आधा देश देखिदैन 

 हेम बिजी  
आफ्नै भूगोल माथि उभिएर
हेरिरहेको छु देश
पूर्वमा टिष्टा देखिदैन
पश्चिममा काँगडा देखिदैन
हजारौं हजार पटक
आफ्नै भूगोल माथि उभिएर
हेरिरहेको छु देश
आजकाल
आधा देश देखिदैन ।
धरोहरको टुप्पोमा चढेर
हेरिरहेको छु देश
कालापानी देखिदैन
लिपुलेक देखिदैन
देखिदैन लिम्पियाधुरा
हजारौं हजार पटक
धरोहरको टुप्पोमा चढेर
हेरिरहेको छु देश
आजकाल
आधा देश देखिदैन ।
भरखर
सगरमाथा शिखर चढेर ओर्लिएका
एक जना
देशभक्त आरोहणीलाई सोधे
देखियो त देश भित्र
लुम्बिनी
कपिलवस्तु
र विराटनगरका भूभागहरू
उनले
हजारौं हजार पटक भने
आजकाल
आधा देश देखिदैन ।
आजकाल
घुम्ने मेच माथि अन्धा मान्छेहरु छन्
तब
देश लुटिदा लुकेका छन्
सिमा मिचिदा  मौन छन्
हजारौं हजार पटक
विदेश संग बिन्ति पत्र बिछ्याएका छन्
अर्थात
साटेका छन् सत्ता संग देश
त्यसैले
आजकाल
आधा देश भेटिदैन
आधा देश देखिदैन ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार