भ्रमको खेती र छलछामको राजनीति धेरै दिन टिकदैन

  • मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत नेपाली एकता सम्मेलनको तयारी कसरी अगाडि बढिरहेको छ, बताई दिनुहोस् न ?

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बिधान अनुसार अखिल भारत नेपाली एकता सम्मेलन प्रत्येक ५ वर्षमा सम्मेलन गर्ने व्यवस्था छ, स्थिति अनुसार समय थप घट पनि हुन सक्ने व्यवस्था गरिएको छ । सातौं अखिल भारत सम्मेलन सेप्टेम्बर २०१४ मा सम्पन्न भएको थियो । हाम्रो २०२० भित्र सम्मेलन गर्ने योजना पनि थियो । केही संगठनात्मक व्यस्तता एवं वैश्विक महामारी कोविड १९ को संक्रमण एवं त्यसको रोकथामको लागि जारी गरिएको दिशा निर्देशन अनुसार मार्च २३, २०२० बाट भएको लकडाउन आदिका कारण समयमा सम्मेलन गर्न सकिएन । कोरोनाको चाप केहि कमजोर भएपछि गत दिसेम्बरको १२ तारिकमा सम्पन्न भोपालको बिस्तारित बैठकले फरवरी २७-२८ र मार्च १, २०२२ लाई सम्मेलनको मिति तय गरि आवश्यक तैयारीको निणर्यका साथ अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षतामा ६९९ सदस्यीय सम्मेलन तैयारी समिति गठन गरि कार्य विभाजन सहित व्यापक तैयारी भइरहेको छ । यस दौरान सबै क्षेत्र/राज्य, नगर समितिको बैठक, सम्मेलन सहयोग भेला गरि सबै तह र तप्काका कार्यकर्ता सम्मेलन सफलताको लागि निरन्तर खटी रहनु भएको छ । यस दौरानमा कैयौं स्थानमा नयाँ नगर समितिहरू निर्माण भएका छन् । त्यसमा अन्य संगठन परित्याग गरि प्रवेश गर्ने साथीहरूको लहर नै आएको छ । जसले गर्दा पुरै भारतमा नेपालीहरूको लागि उत्सवको माहौल बनेको छ ।

  • सम्मेलनमा भारतका कति राज्य र शहरहरुबाट प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति हुने अवस्था छ ?

भारतको भौगोलिकतालाई मध्य नजर गरि हामीले संगठनका १३ क्षेत्र/राज्य समिति बनाएका छौं । त्यसको मातहतमा २०० भन्दा बढी नगर समितिहरू सञ्चालन छन् र नगर समितिको मातहतमा एरिया एवं एरियाका मातहत टोल समितिहरू सञ्चालन छन् । अखिल भारत नेपाली एकता सम्मेलनको लागि क्षेत्र एवं नगरहरूबाट प्रतिनिधित्व गराउने गरिएको छ र अहिले पनि त्यसैले निरंतरता पाउँदैछ । सम्मेलनको बन्द-सत्रमा भारतका लगभग सबै राज्यहरूबाट ४५० जती प्रतिनिधी, १०० जती पर्यवेक्षक- १०० जति आमन्त्रीत दर्शकहरूको उपस्थिति हुने निश्चित छ ।

  • कोभिड महामारीका माझ सम्मेलन हुन गइरहेको छ, सम्मेलनमा सहभागिहरुलाई भयमुक्त बनाउन के कस्ता प्रिभेन्सका उपाय अपनाउँदै हुनुहुन्छ ?

वैश्विक महामारी कोविड १९ ले मावन जीवनमा अत्यन्तै गहिरो असर पारेको छ । यसले आर्थिक क्षेत्रमा ठुलो मन्दी ल्याउनुका साथै श्रमजिवी वर्गलाई जीवन मरणको स्थितिमा पुर्‍यो । संर्घष गरेर अगाडि बढनुको विकल्प रहेन, अहिले परिस्थिति बदलिएको छ । जिविकोपार्जनका साथै अन्य विषय पनि त्यही नै हो । संगठनको गतिविधी संगठनको जीवनधारा र बैठक, सम्मेलन आदि जनवादी अभ्यास हो यसलाई निरंतरता दिनुपर्ने आवश्यकता हुन्छ । हाम्रो संगठनात्मक पद्धती जनवादी केन्द्रीयता अनुरूप सम्मेलन गर्न गईरहेका छौं । निश्चत रूपमा अहिले कोविडको अवस्था छ । तर पहिले जस्तो छैन, तै पनि विश्व स्वास्थ्य संगठन र भारत सरकारको दिशा निर्देशन एवं उपायहरुलाई पालन गर्दै सम्मेलन सम्पन्न गर्न गइरहेका छौं ।

  • सम्मेलनलाई के विषयमा केन्द्रीत गर्नुभएको छ ?

हामी आफ्नो देशबाट धरै टाढा भएता पनि देशको अवस्थाबाट अछुतो छैनौं । देशमा नेपाली जनताको बलिदानीपूणर् आन्दोलनको बलमा स्थापित गणतन्त्र, धर्मनिरपेक्षता, संबिधानका साथै देशको राष्ट्रियता खतरामा छ । त्यसका साथै हामी स्थापना कालदेखि नै भारतस्थित नेपालीहरूका हकहितको लागि संर्घषरत छौं । त्यसैले हामी सम्मेलन ॅगणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरूको मताधिकार एवं समानुपातीक प्रतिनिधत्व सुनिश्चित गरौंू’ भन्ने मुल नाराकासाथ सम्पन्न गई रहेका छौं ।

  • गणतन्त्र र राष्ट्रियताको विषयलाई पनि सम्मेलनको विषयमा पार्नुभएको रहेछ, देशको वर्तमान राजनीतिलाई तपाईहरुको संगठनले कसरी हेरेको छ ?

नेपालीहरू बिदेशिनुुका पछाडी देशको आर्थिक, सामाजिक, राजनैतिक अवस्था नै जिम्मेवार छ । देशको आर्थिक, सामाजिक तथा उत्पादन सम्बन्धमा परिवर्तन नभएसम्म हाम्रो मुल समस्याको समाधान हुदैन । त्यसको लागि सहि राजनैतिक दिशा र दृढ राजनैतिक इच्छाशक्तीको आवश्यकता हुन्छ । सचेत जनता नै राजनैतिक शक्तीका श्रोत र परिचायक शक्ति भएको हुँदा हामीले जनचेतना जगाउने काम गरेका छौं । किन की हाम्रो समस्याको मुल जरो नै राजनैतिक छ । त्यसैले हामी नेपालमा चल्ने प्रत्येक राजनैतिक घटनाक्रमलाई नजिकबाट निहालेका छौं र नेपालमा चल्ने राष्ट्रियता जनतन्त्र र जनजिवीकाको आन्दोलनलाई सहयोग र समर्थन गरि रहेका हुन्छौं ।

अहिले एकातिर पुर्वउस्थानवादी तत्वहरू आफ्नो गुमेको स्वर्ग पुर्नवहालीको लागि लागिपरेका छन् । भारतमा चरम हिन्दुत्ववादी शक्ती सत्तासिन भएको र नेपाललाई हिन्दुराष्ट्र बनाउन जोड दिने नीतिअनुसार नेपालमा प्रतिगामीहरूलाई थप बल दिइरहेका छन् । अवसरवादी एमालेले आफ्नो सत्ता टिकाई राख्न जनताको आन्दोलनको बलमा स्थिापित संबिधान एवं लोकतान्त्रिक परिपाटीलाई लत्याउँदै संसदको बिघटन गराई देशलाई प्रतिगामी दिशामा धकेलेको थियो । त्यसको विरूद्ध जनआन्दोलनका घटकहरूको साझा सहमती अनुसार प्रतिगमन सच्चाउने काम भएता पनि प्रतिगामी खतरा टलेको छैन । अर्को तिर देशमा अमेरीकी साम्राज्यबादको हिन्द-प्रसान्त सैन्यरणनीतिको रूपमा आएको एमसीसी सम्झौताले देशको सार्वभौमिकता, राष्ट्रियता माथि संकट पैदा भएको छ । शहिदहरुको बलिदानको सम्मान गर्दै आन्दोलनका उपलब्धीहरू गणतन्त्र, धर्मनिपेक्षता एवं राष्ट्रियताको रक्षा गर्ने अभिभारा हामी सबै नेपाली जनताको काँधमा थपिएको छ ।

  • मूल प्रवाहले लगातार भारतस्थित नेपालीहरुको मताधिकारको मागलाई उठाउँदै आएको छ, आगामी राष्ट्रिय निर्वाचनमा कत्तिको सम्भावना देख्नुभएको छ ?

नेपाली जनताको संबिधान सभाबाट संबिधान बनाउने चाहना २०६२-०६३ को जनआन्दोलन पछि भएको संबिधानसभाको चुनावबाट पुरा भएको छ । हामी त्यो महत्वपूणर् निर्वाचनमा जनसंख्याको एक तिहाई जनतालाई सहभागी हुनबाट वंचित नगराईयोस् भनि लगातार आन्दोलनरत थियौं र अहिले पनि छौं । बालिग मताधिकार, मौलिक हक एवं मावन अधिकारको रूपमा प्रत्याभुति भएको अवस्थामा पनि यती ठूलो संख्यामा रहेका प्रवासी नागरिकहरू मताधिकारबाट वंचित भएको विषयलाई नेपालको सर्वोच्च अदालनले स्वतः संज्ञान लिइ, परमादेश जारी गरि प्रवासीहरूलाई मताधिकार व्यवस्था गर्न सरकारलाई निर्देशन समेत गरेको छ, तर अहिलेसम्म त्यसको तैयारीको लागि कुनै प्रगति भएको हामी पाउदैनौं । हामीले लगातार सरकार र सरोकारवाला निकायहरूलाई त्यसको लागि दवाब श्रृजना गर्न विभिन्न कार्यक्रम गरि रहेकाछौं । त्यसैक्रममा १५ सेप्टेम्बर २०२१ का दिन मूल प्रवाहको प्रतिनिधी मण्डलले काठमाण्डौंमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र पत्रकार सम्मेलन गर्ने समेतको काम गरेको छ ।

हामीले उक्त ज्ञापन पत्रमा भारतस्थित नेपालीहरूबारे नेपाल सरकारको नीति प्रष्ट पार्ने माग सहित भारतस्थित प्रवासी नेपालीहरूलाई पनि प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधीत्वको विषयबाट अलग्याउन हुदैन भन्ने जोडदार माग गरेका छौं ।

  • भारत प्रवासमा रहेका नेपालीहरुका मुख्य समस्याहरू के कस्ता छन, प्रष्ट्याई दिनु हुन्छ की ?

भारतमा नेपालीहरूले विभिन्न खाले समस्या भोग्नु परेको छ । त्यसमा सबै भन्दा ठूलो समस्या पहिचान पत्रको समस्या बन्न पुगेको छ । १९५० को सन्धीले समान अधिकार भनेको छ तर व्यवहारमा त्यो छैन । पहिले राशन कार्ड र अहिले आधार कार्डलाई सबै जीवन उपयोगी वस्तु तथा क्षेत्रको लागि अनिवार्य बनाएको छ । जस्तै सवारी चालक अनुमती पत्र, मोबाईल सिम, खाना पकाउने ग्याँस कनेक्सन, बिजुली/पानी कनेक्सन, बच्चाहरुको स्कुल भर्ना, बैक खाता खोल्न आदि । आधार कार्डको अभावमा पहिले खुलेका बैंक खाताहरू समेत निष्कृय भएका छन् । यहाँसम्म की आधार कार्डको अभावमा दुर्घटना हुँदा क्षतिपूर्तीको लागि कानुनी दावा गर्न सकिंदैन । त्यसको साथै नेपालीहरू माथी हुने दुव्र्यवहार, लुटपाट, झुट्टा आरोप, मावन तस्कारी, बाल श्रमशोषण, महिलाहरूमा हुने यौन हिंसा आदिका साथै नेपालीहरूमा भएको विकृतीका कारण नेपाली-नेपाली बीच हुने झैझगडा एवं बदलिंदो जीवनशैलीको कारण केही युवाहरू डिप्रेशनको शिकार भएका समेत समस्या देखिएका छन् ।

  • मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपाली श्रमजिवीहरु बीच स्थापित संगठन भएको त बताउनु भयो, यसलाई टुटफूट पार्न चाहनेहरुको प्रभाव कत्तिको पर्ने गरेको छ ?

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै अनेकन प्रकारका गलत प्रवृत्ती र चिन्तनका विरूद्ध संर्घष गर्दै आफुलाई स्थापित गर्न सफल भएको हो । सुरूका दिनमा पञ्चेहरूको संरक्षण प्राप्त साहु-फटाह र उनका भरौटेहरूले नेपालमा मात्र हैन भारतमा पनि नेपालीहरूलाई शोषण गरिरहेका थिए । एकता समाजको गठन र त्यसले ल्याएको जागरूकता कारण १०० मा सुन्य थपेर १००० बनाउन पल्केका पञ्चेहरूको शोषणको भण्डाफोर भएको र नेपालीहरूलाई शोषण गर्न नपाउँदा राजकाज मुद्दा लगाई दिने धम्की दिने गर्दथ्ये । कैयौं स्थानमा सोझा सिधा नेपालीलाई प्रयोग गरि आक्रमण गर्दथे, तर बिस्तारै ति नेपाली साथीहरूमा चेतना जागृत भएपछि उनीहरू नै संगठनको कार्यकर्ता समेत बनेर काम गरेको समेत अनुभव छ । एकता समाजको गठन पछि कैयौं अन्य संगठन पनि गठन भए तर श्रमजिवीवर्गको हकहित र राष्ट्रियता जनतन्त्र जनजिवीकाको विषयमा अन्य संगठनको भन्दा मूल प्रवाहको बेग्लै भुमिका र कार्यकर्ताहरू सकृयताले संगठनलाई स्थापित बनाएको हो ।

संगठनले त्याग, समर्पण, बलिदानको माग गर्दछ । आशा, उत्साह, निराशा, महत्वकाक्षा आदि मानव स्वभावको प्रकृतीमा हुन्छ, सबै सधै एकै अवस्थामा रहदैन यो द्धन्द्धबादको नियम हो । कैयौं इमानदार, सकृय समर्पित व्यक्ती, पछि अवसरवादी, निराश, निष्कृय हुन्छ । तर उस्ले कहिलै म बिगे्रं भन्दैन हमेशा संगठनलाई दोषारोपण गर्ने गर्दछ । कतिपय बेलामा संगठनमा काम गरेर छवि बनाएका व्यक्तीहरूले आफ्नो छविलाई कैश गराउने र अन्य बैचारिक समुहसँग वार्गेनिङ गर्दै पलाएन भएका पनि छन् । त्यो समयमा संगठनलाई तोडफोड गर्ने प्रयास नभएको होईन, तर सचेत कार्याकर्ताहरुले त्यसप्रकारका व्यक्ती र उनले अगाडि बढाएका गलत विचारबाट संगठनलाई जोगाउँदै अगाडि बढाएको इतिहास साक्षी छ ।

  • केही समयअघि मूल प्रवाहकै नामबाट केही व्यक्तिहरुले बेग्लै केन्द्रीय समिति निर्माण गरेको समाचार आएको थियो । त्यो समूहले पनि आफूहरुलाई मूल प्रवाह बताउँदै हिंडेको भन्ने सुनिन्छ, यसको भ्रम र वास्तविकता बारे बताई दिनुस् न ?

हामी माथि नै चर्चा गर्‍यौं, संगठन भित्र विभिन्न प्रकारका व्यक्तीहरू हुन्छन् । कैयौं व्यक्ती बिचमा पलायन हुन्छन् । त्यसका पछाडी उनीहरूकै कमिकमजोरी हुन्छ । संगठन विधी पद्धतीबाट चल्दछ । हाम्रो संगठनात्मक पद्धती जनवादी केन्द्रीय हो । छलफलमा व्यपकता काममा एकरूपता । तर केही साथीहरू संगठनको पद्धती विपरित गई संगठनको हित विपरित कार्य गरेको कारणले कार्यवाही गर्न परेको हो । संगठनको नियम-हित विपरित जानेलाई हामीले मात्र हैन जुन सुकै संघ-संस्था पनि कार्यवाही गर्छ । मूल प्रवाह एक रजिस्टर संगठन हो, यसको नाम, झण्डा र रजिस्ट्रेशन नम्बर प्रयोग गर्ने अधिकार अन्य कुनैलाई हुदैन । त्यो आफैमा गैरकानुनी र अनैतिक पनि हो, आवश्यकता अनुसार प्रकृयामा जान सकिन्छ । साथीहरूले त्यो जानाजान वा कसैको उक्साहटबाट गरेको हो उनीहरूले नै जान्ने कुरा हो ?

हामी अहिले आठौं अखिल भारत नेपाली एकता सम्मेलनको संघारमा छौ, हामी सबै साथीहरूलाई आव्हान गरेका छौं, आउनुहोस् आठौं अखिल भारत सम्मेलन सफल पारौं संगठनको पद्धती अनुसार अगाडि बढौं ।

  • संगठनबाट निश्कासित व्यक्तिहरु सम्मेलनमा सहभागि हुन चाहेको अवस्थामा त्यसका लागि के व्यवस्था गर्नुभएको छ ?

अहिले नेकपा (मसाल)बाट बाहिरीएका साथीहरूमा बैचारिक बिचलनता प्रष्ट रुपमा देखिएको छ । कैयौं व्यक्तीहरु पलाएन समेत भएका छन् । भ्रमको खेती र छलछामको राजनीति धेरै दिन टिकदैन । बिगतमा कैयौं साथीहरू बिचलन भएको र पछि आफूले बाटो बिराएको महशुस भएपछि आत्मालोचित भई फर्केर पुनः संगठन काम गरेर नेतृत्वतहमा समेत पुगेको इतिहास छ । त्यसरी घर फर्कन चाहने साथीहरूलाई मूल प्रवाहको ढोका सदैव खुल्ला छ ।

  • अखिल भारत सम्मेलनको कार्यतालिका कसरी निश्चित गर्नुभएको छ ?

सम्मेलनको प्रथम दिन २७ फरवरीका दिन मार्चपास एवं आम जनसमुह सहित प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्धारा आठौं अखिल भारत सम्मेलनको उद्घाटन हुनेछ । कार्यक्रमलाई प्रमुख अतिथी लगायत नेपाल तथा भारतस्थित विभिन्न अतिथि वक्ताहरूबाट समेत सम्बोधन हुने र साँझ विभिन्न क्षेत्रका कलाकारहरूबट प्रगतिशिल साँस्कृतीक कार्यक्रम प्रस्तुत हुनेछ । दोस्रो दिन २८ फरवरीका दिन सम्मेलनको बन्द-सत्र जसमा बिभिन्न क्षेत्र र नगरबाट आएका प्रतिनिधी पर्यवेक्षक र आमन्त्रीत दर्शक विभिन्न संगठनात्मक प्रतिवेदन लगयात प्रस्तावहरूका साथै नयाँ केन्द्रीय समिति चयन गर्ने कार्यक्रम रहेको छ, साँझ साँस्कृतीक कार्यक्रम हुने छ । सम्मेलनको तेस्रो दिन १ मार्चाको, विचार गोष्ठी, घोषणा सभा एवं समापन समारोह सहित सम्मेलनको समापन हुने छ । विचार गोष्ठीमा नेपालबाट विज्ञलाई सामेल गरिने छ ।

  • अन्तमा, केही भन्नै पर्ने विषय छुट्यो कि ?

नेपाली समाचार पत्रिकाले भारतस्थित नेपालीहरूलाई सचेत र संगठित हुन र राष्ट्रियताको भावना विकास गर्नमा महत्वपूणर् भुमिका निर्वाह गर्दै आएको छ । यो कार्यलाई अझ उचाईमा पुर्‍याउन यसका सम्बाददाता बैचारिक लेखक साहित्यक रचनाकार सबैको प्रयास सराहनिय छ । यसमा युवा पुस्ता समेत जोडिदै अगाडि बढोस यही शुभ कामना ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार