० सर्वप्रथम त जापान देशकै बारेमा केही जानकारी गराइदिनुस् न ।
– जापान सूर्योदयको देश भनेर चिनिन्छ । विश्वको नक्सामा पूर्वी भागमा देखिने जापानमा पृथ्वीमा सबैभन्दा पहिला घामको किरण पर्छ अर्थात् दिनको सुरुआत जापानबाट हुन्छ । समुद्रको माझमा रहेको यो देश धेरै टापुको समूह हो ।
जापान एक विकसित देश हो । अत्याधुनिक प्रविधिको लगातार विकासको माध्यमबाट नै जापान दुनियाको सम्पन्न राष्ट्रको सूचीमा छ । यहाँको अत्याधुनिक रेल सेवालगायतका संसारले अनुशरण गर्न सक्ने भव्य प्रविधिको लोभलाग्दो समायोजन, मानवीय सेवासुविधाका लागि व्यवस्था गरिएका आकर्षक पार्क, विद्यालयहरू सबै भौतिक सुखसुविधाका संरचना सर्वसाधारणको समेत पहुँचमा छन् । सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, बिमा, शिक्षा जस्ता आधारभूत विषय पनि हरेक मान्छेलाई एक प्रकारले प्रत्यक्ष रूपमा नै सरकारको निगरानीमा उपलब्ध छ ।
४७ ओटा प्रशासनिक क्षेत्र भएको जापान संसारका आकर्षक सहरहरू भएको देश हो । टोकियो हालको राजधानी हो । यसबाहेक क्योतो, ओसाका, योकोहामा, कोबे पनि कुनै समय जापानका राजधानी थिए भनिन्छ । दोस्रो विश्वयुद्धमा धुरी राष्ट्रहरूलाई साथ दिएको जापानले अमेरिकाद्वारा हिरोसिमा र नागसाकीमा एटम बमको हमला बेहोर्नुपर्यो । धेरै ठुलो धनजनको नाश भयो । फेरि पनि अनुशासन र मिहिनेतले जापान संसारको विकसित देशको रूपमा उभिन सफल छ । अनुशासित, नरम र फरासिलो स्वभाव, एकले अर्कोलाई सम्मान, सत्कार गर्ने संस्कार, संस्कृतिको कोणबाट पनि जापान लोभलाग्दो देश हो ।
सानाठुला पहाड र समथर भागको मिश्रण रहेको यो देशमा फुजी जस्ता आकर्षक हिमाल र मिश्रित हावापानी भएको देश हो । साकुरा (पैँयु) यो देशको राष्ट्रिय फूल हो । यससँग जोडिएको संस्कृति पनि गज्जबको छ ।
० जापानमा राष्ट्रिय सम्मेलन नै गर्ने सङ्ख्यामा नेपालीहरू छन् र ? यतिका नेपालीहरू कसरी जापान पुगे ? जापान यसरी नेपालीहरूको आकर्षको केन्द्र कसरी बन्यो ?
– व्यक्तिगत तथा सामाजिक सुरक्षा, रोजगारका धेरै अवसर, स्वास्थ्य र शिक्षाका आधारभूत सुविधा, भौतिक संरचनाको लोभलाग्दो पक्षसँगै अर्को एउटा महत्वपूणर् पक्ष यो छ ः जापानको जनसङ्ख्या वृद्धिदर नकारात्मक छ । जापानका जनताको ठुलो हिस्सा वृद्धहरूको छ । यसले गर्दा यहाँको सम्पूणर् संरचना सञ्चालनका लागि विदेशी कामदार आयात गर्नुपर्ने अवस्था छ । नेपालीहरू काममा इमान्दार र मिहिनेती भएका कारणे त्यो आवश्यकता पूर्ति गर्ने क्रममा नेपाल पनि जापानको रोजाइमा परेको हुन सक्छ ।
सामाजिक सेवासुरक्षामा जापान सरकारले स्वदेशी र विदेशी भनेर विभेद गरेको भेटिँदैन । यस्ता खालका आकर्षणका कारण दुनियाभरिका श्रमिकहरूको रोजाइको गन्तव्य जापान हुन पुगेको छ । प्रशिक्षार्थी कामदारको रूपमा, दक्ष कामदार विशेषज्ञ, व्यवसायीको रूपमा नेपालीहरू जापानमा आउने क्रम बढेको छ । सबै गरेर नेपालीहरूको सङ्ख्या करिब एक लाखभन्दा माथि छ ।
० प्रथम राष्ट्रिय सम्मेलनको तयारी कसरी चलिरहेको छ ?
– यतिखेर जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलनको प्रचार प्रसार तीव्र गतिमा चलिरहेको छ । सम्मेलन सफल पार्नका लागि आर्थिक सङ्कलनको योजना बनाइरहेका छौँ । तेस्रो राष्ट्रिय सम्मेलनसम्मका लागि सङ्गठनलाई व्यवस्थित पार्ने गरी विधान र घोषणापत्रको मस्यौदा गरिरहेका छौँ । त्यसैगरी, एकता समाजको हालसम्मको कामकारबाहीको अभिलेखीकरण गर्दै, यस क्रममा हामीले प्राप्त गरेका उपलब्धि र कमजोरीको लेखाजोखा गर्दै आगामी कार्ययोजनासम्मका विषयलाई समेटेर प्रतिवेदन तयार पार्ने क्रममा छौँ । समुद्रपारिको देश भएका कारण जापानबाहिरका देशबाट अतिथि बोलाउन सम्भव छैन । फेरि पनि भर्चुअल र इमेलबाट भए पनि अतिथिहरूको सन्देश आउने निश्चित भएको छ । सम्मेलन सफल पार्न यथासम्भव ठुलो सङ्ख्यामा साथीहरू टोकियोमा आउनुहुने छ ।
० राष्ट्रिय सम्मेलनको नारामा राष्ट्रियता र गणतन्त्रको रक्षा गर्ने उल्लेख गर्नुभएको रहेछ । जापानमा बसेर नेपालको राष्ट्रियता र गणतन्त्रको रक्षा हुन सक्ला र ? यो नारा असान्दर्भिक भएन र ?
– जापान नेपाली एकता समाजलाई कुनै न कुनै रूपमा राजनैतिक दलको भ्रातृ सङ्गठनको रूपमा रहन नदिने तथा प्रवासमा राजनीति गर्न हुँदैन भनेर जबरजस्ती व्याख्या गरिदिने, आरोपहरू भिराइदिने गरेका प्रशस्तै उदाहरण जापानमा छन् । त्यसका पछाडि दुईओटा कारणले काम गरेको छ ।
प्रथमतः जापान नेपाली एकता समाजले जुन खालका मजदुरहरूको विषय उठाउने प्रयत्न गरेको छ, त्यसले मान्छेको व्यापार गर्ने दलालहरूको विरुद्धमा काम गर्छ । फेरि पनि जापानभित्र पनि न्यून वेतनमा काम गराउने, न्यूनतम र व्यावहारिक सेवासुविधाबाट मजदुरलाई वञ्चित गर्ने कार्य पनि व्यापक छ । तिनीहरू यस्तो विषयबाट आम जनसमुदायको ध्यान हटाउन चाहान्छन् ।
दोस्रो, जापान नेपाली एकता समाजको गठन गर्ने समयमा वैचारिक हिसाबले जनतान्त्रिक आस्था राख्ने साथीहरूको बिचमा छलफल भएर सङ्गठनको यस्तो खालको परिकल्पना र संरचना निर्माण भयो । त्यसले पनि यस्तो विचार आएको हो ।
यसबाहेक एकता समाजले नेपालमा हुने देशभक्तिपूणर्, प्रगतिशील आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको छ । सीमा अतिक्रमणका विरुद्ध कार्यक्रम गरेको छ । यी कारणले पनि जनमानसमा यस्तो दृष्टिकोण पैदा भएको हुन सक्छ । एकता समाज सम्पूणर् रूपमा सामाजिक सङ्गठन हो तर यहाँका सम्पूणर् समस्या राजनैतिक हुन् भन्ने विषय स्पष्ट छ । त्यसैअनुसार हाम्रो व्यवहारलाई स्पष्ट पार्दै जाने छौँ । त्यसैअनुसार हाम्रो मातृभूमि नेपालको सन्दर्भमा राष्ट्रियता र गणतन्त्र रक्षाको विषयलाई राष्ट्रिय सम्मेलनको नारामा समेटेका छौँ ।
० राष्ट्रिय सम्मेलनको कार्यतालिका कस्तो प्रकारले निश्चित गर्नुभएको छ ?
