काठमाडौं । साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासअघि गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।
मृत्यु हुने नेपाली नागरिक दूतावासका लागि कार्यरत निजी सुरक्षागार्ड भएको बताइएको छ। तर, उनको परिचय खुलाइएको छैन ।
बुधबार दिउँसो भएको सो घटनामा नेपाली सुरक्षागार्डसहित बन्दुकधारीको पनि मृत्यु भएको छ ।
साउदीन्युजका अनुसार जेद्दास्थित दूतावास नजिकै एक हतियारधारी व्यक्ति आएर कार पार्क गरेको थियो। बन्दुक बोकेर कारबाट निस्किएको त्यो व्यक्तिलाई सुरक्षाकर्मीले सामान्य सम्झाइबुझाइ गरे। त्यसै क्रममा उसले सुरक्षागार्डमाथि गोली चलाएको थियो ।
जवाफमा सुरक्षाकर्मीले चलाएको गोली लागेर उक्त बन्दुकधारी व्यक्तिको पनि मृत्यु भएको मक्कास्थित प्रहरी प्रवक्ताले बताएका छन्।
मक्का क्षेत्रको प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ।