काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिगमनको विरुद्धका गठित पाँचदलीय सहकार्य आगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा पनि आवश्यक रहेको बताएको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७९ साउन २२ गते जारी प्रेसवक्तव्यमा राजमोको यस्तो अवधारणा सार्वजनिक भएको हो ।
प्रेसवक्तव्यमा सरकारद्वारा मङ्सिर ४ गतेको मितिमा चुनाव घोषणा गरेकोमा स्वागत गरेको छ भने उक्त चुनावमा प्रतिगमन विरोधी मोर्चाको रूपमा पाँचदलीय सहकार्य आवश्यक रहेको र त्यसका लागि गत चुनाव भएका कमी–कमजोरीमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
राजमोका लागि चुनावमा जितहारले भन्दा पनि प्रतिगमन विरुद्धको सङ्घर्षले महत्त्व राख्ने बताउँदै यदि उम्मेदवारको बारेमा सहमति नभए राजमो एक्लै चुनाव लड्न सक्ने बताइएको छ ।
यस्तो छ, अध्यक्ष केसीद्वारा जारी प्रेसवक्तव्यको पूर्ण पाठ :
“सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाका चुनाव गर्ने भनी गरेको घोषणालाई हामो पार्टी राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । चुनावलाई निष्पक्ष, धाँधलीरहित र मितव्ययी बनाउन सकेमा मात्र त्यसको परिणाम सन्तोषजनक हुने छ । विगतमा भएका कतिपय चुनाव र गत चुनावमा पनि पैसाको व्यापक दुरूपयोग, मतदाताको खरिदबिक्री तथा धाँधलीपूर्ण हुने जस्ता घटना भएमा वा विगतका चुनावका गल्ती र कमजोरी पुनः दोहोरिएमा चुनावको परिणाम सन्तोषजनक नरहने कुरा स्पष्ट छ । यदि त्यसो भयो भने त्यसले देशको राजनीतिमा गम्भीर र नकारात्मक प्रभाव पार्ने छ । त्यसो हुन नदिनका लागि विगतका कमजोरी र अनियमिततालाई रोक्न निर्वाचन आयोग र सरकारले समेत प्रभावकारी भूमिका खेल्नुपर्नेमा हामीले जोड दिन्छौँ ।
देशमा अहिले पनि प्रतिगमनको गम्भीर खतरा रहेकाले त्यसका विरुद्ध सङ्घर्षमा रहेका शक्तिबिच आगामी चुनावमा समेत तालमेल गरिनुपर्दछ भन्ने हाम्रो पार्टीको दृढ मत रहेको छ । देशमा प्रतिगामी राजनीतिलाई स्थापित गर्नका लागि राजावादीहरूले लामो समयदेखि अभियान चलाउँदै आएका छन् तर उनीहरू एक्लैको बलले त्यस प्रकारको उद्देश्य पूरा नहुने भएकाले उनीहरूले देशलाई प्रतिगमनको दिशातिर लैजाने अन्य शक्तिको समेत आड लिने प्रयत्न गर्दै आएका छन् । ओली नेतृत्वको एमालेले प्रतिगमनको दिशामा आफ्ना गतिविधि बढाउँदै लगेकाले राजावादीहरूले त्यसलाई समर्थन गर्न थालेका छन् । राजावादीहरूको राजतन्त्र र हिन्दु राज्य स्थापना गर्ने उद्देश्यलाई भारतका कट्टर हिन्दुवादी शासकहरूले पनि समर्थन जनाउँदै आएका छन् । त्यो सन्दर्भमा एमालेले धर्मका साथै राष्ट्रियतालाई पनि मुद्दा बनाएर आगामी चुनाव लड्ने नीति लिएको भन्ने कुरा सार्वजनिक भएको छ । यसबाट ओलीले प्रतिगमनको दिशा लिएको हाम्रो विश्लेषण सही भएको पुष्टि हुन गएको छ । त्यसरी धर्म निरपेक्षताको ठाउँमा हिन्दु राज्य र गणतन्त्रको ठाउँमा राजतन्त्र स्थापना गर्ने राजावादीहरूको उद्देश्यलाई ओलीको प्रतिगामी राजनीतिले मदत गरेकाले नै राजावादीहरूले ओलीलाई समर्थन गरेको कुरामा कुनै शङ्का रहन्न । आगामी चुनावमा प्रतिगामी पक्षको विजय भएमा उनीहरूले देशलाई प्रतिगमनको दिशामा लैजानको साथै जनताका आन्दोलनका उपलब्धि समाप्त भएर जाने कुरा निश्चित छ ।
एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा स्पष्ट छ । एमसिसी र नागरिकता विधेयकमा एमालेको पूरा समर्थन रहेकाले नै ती दुवै कुरा संसद्बाट पारित हुँदा त्यसले कुनै भूमिका खेलेको थिएन वा संसदमा मौन रहेको थियो । लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा सामेलगरी चुच्चे नक्सा पारित गर्नका लागि देशमा पहिलेदेखि नै सङ्घर्ष र आन्दोलन हुँदै आएका थिए । जनताको दबाबका कारणले आफ्नो सरकार भएको बेलामा ओली त्यो चुच्चे नक्सा पारित गर्न बाध्य भएको भए पनि उक्त चुच्चे नक्सा सामेल गरिएको पाठ्यक्रम प्रकाशन गर्न उनीहरूले लगाएको रोकबाट उनीहरूको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा प्रष्ट छ । विगतमा ओलीले संसद्का विरुद्ध अपनाएका नीति, संविधानको उल्लङ्घन, सर्वोच्चको फैसलाको उल्लङ्घन र संसद् पुनस्र्थापना भइसकेपछि पनि संसद्मा गरेको अवरोध तथा राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध चलाउँदै आएको अभियानलाई विचार गर्दा देशमा प्रतिगमनको खतरा गम्भीर भएको कुरामा शङ्का छैन । त्यो स्थितिमा त्यसलाई पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता बन्न गएको छ । उक्त राष्ट्रिय आवश्यकतालाई पूरा गर्न पाँच दलका बिचमा प्रतिगमन विरोधी एकतालाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । आगामी चुनावलाई त्यही आन्दोलनको एउटा रूपमा लिएर पाँच दलबिच चुनावी तालमेल हुनपर्छ भन्ने हामो मत रहेको छ ।
हामीले अहिले चुनावी तालमेल गरेका पक्षसित हाम्रा गम्भीर मतभेद रहेको कुरा स्पष्ट गर्दै आएका छौँ । सङ्घीयता, एमसिसी, नागरिकता विधेयकमा हाम्राबिचमा तीव्र मतभेद छन् तर पनि प्रतिगमनको विषयमा उनीहरूसँग हाम्रो सहकार्य हुँदै आएको छ । हाम्रो त्यो नीति विरोधीहरूसित विरोधका बिचबाट गरिने सहकार्य हामीले अपनाउँदै आएको कार्यनीति हो, जुन सही र वस्तुनिष्ठ रहेको छ ।
हामीले मुख्यगरी पाँचदलीय चुनावी तालमेल हुनुपर्छ भन्नेमा नै जोड दिन्छौँ । राजावादी र एमालेसित हाम्रो कुनै पनि चुनावी तालमेल हुने छैन । चुनावी तालमेलमा पाँच दलबिच विगतमा देखिएका कतिपय असमझदारी, इमान्दारिताको अभाव, स्वीकृत नीति विपरीतका कार्य भएमा वा त्यस प्रकारको अवस्था आएमा हामीले एक्लै पनि चुनाव लड्ने छौँ । हामीले त्यस प्रकारले आफ्नो तयारीलाई पनि अगाडि बढाएका छौँ । चुनावमा जित र हारको प्रश्नलाई भन्दा नीति र राजनीतिलाई नै हामीले महत्त्व दिने गर्दछौँ । आगामी चुनावमा पनि त्यही प्रकारले हामी अगाडि बढ्ने छौँ । राष्ट्रिय जनमोर्चाले इमानदारितापूर्वक देश र जनताको पक्षमा भूमिका खेल्दै आएको गौरवपूर्ण इतिहास छ । त्यसैले त्यसलाई जनताको समर्थन र विश्वास प्राप्त हुने छ भन्ने हामीले विश्वास गरेका छौँ ।
अन्तमा, पाँच दलभित्रका अन्य पक्षसित हाम्रा गम्भीर प्रकारका मतभेद भए पनि वा चुनावी तालमेलको बेलामा कतिपय प्रश्नमा उनीहरूमा इमान्दारिताको कमी देखिएको भए पनि अहिले देशमा देखा परेको गम्भीर प्रकारको प्रतिगमनको खतरा र त्यसलाई निर्णायक रूपले पराजित गर्नुपर्ने आवश्यकतामाथि ध्यान दिँदै पाँचदलीय चुनावी तालमेललाई सफल पार्नका लागि हामीले पूरा प्रयत्न गर्ने छौँ ।”