काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई जरैबाट फाल्नुपर्ने बताउनुभएको छ।
शुक्रबार (१४ जेठमा) राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्लाले रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयताका कारण देश अधोगतितिर लागेको बताउनुभयो ।
‘विदेशबाट ऋण खोजेर प्रदेश संरचना पाल्नुपरेको छ’ केसीले भन्नुभयो, ‘जनतामाथि करको बोझ थुपारेर नेता पाल्ने काम बाहेक संघीयतको केही उपलब्धि छैन ।’
पहिला राजनीतिको दुर्गती एकठाउँ (संघ) मा मात्रै हुने गरेकोमा अहिले फैलिएर आठ ठाउँमा पुगेको उहाँको भनाई थियो।
केसीले १८ महिनाको अवधिमा २४ वटा मुख्यमन्त्री र सयौँजनालाई मन्त्री बनाउनुबाहेक प्रदेशले जनतालाई के दिएको छ भनी प्रश्न गर्नुभयो ।
उहाँले स्थानीय तहलाई थप अधिकार दिएर बलियो बनाउनुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष केसीले देशमा भ्रष्टाचार डरलाग्दो गरी झांगिएको बताउनुभयो ।
राजनीति गर्ने भनेकै कमाउनका लागि हो भन्ने सोचले गर्दा भ्रष्टचारले सबैतिर गाँजेको उल्लेख गर्नुभयो ।
उहाँले नेपाल शक्तिराष्ट्रहरूको चलखेल गर्ने स्थान बनेको भन्दै शासकहरूले आफ्नो कुर्ची जोगाउन राष्ट्रियतामाथि सौदाबाजी गरिरहेको आरोप पनि लगाउनुभयो ।
फरक प्रशंगमा अध्यक्ष केसीले सहकारीबाट पीडित जनतालाई सरकारले न्याय दिनुको सट्टा उल्टो ठगहरूको संरक्षण गरेको बताउनुभयो ।
यसअघि केसीले रत्नपार्कमा अनसनरत सहकारी पीडितहरूलाई भेटेर उनीहरूका मागप्रति ऐक्यवद्धता जनाउनुभएको थियो ।
त्यस क्रममा उहाँले देशभरका पीडितहरू एकजुट हुन र आन्दोलन अघि बढाउन आग्रह गर्नुभयो ।
‘तपाइँहरुले अनुरोध गरेर आफ्नो पैसा फिर्ता पाउनुहुनेछैन’ केसीले भन्नुभयो, ‘देशभरका पीडितहरु एकजुट हुनुहोस् र आन्दोलन गर्नुहोस् । अनिमात्रै सरकारले सुन्छ । आन्दोलनको विकल्प छैन ।’
अध्यक्ष केसीलाई सहकारी सम्बन्धी मुद्दा संसदमा उठाइदिएकोमा पीडितहरूले धन्यवाद दिएका थिए ।
विरोध सभामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले अब संघीयतालाई देशले थप समय झेल्न नसक्ने बताउनुभयो ।
संघीयता ल्याउनेहरू नै यसलाई थेग्न नसकिने निष्कर्षमा पुगिसकेको उहाँको धारणा थियो । फरक प्रसंगमा उहाँले देशमा प्रतिगमनको खतरा बढेको उल्लेख गर्दै संघीयताको विरोध गर्दा लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफ्नो पार्टीले जोड दिएको बताउनुभयो ।
सभामा अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले पनि मन्तव्य राख्नुभएको थियो ।
नेकपा (मसाल) काठमाडौँ जिल्ला प्रवक्ता जगतप्रसाद रेग्मीले सभाको सञ्चालन गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाले शुक्रबार देशका विभिन्न स्थानमा संघीयता र भ्रष्टाचारविरुद्ध प्रदर्शन तथा सभा गरेको छ ।