एउटा साहसी, निर्भीक र न्यायिक व्यक्तिको मृत्यु भयो असोज १८ गते । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरस्थित गायकगाउँमा जिन्दगीका अनेकौँ आरोहअवरोह पार गर्दै ८७ वर्षको उमेरमा यो धर्तीबाट अस्ताउनुभयो पूर्णबहादुर गायक । जिन्दगीको आधा समय सारङ्गी बोकेर डुल्दै र आधा समय जोतेर बालीघर बनाउँदै आफ्नो जीवनका सुखदुखलाई पार गर्दै आउनुभएको पूर्णबहादुरको गाउँ, समाज र सिङ्गो वडामा राम्रो छवि, प्रभाव र सम्मान थियो ।
गायक गन्धर्व इतिहासलाई मौखिक रूपमा बताउन सक्ने इतिहासकार जस्तै व्यक्ति हुनुहुन्थ्यो । गाउँमुखिया हुँदै गाउँ विकास समिति सदस्य भनेर गाउँको धारा, कुवा र गोरेटो बाटो बनाउन उहाँको नेतृत्वदायी अविस्मरणीय र महत्त्वपूर्ण योगदान छ । आगोहुरीबाट गाउँमा बिपत् आई लाग्दा जिल्लाबाट राहत लिन उहाँको ठुलो देन छ, साथै घरेलु काम र सिपमा पनि उहाँ निकै पोख्त हुनुहुन्थ्यो । निस्वार्थ भावना बोकेर गाउँछिमेकमा आफ्नो सिपबाट सहयोग पुर्याउँदै आउनुभएको थियो पूर्णबहादुर ।
हामी सानै थियौँ त्यति बेला तर गाउँमा उहाँको साहसिक कामको चर्चा सुनेर हामी अचम्म मान्थ्यौँ ।
गाविसमा चुनाव हुँदा हतियार प्रदर्शनसहित मतपेटिका तोडफोड गर्दै पार्टी पार्टीबिच हुलदङगा चल्थ्यो । ‘ए साहिला बा, ज्यानको खतरा छ, भोट हाल्न नजानुस्’ भन्थे आफन्तहरू । ‘मलाई कसले के गर्छ ?’ भन्दै भोट हाल्न जानुहुथ्यो पूर्णबहादुर । ‘चुनावको बेला हतियार लिएर मान्छेहरू राति गाउँमा घुमेका छन्, भित्र सुत्नुहोस्’ भन्थे घरपरिवार तर ‘मलाई कसले के गर्छ ?’ भन्दै बाहिरै खाटमा सुतेर रात बिताउनुहुन्थ्यो उहाँ । देशमा सशस्त्र सङ्घर्षका बेला कैयौँ मान्छे देशै छोडेर भागे तर उहाँ भने बाहिरको खाट छोडेर एक दिन पनि भित्र रात बिताउनुभएन ।
‘मलाई कसले के गर्छ ?’ उहाँले सधैँ सबैलाई यही भन्नुहुन्थ्यो । गाउँलेहरू भन्थे– ‘एक दिन यी साहिला बालाई उठाएर लान्छन् होला ।’
गाउँमा बाघले गाईबाख्रा मात्र होइन, साँझ साना बच्चाहरू पनि समात्न थालेको थियो । त्यो समय गाउँमा वनमान्छे र किचकिनी घुमेको हल्ला आयो तर पूर्णबहादुरमा डर भन्ने चिज छँदै थिएन । रातिमा हिँड्डुल गर्न र बाहिर पिँढीमा सुत्न जीवनभर छोड्नुभएन ।
त्यति बेला गाउँमा नयाँ लामाझाँक्रीहरू मसानको हाडपूजा गर्ने भन्दै राति नदीछेउ “शङ्गेढुङ्गा” जैमिनीघाट जाने गर्दथे तर लामाझाँक्रीसँग साथी बनेर अरू कोही जान डराउथे । उहाँ मात्र राती झाँक्रीसँग एक्लै घाट जानुहुन्थ्यो र भन्नुहुन्थ्यो– ‘मलाई केहीले पनि खान्न ।’
एउटा घट्ना यस्तो थियो । सात गाउँपारि डुल्न घुम्न जाँदा उहाँका माहिलो दाजु हृदयघात भएर बाटोको चौतारीमा बित्नुभएछ । चौतारीमा राखेर एक्लै कुर्दाकुर्दै हावा हुरीले उडाएको पात र धुलोले माहिला दाजुको मुख र शरीर ढाक्न थाले छ । पछि उहाँले भन्नुहुन्थ्यो– ‘एउटै मात्र पछ्यौरा थियो, त्यही एउटा पछ्यौरा ओढेर दुई भाइ राति सँगै सुत्यौँ ।’ यो सुन्दा हामी दुखित र चकित हुन्थ्यौँ ।
उहाँ भूतपिचासमा विश्वास गर्ने व्यक्ति हुनुहुथ्यो तर पनि भूतप्रेतसँग नडराउने व्यक्ति । गाउँमा बोक्सी प्रथाका कारण झगडा चलिरहन्थ्यो ।
बोक्सी प्रथामा विश्वास गरे पनि उहाँले कहिल्यै बोक्सी प्रथाको पक्ष लिएर बोल्नुभएन । कसैलाई पनि बोक्सीको आरोप लगाउनुहुँदैन भनेर झगडा मिलाउनुहुन्थ्यो । उहाँले मान्छे मात्र होइन, देवताले गरेको अन्याय पनि सहनुहुँदैनथ्यो ।
एकपटक बिहान दोखला देवताको पूजा गरेकै दिन साँझ उहाँ बिरामी पर्नुभएछ । लामाझाँक्रीले घरकै दोखला देवता लागेका हुन भनिदिएछन् । साँझ उति बेलै दोखला देउताको थान नै फालिदिनुभएछ । उहाँले भन्नुहुन्थ्यो– ‘दोखला देउताको पूजा गर्नै छोडेँ त्यस दिनदेखि मैले ।’
भूतपिचास र मसानको कथा र तिनको प्रभावको विषय आफैमा अन्धविश्वास हो । यो असत्य र अप्रमाणित छ । वैज्ञानिक सत्यता छैन तर हाम्रो जस्तो रूढीवादी समाज र त्यही सामाजिक चेतनामा हुर्केका एक जना मान्छेसँग मसानको हाड खेलाउने लामाझाँक्रीसँग राति एक्लै घाट पुग्नु र मरेको लास सँगसँगै एक्लै सुत्न दह्रो मुटु चाहिन्छ होला पक्कै पनि ।
र्णबहादुर निष्पक्ष, निर्भीक र न्यायिक व्यक्ति हुनुहुन्थ्यो । उच्च वर्गीय भेलामा पनि आफ्ना माग र कुरा निर्धक्क राख्नुहुन्थ्यो । सायद गाउँ सदस्य र गाउँ मुखिया हुँदै ठुला नेतासँगको सङ्गतले होला, उहाँमा कुनै डरभय थिएन ।
गाउँमा सधैँ निर्धा र न्यायको पक्षमा बोल्नु हुन्थ्यो । एउटा पातलो र बुढो शरीर भए पनि कुनै बलिया मान्छेसँग डराउनुभएन । गाउँछिमेकीका बलिया मान्छेसँग पनि भन्नहुन्थ्यो उहाँले– ॅहानेर मार्छौ भने मारा तर म डराएर भाग्दिन’ तर उहाँलाई आजसम्म कसैले एक थप्पड हानेको इतिहास छैन, उल्टै साहिला बा भनेर सबैले मान र सम्मान गरेको देखिन्थ्यो । गाउँछिमेकीमा उहाँको छुट्टै प्रकारको इज्ज्जत थियो । न्यायको पक्षमा उहाँ सधैँ निस्वार्थ उभिनुभयो ।
एउटा प्रसङ्ग उल्लेखनीय छ । पूर्णबहादुरकी श्रीमती मानसिक बिरामी हुनुहुन्थ्यो। गाउँका चर्चित एउटा लामाझाँक्रीले मेरो पक्षमा बोल्नुहोस्, हजुरकी श्रीमतीको बिमार ठिक बनाइदिन्छु भन्ने प्रस्ताव गरेछन् । पूर्णबहादुरले भन्नुभएछ– ‘मेरो श्रीमती मानसिक रोग भएरै मरोस्, मलाई चिन्ता छैन तर तिम्रो पक्षमा होइन, न्यायको पक्षमा बोल्छु ।’ लामाझाँक्रीको विधिबाट श्रीमतीको मानसिक बिमार ठिक हुन्थ्यो या हुदैनथ्यो ? त्यो आफ्नै ठाउँमा बहसको विषय होला तर पनि उहाँ न्यायमा अडिग रहनुभयो र आफ्नो स्वार्थमा न्याय बेच्नुभएन ।
गाउँसमाजमा झगडा हुँदा पक्षविपक्षमा कोही बोल्दा बोलचाल बन्द हुने र केही समयपछि फेरि मिलेर बस्ने चलन पनि छ । कसैको पक्षविपक्षमा बोल्दैमा मुद्दा लाग्ने र जेल जानुपर्ने त्यो बेलामा थिएन तर पनि पूर्णबहादुरले आफ्नो न्यायिक पक्षबाट कमाएको इज्ज्जत र छविलाई श्रीमतीभन्दा पनि प्यारो र उच्च देख्नुभयो । उहाँको यो न्यायिक नैतिकता सबैले सिक्नुपर्ने शिक्षा हो ।
उहाँका जीवनभोगाइका केही कथा हामी अलिकति मात्र सुन्यौँ तर हामीले नसुनेका कैयौँ कथा होलान् । मैले पनि नजिकबाट लामो सङ्गत गरेर धेरै बुझ्न र सुन्न मौका पाइनँ ।
अत्यन्तै सहयोगी, दयालु र इमानदार हुनुहुन्थ्यो पूर्णबहादुर । घरेलु जडिबुटीबाट औषधी बनाएर पशुदेखि मान्छेसम्मलाई रोग निको बनाउने हुँदा उहाँलाई वैद्य साहिला बा पनि भनिन्त्थ्यो । गाउँछिमेकमा निकै महत्त्वपूर्ण र मन पराउने व्यक्ति ठानेर होला, सायद पूर्णबहादुर एउटा दलित समुदायको व्यक्ति भए पनि उहाँको चौरासी पूजा र मृत्यु दाहसंस्कारको घाटसम्म सबै जातजातिका मान्छेहरू सहभागी भएका थिए, इतिहासमा पहिलोपटक ।
एउटा पातलो बुढो शरीरमा तागत थिएन† लेखपढ थिएन† धनसम्पत्ति थिएन† भौतिकवादी वैज्ञानिक ज्ञान थिएन† राज्यले सम्मान गर्ने जात थिएन तर पनि गाउँले एक जना दलित जनसमुदायको मान्छेसँग भएको यो हिम्मत र साहसलाई सम्मान छ । गाउँमा एउटा इतिहास बोकेको एक जिउँदो मान्छेको मृत्यु भयो । भावपूर्ण श्रद्धाञ्जली उहाँप्रति । हजुर अब हाम्रो स्मृतिमा मात्र बाँचिरहनुहुने छ । भावपूर्ण श्रद्धाञ्जली ।