कपिलवस्तु । राष्ट्रिय जनमोर्चा विजयनगरले सुकुम्बासी समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । राजमो जिल्ला समितिको कार्यक्रम अनुसार आइतबार नगरपालिका र गाउँपालिकामा ध्यान आकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।
कपिलवस्तुले स्थानीय तहलाई, सुकुम्बासी समस्या समाधान गर्न तथा सुकुम्बासी आयोगलाई सुकुम्बासीको डाटा पठाउन माग गरेको छ । साथै ज्ञापन पत्रमा महँगी, भष्ट्राचार, नियन्त्रण गर्न, नागरिकता विधेयक खारेज गर्नसमेत माग राखिएको छ ।
राजमो विजयनगर गाँउपालिकाका अध्यक्ष गोविन्द परियारको नेतृत्वमा गएको टोलीले गाउँपालिका अध्यक्ष गोपाल थापा समक्ष ज्ञापन पत्र बुझाएको छ । टोलीमा जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिलबहादुर विक, परेश्वरी यादव, सूर्यबहादुर जिसी, मनीषा कोरी लगायत रहनुभएको थियो ।
जिल्लामा भूमि आयोग क्रियाशील हुँदा पनि नगरपालिका र गाउँपालिकाबाट डाटा पठाउन ढिला भएको भूमि आयोगका अध्यक्ष शिव पौडेलले बताउनु भएको छ । विभिन्न पालिकामार्फत सरकारलाई ज्ञापन पत्र पठाइरहेको राजमोले पूर्वघोषित कार्यक्रम अन्तरगत यही २४ गते राजमोले जिल्ला प्रशासन कार्यालय तौलिहवामा ज्ञापन पत्र बुझाउने र विरोध सभा गर्ने जनाएको छ ।