गजलः ठीक लागेन

केशव गाहा (पाल्पाली)

कानूनको धज्जी उडाउनु भो ठीक लागेन
भ्रष्टचारीलाई बचाउनु भो ठीक लागेन

हामीले त राम्रै लागेर भोट दिएका थियौं
देशको ढुकुटी रित्याउनु भो ठीक लागेन

दुश्मन सेनाहरु पसेर सीमाना मिचिँदा
कान बन्द गरी निदाउनु भो ठीक लागेन

मैले त गलत कुराको बिरोध गरेको हुँ
हजुर त धेरै रिसाउनु भो ठीक लागेन

सत्तामा पुगे पछी आफ्नो महल बनाउन
गरीबको बास उठाउनु भो ठीक लागेन

मेहनत गरेर साँझको छाक टार्नेलाई
ढाड सेक्ने कर बढाउनु भो ठीक लागेन

रोजगार खोज्दै शहर पसेका युवालाई
देशको सीमाना कटाउनु भो ठीक लागेन

न्यायालय पुगेकी बलात्कृत ति चेलिलाई
उल्टै हप्काएर भगाउनु भो ठीक लागेन

पुस्ताको गौरवशाली ईतिहास बिर्सिएर
गोरखाली शीर झुकाउनु भो ठीक लागेन

स्वार्थको निमित्त स्वाभिमान बन्धकी राखेर
बैरीसँग हात मिलाउनु भो ठीक लागेन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार