दोहा । ‘मे दिवसको क्रान्तिकारी परम्परालाई अगाडि बढाउँ, मजदुर विरोधी कानुनको विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ कतार नेपाली एकता समाजले १३४ औं श्रमिक दिवस मनाएको छ ।
सनैया स्थित फूलवारी रेस्टुरेन्टको सभाहलमा मे १ का दिन कतारमा रहेका नेपाली श्रमिक तथा एकता समाजमा आबद्ध व्यक्तिहरुको उपस्थितिमा श्रमिक दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनले अमेरिकाको सिकागो सहरबाट सुरु भएको ८ घन्टा काम, ८ घन्टा आराम, ८ घन्टा मनोरञ्जनलाई सबैले निरन्तरता दिनुपर्ने भन्दै सन् १८८६ मा मजदुर विरोधी कानुनको विरुद्ध संघर्ष गर्दा लाखौं मानिसले ज्यान गुमाएको बताउनुभयो ।
आफ्ना हक अधिकारी पाउनको निम्ति वर्ग संघर्ष गर्न पछि पर्न नहुने, संसार भरका मजदुर एकजुट भएर लागेको खण्डमा श्रमिक हरुको जित हुने पुनले बताउनुभयो । अन्तर्राष्ट्रिय एकता समाज लगाएत विश्वभरी रहेका एकता समाजहरुले मजदुर दिवस मनाएको उल्लेख गर्दै आफ्नो हक हित र कतारको कानुनभित्र रहेर यो सङ्गठनमा आबद्ध भएर सबै श्रमिकहरुको हितमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
समाजका कार्यवाहक अध्यक्ष रामप्रसाद पराजुलीको अध्यक्षता तथा सचिव मीनराज पुनको स्वागत मन्तव्य रहेको कार्यक्रममा लक्ष्मण कोइराला, टुक बहादुर थापा, हिरा शर्मा, पत्रकार महासंघ कतार सचिव अर्जुन पौडेल हरि शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
समाजका महासचिव खिम बुढाले सञ्चालन गरेको कार्यक्रममा बोल्दै अध्यक्ष रामप्रसाद पराजुलीले आफ्नो सङ्गठनले प्रवासमा रहेका श्रमिक नेपालीहरुको हक अधिकारको निम्ति अग्रपंक्तिमा रहेर काम गरिरहेको बताउनुभयो । साथै तेस्रो महाधिवेशन आउँदो बक्रे इदमा गर्न गइरहेको जानकारी दिँदै सदस्यता प्रदान गर्न र कार्यक्रमलाई सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।
श्रमिक दिवस अर्थात मे १ लाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ । सिकागोको हेमाक्रेटामा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आममानिसको सम्झनामा यस दिवसलाई मनाइने गरिन्छ।