पार्टीमा फुट बागलुङका जनताले चाहेका छैनन्

  • राजेन्द्र ढुंगाना, केन्द्रीय सदस्य, राष्ट्रिय जनमोर्चा, प्रमुख, जिल्ला समन्वय समिति, बागलुङ …
  • ० राष्ट्रिय जनमोर्चाको तर्फबाट जिल्ला समन्वय समिति बागलुङको प्रमुख हुनुहुन्छ । के कस्ता काम गर्ने गर्छ जिल्ला समन्वय समितिले ? सङ्क्षेपमा बताइदिनुस् न ।

    – नेपालको संविधानको धारा २२० ले दिएको जिम्मेवारी तथा स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐनले व्यवस्था गरे बमोजिम तीन तहको सरकारको समन्वय, सहकार्य र सहकारिताको सिद्धान्तअनुरूप कार्य गर्दैै आएका छौँ । विगतको जिल्ला विकास समितिको भूमिका पूरै स्थानीय तहमा हस्तान्तरण भइसकेको सन्दर्भमा हामीले स्थानीय तह, प्रदेश र सङ्घ तीनै तहका योजना अनुगमन गर्ने, पारदर्शिता, गुणस्तरीयता हेर्नुका साथै विकास तथा अन्य जनताका सेवा प्रवाहको काममा सन्तुलन मिले÷नमिलेको हेर्ने र सुझाव दिने, सङ्घ र स्थानीय तह, प्रदेश र स्थानीय तह तथा एक स्थानीय तह र अर्काे तहबिचका समस्या समाधान गर्ने कार्य गर्दै आएका छौँ ।
    मूलतः हामी जिल्लास्थित कार्यलाय, जुन सङ्घ र प्रदेश तथा गैरसरकारी सङ्घसंस्थाका कार्यक्रमलाई व्यवस्थापन गर्ने, वार्षिक रूपमा समीक्षा गर्ने र सम्बन्धित मन्त्रालय वा निकायमा त्यससम्बन्धी प्रतिवेदन पेस गर्ने, जिल्लाभरि आवश्यक विकासका आम आयोजनाहरू विधिप्रकृयासम्मत छ वा छैन ? हेर्ने, प्राकृतिक श्रोतसाधन व्यवस्थापन गर्ने कामलगायत जनसरोकारका विषयहरूको समन्वय गर्ने गर्छाै । जनताका आकाङ्क्षा, समस्याहरू सूचीकृत गर्ने, सम्बन्धित निकायमा माग गर्ने, ध्यानाकर्षण गर्ने हाम्रो काम हुन्छ । मन्त्रालय र कतिपय निकायका तोकिएका काम; जस्तै– स्थानीय तहको प्रारम्भमा जनप्रतिनिधि एवम् कर्मचारीका लागि क्षमता अभिवृद्धिको काम हामीले गरेका थियौँ ।

    ० तपाईंको नेतृत्वमा गत चार वर्षभित्र जिल्ला समन्वय समिति बागलुङका उपलब्धिमूलक गतिविधिलाई सङ्क्षिप्तमा बताइदिनुस् न ।

    – हामीले पहिलो वर्ष सबै तहमा क्षमता अभिवृद्धि तालिम सञ्चालन ग¥यौँ, जनप्रतिनिधि एवम् कर्मचारीका लागि । भूकम्पले क्षत्विक्षत् पारेका संरचना एवम् लाभग्राहीहरूको सूची तयार गरी करिब अहिले सम्म ६,४७० निजी आवास, चारकोठे पक्की, तीनकोठे पक्की र दुईकोठे ट्रस्टसहित ७०० विद्यालय सामुदायिक भवन, २५० शौचालय, १०० खानेपानी योजना, १ सडक, २ पक्की मोटरेबल पुल, एक गुम्बा, एक एकीकृत बस्ती पुनर्निमाण ग¥यौँ । त्यो अन्तिम चरणमा पुगेको छ । जनता आवास कार्यक्रमअन्तर्गतका काम, फुसको छानो विस्थापित गरी सबै खरका घरमा टिनको छानो लगाउने काम, बाढीपहिरो एवम् बिपत् व्यवस्थापनका काम एवम् पुनर्निर्माण सिप विकास तािलम व्यवस्थापन गरी आत्मनिर्भर बनाउने कार्यक्रम, कृषि क्षेत्रमा व्यापक लहर सृजना गरी बाख्रा जोन, आलु जोन, सुन्तला जोन, पकेट र ब्लकहरू निर्माण गर्ने, अनुदान एवम् व्यस्थापन गर्ने, कोभिड–१९ को व्यवस्थापन, नियन्त्रण, राहत वितरणलगायत स्वास्थ्यसम्बन्धी खोप, औषधी उपकरणको व्यवस्थापन, पूर्वाधारका जिल्लाभित्रका राष्ट्रिय र प्र्रदेशको गौरव आयोजना सूचीकरण र प्राथमिकीकरण गरेर माग गर्ने र तिनीहरूको सञ्चालनमा देखिएका कमी–कमजोरीप्रति लगातार खबरदारी गर्ने, कतिपय गैरकानुनी वा मापडण्ड नपुुगेका कृयाकलाप सञ्चालन आयोजना तथा नदी दोहन गर्ने कार्यमा नियन्त्रण, डण्ड–जरिवाना वा कानुनी दायरामा लिने काम गर्ने गरेका छौँ तर हामी धेरै गर्न सक्ने हैसियत हँुदा पनि प्रदेश सरकारले आवश्यक कानुन नबनाइदिँदा अप्ठेरो भएको छ ।

    ० जिल्ला समन्वय समितिमा निर्वाचित हुँदा आफूले चाहेअनुसार काम गर्न पाइनँ भन्ने अनुभूति त भइरहेको छैन ?

    – बिलकुल भएको छ । हामी धेरै गर्न सक्ने थियौँ । जिल्ला समन्वय समिति आफैमा विकासको नेतृत्व गर्ने संस्था नहुँदै गर्दा पनि संविधानले व्यवस्था गरे अनुरूप पनि कानुन निर्माण गरेर भूमिका दिने हो भने धेरै गर्न सकिन्छ । बागलुङ जिल्लाका ८५ ओटा वडा र त्यहाँका जनताको आवश्यकता, भूगोल सबै हामीलाई जानकारी छ तर सत्ता नेतृत्वको पहुँच र बजेटको ताल्चा ऊसँग हुने हुँदा जनता र ग्राउन्ड भुल्ने, जनतालाई गरेका वचनबद्धता पूरा नगर्ने, विकासमा सन्तुलित विकास नीति र विधि नभएकाले कठिनाई निकै भोग्नुप¥यो । प्रदेश सरकारको खल्तीबाट योजना छनौट गर्ने विधिले अस्तव्यस्त भएको छ ।

    स्थानीय तहले एउटा योजना पूरा गर्न सात चरण पार गर्नुपर्छ तर प्रदेशको कुनै नीति छैन, जसले गर्दा भ्रष्टाचार मौलाएको छ । हामीले त्यसलाई खबरदारी गरेका त छौँ तर संस्थागत भ्र्रष्टाचार रोग्न जनताबाट दबाब आवश्यक छ । प्रदेश तहको सरकार असफल भएका छन् । सङ्घीयता खारेज गर्नुपर्छ भन्ने जनमत तयारै हुँदै गएको छ ।

    ० गत मङ्सिर १५ देखि २९ गतेसम्म बागलुङमा जिल्लाव्यापी विशेष सङ्गठनात्मक अभियान चलाउनुभयो । त्यसका प्रगतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

    – हामीले भदौ महिनामा जिल्ला भेला प्रशिक्षण गरेर करिब फागुनसम्मको आवधिक योजना बनाएका थियौँ । विशेष गरी पहिलो चरणमा नगर÷गाउँपालिकास्तरीय प्रशिक्षण गत असोज–कार्तिकमा सम्पन्न गरिसकेका छौँ । मङ्सिर महिनामा वडास्तरका करिब सात टोली बनाएर वडास्तरका प्रशिक्षण सम्पन्न ग¥यौँ । त्यसलाई हामीले विशेष सङ्गठनात्मक अभियान भनेका छौँ । अब पुसमा टोल टोलमा पुग्छौँ र पार्टीको आर्थिक अभियान सञ्चालन गर्छौं । फागुनमा राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सम्मेलन गछौँ । सँगसँगै व्यापक सदस्यता अभियानसमेत सञ्चालन गर्छौं ।

    बागलुङ जिल्लामा यो अभियानको विशेष महत्त्व छ । सबैजसो पार्टीहरूले आफ्ना महाधिवेशन गर्ने सन्दर्भमा वडा, नगर÷गाउँस्तरमा कार्यक्रम गरे । त्यस क्रममा कैयौँले भ्रमहरू पनि सिर्जना गरेका थिए । तिनीहरूलाई स्पष्ट पार्ने, हाम्रो पार्टीको राजनीति, आगामी भूमिका स्पष्ट पार्ने काम भयो । त्यसले गर्दा जनता र कार्यकर्तामा एउटा फरक खालको उत्साह, उमङ्ग पलाएको छ । राजमोका यी कार्यक्रम र आगामी कार्यक्रमले स्थानीय निर्वाचन तयारीको वातावरणसमेत तयार भएको मान्न सकिन्छ ।

    ० अब बागलुङमा राष्ट्रिय जनमोर्चाका के कस्ता आगामी कार्यक्रम निश्चित गर्नुभएको छ ?

    – मैले अगाडि नै बताइसकेँ कि आगामी फागुन महिनासम्म कुनै दिन खाली नराखी प्याकेजमा कार्यक्रम तय भएका छन् । बागलुङ जिल्ला सम्मेलनको समयमा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको व्यापक सदस्यता अभियान चलाउँछौँ, माघ र फागुनको बिचमा । पार्टीका नजिकका मोर्चाहरूका पनि कार्यक्रम तय भएका छन् ।

    ० बागलुङमा नेकपा (मसाल) बाट निष्काशित भएका वा आफै अलग भएर गएका समूहहरूको प्रभाव कस्तो छ ? उनीहरूको गतिविधिलाई कसरी लिनुभएको छ ?

    – त्यस्तो प्रभाव केही पनि देखिएको छैन । साथीहरूमा पार्टीलाई कसरी क्रान्तिकारी, अझ सशक्त, जुझारु, मिलिट्यान्ट बनाउने भन्ने चिन्ता छ ? आफ्नो विगतको विरासतलाई कसरी जोगाउने र अझ सशक्त बनाउन कसरी सकिन्छ भन्ने चिन्ता छ ।

    पार्टीमा समानान्तर गतिविधि गरेर पार्टीएकता जोगाउन सकिँदैन । पार्टीको स्वीकृत विधि, नियम र विधानभित्र रहेर मतभिन्नतालाई हल गर्दै जानुपर्दछ । एउटा महाधिवेशनदेखि अर्को महाविधेशनसम्म अन्तरपार्टी सङ्घर्ष सञ्चालनमा रहिरहेको इतिहास सबैलाई थाहै छ । धैर्यतापूर्वक महाविधेशनले निर्दिष्ट गरेका कार्यक्रमको परिधिभित्र रहेर आफ्ना मत वा भिन्नमत सञ्चालन गर्ने तर स्वीकृत नीति कार्यान्वयन गर्नु नै सबै क्रान्तिकारीहरूको दायित्व हो तर त्यसो नगरेर केही साथीहरू, जो समानान्तर संरचनातर्फ जाँदै हुनुहुन्छ, इतिहासले अस्वीकृत गरेको, तितो तिरष्कारको पुनरावृत्ति हुने देखिन्छ । जो जसले विगतको इतिहास नहोराउने र आइसब्रेक गर्ने भन्नुभएको थियो, अब त्यो पानीको फोका जस्तै बन्न थालेका छन् । म के स्पष्ट रूपमा भन्न चाहन्छु भने मतभेदबिनाको पार्टी सङ्गठन नै हुन सक्दैन । नयाँ नयाँ घटना, राजनीतिक परिवर्तनसँगै नयाँ अन्तरविरोध आउने र हल हुँदै जानु स्वाभाविक प्रक्रिया हो । कहिँ कसैले राखेका विचार व मत सही सावित हुन पनि समय लाग्छ । त्यो घटनाविशेषले पुष्टि गर्दै जान्छ । त्यतिञ्जेलसम्म धैर्य गर्न सक्नुपर्छ ।

    अहिले कतिपय साथीहरूलाई त्यस्तै वामपन्थी अधैर्यतावादको हुट्हुटीले गालेको छ । आवेश, उत्तेजनाले धैर्यता गुमाउन थालेका साथीहरूले यसभन्दा अघि भएका घटनालाई पनि स्मरण गर्नुपर्छ । त्यसैले समानान्तर गतिविधि गर्ने तहमा पुग्नुभएका साथीहरू स्पष्ट रूपमा तीनओटा विचारमा विभक्त भएको पाइन्छ ः एक– समानान्तर कमिटी बनाएर अगाडि बढ्ने, दुई– पार्टीभित्र नै मतभेद सञ्चालन गर्ने र पार्टीएकता कायम राख्ने र तीन– अब सबै प्रक्रिया छोडेर अर्को कुनै पार्टीमा सामेल हुने । त्यसैले यसरी तेस्रो मतका पक्षहरू क्रमशः पलायन हुने सिलसिला सुरु भएको देखिन्छ । बागलुङ जिल्लाको सन्दर्भमा पार्टीमा फुट कसैले पनि नचाहेको विषय हो । फुटको दिशामा जानु हुँदैन । इतिहासमा फुटको औचित्यता पुष्टि हुने कुनै आधार छैन भन्ने साथीहरू हामीकहाँ हुनुहुन्छ ।

    हामी व्यापक जनतासँग जोडिएर स्थानीय सङ्घर्षको तथा वर्गसङ्घर्षको माध्यमबाट स्थापित सङ्गठन भएको हुनाले जनताको साथसहयोग, सद्भावसँगै उनीहरूसँगको अन्तरविरोध सँगसँगै अगाडि बढ्नुपर्ने हुन्छ । त्यसैले जनताको भावना र राष्ट्रको आत्मगत आवश्यकताको सन्तुलनबाट जिल्लाको क्रान्तिकारी आन्दोलन अगाडि बढाउनु छ । त्यसैले हल्का, उपरी, उट्पट्याङ तत्त्वहरूको लहैलहैमा कोही पनि बहकिँदैनन् ।

    ० गण्डकी प्रदेश प्रकरणमा राजमोका पूर्वसांसद कृष्ण थापाले बागलुङवासी जनताको भावना बोक्नुभयो भनेर चर्चा हुन्थ्यो । पछि उहाँलाई राजमोले कारबाहीसमेत गरिसकेको छ । कृष्ण थापाको गतिविधिपछि बागलुङका राजमो समर्थकको मनोभावना कस्तो रहेको पाउनुभएको छ ?

    – जनप्रतिनिधिविहीन हुँदा, कतिपय जनता र भोटरहरूलाई त्यस्तो लाग्न पनि सक्छ तर एउटा विधि र प्रक्रिया बुझ्ने कार्यकर्ताका लागि त्यस्तो हुन सक्दैन बरु विरोधी पार्टीहरूले यस खालका अफवाह, भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने काम गरेको पाइन्छ । त्यसलाई हाम्रो पार्टी सदस्य र कार्यकर्ताले बुझ्नुभएको छ । विरोधीहरूले फैलाएको भ्रम साफ हुँदै गएको छ । कृष्ण थापाले पार्टी छोड्ने र क्रमशः पार्टी कमजोर भएको देख्न चाहनेहरूको निद्राहराम भएको छ । त्यसैले उनीहरू अहिले बर्बराउन थालेका छन् ।

    ० एकथरीले सामाजिक सञ्जालमा बागलुङमा नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चामाझ आगामी चुनावी गठबन्धनबारे मोटामोटी समझदारी भइसक्यो भनिरहेका छन् । के यो सत्य हो ? त्यससम्बन्धी तपाईंहरूको तयारी कस्तो छ ?

    – कागले कान लग्यो भनेर कागको पछाडि डौडिनुहुन्न । कसले के भन्यो ? त्यो कुरा मुख्य विषय होइन । हामी के गर्छौं ? त्यो हाम्रो व्यवहारले बताउने कुरा हो । हामी अहिले विशेष सङ्गठनात्मक अभियानमा छौँ । चुनावको विषयलाई लिएर कोही कसैसँग भेटघाट, छलफलको त कुरै छोडौँ, चुनावको सहकार्यबारे कल्पनासम्म भएको पनि छैन । परिस्थिति के बन्छ ? राष्ट्रिय राजनीति कसरी अगाडि बढ्छ ? चुनाव कहिले हुन्छ वा हुन्न ? कुनै निक्र्यौल छैन । भोलि मनोनयन छ, आजसम्म चुनावी सककार्य कसरी गर्ने भन्नेसम्म नटुङ्गिएको हाम्रो विगत हो । अनि, अहिल्यै टुङ्गियो भनेर भन्नु हास्यास्पद कुरा हो । त्यतापट्टि कोही पनि लाग्नु हुँदैन । नेपाली काङ्ग्रेस महाधिवेशनमा लागेको छ । नयाँ निर्वाचित समितिका साथीहरूसँग परिचयसम्म भएको छैन । हामी अहिले फिल्डमा नै छौँ । हामीले एक्लै चुनाव लड्ने र जित्ने योजना र तयारीका साथ सङ्गठन परिचालन गरिरहेका छौँ ।

    ० बागलुङमा राजमोको तर्फबाट निर्वाचित स्थानीय तहमा जनप्रतिनिधिको भूमिका कस्तो रहेको छ ?

    – तुलनात्मक र गुणात्मक हिसाबले हामी अरूभन्दा फरक छौँ । हाम्रो पार्टीबाट निर्वाचित स्थानीय तह र त्यहाँका जनप्रतिनिधि विवादरहित हुनुहुन्छ । विकासका काम सन्तुलित छन् । विभेद छैन । आएका श्रोतसाधन ठिक ठाउँमा लागु भएका छन् । कमिसन, भ्रष्टाचारका कुराहरूदेखि हाम्रा प्रतिनिधिहरू सतर्क हुनुहुन्छ । जनताको मूल्याङ्कनमा पनि त्यो अभिव्यक्त भएको पाइन्छ ।

    हामीले नेतृत्व गरेको बरेङ गाउँपालिकाले प्रगति गरेको छ । प्रत्येक वर्षको समीक्षामा सर्वाेत्कृष्ट नै छ । ९५ प्रतिशत भन्दा माथि प्रगति गरेको छ बरेङ गाउँपालिकाले । ऐन, नियम, नियमावली बनाउनेदेखि कार्यन्वयनमा कुनै समस्या छैन । त्यसैले जनताले बरेङको मूल्याङ्कन नम्बर १ मा नै गरेको पाइएको छ । त्यसैले पनि अरू पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने लहरसमेत चलेको छ । सयौँको सङ्ख्यामा बरेङ गाउँपालिकाका वडाहरूबाट अन्य पार्टी परित्याग गरी राजमोमा प्रवेश गरिरहनुभएको छ ।

    ० देशको समग्र राजनीतिक अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?

    – २०४६ सालको आन्दोलनपछि बहुदलीय प्रजातान्त्रिक अभ्यासको सुरु भयो । त्यसको विकासदेखि अहिलेसम्म दुईतीनओटा घट्ना भएका छन् । उस्तै उस्तै २०४८ सालको निर्वाचनमा एकल बहुमतप्राप्त नेपाली काङ्ग्रेस र त्यसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । २०४६ सालको आन्दोलका उपलब्धि संस्थागत गर्ने गरी जम्मा पाँच वर्षे सरकारको नेतृत्व गर्ने जिम्मा उनकै थियो तर जनताको अभिमत कुल्चेर काङ्ग्रेसले तत्कालीन संसद् विघटन गर्ने र मध्यावधि चुनावमा गराएको थियो । त्यतिखेर प्रजातन्त्रको गला रेट्ने र जनमतको अपमान गर्ने काम भएको थियो । ठिक त्यसैगरी २०६२–६३ को आन्दोलनको उपलब्धिस्वरूप गणतान्त्रिक मुलुकमा गणतन्त्र र धर्म निरपेक्षताको संस्थागत गर्ने जिम्मेवारी केपी वली र नेकपालाई जनताले सुम्पिका थिए । अहिले पनि त्यस्तै प्रकारले केपी ओली र नेकपाले गणतन्त्रको गला रेट्ने र ब्रेक लगाउने काम भो । यस्ता तत्त्वहरूलाई जनताको कठघरामा उभ्याउनुपर्छ । त्यो दुवै घटना प्रतिपक्षको कारण नभएर स्वयम् पार्टीभित्रका सत्तालोलुप, पदकुन्ठाको कारण थियो ।

    जसरी २०५१ सालदेखि अराजकता र अस्थिरताको सुरुआत भयो । अहिले फेरि झन्डै दुईतिहाइनजिकको सरकारले संसद् विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको छ । संसद् र संसदीय खेलको नमिठो प्रहसन भएको छ । पाँच वर्षमा तीनचार मुख्यमन्त्री बन्ने, सातओटा मन्त्रालय फुटाएर भागबण्डा गर्ने, १८ ओटा मन्त्री बनाउने खेल भयो । यी कार्यपालिका र व्यवस्थापिकाको निर्लज्ज क्रियाकलापको रूपमा देखिन्छन् । भ्रष्टाचार, कमिसन, महङ्गी र करवृद्धिले सीमा नाघेको छ । दोहोरोतेहरो कर र मूल्यवृद्धिले जनताको ढाड सेकिएको छ ।

    वैदैशिक हस्तक्षेप झन् बढेको छ । कोभिड–१९ ले पारेको समस्या र त्यसले पारेको अर्थतन्त्रमाथिको प्रभाव कहालिलाग्दो छ । गणतन्त्र प्राप्त गरेर केही प्राप्त गर्न सकिन्छ कि भन्ने जनताको भावनामा निराशता छाएको छ । अझ न्यायालयमाथिको घिनलाग्दो खेलले विश्वमा नेपालको गौरवलाई लज्जित तुल्याएको छ । हामी लज्जित छौँ । न्यायमूर्तिहरू आज सत्ताको भागबन्डा गर्छन् । उनीहरू आफै बहिष्कार आन्दोलन र अर्कोथरीको रकमको किनबेचको खेलोले न्यायप्रणालीप्रतिको जनताको बुझाइ, व्यवस्थासँगै जोडेर हेर्दा प्रतिक्रियावादी व्यवस्था र उसको चरित्र स्पष्ट हुँदै गएको छ । न्यायालयको सुदृढीकरण जरुरी छ ।

    यी विकृति र जनताको व्यवस्था प्राप्त नहुँदासम्म रहिरहने विषय हुन् । घटनाक्रमले हामीलाई व्यवस्था विरोधी बनाएको छ । नयाँ जनवाद स्थापना गर्ने आन्दोलनको आवश्यकता बढेर गएको तथ्यहरू आफैले उजागर गर्दै गइरहेको छ । हामी निराश हुनुहुन्न । द्वन्द्ववादीहरू खराब प्रवृत्तिले असल प्रवृत्तिको माग गर्दछ भन्ने तथ्य भुल्नुहुँदैन ।

    ० अन्तमा, युगदर्शनमार्फत प्रसारण गर्नुपर्ने वा आह्वान गर्नुपर्ने विषयहरू केही छन् कि ?

    – मुलुकको राजनैतिक नेतृत्व, वैचारिक नेतृत्व र मार्गदर्शन गर्नु हाम्रो कर्तव्य हो । हामीले जनताको साथ छोड्नुहुन्न । सडक हाम्रो र जनताको आन्दोलनको प्रतिक हो । आवाज बुलन्द गर्न छोड्नुहुन्न । स्वाभिमान र स्वाधीनतामाथि हस्तक्षेप गरेको टुलुटुलु हेरेर बस्न सकिँदैन । राष्ट्रियता, जनजीविकाको सवालमा जनतासँग हातेमालो गर्दैै अगाडि बढौँ । हामी हल्लाको पछाडि नलागौँ । यथार्थ धरातलको पछाडि लागौँ । आवेग, उत्तेजना, कुण्ठा, बदलाको भावना त्यागौँ । संयमित बनौँ । धैर्य गरौँ । लडाइँ लामो छ ।

    साथीहरूलाई म भन्न चाहन्छु, कहिलेकाहिँ चौतारीमा बसेर पनि, बाटोमा हिँड्दाहिँड्दै उभिएर बस्दा पनि लडाइँ जित्त सकिन्छ । लडाइँ जित्नकै लागि लड्नुपर्छ, हार्न त जसले पनि सक्छ नि । धन्यवाद ।

    अन्तर्वार्ता : प्रकाश थापामगर

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार