काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देश पैसासँग साट्न नसकिने भन्दै एमसीसी श्रीलंकामा जस्तै फिर्ता पठाउनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद पौडेलले एमसीसीको विरोधमा नेपाली जनता लामो समयदेखि सडकमा आन्दोलित भएको भन्दै यसरी विरोध भएकाले एमसीसी खारेज गर्नुपर्ने धारणा राखेकी हुन् । उनले सरकारलाई पैसा चाहिए बरु नेपाली जनताले आधा पेट खाएर सरकारलाई एमसीसीको भन्दा बढि रकम जम्मा गरिदिने बताइन् ।
उनले श्रीलंकाको उदाहरण दिदै एमसीसी फिर्ता र खारेज गर्न र कार्यसुचीबाटै हटाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । ‘कसको बलमा एमसीसी ल्याइएको हो ? एमसीसी खारेज गरियोस् भन्ने जनताको चाहाना छ । सरकारलाई पैसा चाहियो भने आधा पेट खाएर जनता पैसा दिन तयार छन’, पौडेलेले भनिन्, ‘राष्ट्रभन्दा ठुलो केही पनि छैन । यो ५५ अर्व केही पनि होइन । सरकारलाई हामी सहयोग गर्न सक्छौ भनेर जनता सडकमा उत्रेका छन्, आगो बलेको छ’ पौडेलको भनाइ छ ।