हत्याराहरुको ह्याप्पी डे (कविता)

हेम बिजी 
सम्मानित महोदय ज्यू
मैले
असोज तिन
संविधान दिवस भनौ कि
हत्याराहरुको ह्याप्पी डे
मलाई
जवाफ चाहियो सम्मानित ज्यू
किनकि
मेरा छोरा छोरीहरु सोधिरहेका छन्
बाबा
असोज तिन
संविधान दिवस हो कि
हत्याराहरुको ह्याप्पी डे ।
असोज तिन
सम्मानित महोदय ज्यूकै आदेशमा
जब
मुखमा मुस्कान छोड्दै
फुलमाला, खादा र अविर जात्रामा
जेलबाट निस्किदै थिए ज्यानमाराहरु
तब
टेलिभिजनका पर्दाहरुमा
युट्यूबका च्यानलहरुमा
र फेसबुकका भित्ताहरुमा देखेर
सोधिरहेका छन्
मेरा छोरा छोरीहरू
बाबा
कुन विश्व कृतिमान जितेर
फूलमाला र अविरमा सजिएका छन्
ति अंकलहरु।
सम्मानित महोदय ज्यू
खुकुरीमा लतपतिएको आलो रगत
सुक्न नपाउदै
टुहुरा बालबच्चाहरुको चित्कार
रोकिन नपाउदै
आमा बाबा
र विधुवा श्रीमतीको आँशु
थामिन नपाउदै
अनि
आधाको आधा पनि
सजय भोग्न नपाउदै
किन छुटे हत्याराहरु जेलबाट
किन भयो सजय आम माफी
मलाई
जवाफ चाहियो सम्मानित ज्यू
मेरा
छोरा छोरीहरु सोधिरहेका छन्
बाबा
असोज तिन
संविधान दिवस हो कि
हत्याराहरुको ह्याप्पी डे ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार