म बिर्सन नसकिने मानिस बनूँ

जहाँ सानो झुप्रो सडक बिचमा हुन्छ टहरा
त्यही दुःखी मान्छे कठिन पलमा बाँच्छ विचरा
यि साना झुप्राका सुखसयलको मार्ग म खनूँ
म प्यारो यस्तै बिर्सन नसकिने मानिस बनू

जहाँ भोका नाङ्गा गरिब जनता रक्त कणमा
नयाँ धर्ती खोज्दै तनमन दिँदा जागरणमा
त्यहीँ छाती थाप्दै जन सँग सँगै मै पनि लडू
म योद्धा यस्तै बिर्सन नसकिने मानिस बनू

त्यसै के छल्किन्थ्यो नयनभरि यो आँसु मनको
त्यसै के पोखिन्थ्यो रगत पसिना आज जनको
यिनै पीडा बोक्ने गरिब जनका मित्र म बनू
म त्यागी यस्तै बिर्सन नसकिने मानिस बनू

जहाँको सत्ताले दुखित जनमा हुन्छ जलन
जहाँ काला काला असुरहरूका चल्छ चलन
त्यहाँको माटोमा असुरहरूको खाडल खनू
म राम्रो यस्तै बिर्सन नसकिने मानिस बनू

कुनै होंचा माथी दमन ननिको चल्दछ भने
कुनै निर्धाको त्यो हक हित यहाँ ढल्दछ भने
यिनै निर्धा होचा जनबिचबाटै क्रान्ति म गरू
म मर्दा यस्तै बिर्सन नसकिने मानिस बनू ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार