साहित्यकार शोभाकान्त गौडेलको पुस्तक जनताको सिंहदरबार (कवितासंग्रह) को समीक्षा वा समालोचना गर्नसक्ने ल्याकत क्षमता म राख्दिन । तैपनि गौडेलजिले एकजना नाताले भाइ पर्नेसँग एकप्रती पोखरा सहरबाट फलेवास सहरमा मलाई राम्ररी पढेर समालोचना गरिदिनु भनी पठाइदिनुभयो । समय निकालेर कनिकुथ्री , जानीनजानी समीक्षा गर्न बाध्य भए ।
कवितासंग्रह सरर पढे । कहिँ कतै नयाँ नौला भेटिन । उनै पुराना कविता । पहिल्यै कहिँकतै प्रकाशन भैसकेका । तर फेरि दोहोर्याएर पढे नयाँ नौला पनि भेट्टिए । कतिसम्म भेटिए भने जति दोहोर्यायो उति नयाँ । झनझन् दोहोर्यायो झन्झन् नयाँ ! झन्झन् तेहेर्यायो झन्झन टेस्टि । जति पढ्यो उति पढौं पढौं लाग्ने ! रसै रस मात्र । गिद्रा , छोक्रा र बोक्रा फेलै नपर्ने । एउटो पनि नाइँ !
कवि शोभाकान्त गौडेलका कविता , गजल र मुक्तकमा भुगोल , धर्म , राजनीति , समाज , स्वदेश , विदेश , नदि , नहर , सिंचाइ आयोजना , गाउँ टोल बस्तीका भाषा , लबज आदि सप्पैको स्वाद पाइन्छ । स्वादिलो , चोपिलो , चोटिलो , मिश्रण रहेको पाइन्छ । अनेकतामा एकता पाइन्छ ।
मुक्तक र कविता गरेर संग्रहमा ४० वटा रचना रहेका छन । सप्पै सादा , सिधा , सरल र नरम छन् । सबका सब कवि जस्तै सरल , साधरण र सिधा टाइपका ।
गौडेलजीको दोस्रो कृति जनताको सिंहदरबार (कविता संग्रह) २०८० असोज , १०७ पृष्ठको रहेको छ । राम्रा गाढा अक्षर छन् । ठिक्क साइजका रहेका छन । राम्रो कागज र राम्रो बाक्लो गातोमा प्रकाशन गरिएको छ ।
वि•स• २००८ मा पर्वतको फलेबासमा जन्मिनु भएका कवि बसाइँसराइ पछि पोखरामा बसोबास गर्दै आएका छन् ।
म साहित्यकार त होइन , तर साहित्य मन पराउने मान्छे भने हुँ । पढ्न शुरु गरे । ” जनताको सिंहदरबार कविता सङ्ग्रह ” आवरण पृष्ठबाट शुरु गरे । कविता क्रममा क्रमसंख्या , शिर्षक र पृष्ठसंख्यामध्ये क्र•स• नभएको हुँदा पुस्तकमा कतिवटा कविता रहेछन् थाहा पाउन औंला भाचेर कविता गन्नुपर्ने अवस्था रह्यो । क्र•स• भएको भए राम्रो हुन्थ्यो । सुनमा सुगन्ध हुन्थ्यो । गनेपछी थाहा लाग्यो सप्पै गरेर ४० वटा रहेछन् । पहिलो नम्बरको कविता “जनताको सिंहदरबार” बाट पुस्तकको नामाकरण भएको रहेछ । जनताको सिंहदरबार असाध्यै मिठो छ , चोपिलो छ , राम्रो छ , शासकको निम्ति अपाच्य भए पनि जनताको निम्ति पाच्य छ । पोषिलो छ । खोजीखोजी पढ्दा हुन्छ । आनन्द आउछ । मन रमाउछ ।
यो कविताको बारेमा यो भन्दा धेरै राम्रो ब्याख्या विश्लेषण त २०६५ सालको निजामती सेवा दिवसको अवसरमा भैसकेको हुनुपर्छ । भैसकेको छ । राम्रो उत्कृष्ट भएर नै यो कविताले २०६५ सालको निजामती सेवा दिवसको उपलक्ष्यमा आयोजित निजामती कर्मचारीबीचको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको हुनुपर्छ ।
सिंहदरबार भयावह हुनुहुँदैन । जनमैत्री हुनसक्नुपर्छ , हुनुपर्छ । जनताको प्यारो र जनताको सहज पहुँचमा हुनुपर्छ । कविको चाहना यसलाई जनताको सिंहदरबार बनाऔं भन्ने नै हो । तर यो –
रुकुम , रोल्पा र जुम्लाको कुरै छाडौं
मुगु , कालिकोट र हुम्लाको कुरै छाडौं
त्यही परको जीतपुर फेदी पनि
सिंहदरबारभित्र पस्नै डराउँछ
कदाचित् पसिहाले पनि
गन्तव्यमा नपुगी , बीचमै हराउँछ ।
“सत्ययुगको झल्को” मा रचनाकार वा कविद्वारा कालीपारको सानो गाउँको बारेमा वर्णन गरिएको छ । यद्यपि त्यो कालीपारको सानो गाउँ हो तर त्यो देशैभरी जसो र विशेष गरेर सबै पहाडी प्रदेशका गाउँको अवस्थासंग मिल्दोजुल्दो रहेको पाइन्छ ।
“प्रीत बनी गाम-बेंसीमा”
•••अञ्जुलीले पानी उबाई पिउन कहाँ सकिन्छ र !
•••फापर बनी स्वाँरामा फुल्न कहाँ सकिन्छ र
•••गीत बनी गाम-बेंसीमा बज्न कहाँ सकिन्छ र
प्रीत बनी गाम-बेंसीमा रम्न कहाँ सकिन्छ र ?
धेरै राम्रो ! कति हो कति मिठो ।
“धरतीको गीत गाउँदै´´ कवितामा कविले फलेवास नहर बारेमा जुन विचार व्यक्त गरेका छन् अथवा जुन विचार प्रकट गरेका छन् त्यो उनको आफ्नै सघर्षले गर्दा फलेवासवासी विशेष गरेर भुसालचौर , दमाहाढुङ्गा , माटेदेवल तर्फ प्राप्त हुन गएको हो। यद्यपि यो नहरको लागि ठुलो त्याग तपस्या त्यस क्षेत्रका जनताले गरेका हुन्। तर अन्तिम समयमा यस कविताका रचनाकारका कारणले नै यो नहर लागु भयो। सुसम्पन्न भयो। यसमा कविले आफुलाई सेकेन्ड पर्सन को रुपमा शोभाकान्त गौडेलको सक्रीय एव जुझारु योगदान रहेको भनेर उल्लेख गरेको भए पनि सायद अत्युक्ति हुन्थेन होला। र प्रात:स्मरणीय दिवंगत बिसे पन्तलाइ पनि जोड्न सकेको भए कविता अझै टेसीलो ,चोपिलो , स्वादिलो , सुमधुर , ऐतिहासिक र प्रीय हुन्थ्यो। र उनि प्रती (बिसेपन्त प्रती) सम्मान पुग्थ्यो। यो अंश कवितामा छुटन पुगेको छ । धरतीको गीत गाउँदै कविताका सुन्दर पंक्तिहरु यसरी ब्यक्त गरेका छन् कविले –
ठुलै त्याग तपस्याले फलेबासमा नहर आयो
बाँझो धरती प्यासी थियो बल्ल त्यसले अमृत पायो
जेठो बूढो , पहेले र खुमल चार कति राम्रो
भकारी हो अनाजको फलेवास फाँट हाम्रो ।
यो कविता-पढ्दै गर्दा सर्जकलाई कविता मुक्तक कथाबाट मात्र चिन्नेजान्ने होइन सामाजिक योगदानमा पनि स्मरण गर्नसक्नुपर्छ । गर्नुपर्छ। चिन्नुपर्छ । फलेबासको नहर निर्माणमा उनले खेलेको भूमिका फगत सरकारी जागिर मात्र थिएन। सरकारी जागिर पचाउन बयर डाडाको भिरमा पौठेजिरी खेल्नुपर्ने थिएन। समाजप्रतिकै कर्तब्यबोधले मात्रै कविले पाखुरा पनि सुर्किनु परेको थियो। यद्धपि अहिलेको पिढिले को ? के ? कसो ? किन ? कसरी ? चिन्ने,बुझ्ने , जान्ने , कुनै चासो , चिन्ता , सरोकार , मतलब राख्ने गर्दैन ।
“पँधेराका बाटा” अन्तर्गत कविले गाउँ घरको देशकै अवस्था हालचाल बर्णन गरेका छन् ।
घडेरीमा सिस्नो उम्र्यो छोरो छ कोरिया
बूढी आमा कहिलेसम्म खन्लिन् र खोरिया
बाँझै छन् गाम-बेंसीका स्वाँराका पाटा
भत्किएर रोइरहेछन् पँधेराका बाटा ।
थोरै शब्दमा देशको वर्तमान अवस्था बर्णन भएको छ पँधेराका बाटामा ।
“फूलका मुनाहरु मनका कुनाहरु” कविता सुन्दर छ। यो सुन्दर र मिठो भएको हुनाले नै नव – माधुरी , अंक १ , २०६२ मा प्रकाशित भएको छ ।
“वसन्तको सुमधुर याम होस्
शरदकालीन कलिलो घाम होस्
बर्सोस वर्षा रिमझिम साउन
चराचुरुङ्गी प्रीतकै गीत गाऊन् ।” र अनि
… सघन छहारी फूलका मुनाहरु
हाँसून् गद्गद् भै मनका कुनाहरु। ‘’
एउटै लाइनमा लेखिनुपर्ने कविताको शिर्षक हो यो । तर दुइ लाइनमा लेखिएको हुँदा दुईवटा कविता हुन कि जस्तो भान पर्न पुगेको छ पाठकलाई । दुइटा शिर्षक हुन कि जस्तो आभास भएको छ । एउटै कविताका दुइटा शिर्षक सायद छपाइमा त्रुटि / गलती होला ।
“हिउँ परेको रात” कविता देशको अवस्था गम्भीर भएको स्थितिमा लेखिएको कविता हो यो । सायद दश वर्षे जनयुद्ध काल थियो ।
कापी कलम फालिदेउ आजै
बाँच्ने रहर छ भने दाज्यै !
कविताका यी पंक्ति हिउँ परेको रातबाट हुन् । दाज्यै : यो जिन्दगीबाट होइनन् ।
“कालीगण्डकी राजमार्ग” कविता २०६२ सालमा सगुन पत्रीकामा प्रकाशन भएको रहेछ। तर आजसम्म पनि यो कविता उस्तै छ। उस्तै उत्तिकै सान्दर्भिक रहेको छ । उतिबेला कल्पना गरीएको यो कविताले अहिले साकार रुप लिएको छ। कवितामा कविले भनेका छन् –
भिमकाय भारत र महाचीन जोड्ने
सम्पर्कको सूत्र गाँसि भावी रेखा कोर्ने
अति छोटो दूरी छ रे गण्डकीको बाटो
ब्यग्र भई बसिरहेछ यो क्षेत्रको माटो ।
“मेरै पाखा पखेरीमा” –
माली गाई तारे बाच्छो भैंसी मेरी काली
आँगनभरी पाठापाठी कुद्छन् फाल हाली
फाँटभरी झुलेका छन् गौरियाका सरा
मङ्सिरमा रमाउँछन् फाँटका खले गरा ।
कति आनन्ददायक पंक्तिहरु (मेरै पाखा पखेरीबाट)
“पोखराका केही शव्दचित्र ” मा कविले पोखराको महिमा बर्णन गरेका छन् । पोखरालाई स्वप्नकि परिको रुपमा देखेका छन्। फेवाताल , सेतीको गर्जन , महेन्द्र गुफा , सराङ्कोटको सुर्योदय र कविताको तेश्रो भागमा पोखराको महँगी बर्णन गरिएको छ।
रहस्यमय गुफा ! तालैतालको सहर हो पोखरा
सङ्गीतको सरगम कल्पनाको मिठो लहर हो पोखरा
कुन्नि एक पटक पनि पुग्नुभएको छ कि छैन
सराङ्कोटको सूर्योदय एउटा रहर हो पोखरा।
“केही मुक्तक” : कविले असाध्यै राम्रा मुक्तक सिर्जना गरेका छन् । केही मुक्तक अन्तर्गतका २१ वटा मुक्तक मध्ये छैटौ नम्बरको मुक्तकले बाजेले नुन छरेका गौचरनका पाटा चौतारी र पधेराका बाटाहरु नातिले दर्ता गरेर घडेरीमा बेच्न लागेको उल्लेख गरीएको छ भने सातौ नम्बरको मुक्तकले नौलो क्रान्ति अर्थात् नौलो जनवादी क्रान्तिको नाति मार्फत आव्हान गरेको छ । सत्रौ नम्बरको मुक्तकले वर्तमान नेपाल र नेपाली समाज बोलेको छ। प्रष्टसंग बोलेको छ । त्यहाँ भनिएको छ –
छोरो मेरो क्यानाडा जाने भो।
पीआर पछि बुहारी लाने भो।
साइँला बाजे बर्मामै बिलाए
माइला दाजै आसाममा हराए
छोरो पनि हराउने हो कि
नेपालीको यस्तै छ नियति।
“रमाइलो बागलुङ” कवितामा साच्चै नै कविले बर्णन गरे झैँ रमाइलो रहेको छ बागलुङ जिल्ला , बागलुङ बजार ,बागलुङ कालिका मन्दिर । कोस – कोसपिच्छे झोलुङ्गे पुल , थन्थापकी माइ , भैरमस्थान , नारानथान , ठेउलेका बुधुना र असला माछा , ज्यामिरघाटको शङ्ख शीला , र्याफ्टिङ आदिको रमाइलो सुन्दर सैलीमा बर्णन गरिएको छ। बागलुङगे सन्ततीहरुको बारेमा पनि बर्णन गरीएको पाइन्छ । रमाइलो बागलुङ कविता जस्तै स्याङ्जाको सम्झना कविता पनि रहेको छ ।
ठेउलेपारि थन्थापकी माइ वारि छन् भैरम
डाला र नाङ्ला उनीका कामला मान्छेको कैरम
तामाको धाउ गलकोटको खानि राङ्खानी त्यस्तै छ
त्यो तारा खोला के गर्दै होला परिवेश यस्तै छ ।
“तिमी आयौ” कविता दोहोर्याएर पढे अन्य मौसमका साथै वर्षातको मौसम र त्यसले कालिवारी पारि पारेको प्रभाव सुन्दर शैलीमा बर्णन गरिएको पाइन्छ । कविले यो पनि भनेका छन् –
डढेलोले वन खायो पिरलोले मन
त्यहि मनलाई बिसाऊँ कहाँ
अब तिम्ले भन ।
“खोजेर ल्याउँ चिबे चरी” कवितामा कविले चिलले सबै बचेरा र चल्ला खाइसकेको कोलाहल जताततै सुनिन्छ। तर चिबे चरी भएको भए त्यसरी खान पाउँदैनथ्यो। खोजेर ल्याउँ चिबे चरी भनिएको छ। कवि यसरि प्रस्तुत हुन्छन् –
कहाँ होला त्यो चिबे चरी
गिद्धलाई लखेट्थ्यो बेसरी ।
“कविसँग” कवितामा कविले कविलाई रवि जस्तै चम्कनुपर्ने कुरा उल्लेख गरेका छन् । उनी भन्छन् –
निराशामा रुनु हुन्न स्वप्नद्रष्टा कवि
बाटो देखाऊ सुमार्गको चम्केजस्तै रवि
तिम्रो कलम बन्दुकभन्दा शक्तिशालि हुन्छ ।
जागृतिको गीतले मात्र जनतालाई छुन्छ।
“मेरो मोदी खोला” मा कवि अत्यन्तै भाबुक र मार्मिक रुपमा प्रस्तुत भएका छन् । जसरि मोदीले बिजुली निकाल्न अध्याँरो रातलाई मेट्न झिलिमिली पार्न मेट्यो आफ्नो चोला त्यसैगरी समाज राष्ट्रको भलो हुने भए हरेक व्यक्तिले आफ्नो इच्छालाई तिलाञ्जली दिनसक्ने हुनुपर्छ। कविले भनेका छन् –
भलो हुने भएदेखि गाउँबस्ती शहरको
तिलान्जली दिनुपर्छ आफ्नै चाह रहरको ।
मोदी नदीले बिजुली निकाल्न बाहेक बाँझो धर्ति भिजाउने र तिर्खा मेट्ने पनि हुन् सकेको भए अझै नाम ठुलो हुने थियो। तर त्यसो हुन नसकेकोमा पछुताउ भएको छ कविलाई। कविले यस कविता मार्फत मोदी हाइड्रो पावर वरिपरिका बासिन्दालाई पनि सचेत पार्नु भएको छ । तर योजना सम्पन्न भैसकेको छ बिजुली निकाल्न मात्र।
“आगो” कवितामा कविले मैलो मयलको काँठो डुङ्डुङ्ती गन्हाउने गरिवको चिसो चुलो जलाउन लागिपर्नुपर्ने बताएका छन् । उनले भनेका छन् –
मरेको छैन रे बस्ति मान्छे कहीँ नचले पनि
निभेको छैन रे बत्ती खुलेर नजले पनि
फुकेर हुन्छ कि यसलाई लाग्नुपर्यो जलाउन
आगोको रापिलो ज्वाला पर्छ है दन्दनाउन ।
“दाजै : यो जिन्दगानीमा” कविता समेत अन्य कतिपय कविताले महाकवि लक्ष्मि प्रसाद देवकोटाले झ्याउरे लयमा रचना गरेको मुना मदनको झल्को दिएको छ ।
न मलाई दाज्यै दिनको भोक न निद्रा रातिको
कसले पो सुन्छ वेदना मनको म एक्ला यात्रीको ।दाज्यै : यो जिन्दगानीमा !
“माटोको महिमा” कवितामा कविले माटोको बखान गरेका छन् । माटोको बखान गर्दै कवि भन्छन् –
अपार सिर्जना शक्ति माटोमै हुने गर्दछ
माटोको महिमा बुझ्न माटोमै भिज्नुपर्दछ
आउ तस्मात रोपौँ कि सिर्जना शक्तिको बिज
माटोको महिमा गाउँदै गाउँबस्ती सबैतिर ।
“स्याङ्जाको सम्झना” कवितामा स्याङ्जा जिल्लाको अवस्थिति, सामाजिक अवस्था , आर्थिक अवस्था , शैक्षिक र गन्यमान्य व्यक्ति आदिको वर्णन सुन्दर कवितात्मक शैलीमा गरिएको पाइन्छ । करेन डाँडाँ र जैसी डाँडाँ जस्ता प्रख्यात डाँडा अनि भञ्ज्याङ कोट , थुम्का , धुरी , चापाकोट फाँट आदिको बर्णन रहेको छ । स्याङ्जाका सन्ततिहरुको उल्लेख गरिएको छ । हरेकजसो क्षेत्रमा स्याङ्जा जिल्लाको नाम अग्रस्थानमा रहेको यस कविताबाट जानकारी हुँदछ ।
“कलको पानी सुक्यो नि नानी” कवितामा गाउँ सहरको वर्णन गरिएको छ । गाउँको वर्णन गर्दै कविले भनेका छन् –
•••जता हेर्यो उदाङ्ग छन् नाङ्गा डाँडाकाँडा
बाटोभरी देख्छु मैले थकाइलाका काँडा ।
त्यस्तै कविले सहरको बारेमा भनेका छन् –
•••धीत मारेर खानु छैन पानी पनि भाइ
शहरको रङ्गी-चङ्गी मात्र हाइहाइ ।
कवि पर्वत फलेवासबाट कास्की पोखरामा झरेका भए पनि सिन्धुपाल्चोक मेलम्ची खोलाको पानी पिउन नपाइ जीवन् तड्पी तड्पी वित्छ कि भन्ने चिन्ता प्रकट गरेका छन् । सायद कविको यो पीर यो चिन्ता कविको आफ्नै लागि नभएर काठमाडौं सहरबासीको लागि रहेको छ ।
“के लेखुँ कविता मैले ?” मा कविले सायद दसवर्षे जनयुद्धको वर्णन गरेका छन् । त्यो समयको अवस्था संझीदा अझै पनि डर त्रास उत्पन्न हुनेगर्छ सर्वसाधारणलाई । तर कविले आफ्नो कलम दह्रो गरि निर्धक्कसंग समाउनुपर्ने उल्लेख गरेका छन् , आफै समाएका छन् र यसरी लेख्न पुगेका छन् –
सकिन्न वेदना बाँड्न रोइन्न दुख दर्दमा
रुँदा पनि डरै लाग्ने त्रास मात्र छ हर्दम
निर्धक्क यदि खुल्दैन कविको लेखनी भने
के गत् समाजको होला कलम रोयो सधैं भने ।
“सराङ्कोट” पर्यटकीय पोखराको सुन्दर स्थल सराङकोटको बारेमा सराङ्कोट कविता मार्फत वर्णन गरिएको छ । र भनिएको छ –
पिठ्युँ बोकेर हिमालको चिसो
सम्मुखमा उदाएको
रातो सूर्यको राप महसुस गर्दै
दङ्ग छ सराङ्कोट ।
“म मेरै देशमा आउँछु” कवितामा कविले विदेशमा रहदा बस्दाको अनुभव गर्दै आफ्नै देशको याद गरेका छन् । जसरी पैसाको स्याउला सोहोर्नु छ झैं परदेशिएका युवाहरूले विदेशमा झलझल्ती आफ्नो देशको याद गरेका हुन्छन् । अथवा म मेरै देशमा आउछु भन्ने कवितामा कविले वर्तमान युवाहरूको पिडालाइ मर्मस्पर्शी , वेचैनी र पश्चातापको शैलीमा प्रस्तुत गरेका छन् । देश हाँक्ने नेताहरूलाई धिक्कार छ भनेका छन् । आङ सिरिङ्ग हुनेगरी , मस्तिष्क सन्न हुनेगरी र पाखुरा सुर्किहालौ जसरी कवि भन्छन् –
धिक्कार छ देश हाँक्ने नेताहरूलाई
तिनको मान पदवी र फेताहरुलाई
सबैको ओखती हुन्छ
भ्रष्टाचारी नकटाहरुको ओखती खोइ केले हुन्छ?
उडुँ कि बुडुँझै भइ रहेछ
अमुल्य समय त्यसै खेर गइरहेछ ।
“उर्जा नदि मोदी” बारेमा कविले मोदी नदिलाइ उर्जा नदीको संज्ञा दिएका छन् र भनेका छन् –
उर्जा नदी मोदी मेरी वैभवकि खानी
अन्धकारलाई प्रकाश दिने तिर्खालुलाइ पानी
मोदी यिनलाई सजाएर संवारेर राखी
अमृतको घडा हुन यी पुर्याई पुर्याई चाखौं ।
मेरो मोदी खोला र उर्जा नदी मोदीलाई एकै ठाउँमा मिलाएर लेख्न सकिन्थ्यो कि जस्तो लाग्छ ।
“गीत” मीठो छ । Good mind good find भने जस्तै गीतकारले (कविले) भनेका छन् –
मन भए खुसी देखिदो रैछ रमाइलो सर्वत्र ।
गीतको बोलमा भनिएको छ –
नआइज साउन बादल बोकी , यसै मन दुखी उसै मन दुखी
डढ्न दे मलाई डढ्दछु बरु , टन्टलापुरे घाममा बसी ।
“एकान्त मात्र” यो कविता कविले एकान्तको कल्पना गरेर लेखेका छन् । आफुसंग अरु कोहि नभएर एकान्त मात्र भएको बेलामा यो कविता रचना गरिएको छ ।
मर्स्याङ्दी गंगा भदौको भेल बढेर वारको पार
मायालुसंग बात गरु भने पाउदिन फुनको तार ।
उनी अगाडि भन्छन् –
एकान्त मात्र साथी छ अरु कोही छैन साथमा
तड्पेरै बसेँ कल्पेरै बसेँ जुनेली रातमा ।
“सिङ्गै युग वित्यो !” कवितामा कविले भाषण मिठो गर्ने आचरण तितो गर्ने नेताको बानीले सिङ्गै युग वितेकोमा पछुतो मानेका छन् ।
“सिर्जनाको कोलाहल”
पातलो बस्तीको यो घाट
सालमा कैयन पटक बल्छ
त्यो ज्वालाको के काम
न त्यसबाट केही पाक्छ
न त त्यो कसैले ताप्छ ।
मार्मिक छन् कविका यी विचार । उनी जंगिदै भन्छन् –
चिहानको शान्ति होइन देशलाई
अब त सिर्जनाको कोलाहल चाहिएको छ
मसानको ज्वाला होइन देशलाई
क्रान्तिकारी निर्माणको मसाल चाहिएको छ ।
“तर , हामी” कवितामा गाउँको परिवेशमा जन्मिएका हामी मान्छेको चित्रण गरिएको छ । सहरको अवस्था बेग्लै छ । गाउँको बेग्लै छ । सर्वसाधारणको जिवनयापन अवस्था बेग्लै छ । नेता र तिनका सन्तानको बेग्लै छ ।
शिक्षण,ब्यापार गर्न बसेका नर्सिङहोम
छन त वीर अस्पताल पनि छ रे
तर हामी कहाँ अटाउँछौ र ।
कविले कविताको अन्तिमतिर भनेका छन् –
वास्तविक जनताको घरदैलोमा
विकास आकाशको फल भइरहेछ
अरब , कतार र मलेसियातिर
युवा जनशक्ति गइरहेको छ
गरिबका छोराहरुले कमाएको डलर
धन्न देशमा आइरहेको छ
सचिव मन्त्री र नेताका छोराले भने
त्यही डलर विदेश लगी खाइरहेछ ।
जनताको सिंहदरबार (कवितासंग्रह) अन्तर्गतको “तर , हामी” कविता पढ्दै गर्दा एकजना भारतीय विद्वानले भनेको कुरा याद आयो । उनले भनेका थिए पुस्तकहरुले हामिलाइ रोटी खान दिदैनन् तर हाम्रो हिस्साको रोटी कसले खाइरहेका छन बताउँछन । हामीले आर्जन गरेका रोटीहरु को ? कसले ? कसरी ? खाइरहेका छन् जनताको सिंहदरबार (कविता संग्रह) भित्रको “तर , हामी” कविताले ठोकेरै तोकेरै बताएको छ ।
“२०६८ साल”
दिन्न फल तप्केनी खेतीले
देश बिग्र्यो नेताको मतीले
वनै नाङ्गो दुबिकाल गिठाको
हाहाकार छ आँटा र पिठाको
भाउ बढायो बिजुली पानीलाई
प्रवाह छैन झिनुवा खानीलाई ।
२०६८ साल कविताका सुन्दर हरफ हुन यी । खास के थियो अठसठ्ठी सालमा ? खुल्न सकेको भए राम्रो हुने थियोे । सायद संविधान लेखनको बेला थियो कि ।
“कसले सजाइदेला बरै ! यो देशको माटो” कवितामा कविले भनेका छन् –
सहिदले देश र जनताको निम्ति प्राणको आहुती दिए । पद , पैसा र प्रतिष्ठा तृण बराबर ठाने । तर शासकहरुले सत्ताको लागि लुछाचुडी गरे । शासकहरुले सहमति र सहकार्यबाट शासन सञ्चालन गर्ने भनेता पनि सहमति शव्दको चरम बेइज्जती गरेको पाइन्छ । कविले श्रध्देय सहिदको सालिक मार्फत आफ्नो धारणा पस्केका छन् । पस्कदै भनेका छन् –
श्रध्देय सहिदको सालिक यतिबेला
भावविह्वल भइ के सोच्दो होला ?
बाँझै देख्छु फापर फुल्ने स्वाँराको पाटो
कसले सजाइदेला बरै यो देशको माटो ।
कतिपय शव्दहरु जस्तै `स्वाँरा´ `स्वाँराको´ पटकपटक र ठाउँठाउँमा दोहोरीन पुगेका छन् ।
“युवा” कवितामा कविले युवाहरूलाई अथाह शक्तिपुञ्जको रूपमा बर्णन गरेका छन । युवालाई कुनै किसिमको हर्कत नगर्न र सुमार्गमा लागि परेर जननी जन्मभुमिलाई हँसाउन आव्हान गरेका छन् ।
“आदिकविको सम्झनामा”
राणाकालमा लेख्न गाह्रो थियो । “आदिकविको संझनामा !” त्यो कुरा कविले उल्लेख गरेका छन् । उनले भनेका छन् –
थिएन कौनै सुविधा अनि कालखण्ड डरलाग्दो
राणाको शासन हल्लिन्थ्यो आसन कापी र कलमको
मनको भाव निर्धक्क कहाँ पाइन्थ्यो पोखन
हरेक कुरा सोचेर मात्र पर्दथ्यो जोखन ।
“कालीगण्डकी जलविद्युत” :- कतिपय कविता जनतालाइ झस्काउने र तर्साउने खालका पनि रहेका छन् । त्यस्तो झस्काउने र तर्साउने मध्येको एउटा कविता हो – कालीगण्डकी जलविद्युत । यो कवितामा भनिए जस्तै कालीगण्डकी थुन्ने काम भएमा कालीगण्डकी नदिका तटीय क्षेत्रका बासिन्दाको आर्थिक , सामाजिक , सांस्कृतिक अवस्थामाथी प्रहार हुने देखिन्छ । तटीय क्षेत्रका १२-१५ वटा जति वडाका जनताको उठिबास लाग्नेछ कालीगण्डकी जलविद्युतको लागि यस्तो जलाशय निर्माण हुन पुगेमा ।
पर्वत तर्फ फलेवास नगरपालिकाका ४,६,१० र ११ न• वार्ड तथा विहादी गाउँ पालिकाका १,२,३ र ६ न• वार्डका नदि तटीय क्षेत्रका अधिकांश वासीन्दा विस्थापित हुनुपर्नेछ। उनिहरुको रहनसहन , संस्कार , संस्कृति तथा आर्थिक अबस्थामा असर पुर्याउने छ । त्यस्तै अवस्था गुल्मी र बागलुङ तर्फका नदि तटिय क्षेत्रमा पनि हुनेछ ।
कालिगण्डकी नदीमा पर्वतको विहादी गाउँपालिका–१ बाच्छा र बागलुङको जैमुनी नगरपालिका–८ छिस्तीको बीचमा कालिगण्डकी नदीमा १४५ मिटर अग्लो उच्च बाँध बाँधेर जलाशय ६० किमिमाथि मालढुंगासम्म आइपुग्ने योजना कालीगण्डकी जलाशय योजना हो।कालीगण्डकीलाई तिनाउ नदिमा डाइभर्ट (Divert) गरीने र भारतको उत्तर प्रदेश पुर्याएर सिंचाइ गरीने योजना कालीगण्डकी जलविद्युत परीयोजना हो।
यो जलविद्युतको लागि बन्ने जलाशयको दह पर्वतको बाच्छा देखि पाङ मालढुंगा खण्डसम्म आइपुग्ने भन्ने हुँदा नदि किनारका फाँट डुबानमा पर्नेछ्न्। यो दह बाट पर्वत र बाग्लुङका तटिय क्षेत्रका जमिन,जंगल,जडिबुटी,झर्ना,मुल,फाट,बस्ती सबै सखाप हुनेछन् । सबै डुब्नेछन् । सबैको अस्तित्व समाप्त हुनेछ। र वातावरणमा प्रतिकुल असर पार्नेछ।नदी सभ्यतामाथि धेरै नराम्रो प्रभाव पर्नेछ ।
समाचारमा उल्लेख भए अनुसार कालीगण्डकी जलविद्युतको लागि एक सय ४५ मिटर अग्लो बाध निर्माण गर्नुपर्ने छ । १ सय ४५ मिटर अग्लो बाध निर्माण भएपछि देविस्थान लगायतका स्थानमा जोखिम बढ्नेछ ।
यस नदीमा माछा मारेर, नदी किनारको बालुवा चाली सुन निकालेर, ढुङ्गा तथा बालुवा बिक्री गरी जीवन निर्वाह गर्ने माझी, बोटेलगायत जाति छन् । जल, जमिन र जङ्गलको अग्राधिकार सम्बन्धित आधार क्षेत्रका बासिन्दाको हुने गर्छ ।
यो कविता तत्कालीन समयका अथवा ०६० को दशक यताका समाचार माध्यमहरुको आग्रहबाट बहकाउमा आएर वा प्रभावमा परेर वा भावनामा बहेर लेखिए जस्तो लाग्छ । यद्यपि कविको मनसाय पवित्र नै रहेको पाइन्छ तर यो परियोजना लागू भएमा गण्डकी सभ्यता, शालग्राम संरक्षण नष्ट हुने र कालीगण्डकी किनार आसपासका बासिन्दाको हितमा पनि नरहेको र वातावरणिय , धार्मिक र सांस्कृतिक रूपमा पनि उचित नरहेकोले खारेज हुनुपर्ने गर्नुपर्ने कुरा विज्ञहरुले बताउदै आएका छन् । यो दह बाट तटिय क्षेत्रका जमिन,जंगल,जडिबुटी,झर्ना,मुल,फाट,बस्ती सबै सखाप हुनेछन्।सबै डुब्नेछन्।सबैको अस्तित्व समाप्त हुनेछ।र वातावरणमा प्रतिकुल असर पार्नेछ । नदी सभ्यतामाथि धेरै नराम्रो प्रभाव पर्नेछ भन्ने विज्ञहरुको भनाइ रहेको पाइन्छ । कविता राम्रो छ तर नदि तटीय क्षेत्रका बासिन्दालाई राम्रो सन्देश दिन सकेको जस्तो देखिदैन । कवि लेख्छन् –
विकासको गति नरोक अब लोमान्थाङ नपुगी
भएको छैन कालीलाई अब दस ठाउँमा नछेकी
पड्काइदेउ बम , चलाइदेऊ घन , फोरिदेऊ पहरो
महल मात्र सिंगार्ने होइन सिंगार टहरो ।
“देशको गीत”
…परालको टौवा , दूधको गौवा टम्मै होस् गोठमा
देशकै गीत गुन्जिइरहोस नेपाली ओठमा ।
देशको गीतमा रहेका सुन्दर पंक्ति हुन् यी । र त्यस्तै सुन्दर रहेका छन् यी पनि –
…जसरी फुल्छ धाइराको फुल ढाकेर रातै वन त्यसरी ढाकोस् किर्तिले जगत् गद्गद् होस हाम्रो मन ।
“खुलोस् सबको मन”
…आफ्नो वारि खेतभरी वनमाराको झाडी
किन जाने उखरमाउलो अरबको खाडी ।
त्यसरी नै
…आलिभरि भट्टमास गैरीखेतमा धान
यही माटोमा सुन फल्छ भएदेखि ज्ञान ।
…हत्केलामा सीप फुलोस् खुलोस् सबको मन ।
“कतारको कुनाबाट” कवितामा कविद्वारा देश छोडी गएका लाखौंलाख युवाहरूको मनोदशा बडो सुन्दर शैलीमा बर्णन गरिएको पाइन्छ । आफ्नो गामठाम , लेकवेंसी , खोला नदि , साथीभाइ सबैबाट धेरै टाढा पराइ देश कतारमा पुगेका सेती र साहिलाले भनेका छन् –
उम्किएर यहाँबाट फर्किदाको दिन
तिर्न सके आउँदा ल्याको साइँला साहूको रिन
सत्य सत्य यो जुनिमा छाड्ने छैन कैले
आफ्नो देशको आफ्नो माटो जिन्दगीमा मैले ।
कविले आफ्नो हृदय निचोरेर रचेका छन् यी कविता । देशभक्तिको भावनाले चुर्लुम्म डुबेका छन् । खाडी लगायतका देशमा जाने हरेक नेपाली युवाले आफ्नो झोलामा राखेर आफू र आफ्ना सैंसाथिलाइ समेत लगिदिनुपर्ने कविता संग्रह हो यो ।
“सुन्दर तिम्रो चित्र” कवितामा कविले कुन सहरको चित्रण गरेका हुन् ? छुट्याउन गाह्राे परेको छ पाठकलाई । कविले लेखेका छन् –
किन्तु शीतल छाँया सल्लेरिको सुन्दर तिम्रो चित्र
पाउँदिन म किन होला यो सहरभित्र ।
(सायद आफू बसाइँसराइ गरि गएको पोखरा सहरभित्र होला)
कवितामा जन्म जिल्लाको ठाउँ ठाउँको बर्णन गरीएको छ । र पोखरा सहरसित दाँजीदा पनि जन्म जिल्ला पर्वत नै सुन्दर रहेको तारिफ गरिएको छ । आफू जन्मेको पर्वत जिल्लाको सुन्दर चित्रण गरीएको छ । त्यसैले त उनी भन्छन् –
•••किन्तु शीतल छाँया सल्लेरिको सुन्दर तिम्रो चित्र
पाउँदिन म किन होला यो सहरभित्र ।
“भदौको भेल र सिंहदरबार” कवितामा कविले भदौरे भेलमा धरतिपुत्र अललिदा सिंहदरबार सिसि टिभि र एसि जडित बन्द कोठाभित्र गजधम्म छ भनेर चिन्ता प्रकट गरेका छन् ।
भदौको भेल र सिंहदरबार अनि जनताको सिंहदरबार एकै ठाउँमा मिलाएर लेख्न मिल्थ्यो कि जस्तो लाग्छ । अथवा भदौको भेल र सिंहदरबारलाई पनि जनताको सिंहदरबारभित्र पार्दा पनि सन्देश यौटै वा उस्तै भएको देखिन्छ । भदौको भेल र सिंहदरबारले पनि जनताको सिंहदरबारले जस्तै जस्तै जनताको पक्षमा पुर्पक्ष गरेको पाइन्छ । जनताको सिंहदरबार कवितामा कविले सिंहदरबारप्रति तिव्र आक्रोश प्रकट गरेका छन् । र त्यसमा पोख्न बाँकी रहेको आक्रोश भदौको भेल र सिंहदरबारमा आएर पोखिएको पाइन्छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारप्रती कविको बढी नै आक्रोश प्रष्ट रूपमा देख्न सकिन्छ । यो बढी पनि छैन । ठिक्क छ ।
यस कवितासंग्रहमा केही कमजोर पक्ष पनि भेटिन्छन् । जस्तै :- कवि भन्छन् –
सिमान्त जिल्लाका विचरा निरीह सिडिओ साहेबहरु । बरु हुनुपर्ने त सिमान्त जिल्लाका विचरा जनताहरु हो कि ?!
कविले कवितामा जताततै निरीह , विचराहरुको पक्षमा वकालत गरेका छन् । तल्लो तहका हेपिएका , दबिएका , थिल्चिएका , पिल्सिएका , हरमुनिका , खुरमुनिका , तप्केनिमुनिका , पातालखोएहरुको पक्षमा आवाज बुलन्द गरेका छन् । पुर्खाका पालादेखिको एकमानाको बन्दोबस्त गर्ने रहर पुरा गर्न खाडी र कतार जाने हर्केहरुको पक्षमा पुर्पक्ष गरेका छ्न । तर सिडिओ साहेबहरु , जिल्ला प्रशासन कार्यलयहरु एकाध बाहेक पुच्छ्राघरे , थोत्राघरे वा हर्के र भख्खरेहरुको पक्षमा कहिले देखिएनन् । यी पनि सिंहदरबार अन्तर्गतकै उमराव हुन । भाइभारादार हुन् । त्यसबाट फरक दायाँबायाँ गर्ने अफिसर होइनन् । कविले यहाँनेर आफ्नो वर्ग धरातल कसरी विर्सिन सकेका । यो वाक्य/पंक्ति जनताको हक हित विरुद्ध रहेको छ कि जस्तो देखिन्छ । बाघ बाख्रा एउटै खोरमा मिल्ने सुहाउने कुरा होइनन् । हुन शक्तैनन् । मिचाहावर्ग र मिचिएका वर्ग समान हुन शक्तैनन् । त्यसकारण , त्यसकारण कवि यहाँनेर नराम्रो गरि चिप्लिन पुगे कि भन्ने जस्तो देखिन्छ । एकातिर सिंहदरबारप्रती आक्रोश अर्कोतिर सिडिओ साहेबहरुप्रती हार्दिकता ?! स्तुति गान ?!
यो कमजोर पक्ष पुरै कविताभित्रका कमजोर पक्ष मध्येकै एउटा पक्ष हो ।
पृष्ठ नं. / संख्या १०७ पछिको पृष्ठका लेखक को होलान् ? सो भुमिका कसले लेखे होलान् ? कवि स्वयंले लेखे होलान् ? प्रकाशक वा अरु कसैले ? त्यो कहिँ कतै खुलेको पाइँदैन । कवि आफैले लेखेका हुन् भने त्यस्तो प्रशंसा वा आत्ममुग्धता हानिकारक हुनेगर्छ । आफ्नो प्रशंसा आफैंले गर्नु आत्महत्या गर्नु सरह मानिन्छ । आफुसंग भएको कुनै वस्तु , सीप , सिमित ज्ञान आदिबाट आफैं मुग्ध हुनुलाइ नै आत्ममुग्धता भन्ने गरिएको पाइन्छ । आत्म प्रशंसा गर्नु हो भनिन्छ । पुस्तकका पानैपिच्छे आफ्नो नाम राख्नु पनि सायद त्यस्तै हो कि ! विद्यालय तहमा पढ्ने ताका सायद हामी सवैले आ-आफ्नो कापी बाहेक पुस्तकका पाना पानामा पनि त्यसरी आफ्नो नाम लेख्ने गर्थ्यौं । अरु कसैबाट कविको बारेमा त्यस्तो मुल्यांकन स्वभाविक हुन्थ्यो । मानिन्थ्यो । किनभने उनि (साहित्यकार गौडेल) हो नै त्यसतो । आत्ममुग्धतालाइ गम्भीर मानसिक रोग पनि भनिन्छ । यहाँ कविले आफैंले लेखेको भए पनि सारतत्व यही रहने गरि अर्कै ढंगले लेख्न सकिन्थ्यो । दोस्रो संस्करणमा यसलाई सच्याउन मिले ठिकै हुनेछ । राम्रै हुनेछ । जयन्ती गौडेलको तर्फबाट हुँदा पनि उत्कृष्ट हुनेछ ।
जनताको सिंहदरबार (२०८०,असोज) शोभाकान्त गौडेलद्वारा सिर्जित/रचित दोस्रो कविता संग्रह हो । प्रकाशक लक्ष्मी गौडेल र जयन्ती गौडेल रहेको यस कविता संग्रहका वितरक दोविल्ला किताबघर , बागबजार काठमाडौं रहेको छ । भाउ वा मुल्य रु•२७५/- रहेको यो कृति अक्षर र कागज सुन्दर रहेको हुँदा मुल्य/भाउ सामान्य नै मान्नुपर्छ ।
सर्जकले एकपटक एउटा विवाह कार्यक्रमको भेटमा भनेका थिए – राम्रो विश्लेषण गरेर लेखिदिनु भाइ । मैले जे लेखे आफुले जाने बुझे अनुसार नै विश्लेषण गरेर लेखे । सस्तो वाहवाही पनि होइन र चर्काे आलोचना पनि होइन । न चिफ्लोचाफ्लो न टर्रोपिरो । हेलाँहोचो पनि होइन बढाँइचढाइ पनि होइन । जे भेट्टाए त्यही लेखे ।
यो आफैंमा राम्रो कृति छ । सुन्दर छ । यसलाई राम्रो पार्न कसैले बेसार घस्नै पर्दैन । किनकि अकबरी सुनलाइ कसी लगाउनै पर्दैन ।
गाउँघर , समाज र राष्ट्र बारे लेखिएका उनका कविताले जनजिब्रोका भाषा बोलेका छन् । त्यसैले त कवि गौडेलजिले सिर्जना गरेका रचनाहरु यस क्षेत्रमा औधी रुचाइन्छ र खोजीखोजी पढिन्छ । उनि प्राविधिक इन्जिनियर मात्र होइन , सामाजिक इन्जिनियर पनि हुन् । हो भन्ने कुरा उनले प्रयोग गरेका शब्द वाक्यहरूबाट प्रष्ट थाहा लाग्छ ।
एउटा भनाइ छ – राम्रो जिन्दगीको बाटो राम्रा किताबहरु भएर जान्छ । अर्को एउटा भनाइ छ – राम्रा किताबहरु पढ्नुको मतलब तपाई दुनियाँका सबैभन्दा राम्रा मान्छेहरुको संगतमा हुनुहुन्छ र उनिहरुसंग बातचित गरीरहनुभएको हुन्छ । यो कवितासंग्रह पनि त्यस्तै रहेको छ ।
यो कवितासङ्ग्रहमा विविध विषय-सन्दर्भमाथि लेखिएका ४० वटा कविता सङ्गृहीत छन् । यो सङ्ग्रहलाई लक्ष्मी गौडेल र जयन्ती गौडेलले प्रकाशन गर्नुभएको र दोबिल्ला किताबघर , बागबजार , काठमाडौंले वितरणको जिम्मा लिएको छ । वितरण गरेको छ ।
कविताहरू समसामयिक सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आदि विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका छन् । सङ्ग्रहका कवितामा विषयविविधता छ ।
भाषाशैली, प्रस्तुति, हृदयस्पर्शी अनुभूति , सामाजिक यथार्थको चित्रण , चोटिला, च्वास्स आगोले झैँ पोल्ने र मस्तिष्कलाई सन्न बनाउँने खालका छन् ।
रचनाको मापदण्ड भनेर विचारधारात्मक, ज्ञानात्मक र सौन्दर्यात्मक पक्षलाई भन्ने गरिएको पाइन्छ ।
राम्रो , सुन्दर , उत्कृष्ट रचना सृजना गर्नको लागि रचनाकारले आफ्नो विचारधारात्मक पक्ष वा आफ्नो विश्व – दृष्टिकोण पनि स्पष्ट गर्नुपर्ने हुन्छ । समाजमा अन्याय , अत्याचार , दमन , शोषण उत्पीडन रहेको छ र त्यसबाट मुक्तिको चाहना तथा प्रयासहरू पनि जारी रहेका छन् । रचनाकार कसको पक्षमा उभिन्छन ? उनले जनताको पक्षमा पैरवी गर्छन कि कामचोर वर्गको ? यो प्रधान विषय हुन्छ भनिन्छ । यो प्रश्नमा रचनाकारको पक्षधरताले रचनाको उपादेयता निरुपण गर्दछ ।
त्यसैगरी रचनाको अर्को एउटा मापक हो रचनामा समावेश वा प्रस्तुत ज्ञानात्मक पक्ष ।
रचनाकारलाइ पाठकको धन र समय बर्वाद गर्ने छुट हुदैन। त्यसो गर्नु पाठकप्रतिको अन्याय हुन्छ । कृतिबाट पाठकले धेरै थोरै ज्ञान प्राप्त गर्न पाउनु पर्दछ । कृतिले पाठकको ज्ञानलाई कति समृद्ध गर्न सक्छ ? त्यसको आधारमा कृतिको मूल्याङ्कन हुन्छ ।
त्यसैगरी रचनाको अर्को मापक सौन्दर्यात्मक पक्षलाइ भन्ने गरिन्छ । दृश्य, धून, प्राकृतिक छटा यस्ता कैयौँ विषयहरू छन्, जसले प्रत्यक्ष केही भन्दैनन्, तर त्यसमा सौन्दर्य अनुभूति गराउने तत्व हुन्छन् । शब्द संयोजन र वाक्य गठनबाट प्रस्तुत हुने भावले सौन्दर्य- मूल्य सृजना गर्दछ । त्यसले पाठकको विचार निर्माणमा मद्दत नगर्न सक्छ । त्यसले पाठकको ज्ञानको दायरा समृद नगर्न सक्छ तर त्यसले पाठकलाई आनन्दानुभूति गराउन सक्छ । विचारचारात्मक पक्ष , ज्ञानात्मक पक्ष र सौन्दर्यात्मक पक्षबाट पर्गेल्दा सिर्जना वा कृति कस्तो देखिन्छ ? सर्जक वा रचनाकारको स्थान त्यही विन्दुमा रहन्छ । यी तीन मध्ये एउटा पक्षमा पनि सफल नहुनु भनेको कृतिको औचित्य नहुनु हो भन्ने पाइन्छ ।
स्तरीय लेखनले भाषा विज्ञानमा पनि शून्य अशुध्दि (Zero error) को माग गर्दछ भनिन्छ । यश दृष्टिकोणले हेर्दा पनि कविको दक्षता प्रष्टै देखिन्छ । भाषामा दखल राख्छन् । असाध्यै कम अशुध्दि पाइन्छन् ।
अन्त्यमा यो पुस्तक सानो भएको हुँदा पान्ना फर्काउन गाह्रो भयो । यद्यपि यो पुस्तक हातमा पर्नासाथ यति सानो किताब कसरी पाना पल्टाउने होला ? कसरी पाना फर्काएर पढ्ने होला ? भन्ने लागेको थियो । हुन त मुना-मदनको साइज पनि यस्तै यस्तै हो । तर जब साच्चिकै पुस्तक पढ्न शुरु गरे सोचे जस्तो अप्ठ्यारो लागेन । सजिलो अनुभुती भयो । बाक्लो पाना , बाक्लो मसी , बाक्लो मसीका मोटा र राम्रा अक्षर । तर यी कुरा अन्त्यमा लेखेको भएतापनी पुस्तक पढ्न शुरु गर्नासाथका अनुभुती हुन ।
र , आखिरमा जनताको सिंहदरबार (कविता संग्रह) जस्तो मीठो , सुन्दर कृति समालोचना गर्न दिएर साहित्यकारले मेरो जुन सम्मान गर्नु भएको छ त्यसप्रति म आभारी छु । मेरो हार्दिक अभिलाषा छ कि यति महत्त्वपूर्ण कृतिको अध्ययन गरेर , समिक्षा गरेर , समझ , ज्ञान , जानकारी गरेर मैले पनि यसलाई ग्रहण गर्न सकु।
साहित्यकार शोभाकान्तजीको पुस्तक जनताको सिंहदरबार (कविता संग्रह) लाई मैले यसरी मुल्यांकन गरे। समिक्षा गरे । समिक्षा राम्रो नराम्रो घटीबढी केही न केही भएको हुनसक्छ । केही नपुगेको हुनसक्छ । केही छुटेको हुनसक्छ । केही नदोरीएको पनि हुनसक्छ । तर मैले जसरी बुझे त्यसैगरी समिक्षा गरे । पाठकले यस कृतिलाई कसरी बुझ्नुहुन्छ , कसरी मुल्यांकन गर्नुहुन्छ पाठककै हातमा छोडौं । र आशा गरौं गौडेलजीका यस किसिमका सिर्जना वा कृतिहरु आगामी दिनमा अझ राम्रा , अझै परिस्कृत नयाँ नौला रूपमा नयाँ नयाँ प्रकाशित भैरहनेछन् । अस्तु !
-इन्द्रकान्त शर्मा
फ•न•पा•-६ देविस्थान , भुसालचौर
पर्वत ।