– हाम्रो सम्मेलन एकदिने हो । हामीले मार्च ८, २०२२ का दिन सम्मेलन सम्पन्न गर्नैपर्ने हुन्छ । जापानको व्यस्त जीवनशैली, समयको अभाव र यहाँका नेपाली कामदारहरूको समस्याले गर्दा धेरै समय दिनु सम्भव छैन । त्यस्तै, खर्चका हिसाबले पनि हामी नेपालीहरूले जापानमा धेरै दिनसम्म सम्मेलन सम्पन्न गर्न सक्दैनौँ । त्यसकारण मार्च ८ कै दिन उद्घाटन, बन्दशत्र र समापन कार्यक्रम सम्पन्न हुने छन् । हामीले त्यसैगरी चुस्तदुरुस्त कार्यतालिका निर्माण गर्ने छौँ ।
० जापानस्थित नेपालीहरूको समस्या कस्तो छ ? उनीहरूका समस्या के कस्ता छन् ?
– समाजको तल्लो पङ्क्तिमा श्रमिक, मजदुरका चेतनाको स्तर नउठ्दासम्म शोषकहरूले गर्ने शोषण कम हुन्न । देश छोडेर परदेश लागेपछि सामाजिक, सांस्कृतिक कार्यदक्षता, भाषा आदि कैयौँ समस्या आइलाग्छन् । दिनदिनै र क्षण क्षणमा आउने यस्ता समस्याको भुमरीमा परेर बाध्यता र विवशताले हैरान परेका कैयौँ मान्छेहरू ढोँगी, शोषक, समाजसेवी नामक ब्वाँसाको पन्जामा पर्दछन् र झन् धेरै पीडाको पासोमा पर्दछन् । त्यसै क्रममा आत्महत्या, मानसिक तनाव र शारीरिक सिथिलताले उब्जाउने दीर्घ रोग, हर्ट अट्याक जस्ता समस्याको सिकारसमेत बन्न पुग्छन् । यसको विकल्प भनेकै मान्छेको चेतनामा सकारात्मक चिन्तन भर्ने, आत्मबल बढाउने र समाजलाई सही रूपमा बुझ्न र त्यसको व्यवहारलाई सरल रूपमा सम्पन्न गर्नु हो । जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन र यसको आगामी कार्यदिशा यसैतर्फ उन्मुख हुने छ ।
० जापान नेपाली एकता समाजको बारेमा केही बताइदिनुस् न ।
– जापान नेपाली एकता समाज जापानमा रहेका नेपालीको साझा सामाजिक संस्था हो । हामी नितान्तै मजदुरको वर्गीय दृष्टिकोणमा आधारित रहेर जापानमा कर्मथलो बनाएर बस्नुभएका नेपालीहरूको दैनिक सारथिको रूपमा यो सङ्गठनलाई दृढ रूपमा उभ्याउन चाहान्छौँ । संसारभरिकै अग्रपङ्क्तिमा जापान मानवअधिकार, व्यक्तिगत स्वतन्त्रताको पक्षमा उत्कृष्ट देश रहेको भनेर प्रचार गरिन्छ तर मजदुरहरूको, विशेष गरी नेपाली मजदुरको वास्तविकता भने ठिक त्यसको विपरीत छ । अनौपचारिक क्षेत्रमा हुने आर्थिक कारोबार र बेरोजगारीको फाइदा उठाउने बिचौलिया वा दलालको बिगबिगी जापानमा झन् विकराल छ । यस्तो अवस्थामा मजदुर एक्लै आफैले समाधान खोज्न असम्भवप्रायः नै छ । त्यसैले मजदुरका हक, हित र अधिकारको रक्षा र उत्थानका लागि यस्तो सङ्गठनको आवश्यकता र महत्व महसुस भएको हो ।
० जापानका नेपालीका लागि अरूले भन्दा फरक जापान नेपाली एकता समाजले के के गर्ने योजना बनाइरहनुभएको छ ?
– नेपालबाट बैदेसिक रोजगारमा जाने भनेको नितान्त व्यक्तिगत आर्थिक उपार्जनका लागि हो । भइरहेको दुःखकष्ट कम होला परिवारका सदस्यले सुखसजिलोसँग जीवनयापन गर्न सक्लान् भन्ने नै हो । नेपालमै सम्भावना के कति थिए ? के कारणले देश छोडेर हिड्नुपर्यो भन्ने विषयका पछाडि अनेकौँ तर्क हुन सक्छन् । देशमा भएको सामाजिक, राजनैतिक व्यवस्था यसको प्रमुख जिम्मेवार हो नै । यसबाहेक हाम्रो सामाजिक चिन्तन प्रणाली र आचरण पनि जिम्मेवार छ । जापान जस्तो समृद्ध र सभ्य देशमा पुग्दा पनि हाम्रो चिन्तन उस्तै रूढिवादी, पिछडिएको र निम्न पुँजीवादी व्यवहारसहितको भएकाले आफै थप झन्झटमा फसेका छौँ । सांस्कृतिक रूपान्तरणबाट मात्र यो समस्याको हल सम्भव छ । त्यसैले नेपाली चाडपर्व र कार्यक्रमको सम्बन्धमा सकेसम्म प्रगतिशील प्रकारले सोच्ने, चेतनाको प्रचार प्रसार र आदानप्रदानको क्रममा हामी छौँ । विदेशमा राजनीति गर्न वा राजनैतिक विषयमा छलफल गर्नुहुँदैन भन्ने विषय उठाएर यहाँका नवसामन्तहरू आफ्नो ढोँगी चरित्रलाई ढाकछोप गर्न खोज्छन् । यो केवल छलकपट मात्र हो । यस्तो घिनलाग्दो र फोहोरी राजनीति तिनीहरूले गरेका कैयौँ उदाहरण छन् । एकता समाज राजनीति र राजनैतिक दृष्टिकोणलाई सम्मान गर्छ । अराजकता र भँडुवा प्रवृतिको सधैँ भण्डाफोर गर्दछ ।
० विदेशस्थित नेपालीका लागि मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि के कस्ता प्रयासहरू गरिरहनुभएको छ ?
– नेपाल समृद्ध भए संसारको जुन कुनामा बसेका नेपाली पनि सुखी हुन्छन भन्ने दृष्टिकोण जापान नेपाली एकता समाजको हो । यसलाई सफल पार्न नेपालमा हुने प्रगतिशील र देशभक्तिपूणर् आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रवासमा रहेका नेपालीहरूलाई मताधिकारको सुनिश्चितता गर्ने हाम्रो माग छ । त्यसका लागि हामीले पटक पटक मताधिकार र समानुपातिक प्रतिनिधित्वको पक्षमा आवाज उठाइरहेका छौँ ।
० तपाईंहरू नेपालमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चालाई नैतिक समर्थन गर्नुहुन्छ । त्यसका पछाडिको कारण के हो ?
