काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी दर्ता हुँदै छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । तीमध्ये १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन गर्न लागिएको हो । बाँकी एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ ।
राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश ५ मा शिव पौडेल र गण्डकी प्रदेशमा शंकर बरालले उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ।
सत्तारुढ नेकपा र मधेश केन्द्रित दल राजपाले राष्ट्रिय सभामा तालमेल गरेका छन् । त्यसमध्ये प्रदेश २ मा सत्तारुढ नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा) ले २/२ सिट बाँडफाँट गरेका हुन् । यस्तै, प्रतिपक्षी नेपाली कांग्रेस र अर्को मधेश केन्द्रित दल समाजवादीले पनि तालमेल गरेर निर्वाचनमा सहभागी हुँदैछन् ।
राष्ट्रियसभामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर तथा प्रदेशसभाका सांसदले मत दिन्छन्, गाउँपालिकाको भन्दा प्रदेशसभा सांसदको मतभार बढी हुन्छ । जसमा गाउँपालिकाको २.६६ मत बराबर प्रदेश सभाको १ मत हुन्छ । नेकपाको ६ वटा प्रदेशमा बहुमत छ र बढी स्थानीय तहको प्रमुख उपप्रमुख पनि रहेका छन् ।