हामी व्यापक तयारीका साथ आठौं अखिल भारत सम्मेलनमा छौं

० कोभिड महामारी साम्य भइनसकेकै बेला मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अखिल भारत सम्मेलन गर्नैपर्ने त्यस्तो विशेष कारण के आइलाग्यो ?

-मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विधानअनुसार प्रत्येक पाँच पाँच वर्षमा अखिल भारत सम्मेलन गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार आठौँ अखिल भारत सम्मेलन सन् २०१९-२० मा नै सम्पन्न भइसक्नुपर्ने हो । त्यसका लागि विस्तारित बैठकको पनि निणर्य भएको थियो । केही आन्तरिक तयारीका कारण डिसेम्बर २०१९ को विस्तारित बैठक स्थगित गरि १५ अगस्त २०२० लाई निश्चित गरिएको थियो । तर कोरोनाको कारण उक्त विस्तारित पनि स्थगित गर्नुपर्‍यो, जसले गर्दा समयमा आठौँ अखिल भारत सम्मेलन हुन सकेन ।

अर्कातिर, कोरोना महामारीका कारण भारतमा पनि लामो समयसम्म लकडाउन भयो । यो बेलामा कोरोनापीडितको उद्धार प्राथमिक कार्य बन्न पुग्यो । कोरोना कारण गरिएको लकडाउनबाट पीडित भएकालाई कसरी सहयोग पुर्‍याउन सकिन्छ ? स्वदेश हिँडेका नेपालीहरूलाई कसरी सहज वातावरण प्रदान गर्न र फसेका नेपालीहरूलाई भोकमरीबाट कसरी बचाउन सकिन्छ भन्नेतिर हाम्रो ध्यान गयो । त्यसकारण पनि हामीले समयमै अखिल भारत सम्मेलन गर्न सकेनौँ ।

यस क्रममा साँझबिहान छाक टार्ने समस्यामा परेका होटेल, प्राइभेट नोकरी गरिखाने नेपाली दाजुभाइ, दिदीबहिनीका लागि नेपाल सरकारले समेत आवश्यक उत्तरदायित्व पूरा गर्नुपर्छ भन्ने हाम्रो भनाइ रह्यो । हामीले कोरोनापीडित नेपालीहरू स्वदेश फर्कन पाउनुपर्ने र उनीहरूको समस्यालाई सरकारले हेर्नुपर्ने भनेर आवाज पनि उठायौँ । अहिलेसम्म आउँदा कोरोनाजन्य समस्या केही सहज भएको छ । त्यसकारण हामी जोडतोडका साथ आठौँ अखिल भारत सम्मेलनमा जुटिरहेका छौँ ।

० आठौँ अखिल भारत सम्मेलनको मिति नजिकै आइसक्यो । तयारी कसरी चलिरहेको छ ?

– अखिल भारत सम्मेलनको तयारीका लागि हामीले गत १२ डिसेम्बर २०२१ मा नै मध्यप्रदेशको राजधानी भोपालमा विस्तारित बैठक सम्पन्न गरिसकेका छौँ । त्यसले आठौँ अखिल भारत सम्मेलन सम्पन्न गर्नका लागि जिम्मा बाँडफाँट गरेको थियो । त्यस क्रममा ६९९ सदस्यीय मूल तयारी समिति र अन्य विभिन्न उपसमितिहरू गठन गरी विभिन्न कार्य सम्पन्न गर्ने जिम्मा दिइसकिएको छ । सम्मेलन तयारीको क्रममा व्यापक प्रचार प्रसार, समिति गठन/पुनर्गठन, आर्थिक सङ्कलनको काम अन्तिम चरणमा छ ।

आठौँ अखिल भारत सम्मेलनको तयारीका लागि भारतभरिका क्षेत्रीय समितिको बैठक सम्पन्न भइसकेको छ । नगरहरूमा प्रचारात्मक सभा पनि जोडदार रूपमा सम्पन्न भइसकेका छन् । टोल, एरिया, नगर, क्षेत्र/राज्य समिति र केन्द्रीय समितिका नेता कार्यकर्ता तथा विभिन्न विभागका साथीहरू सक्रिय रूपमा लागिपरेका छौँ ।

विस्तारित बैठकले नै गरेको निणर्यानुसार हामीले चन्दाबुक, अपिलसहित व्यवस्थापनसम्बन्धी विभिन्न काम गरिरहेका छौँ । सबैले आर्थिकसहितका आफ्ना आफ्ना जिम्माअनुसार काम गरिरहनुभएको छ । देशभित्रबाट भाइचारा सङ्ठनका अतिथिलाई निमन्त्रणा पठाइसकिएको छ । पत्रकारलाई आमन्त्रित गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, हामी यतिखेर सङ्गठनको घोषणापत्र, विधान, साङ्गठनिक प्रतिवेदन, समसामयिक प्रस्तावसम्बन्धी संशोधन र मस्यौदा तयार पार्ने काम पनि गरिरहेका छौँ ।

० अखिल भारत सम्मेलनको कार्यतालिका के कसरी निर्धारण गर्नुभएको छ ?

– आठौँ अखिल भारत सम्मेलन भारतको राष्ट्रिय राजधानी क्षेत्र (एन.सी.आर.) नयाँ दिल्लीअन्तर्गतको फरिदाबादमा सम्पन्न हुँदै छ । पहिलो दिन फेबु्रअरी २७, २०२२ आइतबार दिउसो १२ बजेदेखि हामीले मार्चपास गर्ने छौँ । मार्चपास सभामा परिणत भएपछि दिउसो १ बजे उद्घाटन सत्र सम्पन्न हुने छ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने छ । उद्घाटन सत्र साँझ ६ बजेसम्म चल्ने छ । त्यसपछि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ ।

दोस्रो दिन फेबु्रअरी २८, २०२२ को पूरै दिन बन्दसत्रका लागि छुट्याइएको छ । त्यो दिन घोषणापत्र र विधान, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, समसामयिक प्रस्तावमाथि व्यापक छलफल गरी पारित गर्ने काम हुने छ । त्यससँगै पुरानो केन्द्रीय समितिको आलोचना-आत्मालोचनापछि विघटन र नयाँ केन्द्रीय समिति गठनको काम पनि गर्ने छौँ ।

तेस्रो दिन मार्च १, २०२२ का दिन बिहान ११ बजे विचारगोष्ठीको राखिएको छ । त्यस दिन कार्यपत्रमाथि विचार विमर्श हुने छ । दिउसो १ बजे घोषणासभा आयोजना गरिएको छ । त्यसमा बन्दसत्रले गरेका निणर्यहरू सार्वजनिक गरिने छ । दिउसो ३ बजे सम्मेलनको समापन समारोह निश्चित गरिएको छ ।

० सम्मेलन वैचारिक, सैद्धान्तिक सन्दर्भमा कुन विषयमा केन्द्रित रहन्छ ?

-सम्मेलनको क्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको घोषणापत्र र विधानलाई नयाँ परिस्थितिअनुरूप परिमार्जन गर्ने छौँ । यही क्रममा विभिन्न वैचारिक, सैद्धान्तिक विषयमा समेत हामीले छलफल गर्ने छौँ । हामी मूलतः सामाजिक सङ्गठन भएका कारण त्यही पद्धतिअनुसार काम गर्दै आएका छौँ । कुनै पनि सङ्गठन परिचालन गर्दा वैचारिक र सैद्धान्तिक धरातलमा रहेर काम गर्ने गरिन्छ । हामीले सम्मेलनको क्रममा पनि यी काम गर्ने छौँ ।

भारतस्थित नेपालीहरूको पक्षमा अझ प्रभावशाली प्रकारले काम गर्नका लागि नीति निर्माण, विदेशस्थित नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष, देशको न्यायपूणर् आन्दोलनप्रतिको ऐक्यबद्धता, नेपालीहरूको अन्तर्राष्ट्रिय स्तरको सङ्गठन परिचालनलगायतका विषयमा हामी वैचारिक, सैद्धान्तिक हिसाबले सम्मेलनमा छलफल गर्ने छौँ । त्यसका साथै गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि चलेको आन्दोलनको विषयलाई समेट्दै आएका छौँ । त्यसलाई निरन्तरता दिने छौँ ।

० गणतन्त्र र राष्ट्रियता रक्षाको विषयलाई सम्मेलनको नारामा समेट्नुभएको रहेछ । भारतको दर्ता भएको सामाजिक सङ्गठनको नाताले नेपालको गणतन्त्र र राष्ट्रियता रक्षाको विषय उठाउनु असान्दर्भिक भयो भन्ने लाग्दैन ?

-राष्ट्रियता र गणतन्त्र रक्षाको विषय हाम्रा लागि पनि महŒवको विषय हो, किनकि हामी पनि नेपाली हौँ । भारतबाट अन्य देशमा जानुलाई हामीले रोजगारी अथवा पेसाको रूपमा लिन्छौँ । विश्वमा रहेका नेपाली नागरिकले आफ्नो देशको राष्ट्रियता र गणतन्त्रलाई कहाँ बिर्सन सक्छन् र ?

रह्यो दर्ता भएको सङ्गठनको कुरा । हामी भारतमा बसोबास र आवतजावत गर्ने नेपालीहरूले वैधानिक रूपले सामाजिक गतिविधि सञ्चालन गरेका छौँ । यो यहाँको संविधानले दिएको अधिकार हो । त्यसैले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई दर्ता गरेका हौ“ । त्यसका बाबजुद पनि हामी प्रवासी नेपाली भएको हुनाले आफ्नो देशको उन्नति, प्रगतिको बारेमा चिन्ता गर्नु स्वाभाविक नै हो । आज देशमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामाथि खतरा उत्पन्न भएको छ । जनताको बलिदानीपूणर् सङ्घर्षबाट स्थापित गणतन्त्रको रक्षा र राष्ट्रियतामाथि आएको खतराको विरुद्धमा चलेको सङ्घर्षप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ ।

आफ्नो देशका लागि बोल्न, लेख्न, सभा-सङ्गठन गर्न, विचारगोष्ठी, अन्तरक्रिया गर्न, देशको न्यायपूणर् आन्दोलनमा सहभागी हुन हामी पाउँछौँ । नेपालमा हाम्रो अधिकारका लागि लड्न पाउँछौँ । नेपालको राष्ट्रियता, गणतन्त्र, सार्वभौमिकताको पक्षमा बोल्न पाउँछौँ । त्यहाँका शोषित-पीडित नेपालीको पक्षमा काम गर्ने कुनै पनि राजनीतिक पार्टी अथवा सङ्घसंस्थालाई समर्थन गर्न पाउँछौँ । यी सबै प्रवासमा बस्ने सबै नेपालीहरूको अधिकार हो ।

० मूल प्रवाहले विदेशस्थित नेपालीहरूको मताधिकार र प्रतिनिधित्वको विषय लामो समयदेखि उठाइरहेको छ । नेपालमा चुनाव नजिकै छ । तर मताधिकार र प्रतिनिधित्वको सवालमा तपाईंहरू मौन हुनुहुन्छ । सरकार वा निर्वाचन आयोगमाथि पूरै विश्वास गरेर मौन बस्नुभएको हो ?

-भारतस्थित प्रवासी नेपालीको मताधिकारको बारेमा हामीले निरन्तर आवाज उठाइरहेका छौँ । २०६२-६३ महान जनआन्दोलनपछि भएको पहिलो संविधान सभाको चुनावमा पनि प्रवासी नेपालीहरूलाई मताधिकारको व्यवस्था हुनुपर्दछ भनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट गरी मागपत्र बुझाएका थियौँ । त्यसका साथै भारतमा रहेका श्रमजीवी नेपालीहरूबाट हस्ताक्षर अभियान, विभिन्न समयमा गोष्ठी, सभा, पत्रकार सम्मेलन आदि गरी सरोकारवालाको ध्यानाकर्षण गराउँदै आइरहेका छौ“ । ती सबै कार्यक्रम तथा मागपत्रमा प्रवासी नेपालीहरूको मताधिकारको साथै समानुपातिक प्रतिनिधित्वको कुरा पनि निरन्तर उठाउँदै आइरहेका छौँ ।

प्रवासी नेपालीहरूको मताधिकारको व्यवस्थापनको लागि सर्वोच्च अदालतले वि.सं. २०७५ सालमा दिएको फैसलापछि केही आशा पलाएको थियो तर सर्वोच्चको फैसला कार्यान्वयन गर्न कानुनको मस्यौदासमेत अगाडि नबढाएको हुँदा सरकार गम्भीर नभएको भनी २०७८ असोज ९ गते मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष, महासचिव, राष्ट्रिय जनमोर्चाका सांसद र अन्य साथीहरूसमेत बालुवाटार पुगी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका थियौँ । उक्त ज्ञापनपत्रमा पनि प्रवासी नेपालीहरूलाई समानुपातिक प्रतिनिधित्वको विषय प्रमुखतासाथ उठाएका थियौँ । साथै भारत प्रवासमा रहने प्रवासी नेपालीहरू मताधिकारबाट बञ्चित नहुन्, त्यसका लागि नेपाल सरकारको प्रवासी नेपालीसम्बन्धी व्याख्यालाई प्रष्ट पार्नसमेत माग गरेका थियौँ किनकि दक्षिण एसियामा रहेका नेपाली नागरिकलाई प्रवासी नेपालीको अधिकार क्षेत्रमा समावेश गरिएको छैन । हामीले हाम्रा माग निरन्तर उठाइरहेका छौं । अनेकन् सरकारले हामीलाई आश्वासन दिएता पनि कार्यान्वयनको दिशामा कुनै पहल भएको छैन । हामी आन्दोलनरत छौं, आन्दोलनको बलमा मात्रै हाम्रा माग पूरा हुने छन् । त्यसका लागि सम्बन्धित सरोकारवाला निकायलाई घच्घच्याउन लागि बुद्धिजीवी, जनसरोकारवाला पत्रकारसमेत सित अपिल गर्दछौँ ।

० यतिखेरका भारतस्थित नेपालीको समस्याहरू के कस्ता छन् ?

-भारतस्थित नेपालीका समस्याहरू झन्पछि झन् जटिल बन्दै गइरहेका छन् । सन् १९५० को सन्धिले नेपालीलाई दिएको अधिकार भारतको केन्द्र सरकारले समेत लागु गरेको छैन । राज्य सरकारहरूले त नेपालीहरू आफ्नो देशबाट खान नपाएर भारत आएका हुन्† यिनीहरूमाथि जे गरे पनि हुन्छ† जस्तोसुकै अन्याय-अत्याचारमा पारे पनि हुन्छ भन्ने जस्तो मानसिकता बनाएर सताउने काम भइरहेको जस्तो लाग्छ हामीलाई ।

भारतमा यतिखेर आधारकार्ड नभएसम्म दैनिक उपभोग्य वस्तु खाना बनाउने ग्यास, बिजुली पानीको कनेक्सन, मोबाइल सिम आदिसम्म पनि पाइँदैन । कुनै साथीको नोकरी गर्दागर्दै मृत्यु भएमा उसको आफन्त अर्थात् श्रीमतीले पेन्सन पाउँदिनन् । आधारकार्डबिना बैङ्कमा खाता खोल्न पाइँदैन । आधारकार्ड बनाउन कमसेकम ८२ दिन भारतीय सीमाभित्र बसोबास गरेको कानुनी प्रमाणपत्र एवम् अस्थायी ठेगाना प्रमाणित गरी पेस गर्नुपर्दछ तर नेपालीहरूले ती दुवै प्रमाणलाई जुटाउन सक्दैनन् किनकि कोठा बहाल सम्झौताको लागि आधारकार्ड अनिवार्य छ ।

० पूर्वोत्तर भारतमा तपाईंहरूलाई नेपाली नागरिकको सङ्गठन भन्दा रहेछन् । त्यहाू तपाईंहरूलाई भारतीय नेपालीको सङ्गठन मानिूदो रहेनछ । तपाईंहरू गतिविधि पनि बढी नेपालकेन्द्रित देखिन्छन् । वास्तविकता के हो ?

-पूर्वोत्तर क्षेत्रमा रहेका नेपालीहरू सन् १८१६ को सुगौली सन्धिको आधारमा भूगोलसँगै भारतमा सामेल भएका हुन् । सन्धिले कोरेको सीमारेखाका बाबजुद उनीहरूको भाषा, संस्कृति नेपाली हो† उनीहरू पनि नेपालआमाकै सन्तान हुन् र हाम्रा दाजुभाइ हुन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एउटा सामाजिक सङ्गठन भएको र यसले नेपाली भाषा, संस्कृतिको संरक्षण र सम्वर्धनमा जोड दिएको हुनाले पनि नेपाली भाषा, संस्कृति भएकाहरूलाई सङ्गठित गर्ने हाम्रो सङ्गठनको नीति रहेको छ । पूर्वोत्तरमा रहेका नेपालीभाषीहरू भारतीय नागरिक हुन् तर उनीहरूलाई विदेशीको नागरिकको रूपमा हेयको दृष्टिले हेरिन्छ र भारतीय नागरिकसरहको अधिकारबाट बञ्चित गर्ने गरिएको छ । हामी उनीहरूलाई भारतीय नागरिकसरह समान सम्मान र अवसरको माग गर्दै आएका छौँर । तैपनि नेपालीहरूको एकतामा भाँजो हाल्न चाहने तत्वहरूले भ्रमको स्थिति सिर्जना गरी विभाजन ल्याउने प्रयत्न गरेका छन् तर सचेत नेपालीहरूले त्यस प्रकारको षड्यन्त्रलाई चिर्दै एकता समाजको झन्डामुनि गोलबन्द हुँदै आएका छन् ।

पूर्वोत्तर भारतका नेपालीमाथि परेका समस्यालाई लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पत्रकार सम्मेलन, ज्ञापनपत्र, विभिन्न सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने जस्ता काम गर्दै आएको छ । उनीहरूले हामीलाई नेपाली नागरिकको सङ्गठन भनेता पनि सबै खाले नेपालीका लागि हामीले काम गरिरहेका छौँ ।

नेपाल सरकारले रोजगारीका लागि आफ्नै देशमा योजना बनाउनुभन्दा पनि विदेश पठाउनमै जोड गर्छ । विगतमा बनेका सरकारहरूले देशमा उद्योगधन्दा खोलेर स्वदेशमै रोजगारको वातावरण बनाएको भए नेपालबाट रोजगारीका लागि भारत आउनेहरूको सङ्ख्या न्यून हुने थियो । भारतमा स्थायी नेपालीभन्दा प्रवासी नेपालीहरूको सङ्ख्या ठुलो छ । त्यही सङ्ख्याकै अनुपातमा हाम्रो सङ्गठनमा पनि प्रवासी नेपालीहरूको सङ्ख्या प्रबल भएको हुँदा नेपाल र प्रवासी नेपालीका समस्याले स्थान पाउनु स्वाभाविक हो । तैपनि हामीले स्थायी वा अस्थायी नेपालीहरूको बिचमा विभेद राखेका छैनौँ ।

० नेपालको न्यायपूणर् आन्दोलनमा सहभागी हुन तपाईंहरू भौतिक रूपमै नेपाल फर्कने गर्नुभएको छ । २०७९ वैशाख ३० गते नेपालमा स्थानीय तहको चुनाव हुूदै छ । त्यसलाई सफल पार्न तपाईंहरूको कस्तो भूमिका रहन्छ ?

– नेपालको न्यायपूणर् आन्दोलनमा नेपालको नागरिकता प्राप्त गरेका वा नेपाल आवतजावत गर्ने नेपालीहरू सहभागी हुने गरेका छौँ । आफ्नो जहान-परिवार नेपालमा नै भएकाले नेपालीहरू नेपाल आउने नै भए । खासगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा काम गर्ने साथीहरू भारतको कुनै पनि स्थानबाट नेपालको न्यायपूणर् आन्दोलनमा सामेल हुने गर्छन् । उनीहरूले नेपालको न्यायपूणर् आन्दोलनमा आर्थिक, नैतिक, भौतिक रूपले भाग लिँदै आएका छन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज २०३६ सालको जनमत सङ्ग्रहदेखि २०४६ सालको जनआन्दोलन, त्यसपछिका विभिन्न स्तरका निर्वाचन, २०५४ र २०५६ सालको किसानमार्च, सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलन, २०६२-६३ सालको जनआन्दोलन, संविधान सभाको चुनाव—यस्ता सबै खाले कार्यक्रममा सहभागी हुने गरेको छ । हामीले विदेशस्थित नेपालीहरूको तर्फबाट सबै प्रकारका सहयोग गर्दै आएका छौँ ।

२०७९ वैशाख ३० गतेको स्थानीय तहको चुनावमा पनि हामीले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई जिताउन नेपाल फर्कने छौँ । राष्ट्रिय जनमोर्चाले देशको राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षता तथा विदेशस्थित नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वको पक्षमा आवाज उठाउँदै आएको छ भने सङ्घीयता, सीमा अतिक्रमण र अहिले एम.सी.सी. का विरोध गर्दै आएको छ । यस्तो सङ्गठनका उम्मेदवारलाई विजयी गराउन हामी आफ्नो कर्तव्य ठान्दछौँ ।

० देवबहादुर लामिछानेहरूले आफूहरूलाई अवैधानिक रूपमा हटाइयो भनिरहेका छन् । त्यस मामिलामा खासमा भएको के थियो ?

-सवाल देवबहादुर लामिछानेको होइन, खास विषय अनुशासनको हो । कुनै पनि सङ्घसंस्था चलाउन विधान, नियम, पद्धति, प्रणाली बनाइएको हुन्छ । उहाँहरू विधान, पद्धतिभन्दा बाहिर जानुभयो । अनुशासनमा रहनुभएन । यहाँसम्म कि उहाँहरूले पहिल्यैदेखि बेग्लै समानान्तर संरचनासमेत निर्माण गर्नुभएको रहेछर । त्यही कारणले बारम्बारको चेतावनीका बाबजुद अनुशासन उल्लङ्घनका घटनालाई रोक्नुभएनर । विधान, अनुशासन उल्लङ्घन गर्दै गएको हुँदा हामीले उहाँहरूलाई सङ्गठनबाट निष्काशन गर्नुपर्‍यो ।

सातौँ अखिल भारत सम्मेलनद्वारा निर्वाचित केन्द्रीय अध्यक्ष मित्रलाल शर्माको निधनपछि ८ मे २०१६ को बैठकले दुर्गाबहादुर केसीलाई अध्यक्षमा चयन गरेको थियो । सम्मेलनद्वारा निर्वाचित पूणर् सदस्य मित्रलाल शर्मालगायत ४ जना पूणर् सदस्यहरूको निधन, केही सदस्यहरूको नेपाल सरुवा र देवबहादुर लगायत तीन जनालाई अनुशासनको कारबाही भएको हुँदा ४ जुलाई २०२१ का दिन भेला गरी केन्द्रीय समिति पुनर्गठन गरिएको थियो । तर उहाँहरूले जनतामा भ्रम सिर्जना गर्न केही व्यक्तिहरूको सहभागितामा गोरखपुरमा भेला गरी मूल प्रवाहको नाम, झन्डा प्रयोग गर्दै भारतस्थित सिधासाधा कार्यकर्तालाई भ्रम दिने काम गरेका छन् । जबकि उनीहरूले त्यो भन्दा पहिल्यैदेखि नै समानान्तार गतिविधि गर्दै आएका थिए । आफै उपस्थित भएर सम्पन्न भएको बैठकबाट अध्यक्ष चुनेको अध्यक्षलाई टिके अध्यक्ष भनेर भ्रम छर्ने कोसिस गरेका छन् तर उनीहरूले दिएको यस प्रकारको भ्रमलाई चिर्दै दक्षिण भारतलगायत सम्पूणर् भारतस्थित नेपालीहरू आठौँ अखिल भारत सम्मेलनको तयारीमा जुटेका छन् ।

० उनीहरूले पनि यही सङ्गठनको नामबाट गतिविधि सञ्चालन गरिरहेका छन् । भारतस्थित नेपालीले तपाईंहरू नै आधिकारिक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हो भनेर कसरी चिन्ने त ?

– हो । उहाँहरूले पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई नै हाम्रो सङ्गठन हो भनेर भ्रम छर्दै हिँड्नुभएको छ । तर सबैलाई थाहा छ, हाम्रो सङ्गठन दर्ता भएको सङ्गठन हो । त्यति मात्र होइन, केन्द्रीय समिति नै दर्ता छ । यसको रजिस्टे्रसन नम्बर एवम् कार्यालयको ठेगानासहितको प्रमाणपत्र छ । त्यसैले हाम्रो रजिस्ट्रेसन नम्बर प्रयोग गर्नु जालसाजी एवम् गैरकानुनी कार्य हो । यसरी अफिसियल हिसाबले पनि उनीहरूभन्दा हाम्रो कामकारबाही फरक छ ।

हामीहरूको रजिस्ट्रेसन नम्बर देखाएर, सदस्यता प्रमाणपत्र देखाएर, परिचय पत्र वा आइकार्ड देखाएर, समानान्तर समिति निर्माण गरेर मात्र उनीहरू आधिकारिक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हुन सक्दैनन् । त्यसका लागि सर्वप्रथम वैचारिक, सैद्धान्तिक विषयमा प्रष्ट हुनुपर्दछ । नाम र लोगोको नक्कल गरेर मात्र हुँदैन । उनीहरूसित आफूलाई आधिकारिक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भन्ने आधार के छ ? त्यस्तो केही छैन । सङ्गठनको अनुशासनमा रहन बस्न नसकेर निष्काशित अनुशासनविहीनहरूले समानान्तर समिति बनाएको मात्र हो । हाम्रो र उनीहरूमाझको मुख्य फरक यही हो ।

० तपाईं अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पनि अध्यक्ष हुनुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको गतिविधि के कस्ता छन् ?

– अन्तर्राष्ट्रिय नेपाली एकता समाज विश्वभरिका नेपाली एकता समाजहरूलाई नेतृत्व प्रदान गर्ने सङ्गठन हो । यसले भारत र तेस्रो मुलुकका नेपालीहरूको समस्या समाधानका लागि एकीकृत रूपमा सङ्घर्ष गर्दै आइरहेको छ । हामीले नेपाल सरकार र विभिन्न देशका सरकार वा प्रशासनलाई बुझाएका ज्ञापनपत्र पढ्नुभयो भने तपाईंलाई यसबारे जानकारी हुने छ । त्यस क्रममा हामीले पासपोर्ट नचाहिने भारतस्थित नेपालीको समस्या र अर्कोतर्फ, पासपोर्टको आधारमा तेस्रो मुलुकमा पुगेका नेपालीहरूको बेग्लाबेग्लै समस्यालाई एउटै सङ्गठनको ब्यानरमा सम्बन्धित निकायसम्म पुर्‍याउने काम गरिरहेका छौँ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको बैठक लगातार बसिरहेको छ । विदेशस्थित नेपालीहरूको समस्या सम्बन्धित देशको दूतावास र नेपाल सरकारमार्फत् समाधान गर्न हामी क्रियाशील छौँ । नेपाल सरकारका प्रधानमन्त्री, परराष्ट्र मन्त्रीसमक्ष पनि हामी आफ्ना समस्या लिएर पुगेका छौँ । विदेशस्थित नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका विषय पनि उठाइरहेका छौँ । त्यसका साथै मृत्यु भएका वा बिपत्मा परेका नेपालीका समस्या सम्बन्धित देश र नेपालभित्रैबाट समाधान गर्न पनि प्रयासरत छौँ ।

त्यसका अतिरिक्त हाम्रो आन्तरिक सङ्गठनात्मक गतिविधि नियमित रूपमा अगाडि बढिरहेको छ । अहिले भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत सम्मेलन हुँदै छ । जापान नेपाली एकता समाजको राष्ट्रिय सम्मेलन यही मार्च ८, २०२२ का दिन हुँदै छ । बहराइन नेपाली एकता समाजको पनि १८ मार्च २०२२ का दिन सातौँ राष्ट्रिय सम्मेलन हुँदै छ । अन्य देशमा पनि क्रमशः राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छौँ ।

० केही व्यक्तिको टिप्पणी छ : भारतस्थित नेपाली र बाूकी तेस्रो मुलुकका नेपाली (जसलाई देशबाट बाहिरि“दा पासपोर्ट चाहिन्छ) का समस्या बेग्लाबेग्लै छन् । तर अन्तर्राष्ट्रिय नेपाली एकता समाजमा भारत र तेस्रो मुलुक दुवै देशका एकता समाज सहभागी छन् । यी दुवै खाले देशमा रहेका नेपालीको समस्यालाई कसरी संयोजन गरिरहनुभएको छ ?

– यो सत्य हो, भारतबाहेक तेस्रो मुलुकमा जाने नेपालीका समस्या बेग्लै छ । उनीहरू म्यानपावरमार्फत् बाहिर गएका हुन्छन् । कोही सरकारी व्यवस्थापनबाट पनि बाहिर गएका छन् । बैदेसिक रोजगारीमा जाँदाको हकमा यी दुई प्रकारको भिन्नता छ । तेस्रो मुलुकमा जाँदा भिसासम्बन्धी प्रक्रिया पूरा गर्नुपर्छ । तेस्रो देशमा पुगेका नेपालीका समस्यालाई सम्बन्धित दूतावासले हेर्ने गर्दछ । त्यस क्रममा देश देशको नियम, सिस्टम फरक छ । दुबई, मलेसिया, सउदी अरब, जापान, बहराइन, कुवेत, बेलायत, चीन, बङ्गलादेश, ओमन, कतार, अस्टे्रलिया, दक्षिण कोरिया, अमेरिका, हङकङ, थाइल्यान्ड, बेल्जियम—यी अलग अलग देशमा अलग अलग नियम छन् ।

तर यी देशमा गएका नेपालीमाथि पनि विभेद, अन्याय हुने गर्दछ । कतिपय देशमा राम्रो व्यवस्था पनि छ । खासगरी युरोपियन मुलुकमा नेपालीहरूका लागि राम्रो वातावरण छ तर समग्रमा नेपालीको अवस्था चिन्ताजनक छ । कैयौँ नेपालीहरू बाकसमा बन्द भएर आउँछन् । पासपोर्ट बनाएर गएका नेपालीका बारेमा पनि अर्थात् तिनीहरूको समस्याको बारेमा नेपाल सरकार जिम्मेवार बनेको देखिन्न ।

यता, भारतस्थित नेपालीका समस्या पनि यही प्रकारको छ । त्यसबारे मैले माथि नै उल्लेख गरिसकेँ । त्यसकारण हामीले भारत र तेस्रो मुलुकका नेपालीका सङ्गठनलाई आवश्यक निर्देशन, नियमन वा नियन्त्रण गर्नका अन्तर्राष्ट्रिय नेपाली एकता समाज गठन गरेका हौँ ।

० अन्तमा, युगदर्शनमार्फत भन्नुपर्ने केही विषय छुटेका छन् कि ?

– कुनै समय नेपालमा झन्डै दुईतिहाइ बहुमत लिएर बनेको नामधारी कम्युनिस्ट समीकरणको सरकार थियो । खासगरी, तत्कालीन एमाले र माओवादी मिलेर त्यो सरकार बनेको थियो । त्यो सरकारले पनि राजेगारीको योजना बनाउन त कुरै छाडौँ, आफ्नै सरकारसमेत टिकाउन सकेन । यसबाट हामीले बुझेका छौँ ः नेपाली जनता सचेत हुनु आवश्यक छ । विदेशमा पनि नेपालीहरूको स्थिति जटिल छ । हामीले भारतलगायत विश्वभरि छरिएका नेपालीका समस्या समाधानका लागि निरन्तर प्रयास गरिरहेका छौँ ।

एकता समाजको गतिविधिलाई यस प्रकाशनले स्थान दिँदै आएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत सम्मेलनको प्रचार प्रचार पनि यस प्रकाशन मार्फत हुँदै आएको छ । राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि पनि यसले निरन्तर सामग्री प्रकाशन गर्दै आएको छ । म यस मिडियाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार