आउँदो चुनावमा प्रचण्ड ओलीसँग मिल्ने सम्भावना छ : सिपी गजुरेल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले आगामी प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँग मिल्ने सम्भावना रहेको बताउनुभएको छ ।

अध्यक्ष गजुरेलले पुष्पकमल संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने होकि भन्ने डरले पनि प्रधानमन्त्री देउवा सो निर्वाचन छिटो सम्पन्न गराउने पक्षमा रहेको बताउनुभयो ।

पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य बस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा बुधबार काठमाडौंको माईतीघर मण्डलामा आयोजित विरोध प्रर्दशनमा बोल्दै उहाँले प्रधानमन्त्री देउवा कात्तिक मसान्तभित्रै चुनाव गर्ने पक्षमा रहेको बताउनुभयो ।

‘गठबन्धन अहिलेसम्म कायम छ । फेरि प्रचण्ड ओलीतिर जान्छु भन्न थालेकाले न ओलीतिर जाने हो कि ? गइहाल्यो भने चुनाव जितिँदैन । सरकारमा आउन सकिँदैन’ उहाँले भन्नुभयो, ‘त्यसकारण अब ढिलो गर्नु हुँदैन । चाँडै चुनाव गराउनु पर्छ भनेर ऊ लागेको छ ।’

चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको दावी समेत गजुरेलले गर्नु भयो । अध्यक्ष गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको जिकीर समेत गर्नु भयो । सरकारले चुनाव जिताउनका लागि १५ प्रतिशत तलव वृद्धि गरेर कर्मचारीहरुलाई ‘घुस’ दिएको उहाँको जिकीर थियो ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता समेत रहनु भएका गजुरेलले चुनावमा जित्नका लागि जनतालाई जसरी पनि खुसी पार्नुपर्ने भएकाले सरकारले सोही अनुसार नै बजेट ल्याएको बताउनु भयो ।

अध्यक्ष गजुरेलले भारतीय विद्युतीय गाडी कम्पनीहरुसँग कमिशन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीको संचालनमा जोड दिने गरी बजेट ल्याएको आरोप समेत लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार