काठमाडौँ । नेकपा (मसाल) ले प्रतिगमन विरोधी चुनावी गठबन्धनको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारप्रति विजयको शुभकामना व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा आज २०७९ असोज २३ गते जारी प्रेसवक्तव्यमार्फत पार्टीले शुभकामना व्यक्त गरेको हो ।
प्रेसवक्तव्यमा आगामी चुनावले सम्पूर्ण देशका लागि ठुलो र ऐतिहासिक महŒव राखेको धारणा व्यक्त गरिएको छ । आगामी चुनावको मुख्य उद्देश्य प्रतिगमनलाई पराजित गर्नु भएको उल्लेख गर्दै प्रेसवक्तव्यमा यदि प्रतिगमनको जित भयो भने जनआन्दोलनको उपलब्धिहरू समाप्त हुने खतरा औल्याइएको छ ।
आगामी चुनावमा प्रतिगमनलाई पराजित गर्न पूरा शक्ति लगाउनुपर्ने आवश्यकतामा जोड दिइएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“आगामी २०७९ मङ्सिर ४ गते हुने आम चुनावका लागि आज देशभरि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । आगामी चुनावले वास्तवमा सम्पूर्ण देशका लागि ठुलो र ऐतिहासिक महŒव राख्दछ । अहिलेको चुनावको मुख्य उद्देश्य प्रतिगमनलाई पराजित गर्नु हो । प्रतिगमनको जित भयो भने जनताको आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू समाप्त हुने तथा गणतन्त्र र धर्म निरपेक्षतासमेत समाप्त हुने खतरा छ । त्यसैले प्रतिगमनलाई पराजित गर्नका लागि हामीले अहिले पूरा शक्ति लगाउनुपरेको छ ।
नेपालको इतिहासमा जब जब प्रतिगमनको खतरा उत्पन्न भएको छ, आपसमा मतभेद भएका राजनीतिक शक्तिका बिचको एकता वा संयुक्त आन्दोलनको बलमा नै प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने गरेको छ । अहिले पनि पाँच दलका बिचको गठबन्धन वा चुनावी तालमेलको आधारमा नै प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने छ ।
आगामी चुनावका लागि आज देशभरि नै गठबन्धन वा चुनावी तालमेल गरेर जुन उम्मेदवारहरूले उम्मेदवारी दिएका छन्, हामीले ती सबैको विजयका लागि शुभकामना दिन्छौँ । उनीहरूको विजयबाट प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्नु र देशलाई अग्रगमनको दिशामा लैजानु सम्भव हुने छ भन्ने हामीलाई पूरा विश्वास छ ।”