नागरिकता बनाएँ
बनाएँ राहदानी
म पनि जान्छु अब
खाडीको बालुवाखानी
तेरो भरमा मेरो घर चलेन सरकार
म दीन–दुःखीको अब तँलाई के दरकार !
पुर्खा कहिले लाहुरे बने, कहिले हाड घोट्न काला पहाड गए
मैले पनि अब उनीहरूकै पाइला पछ्याउने भएँ ।
रेमिट्यान्स पठाऊँला, खर्च चलाउनू
मेरो रगत र आँसुको मान–मनितो राख्नू ।
बाँचे रहर अनि कहरको तँलाई वार्षिक कर तिरूँला
मरे रातो बाकसमा घर फर्कूंला–
यो शहर त रहेछ
खानदानीहरूको राजधानी
म पनि जान्छु अब
खाडीको बालुवाखानी
बन्धकी राख्या’छु घर–खेतबारी
साहुलाई बुझाको छु अन्नको भकारी ।
मेरो पसिना आइन्दा बग्ने भो साउदीको मरुभूमिमा
एक टुक्रा धर्ती रहेन आफ्नै जन्मभूमिमा ।
जिन्दगीको हिसाबकिताब यता कहिल्यै नमिल्ने
नियतिको बही खाता मिलाउन म त अब उतै सुइँकिने ।
सरकारले उता नजा भनेन
राज्यले यता नागरिक गनेन ।
मेरो हारगुहार सुन्ने आफन्त नै रहेन स्वदेशमा
थाहा छैन, कसलाई आफ्नो ठान्ने हो परदेशमा–
दुःख र पीडा नै रहेछ
मेरो जीवनको कुल आम्दानी
म पनि जान्छु अब
खाडीको बालुवाखानी
गाँस–बास–कपास त एकादेशको कथा भो
यो जुनी ऋणको ब्याज र स्याजको अनन्त ब्यथा भो ।
बिचौलिया र दलालहरूकै मुलुकमा राज छ
घुसखोरी अनि भ्रष्टाचारीहरूकै चर्काे आवाज छ ।
जन्मदै थाप्लोमा थोपरिने ऋण राज्यको नासो भो
पाइला–पाइलामा राज्यलाई तिर्ने कर घाँटीको पासो भो ।
तैपनि सिंहदरबारलाई मेरो घरबारको चासो रहेन
खैर, सिंह–स्याल–ब्वाँसोहरूसित मेरो कुनै गुनासो रहेन–
युगको यो कस्तो कहानी
कति सस्तो यो जिन्दगानी
म पनि जान्छु अब
खाडीको बालुवाखानी
जहान–परिवारमाझ सुख ल्याउनु छ
जोरीपारीमाझ मुख देखाउनु छ ।
म्यानपावर कम्पनीलाई कमिसन बुझाइसकेँ
क्लिनिकमा मुटु–कलेजो–मिर्गाैला जँचाइसकेँ ।
श्रम विभागको ढोकामा आफ्नो पालो कुर्नु छ
अब त केवल भिसाको साइत जुर्नु छ ।
गाउँ/देशमा केटाकेटी र बुढाबुढी मात्र रहून्
सरकारलाई सरोकार रहेन
दूर–सुदूर जाने मजस्तो मजदुरको राज्यलाई कुनै दरकार परेन ।
राज्यमा हालीमुहाली गर्ने राजदैत्यहरूको मलाई बालै भएन
दैत्यराजको भजन गाउने अब त सवालै रहेन–
नष्ट भई जाने यो जवानी
अन्त्यमा फगत धुवाँ र खरानी
म पनि जान्छु अब
खाडीको बालुवाखानी
यहाँ सत्ता र भत्ता हुनेखानेको छ
बिचल्ली त केवल हुँदा खानेको छ ।
सुदखोरहरूको जाली–कपाली तमसुकमा ल्याप्चे लगाएर आफैँलाई उनीहरूको दास बनाएँ
यो दुखियाको एकबारको जुनी निजहरूले नै उजाड–उदास बनाए ।
निजामती र लोक सेवाले कलम खोसे,
नियतिले खोसिदियो कुटो र कोदाली
मबिना अब शोकसन्तप्त रहने भए खेतहरूका गह्रा, कान्ला र आली ।
मजस्ताहरूवा–चरुवाहरू परदेशमा
राजस्व हसुर्ने राज–खन्चुवाहरू स्वदेशमा !
यो विडम्बना, यो देशको रीत हो
अब त मेरो सुस्केरा नै
मेरो एकान्तको गीत हो, मेरो मन–मीत हो–
हे नाथ, अनाथ भएँ
रक्षा गर दुर्गे भवानी
म पनि जान्छु अब
खाडीको बालुवाखानी ।