राजमो प्युठानको आग्रहः सचेत बनौं

प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले कोरोना संक्रमणप्रति हेलचेक्राइँ नगर्न सबैसँग आग्रह गरेको छ । ‘गंभीर संकटको घडिमा हामी सबैले धैर्यताका साथ यसका विरुद्ध संघर्ष गर्नु पर्ने आवश्यकता छ’ भन्दै राजमोले कोरोनाबाट आतंकित नहुन बरु सचेत रहन आग्रह गरेको छ ।

राजमो प्युठानले कोरोना संक्रमण फैलन नदिन र यसबाट बच्न लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै के के गर्ने भन्नेबारेमा पनि विज्ञप्तिमार्फत सर्वसाधारणसँग आव्हान गरेको छ ।

यस्तो छ, विज्ञप्तिः

‘विश्व अहिले नोभल कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त बनिरहेको छ । आजसम्म विश्वमा करिब ७ लाख ८६ हजार भन्दा बढी व्यक्ति यो रोगबाट संक्रमित भइसकेका छन् भने करिब ३८ हजार व्यक्तिको मृत्यू भइसकेको छ । चीनको उहान प्रान्तबाट शुरु भएको यो भाइरसले अहिले विश्वव्यापी रुप लिइ सकेको छ । यो रोग मानव सभ्यताको इतिहासमा गम्भीर खतराको रुपमा देखा परेको छ ।

आदरणीय प्यूठानबासी दाजुभाइ तथा दिदी बहिनीहरु,
यो गंभीर संकटको घडिमा हामी सबैले धैर्यताका साथ यसका विरुद्ध संघर्ष गर्नु पर्ने आवश्यकता छ । विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार सरकारले यस रोगबाट आफू जोगिन र अरुलाई जोगाउन भन्दै लकडाउनको घोषणा गरेको छ । रोग फैलिन नदिन गरिएको यो घोषणा स्वागत योग्य कदम हो । विश्वव्यापीरुपमा फैलिइ रहेको यो कोरोना भाइरसको संक्रमणबाट जोगिन हामी सचेततापूर्वक

– एक आपसमा भेटघाट नगर्ने,

– घर बाहिर गइ पसलमा अत्यावश्यक सामान किन्दा पैसा लेनदेन गरेपछि वा कुनै सामान छोएमा साबुन पानीले राम्रोसँग हात धुने,

– अनुहारमा हात लैजाने बानी छुटाउने,

– भारत वा कुनै बाहिरी देशबाट आएको भए १४ दिनसम्म कोहीस“ग नछोइएर छुट्टै कोठामा बस्ने,

– यदि त्यस्ता व्यक्ति परिवारसँग छोइएको भए सम्पूर्ण परिवार १४ दिनसम्म अर्को परिवारको सम्पर्कमा नजाने,

– सामान्य बिरामी भएको बेला अस्पत्ताल वा हेल्थपोष्टमा नजाने, बरु घरेलु औषधी खाने वा स्वास्थ्यकर्मीलाई फोन गरि सल्लाह लिइ औषधी खाने गरौं । यसो गर्यौं भने कोरोना भाइरस नियन्त्रण गर्न सम्भव हुने छ ।

यस रोगलाई हामीले हेलचेक्राइँ गरि सरकारले गरेको यो लकडाउनको घोषणालाई उल्लंघन गर्दै गयौं भने निश्चित रुपमा हामी पनि यस रोगको गम्भीर शिकार हुने निश्चित छ । त्यसैले सचेत होऔं, संयमित बनौं, तर आतंकित नबनौं ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार