(२०८० साल बैशाख १२ –१५ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) को पीवीको बैठकद्धारा पारित तथा राष्ट्रिय प्रशिक्षण भेलामा प्रस्तुत र परिमार्जित)
१. नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले चितवनको उपचुनावलाई अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षको रूपमा उपयोग गर्ने निर्णय गरेको थियो र त्यो पक्ष नै त्यो चुनावको उपयोग सम्बन्धी हाम्रो नीतिको प्रधान पक्ष थियो । चितवनले अमेरिकी साम्राज्यववाद विरुद्धको नारालाई देशव्यापी बनाएको छ । चितवनको उपनिर्वाचनको सन्दर्भमा हाम्रो पार्टीले अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षमा जोड दिने जुन नीति अपनाएको थियो, त्यो नीति देशव्यापी रूपमा अगाडि बढेको छ । यही साल वैशाख २ गते काठमाडौंमा “अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षाको प्रश्न”बारे एउटा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । त्यो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य का. चित्रबहादुर के.सी.ले अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो । त्यो कार्यक्रममा कैयौँ बुद्धिजीवि वा विज्ञहरूले अमेरिकी साम्राज्यवादबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर खतरा भएको कुरा बताउनु भएको थियो । बैशाख ०७ गते अमेरिकी साम्राज्यवादको विरुद्ध देशव्यापी रूपमा विरोध कार्यक्रमहरू सम्पन्न भएका थिए । त्यसरी चितवनको चुनावको सन्दर्भमा हाम्रो पार्टीले उठाएको अमेरिकी साम्राज्यवाद विरोधी नीति भव्य रूपमा सफल भएको कुरा वास्तविकता हो । त्यो आन्दोलनलाई अरू उच्च र व्यापक बनाउनु आजको राष्ट्रिय आवश्यकता भएको छ र आगामी दिनहरूमा त्यो आन्दोलनले त्यस रूपमा विकास गर्दै जाने छ भन्ने कुरामाथि हामीलाई विश्वास छ ।
२. चितवनको उपनिर्वाचनमा अमेरिकी साम्राज्यवादपरस्त पक्षका उम्मेदवारको जित भएको छ । त्यो विजयका लागि उनीहरूले हर्ष मनाइरहेका छन् । तर उनीहरूको त्यो जित अमेरिकी साम्राज्यवादको जित हो र त्यसले नेपालमा अमेरिकी साम्राज्यवादको बढ्दो खतरालाई नै बताउँदछ । त्यो खतराका विरुद्ध ने.क.पा.(मसाल)ले मात्र अग्रिम पङ्क्तिमा आएर विरोध गरेको थियो र त्यही उद्देश्य पूरा गर्न राष्ट्रिय जनमोर्चाले चितवनमा आफ्नो उम्मेदवार पनि उठाएको थियो । अन्य राजनीतिक पक्षहरूले त्यो खतराप्रति ध्यान दिएको पाइन्न र त्यसका कैयौँ दूरगामी घातक परिणामहरू हुनेछन् । त्यसकारण हाम्रो पार्टीले सम्पूर्ण देश र जनतालाई अमेरिकी साम्राज्यवादी खतराप्रति गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।
३. देशको राजनीतिमा हाम्रो पार्टीले कैयौं पल्ट एक्लै आवाज उठाउने वा सङ्घर्ष गर्ने गरेको गौरवपूर्ण इतिहास छ । संविधानसभाको पक्षमा हाम्रो पार्टीले एक्लै आवाज उठाएको वा त्यसका लागि सङ्घर्ष पनि गरेको लामो इतिहास छ । २०४८ सालको चुनावमा विना अपवाद अन्य सबै राजनीतिक पार्टी वा सङ्गठनहरूले राजाले दिएको संविधान अन्तर्गत संसदीय चुनावमा भाग लिन पुगेका थिए भने हाम्रो पार्टीले संविधान सभाको माग गर्दै राजाले दिएको संविधानलाई कालो संविधान बताउँदै त्यसको विरोध गरेको थियो र संसदीय चुनावको वहिष्कार पनि गरेको थियो । पछि अन्य सबै राजनीतिक पार्टीहरू पनि संविधान सभाको चुनावको मागलाई स्वीकार गरेर अन्तमा संविधानसभाको चुनाव भएको थियो । सङ्घीयताको प्रश्नमा पनि अन्य सबै ठूला राजनीतिक दलहरूले सङ्घीयताको समर्थन गरिरहेको बेलामा हाम्रो पार्टीले देशव्यापी रूपमा तथा काठमाडौं केन्द्रित आन्दोलन समेत गरेको थियो । अब अन्य कतिपय राजनीतिक पार्टी वा सङ्गठनहरूले पनि सङ्घीयताका विरुद्ध आवाज उठाउन थालेका छन् र देशव्यापी रूपमा सङ्घीय व्यवस्था गलत भएको महशुस गर्न थालिएको छ । अन्य कतिपय पक्षहरूले सङ्घीयताको विरोध गरेपनि त्यसका आडमा राजतन्त्र वा साम्राज्यवादको सेवा गर्ने नीति अपनाएको देखिन्छ । त्यसकारण उनीहरूको कथित सङघीयताविरोधी नीतिबाट प्रतिगमन वा साम्राज्यवादको नै सेवा हुने छ । हाम्रो पार्टीले अँझै पनि लगातार सङ्घीयताका विरुद्ध सङ्घर्ष गरिरहेको छ र सङ्घीयता खारेज नहुँदासम्म हाम्रो त्यो नीति कायम रहने छ ।
४. जातीय सङ्घीयताका विरुद्ध पनि हाम्रो पार्टीले जोडदार किसिमले आवाज उठाएको थियो । दोस्रो संविधानको कालमा त्यसलाई पूरै अस्वीकार गरिएको थियो । यद्यपि अब कोशी प्रदेशमा पुनः जातिवादले शिर उठाउन थालेको पाइन्छ । हाम्रो पार्टीले जातीय आधारमा त्यो प्रदेशको पुनः नामाकरण गर्ने कार्यको विरोध गरेको छ ।
५. माथि उल्लेखित केही उदाहरणबाट इतिहासका कैयाँै कालखण्डमा कैयौं राजनीतिक प्रश्नहरूमा हामी एक्लै भएको, तर पछि इतिहास वा व्यवहारले हाम्रो नीति सही सावित भएको कुरा प्रष्ट हुँदै आएको छ । त्यही प्रकारले अमेरिकी साम्राज्यवाद वा अमेरिकी साम्राज्यवादपरस्त तत्वहरूको हाम्रो विरोधको नीतिलाई पनि इतिहासले सही सावित गर्ने कुरा निश्चित छ । अहिले अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नै राजनैतिक पार्टी समेत बनाएर जसरी प्रत्यक्ष रूपले नेपालमा हस्तक्षेप गर्ने जुन रणनीति अपनाएको छ, त्यसका विरुद्ध खाली ने.क.पा.(मसाल) र राष्ट्रिय जनमोर्चा मात्र अगाडि आएका छन् । एमाले, कथित स्वतन्त्र पार्टी र राप्रपा एउटै पङ्क्तिमा उभिएका छन् । उनीहरू मध्ये “स्वतन्त्र पार्टी”ले सिधै अमेरिकापरस्त नीति अपनाउने गरेको कुरा दिनको उज्यालो झै छर्लङ्ग छ । एमाले र राप्रपाले पनि अमेरिकी साम्राज्यवादको अनुशरण गरेको पाइन्छ । अहिलेसम्म “स्वतन्त्र पार्टी”ले प्रचण्ड सरकारलाई नै समर्थन गरेको थियो । तर अब त्यसले त्यो समर्थन फिर्ता लिने कुरा गर्न थालेको देखिन्छ । तर अहिले स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जुन कुरा गरिरहेको छ, त्यो वास्तविक नभएर खालि सरकारमाथि दबाब दिनाका लागि एक प्रकारको चाल पनि हुन सक्दछ । उनीहरूले (स्वतन्त्र पार्टीले) गृहमन्त्रीको पद प्राप्त गर्नको लागि पूरा कोशिस गरिरहेका छन् । अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा त्यह्री उद्देश्य प्राप्त गर्नको लागि दबाब दिएको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । प्रधानमन्त्रीपछि गृहमन्त्रीको पद सम्भवतः नेपाल सरकारको दोस्रो सबैभन्दा महत्वपूर्ण पद हो ।त्यो पदद्वारा सबै जिल्लाहरूको प्रशासन यन्त्र, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग आदि सबैमाथि नियन्त्रण हुन्छ । त्यो अवस्थामा एउटा अमेरिकन परस्त तत्वलाई त्यति महत्वपूर्ण पद दिने सम्पूर्ण देशका लागि घातक हुने छ भन्ने हाम्रो स्पष्ट र दृढ मत छ ।
६. तनहुँमा समेत “स्वतन्त्र पार्टी”को उम्मेदवारको जीत भएको कुराबाट नेपालमा अमेरिकी साम्राज्यवादको खतराले गम्भीर रूप लिइरहेको कुराको सङ्केत गर्दछ । तनहुँमा “स्वतन्त्र पार्टी”को विजय यस कारणले बढी गम्भीर हुन जान्छ कि त्यो नेकाको बलियो आधार भएको ठाउँ हो । त्यहाँ नेकाको उम्मेदवारलाई जिताउन वर्तमान वा पूर्व प्रधानमन्त्रीसहित ४ जना र कैयौं प्रमुख दलहरूका नेताहरूले पूरा शक्ति लगाएका थिए । तैपनि त्यहाँ नेकाको उम्मेदवारको हार भयो । त्यो हारलाई सामान्य ठान्नु हँुदैन । त्यहाँ समेत “स्वतन्त्र पार्टी” को जीतबाट अन्य प्रमुख राजनीतिक पार्टीहरूका उम्मेदवारहरूले जितेका देशका अन्य निर्वाचन क्षेत्रहरूमा पनि आगामी चुनावसम्म उनीहरूका आधार भत्किँदै जान सक्ने सम्भावना देखिन्छ । तनहुँको उदाहरणबाट नेकाभित्रको प्रतिपक्षका अमेरिकी साम्राज्यवादसित बढी नजिक भएका अन्य केन्द्रीय नेता वा कार्यकर्ताहरू अरू ठूलो सङ्ख्यामा तनहुँमा देखा परेको प्रवृत्तिलाई अरू तीब्र गतिले अनुशरण गर्दै जाने सम्भावना देखिन्छ । देशका अन्य राजनीतिक दल वा सङ्गठनहरूले पनि अमेरिकी साम्राज्यवादप्रति अपनाएको ढुलमुल र सम्झौतापरस्त नीतिका कारणले तिनीहरूले पनि तनहुँको बाटो समात्दै जाने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तनहुँको बाटोको अर्थ हुन्छ, विभिन्न राजनीतिक सङ्गठनहरूबाट “स्वतन्त्र” पार्टीमा प्रवेशको गतिको तीव्रता । अन्य दलहरूको पराजय भन्दा अमेरिकापरस्त तत्वहरूको विजय देशको लागि गम्भीर चिन्ताको कुरा हो । त्यसबाट देशमा अमेरिकी साम्राज्यवादले संसद र देशको राज्ययन्त्रमा समेत नियन्त्रण कायम गर्न सक्ने खतरा बढ्दै गएको देखिन्छ । अन्य राजनीतिक दलहरूको त्यो खतराप्रति कम ध्यान गएको र एक वा अर्को प्रकारले उनीहरूले अमेरिकी साम्राज्यवादप्रति सम्झौतापरस्त नीति अपनाउँदै गएको कुराबाट त्यो खतराको गम्भीरतालाई अरू बढाउँछ । त्यो समस्याको समाधानको एउटै बाटो छ : सबै देशभक्त शक्ति, संघसंस्था, वुद्धिजीवि र आमजनताले समेत अमेरिकी साम्राज्यवादका विरुद्ध व्यापक रूपले जनचेतना उठाउन र सङ्घर्षमा जोड दिनुपर्दछ ।
७. यसको लागि हामीले प्रसन्नता प्रकट गर्नुपर्दछ कि बाराको उपचुनावमा अमेरिकापरस्त पक्षको हार भएको छ । त्यहाँ “स्वतन्त्र पार्टी” को उम्मेदवारको हार भएको छ । “स्वतन्त्र पार्टी” ले अहिले चितवन र तनहुँमा कुनै सिद्धान्त नीति र कार्यक्रम, सङ्गठन वा कुनै राजनीतिक पृष्ठभूमिका आधारमा विजय प्राप्त गरको होइन । त्यसको आधार प्रथमतः नानीमैयाको जस्तो लहरको परिणाम हो । नानीमैंया लहर भन्नुको अर्थ हो, कुनै सकारात्मक राजनीतिक नीति र कार्यक्रमका आधारमा होइन, विद्यमान व्यवस्थाप्रतिको असन्तुष्टि र आक्रोशको आधारमा चुनावमा विजय । उनले पनि कुनै राजनीतिक नीति र कार्यक्रमका आधारमा हैन निरङुकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाप्रतिको जनअसन्तोषका आधारमा नै काठमाडौमा चुनाव जितेकी थिइन् । अहिले पनि ठूला र सत्तारूढ राजनीतिक पार्टीहरू र सङ्गठनहरूका गलत नीति र कार्यशैलीका कारणले जनतामा जुन व्यापक असन्तोष पैदा भएको छ, त्यो कारणले पनि “स्वतन्त्र पार्टी” ले केही फाइदा उठाएको छ । त्यस प्रकारको असन्तोषको लहरबाट गणतन्त्र समेतप्रति जनताको असन्तोष बढ्दै जाने र त्यसको परिणामस्वरूप गणतन्त्र समाप्त भएर राजतन्त्रको पुनस्र्थापना हुने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न । त्यसप्रति सबै गणतन्त्र पक्षधर शक्तिहरूको ध्यान जानुपर्ने आवश्यकता छ । जे होस्, चितवनले अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षको विगुल फुकेर नयाँ इतिहासको रचना गरेको छ भने बारामा अमेरिकी साम्राज्यवाद पक्षधरको हार भयो । त्यो स्वागतयोग्य कुरा हो ।
८. “स्वतन्त्र पार्टी” ले मंसिर ०४ गतेको संसदीय चुनावमा जुन सफलता प्राप्त गरेको छ, त्यसको पहिलो कारण नानीमैया लहर हो भने दोस्रो र प्रधान कारण अमेरिकी साम्राज्यवादको प्रभाव तथा साधन र स्रोतहरू पनि हुन् । स्वतन्त्र पार्टीको मंसिर ०४ गते वा अहिलेको उपचुनावमा विजयका सन्दर्भमा लोकप्रियतावाद (पपुलिज्म)ले काम गरेको वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । संसारमा लोकप्रियताको लहर वा लोकप्रियतावादबाट उत्पन्न भएको जनमतका कारणले पनि कैयौँ गलत तत्वहरूले चुनावमा भारी विजय प्राप्त गर्ने गरेका उदाहरणहरू थुप्रै पाइन्छन् । लोकप्रियतावादको लहरको अर्थ हुन्छ, कुनै सिद्धान्त, नीति, कार्यक्रम वा जनहितैषी कार्यक्रमका आधारमा होइन, एक वा अर्को प्रकारका गलत भावनालाई उभारेर गलत तत्वहरूले चुनाव जित्नु नै हुन जान्छ । संसारमा त्यस प्रकारका थुप्रै उदाहरणहरू छन् । तर यहाँ हामीले अन्तर्राष्ट्रिय स्तरका दुईवटा उदाहरणको मात्र चर्चा गर्ने छौँ । प्रथम, हिटलरको नाजीवाद । हिटलरले जातिवादको, यहुदीको विरोध र जर्मन जातिको श्रेष्ठताका जातीय व्याख्याका आधारमा व्यापक जनमत जुटाएका थिए र चुनावमा सफलता पनि प्राप्त गरे । जर्मनका इतिहासकारहरूले यो मत प्रकट गरेका छन् कि महिलाहरूका व्यापक समर्थन र भारी मतका कारणले नै हिटलरले विजय प्राप्त गरेका थिए । जर्मनका महिलाहरूको अत्यधिक मतले हिटलरलाई विजय बनायो तर पछि हिटलरले चलाएको आतङ्क र अत्याचारका कारणले ठूलो सङ्ख्यामा उनीहरूका पति, पिता, छोरा आदि वा स्वयम् महिलाहरूलाई पनि हिटलरद्वारा यातना दिने वा हत्या गर्ने काम गरिएको हुनाले जर्मनी मात्र हैन, संसारभरि नै महिलाहरूमा ठूलो रूवाबासी भएको थियो । द्वितीय, भारतमा हिन्दु धर्मको समर्थन र मुसलमानको विरोधका भावनाहरूलाई उभारेर भारतीय जनता पार्टीले चुनावमा बारम्बार सफलता प्राप्त गर्दै आएको छ ।
९. यस सन्दर्भमा नेपालमा केही उदारहरणहरूको चर्चा गर्नु पनि अप्रासाङ्गिक हुने छैन । राजा महेन्द्रले वीपी सरकारका विरुद्ध पैदा भएका जनमत र भ्रष्टाचार समेतका विरुद्धका जनभावनाहरूलाई उभारेर पञ्चायती व्यवस्था कायम गरेका थिए र त्यो व्यवस्था तीस वर्षसम्म रहेको थियो । तर त्यो पञ्चायती कालमा जनतामाथि कति भ्रष्टाचार, तस्करी र महिलाहरूमाथि बलात्कार समेत भए । त्यो कुराको इतिहास साक्षी छ । त्यही प्रकारको परम्परालाई अगाडि बढाउँदै अहिले पनि राजावादी, “स्वतन्त्र पार्टी” वा कतिपय स्वतन्त्र व्यक्तिहरूले पुराना पार्टी, भ्रष्टाचार आदिको कुरा उठाउँदै आफ्नो पक्षमा जनमत तयार पार्ने प्रयत्न गर्दै आएका छन् । जनताले पनि लोकप्रियतावादी विचारहरूका कारणले संसारमा भएका कैयौं गम्भीर परिणामहरूमाथि विचार नगरिकन अन्धाधुन्द प्रकारले राजावादी वा साम्राज्यवादपरस्त तत्वहरूका पछाडि लाग्ने काम गरिरहेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारको लोकप्रियतावादी लहरका गम्भीर दुष्परिणाम हुने छन् । त्यसकारण नेपाली जनताले लोकप्रियतावाद जस्तो गलत जनमतका आधारमा शक्तिशाली बन्न खोजिरहेका राजावादी र अमेरिकी साम्राज्यवादपरस्त तŒवहरू र अमेरिकी साम्राज्यवाद समेतका विरुद्ध उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने र उनीहरूबाट सम्भावित खतराका विरुद्धको सङ्घर्षमा जोड दिनुपर्ने आवश्यकता छ । त्यसरी नै देशमा गणतन्त्र, धर्मनिरपेक्षता तथा राष्ट्रियता र सार्वभौमिकता समेतको रक्षा सम्भव हुनेछ । हामीले त्यो गर्नुपर्दछ र गर्नु सम्भव पनि छ र अहिले सम्पूर्ण देश र जनताका लागि त्यो निर्णयात्मक आवश्वयकता नै भएको छ ।
