संघीयताको ‘सिस्टम’मा पसेरै यसलाई खारेज गर्छौं : राजमो नेता खत्री

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले भारतको दबाबमा नेपाली कांग्रेस र एमालेले संघीयता स्वीकार गरेको आरोप लगाउनु भएको छ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खत्रीले देशको अवस्था नबुझी अर्कैको इसारामा संघीयता लागू गरिनु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो।

उहाँले कुनै पनि विषयका राम्रा र नराम्रा दुवै पक्ष हुने भन्दै २०७२ सालको संविधानका कतिपय पक्ष राम्रा भएपनि संघीयता यसको दुर्वल पक्ष रहेको बताउनु भयो।

उहाँले राष्ट्रिय जनमोर्चाले विरोध गरेको संघीयताको गुण र अवगुणबारे बहस हुनुपर्ने बताउनुभयो ।

पत्रकारहरुले संघीयताको संरचनामै बसेर संघीयताकै विरोध गर्नु कत्तिको उचित हो ? भनी सोधेको प्रश्नको जवाफ दिँदै खत्रीले सिस्टममा नबसी सिस्टम सुधार गर्न नसकिने बताउनु भयो । उहाँले संघीयताको संरचना भित्रै बसि यसलाई खारेज गर्ने आफ्नो पार्टीको उदेश्य रहेको स्पष्ट पार्नुभयो ।

संघीयताप्रति बिमती हुँदाहुँदै पनि यो संरचनाको चुनावमा सहभागी भइ संघीयताको बारेमा जनतालाई सुसूचित गरिरहेको उहाँले जिकिर गर्नुभएको छ ।

फरक प्रसंगमा नेता खत्रीले नेपालमा भारतको हस्तक्षेप रहँदै आएकोमा अब अमेरिका पनि प्रत्यक्ष रुपमा नेपालभित्र पसेको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा देशको राष्ट्रियताको रक्षासँगै लोकतन्त्र र गणतान्त्रिक व्यवस्था जोगाउनुपर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय महासचिव सकुन्तला राना, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय उपाध्यक्ष गोबिन्द विसी, राजमो प्रदेश सदस्य शेरबहादुर विसी, प्रदेश सदस्य तथा जिल्ला अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसी, सचिव बाबुराम पन्थी सुनार, उपाध्यक्ष गोपाल पौडेल, राजमो नेताहरु यमलाल पोख्रेल, कल्पना पोख्रेल, मिना विसी, जीवन नेपाली, भिमलाल आचार्यलगायत नेताहरुको उपस्थिती रहेको थियो ।

यस्तै, नेपाल पत्रकार महासंघका अर्घाखाँची जिल्ला अध्यक्ष अशोक खनाल लगायत पत्रकारहरुको उपास्थिति रहेको थियो ।
अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सचिव बाबुराम पन्थी सुनारले सञ्चालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार