र नयाँले अवसर पाउने स्थिति छ। यस्तोमा तल्लो तहका प्रतिनिधि उमेरहद लागू गर्नुपर्ने पक्षमा छन्।
विवाद देखिएपछि सुझाव माग्न खुमलटार पुगेका विद्यार्थी नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने नयाँलाई अवसर दिनेगरी उमेरहदको व्यवस्था गरेर जान भनेका थिए।
प्रचण्डको सुझावपछि नै उमेरहद विवाद चुनावबाट टुंग्याउने कोसिस भएको थियो।
नेतृत्वको आकांक्षीहरूः
अहिले क्रान्तिकारीको नेतृत्वको लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी रहेका छन्।
यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ।
जनवादी केन्द्रीयताको अभाव :
जनवादी केन्द्रीयता मार्क्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित संगठनात्मक प्रक्रिया हो, जहाँ विचार–विमर्श–जनवाद र एकता (केन्द्रीयता) बीचको सन्तुलन आवश्यक हुन्छ । जनवादी केन्द्रीयताको अभाव भनेको यो प्रक्रिया ठीकसँग लागू नहुनु हो ।
संगठनभित्रका सदस्यहरूलाई आफ्नो विचार व्यक्त गर्ने, बहस गर्ने वा फरक मत राख्ने स्वतन्त्रता नदिइनु जनवादको अभाव हो । यसले संगठनभित्र तानाशाही वा एकल निर्णयहरू हुन सक्छ, जसले गर्दा सदस्यहरूको रायलाई बेवास्ता गरिन्छ ।
जब निर्णय लिइसकेपछि पनि सदस्यहरूले त्यसलाई पालना गर्दैनन् भने केन्द्रीयताको अभाव देखिन्छ । यसले संगठनभित्र अनुशासनहीनता र अराजकता निम्त्याउँछ, जहाँ सबैले आफ्नै तरिकाले काम गर्न खोज्छन्, जसले गर्दा संगठनको एकता र उद्देश्य कमजोर हुन्छ ।
जनवादी केन्द्रीयताको अभावले संगठनभित्र गुटबन्दी र आन्तरिक संघर्षलाई बढावा दिन्छ, किनकि स्पष्ट निर्णय–निर्माण प्रक्रिया हुँदैन । यसले संगठनलाई विभाजनतिर लैजान सक्छ र कार्यक्षमतामा कमी आउँछ ।
संगठनमा न त विचार–विमर्श हुन्छ न त लिइएका निर्णयहरूको पालना । यसले संगठनलाई कमजोर बनाउँछ र आफ्नो उद्देश्य हासिल गर्न असमर्थ हुन्छ ।
जनवादी केन्द्रीयताको अभाव भनेको संगठनमा न त विचार–विमर्श (जनवाद) हुन्छ, न त एकता र निर्णयहरूको पालना (केन्द्रीयता)। यसले संगठनभित्र अनुशासन, एकता, र संगठनात्मक उद्देश्यहरू पूरा गर्न कठिनाइ उत्पन्न गराउँछ ।
अहिले अनेरास्ववियु (क्रान्तिकारी) मा पनि जनवादी केन्द्रीयताको अभाव एवं जनवाद र केन्द्रीयतालाई ठिकसँग उपयोग गर्न नसक्नुको परिणाम नै विभिन्न व्यक्तिहरु गुट वा उपगुटमा परिणत भएका छन् ।