१०. आज नेपालमा अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्ष कति धेरै महत्वपूर्ण र आवश्यक बनेको छ ? त्यो कुरा माथिको सङ्क्षिप्त विवरणबाट प्रष्ट हुन्छ । त्यसका साथै राष्ट्रिय महत्वका अन्य कतिपय पक्षहरूप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता देखिन्छ । हामीले माथि नानीमैया लहर, लोकप्रियतावाद वा अमेरिकी प्रभावका कारणले स्वतन्त्र पार्टीको प्रभाव बढ्दै गएको कुराको उल्लेख ग¥यौँ । तर त्यसका साथै यो पक्षलाई पनि हामीले हल्का रूपमा लिन हुने छैन कि देशका प्रमुख राजनीतिक दल वा सत्तारूढ सङ्गठनहरूले अपनाउँदै आएका गलत नीति वा कार्यप्रणालीका कारणले पनि प्रतिगामी वा अमेरिकनपरस्त तŒवहरूलाई बल प्राप्त भएको छ । त्यसकारण हामीले देशका प्रमुख वा सत्तारूढ राजनीतिक पार्टी वा सङ्गठनहरूका गलत नीति वा कार्यप्रणालीको पनि आलोचना वा विरोध गर्नुपर्दछ र अग्रगामी परिवर्तनको पक्षमा जनचेतना उठाउँदै र आधार तयार पार्दै लैजानुपर्दछ । तर त्यस सन्दर्भमा हामीले जनतालाई यो चेतना पनि दिँदै जानुपर्दछ कि कुनै गलत कुरा, प्रणाली वा व्यवस्थाको विरोधको अर्थ त्यो भन्दा गलत कुरा, प्रणाली वा व्यवस्थातर्फ जानु वा, अर्का शब्दमा, अरू प्रतिगामी दिशामा जानु समस्याको समाधान होइन । त्यसबाट देश र जनताको कल्याण हुने होइन, तर देशमा अरू गम्भीर र भयानक स्थिति उत्पन्न हुने छ र त्यसबाट मुक्ति पाउनको लागि पुनः लामो र कठिन सङ्घर्षको बाटो समात्नुपर्ने छ, जस्तो कि नेकाको सरकारका गलत नीति, कार्यप्रणालीबाट मुक्ति पाउन जनताले राजाको निरङ्कुश शासनबाट आशा गरे, तर परिणाम उल्टो भयो । जनताले त्यसका विरुद्ध लामो र कठिन सङ्घर्ष गर्नु परेको थियो । आजको अवस्था त्यो भन्दा गम्भीर छ । आज पुराना स्थापित राजनीतिक सङ्गठन वा उनीहरूका गलत नीति वा व्यवहारबाट मुक्ति पाउने नाममा देशमा पुनः राजतन्त्र आउँछ वा देश अमेरिकी साम्राज्यवादको प्रभुत्वमा जान्छ भने त्यो अवश्य नै देश र जनताको हितमा हुने छैन । ने.क.पा.(मसाल)ले त्यो खतराप्रति सम्पूर्ण देश र जनताको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।
११. अमेरिकी साम्राज्यवादको खतरा नेपालको मात्र समस्या नभएर त्यो विश्वव्यापी समस्या हो । साम्राज्यवादमा फासीवादी प्रवृत्ति पनि बढ्दै गइरहेको छ । त्यसको परिणामस्वरूप साम्राज्यवादद्वारा विभिन्न देशहरूको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर खतरा पुग्नुको साथै विभिन्न देशहरूमा लोकतान्त्रिक प्रणाली समाप्त हुने र त्यहाँ फासिस्ट शासन कायम हुने खतरा पनि बढ्दै गइरहेको छ । त्यो क्रममा नेपालमा अमेरिकी साम्राज्यवाद र प्रतिगमनका विचमा साँठगाँठ बढेर जाने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसैले आज विश्वस्तरमा नै साम्राज्यवाद र फासिवादका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा नै संयुक्त मोर्चा बनाउनु अत्यन्त आवश्यक भएको छ र, हामीले आशा गर्नु पर्दछ, साम्राज्यवाद, फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको छिट्टै निर्माण हुने छ । त्यसबाट अन्तर्राष्ट्रिय स्तरमा र नेपालमा पनि साम्राज्यवाद र फासिवादका विरुद्धको संघर्षमा मदत पुग्ने छ भन्ने हामीले विश्वास गरेका छौँ ।
१२. पहिलेको तुलनामा अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षको आवश्यकता धेरै नै बढेर गएको छ । तर त्यसका लागि हाम्रो पार्टीले अमेरिकी साम्राज्यवादका विरुद्ध मेची महाकाली अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । तर अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान सुरू गर्ने बेलामा हाम्रो पार्टीले पहिलेदेखि दिँदै आएको “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” नाराका आधारमा आन्दोलनलाई पनि साथसाथै अगाडि बढाउने हाम्रो नीति हुनेछ । नेपालको सन्दर्भमा त्यो नै हाम्रो प्रधान नीति हुने छ ।
१३. नेपालको सन्दर्भमा अमेरिकाको मुख्य उद्देश्य इण्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई आफ्नो सुरक्षा नीतिअन्तर्गत लैजाने नै हुन्छ । नेपालमा आफ्नो नियन्त्रण कायम हुनुको साथै अमेरिकाले नेपालका नीति वा कानुनहरूलाई आफ्नो साम्राज्यवादी स्वार्थअनुरूप ढाल्दै जाने छ । एमसीसीद्वारा अमेरिकाले त्यसका लागि नीतिगत रूपमा मार्ग प्रशस्त गरिसकेको छ । नेपालमा आफ्नो प्रत्यक्ष निर्देशनमा चल्ने राजनीतिक पार्टीको गठन गरेर त्यो द्वारा नेपाल सरकारमाथि आफ्नो प्रभुत्व कायम भएपछि नेपालको स्वतन्त्र अस्तित्व र भूमिका पूरै समाप्त हुने छ । अहिले नेपालका अमेरिकनपरस्त तत्वहरूले अमेरिकाको त्यही उद्देश्य पूरा गर्नको लागि पूरा शक्ति लगाइरहेका छन् । नेपाली जनताको उच्च प्रकारको राजनीतिक चेतना र आन्दोलनद्वारा नै त्यो अमेरिकी षडयन्त्रलाई असफल पार्न सकिने छ र सक्नु पनि पर्दछ । त्यो उद्देश्य पूरा गर्न अमेरिकी साम्राज्यवादका विरुद्ध अगाडि आउने सबै वामपन्थी वा लोकतान्त्रिक शक्तिहरूसित बढी भन्दा बढी कार्यगत एकता वा सहकार्य गर्ने हाम्रो प्रयत्न हुने छ ।
१३. हाम्रो पार्टीको आठौँ महाधिवेशनले सामन्तवाद र भारतीय साम्राज्यवादसितको अन्तर्विरोधलाई नै आजको मुख्य अन्तर्विरोध मानेको छ र हाम्रो त्यो विश्लेषण अहिले पनि सही छ । हामीले अहिले अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा जोड दिने बेलामा आठौँ महाधिवेशनको प्रधान अन्तर्विरोध सम्बन्धी विश्लेषणलाई परिवर्तन वा संशोधन गर्नु अवश्य पनि हुने छ्ैन । त्यसका साथै जनताले दैनिक जीवनमा भोग्नु परिरहेका महङ्गी, भ्रष्टाचार, आर्थिक सङ्कट आदि समस्याबारे पनि आवाज उठाउँदै र संघर्ष गर्दै जानुपर्ने छ । तर ती कारणले अमेरिकी साम्राज्यवादका विरुद्धको संघर्षलाई पन्छाउने जस्तो कुनै विचारलाई हामीले सही मान्दैनौँ ।
१४. अमेरिकाले नेपालका युवकहरूलाई विभिन्न माध्ययमद्वारा आफ्नो प्रभावमा लैजानको लागि योजनावद्ध र सङ्गठित प्रकारले प्रयत्न गरेको पाइन्छ । त्यसले त्यसरी नेपालका सम्पूर्ण युवकहरूलाई भ्रष्ट पार्न खोजेको देखिन्छ । त्यो नेपालको लागि गम्भीर खतराको कुरा हो र त्यसप्रति सचेत हुन हामीलाई नेपालका सम्पूर्ण युवकहरूको ध्यान आकर्षित गर्न चाहन्छौँ ।