हामी प्रवास विशेष गरी जापानमा रहेका श्रमजीवी जनसमुदायको हक, हित, अधिकार र नेपाल र जापानबिचको असल सम्बन्ध स्थापित हुने कार्य र हाम्रो कला, संस्कृतिलाई विदेशी भूमिमा पनि परिचित गराउने लक्ष्यसहित स्थापित सामाजिक संस्था हो । हाम्रो समाज विचारशून्य समाज भने होइन । त्यसैले प्रवासी नेपालीहरूको मताधिकारको सुनिश्चितताको विषय, राष्ट्रियता र गणतन्त्र रक्षाको विषय, मजदुरहरूमाथिको उत्पीडन विरुद्धको वैचारिक विषयमा हाम्रा विचारहरू एकै प्रकारका छन । नेपाल समृद्ध भए नेपाली संसारमा जहाँ रहे पनि सुखी हुन्छन् भन्ने एकता समाजको भावनालाई व्यवहारमा लैजान हामीले नेपालमा हुने प्रगतिशील देशभक्तिपूणर् आन्दोलनमा ऐक्यबद्धता जनाउने, सहयोग गर्ने हाम्रो विधानमै उल्लेख छ । यो विषयमा जो कोहीले चलाए पनि हाम्रो नैतिक समर्थन रहन्छ† थियो र रहने छ । यस सन्दर्भमा राष्ट्रिय जनमोर्चाले सही रूपमा उठाएको छ भन्ने लाग्छ । त्यसैले हाम्रो नैतिक समर्थन रहेको हो ।
० २०६२-६३ सालको जनआन्दोलनपछि नेपाल गणतान्त्रिक मुलुक बनिसकेको छ । एउटा प्रवासी नेपालीको नाताले भन्नुपर्दा नेपालको २०६२-६३ सालभन्दा पहिले र अहिलेको अवस्थामा के भिन्नता पाउनुभएको छ ?
– जनताले आन्दोलन गर्ने भनेको भइरहेको व्यवस्थामा भएका गलत क्रियाकलाप, विकृति, विसङ्गति हटाएर नयाँ व्यवस्था कायम गर्नका लागि हो । म स्वयम् २०६२-६३ सालको महान् जनआन्दोलनको घाइते हुँ । चरम भ्रष्टाचार, हत्या, हिंसाले पिल्सिएको देश नेपालमा निरङ्कुश राजतन्त्र कायम थियो । हामी त्यसलाई जरैदेखि उखेलेर फाल्न सङ्घर्ष गरेका थियौँ । तर निरङ्कुश राजतन्त्रको अन्त्यपछि पनि राजनैतिक नेतृत्वको व्यवहार फेरिएन भ्रष्टाचारको अन्त्य भएन महङ्गी झन् आकाश छुन पुग्यो अर्थात् पुरानो व्यवस्थाको विकृत अवशेष कायमै रह्यो । दलाल नोकरशाही प्रवृत्तिमा परिवर्तन भएन । वैदेशिक हस्तक्षेप झन् बढ्दै गयो । भारतीय साम्राज्यवादको दादागिरी झन् बढेर गयो । सीमा अतिक्रमण रोकिएन । जनताको जनधनको सुरक्षा भएन । सत्ताको खिचातानीले निरङ्कुश व्यवस्था पुनस्र्थापनाको सम्भावनासमेत निम्त्याउन पुग्यो । अहिले एम.सी.सी. को विषयमा भएको बहसले त बुख्याँचाहरूको नकाब उतारेर जनतासामु स्पष्टै पारिदिएको छ । यसका विरुद्धको आन्दोलनमा हाम्रो एक्यबद्धता रहेको छ ।
० गैरआवासीय नेपाली सङ्घप्रति तपाईंहरूको धारणा के हो ?
– नेपालीलाई जबरजस्ती गैरनेपालीको बिल्ला भिराइदिएर निहित स्वार्थ पूरा गर्न प्रयत्न गरिने राजनैतिक, आर्थिक स्वार्थप्रति हाम्रो गम्भीर असहमति छ । यो गैरआवासीय शब्दकै अप्राकृतिक व्याख्या हो । गलत आसय र स्वार्थले निर्मित समूहमा भ्रष्टाचार, ढोँगी चरित्रको छाकछोप, काला कर्तुतलाई सामाजिक मान्यता दिने कार्यहरू नौलो विषय हैनन् । जापानमा त यसको सबैभन्दा क्रुर रूप देखिएको छ । यसको व्याख्या यहाँ सम्भव छैन । यद्यपि एन.आर.एन. मा ठुलो सङ्ख्यामा बौद्धिक जमातले निस्वार्थ सेवा गर्ने प्रयास पनि गरेका छन् । तिनीहरूप्रति हाम्रो समर्थन छ । फेरि पनि स्थानीय स्तरमा आवश्यकताअनुसार एन.आर.एन. सँग साझा विषयमा सँगै काम गर्ने हाम्रो प्रयत्न रहेको छ ।
० जापानमा जिल्ला स्तरका र जातीय प्रकृतिका सङ्गठन पनि क्रियाशील रहेको देखिन्छ । उनीहरूको गतिविधिलाई कसरी लिनुभएको छ ?
– हो । जापानमा नेपालको जिल्लालाई आधार बनाएर सङ्गठन बनाइएका छन् । त्यस्तै कतिपय जातीय चरित्रका सङ्गठन पनि क्रियाशील छन् । उनीहरूका सबै गतिविधि गलत छन् भन्ने होइन । फेरि पनि नेपालीहरूलाई एउटै अखिल जापान स्तरको सङ्गठन बनाएर एकताको सूत्रमा बाँध्ने लक्ष्यको आधारमा हेर्ने हो भने यस खालका सङ्गठनको भूमिका उचित देखिँदैन । हामीले ती सङ्गठनसित स्थानीय आवश्यकताअनुसार सहकार्य गर्न सक्छौँ । त्यसका साथै ती सङ्गठनसित सङ्कीणर् सीमाभित्र रहेर होइन, नेपाली जनताको बृहत् हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न अनुरोध पनि गरिरहेका हुन्छौँ । यसका साथै मातृभूमिप्रतिको अगाढ मायालाई घनीभूत पार्दै प्रवासमा आर्जन गरेको ज्ञान, सिप, सम्पत्तिलाई नेपालमा सही सदुपयोग गर्न प्रेरित गर्न पनि हामीले विभिन्न सङ्घसंस्थाहरूसँग हातेमालो गर्दै अगाडि बढने छौँ ।
० अन्तमा, भन्नुपर्ने केही छन् कि ?
– अन्तमा, जापान नेपाली एकता समाजको दोसो राष्ट्रिय सम्मेलन आउँदो मार्च ८ का दिन टोकियोमा सम्पन्न हुन गइरहेको छ । सम्पूणर् जापानवासी नेपालीहरूको न्यानो माया, सदभाव, सहयोग र समर्थनले हामीले एक दशक लामो यात्रा पार गरेका छौँ । संरचनागत अवस्थामा रहेको हाम्रो सङ्गठन नेपालीहरूको दैनिक जीवनको एक हिस्सा बनाउन मिहिनेत गर्ने छौँ । सम्मेलनमा उपस्थित भएर भव्य र सानदार रूपमा विचारको आदानप्रदान गर्नुहुन अनुरोध गर्दछौँ ।
त्यसैगरी जापान नेपाली एकता समाजको विचारलाई तपाईंहरूको लोकप्रिय मिडियामा राख्ने अवसर दिनुभएकोमा युगदर्शन मिडियाप्रति धन्यवाद दिन चाहान्छु ।