काठमाडौं । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले उचित तरिकाले सिट बाँडफाँट नभए गठबन्धनको पछि नलाग्ने स्पष्ट पार्नुभएको छ ।
बुधबार बसेको पाँचदलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठकपछि सचिव पुरीको यस्तो चेतावनी आएको हो ।
कार्यदलका सदस्यसमेत रहेका सचिव पुरीले आगामी निर्वाचनसम्म गठबन्धन आवश्यक रहेको तर सिट बाँडफाँट सम्मानजनक हुनुपर्ने बताउनुभयो । उहाँले गठबन्धनको आवश्यकता र औचित्यताको बारेमा जनतालाई जानकारी दिने गरि वक्तव्य जारि गर्ने सहमति भएको जानकारी दिनुभयो ।
उहाँले हरेक राजनीतिक दलले यति सिट चाहिन्छ भनेर माग गरिरहेको भएपनि राजमोले भने सिट संख्या भन्दा पनि बाँडफाँटको विधि निर्धारण गर्न आग्रह गरेको जानकारी दिनुभयो ।
‘राष्ट्रिय जनमोर्चाले पनि उचित तरिकाले सिट विभाजन भएन भने गठबन्धनकै पछि नलाग्ने चुनौति दिएको छ’ सचिव पुरीले भन्नुभयो, ‘हरेक राजनीतिक दलले हामीलाई यति सिट चाहिन्छ उति सिट चाहिन्छ भनेर सिट बाँडफाँट गर्ने प्रस्ताव गरेका छन्। तर त्यो विषय हामीले राखेका छैनौँ ।’
उहाँले आजको बैठकमा होमवर्क पुरा नभएकोले सिट बाँडफाँटको प्रस्ताव पेश नभएको बताउनुभयो ।
‘होमवर्क पूरा नभएको भनेर सिट बाँडफाँटको ठोस प्रस्ताव पेश भएन। चाँडै नै बैठक बसेर टुंङ्गो लगाउने कुरा भएको छ’ उहाँले भन्नुभयो ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको गठबन्धन कार्यदलले सो सम्बन्धी आफ्नो हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने जनाएको छ । कार्यदलले सिट बाँडफाँडको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने निर्णय गरेको हो ।
अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी हालसम्म भएको प्रगति विवरण शिर्ष तहमा बुझाउने सहमति गरिएको बताइएको छ ।
शिर्ष तहमा प्रगति विवरण बुझाएपछि बस्ने बैठकले सो बारे आवश्यक निर्णय गर्ने पनि कार्यदलले जनाएको छ ।
कार्यदलमा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने सहमति गरेका बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतीमा पुग्ने जनाएको छ ।