कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन तौलिहवामा शुरु भएको छ । राजमो केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले उद्घाटन गर्नुभएको सम्मेलनमा विभिन्न राजनीतिक दल तथा जनवर्गीय संगठनका नेताहरुले शुभकामना दिनुभएको थियो ।
उद्घाटन मन्तव्य राख्दै नेता आलमले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा संघीयता र एमसीसी खारेजीको मागमा पार्टी दृढ रहेको स्पष्ट पार्नुभयो ।
मुलुक प्रतिगामीको हातमा जान नदिन हालको बुर्जुवा गणतन्त्रको संरक्षण गर्नु परेको उहाँको भनाई थियो ।
कम्युनिष्ट एक नभै क्रान्ति सफल हुन नसक्ने भए पनि विचार र दृष्टिकोण पनि प्रष्ट हुनुपर्ने आलमले बताउनुभयो । सर्वहारा दृष्टिकोण र पुँजीवादी दृष्टिकोणको लडाईंका कारण ठूला देशमा कम्युनिष्ट आन्दोलन कमजोर बनेको उहाँले सुनाउनुभयो । त्यसैले अहिले अन्तर्राष्ट्रिय जगतमै कम्युनिष्ट रक्षात्मक अवस्थामा रहेको उनको स्पष्टोक्ति थियो ।
यस्तै, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष एवम् राष्ट्रिय भूमी आयोगका जिल्ला अध्यक्ष शिव पौडेलले प्रतिगमन रोक्न मत मतान्तर त्यागेर कांग्रेस सहितको गठबन्धनलाई सहयोग गर्दै आएको बताउनुभयो ।
सम्मेलनलाई शुभकामना दिँदै माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु बेल्बासेले कम्युनिष्ट पार्टी रुपान्तरित हुनु पर्ने र भ्रष्टाचार विरुद्ध सशक्त कदम चाल्न आवश्यक रहेको बताउनुभयो ।
यस्तै, जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले परिर्वतनकारी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय प्रतिनिधी गीता अन्जानले दुई तिहाई बढी जनता कम्युनिष्ट विचारका भएपनि कम्युनिष्ट शक्तिले सदुपयोग गर्न नसकेको बताउनुभयो ।
नेकपाका जिल्ला सदस्य निर्माण सिले देशलाई जर्जरतामा जान नदिन एमसीसी खारेज गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अखिल नेपाल शिक्षक संघका सदस्य पिताम्बर खनालले २०२८ सालको शिक्षा नीतिले उत्पादित जनशक्ति बेरोजगार बनेको बताउनुभयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला अध्यक्ष केयर सिंह अदैले परिर्वतन र लोकतान्त्रिक आन्दोलनका शक्तिसँग सहकार्य गरि प्रतिगमनलाई परास्त गर्न भूमिका खेल्नुपरेको बताउनुभयो ।
यस्तै, अखिल (छैठौं) का केन्द्रीय सदस्य रिषव आचार्यले विद्यार्थी संगठनले हरेक गलत कुराको मात्रै होईन आफनै पार्टीका गलत गतिबिधीको समेत विरोध गर्न सक्नुपर्ने बताउनुभयो ।
जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रीय सदस्य शसि सापकोटा र राजमो जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासेलेले पनि सम्बोधन गर्नुभएको थियो ।
दुई सय जना प्रतिनिधि रहेको दुई दिने जिल्ला सम्मेलनको बन्द सत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।