गौरिकुण्डमा पुरिएकाको खोजीमा खटियो मूल प्रवाह

रुद्रप्रयाग गौरिकुण्ड । गत तीन अगस्तमा गएको उत्तराखण्डमा रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी ज्यान गुमाएका र लापत्ताहरूको खोजबीनका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रतिनिधि टोली घट्नास्थलमा पुगेको छ ।

केन्द्रीय सदस्य तारा सोमरे र सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका केअर सिंह जिएम लगायतका साथीहरु सहितको टोली उक्त छानविन कार्यका लागि केन्द्रीय कार्यालयबाट खटाइएको थियो ।

प्रतिनिधि टोलीले छानविनको दौरानमा टेक बहादुर कामी, प्रकाश टमटा, देवी कामीको ज्यान गएको जानकारी हुन आएको छ । त्यस्तै अमर बोहोरा, अनिता बोहोरा, राधिका बोहोरा, पिंकी बोहोरा, पृथ्वी बोहोरा, जटिल बोहोरा, वकिल बोहोरा, सुगाराम, बमसिंह बोहरा, चन्द्र कामी, धर्मराज, निर बहादुर, सुमित्रादेवी, निशा, रोहित विष्ट, कणर् बहादुर सुनार लगायत कतिपय स्थानीय पनि लापत्ता भएको बताइएको छ । स्थानीय प्रशासन लापत्ताहरुको खोजविनको लागि मन्दाकिनी नदिमा लागिपरेका छन् ।

उक्त दिन राती ११ बजेर ३० मिनेटको समयमा भारि वर्षको कारण गएको पहिरोमा तीनवटा रोडसाइड होटल परेको छ । जसमा कामगार एवं ओत लागेर बसेकाहरू सहित २३ जना पहिरोमा पुरिएका छन् । जसमध्य तीन जनाको शव बरामद भएको छ । अन्यको खोजी कार्य चलिरहेको टोलीले स्थानीय प्रशासनसँग सहकार्य गरि लापत्ता भएकाहरुको खोजविन कार्य अगाडि बढाइएको मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेले जानकारी दिनुभएको छ । घटनाबाट प्रभावितहरुलाई उचित क्षतिपूर्तिको लागि मूल प्रवाहले प्रशासनसँग माग गरेको छ ।

स्मरण रहोस्ः बद्रिनाथ मन्दीरमा जानका लागि गौरिकुण्डसम्म सड्क मार्गबाट र त्यहाँदेखि पैदल यात्रा गर्नु पर्ने, असक्तहरु खच्चर वा मानिसलाई बोकाएर मन्दीर पुग्ने गर्दछन् । कैयौं नेपालीहरुले कुल्लीको कामको साथै होटल सञ्चालन गरि जीवीकोपार्जन गरेकोमा पहिरोबाट प्रभावित हुने तीनवटै होटल नेपालीहरुबाट सञ्चालित थियो । र, स-परिवार पहिरोमा पुरिएका छन् ।

राष्ट्रिय जनमोर्चाको श्रद्धाञ्जली :

राष्ट्रिय जनमोर्चाले उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी ज्यान गुमाएका नेपालीहरूप्रति भावपूणर् श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसका साथै राजमोले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ ।

उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० साउन २२ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको हो ।

वक्तव्यमार्फत् राजमोले घाइतेको उपचार, स्वास्थ्यलाभको कामना र उद्धारकार्यलाई तीव्र बनाउन भारत सरकार र प्रशासनसमक्ष माग गरेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उक्त घटनाप्रति आवश्यक पहलकदमी लिएकोमा राजमोले प्रशन्नता व्यक्त गरेको छ ।

त्यस्तै, राजमोले देशभित्रै रोजगारीको अवसर सृजना गरी नेपाली युवाको विदेश पलायन रोक्न तथा यस खालका घटना घट्दा कूटनीतिक पहलकदमी गरी तत्काल उद्धारकार्यमा ध्यान दिन नेपाल सरकारसित पनि अनुरोध गरेको छ ।
यस्तो छ, राजमोको प्रेसवक्तव्यको पूणर् पाठ ः

“गत २०८० साउन १८ गते बिहीबार राति परेको अविरल वर्षाका कारण भारत उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्ड क्षेत्रमा पहिरो जाँदा दर्जनौँ नेपाली बेपत्ता भएको, त्यसमध्ये कतिपयको बेपत्ता नेपालीको पहिचान खुलेको घटनाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।

राष्ट्रिय जनमोर्चा उक्त घटनामा ज्यान गुमाउने नेपालीप्रति भावपूणर् श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ । उक्त घटनामा घाइते नेपालीको उपचार तथा शीघ्र स्वास्थ्यलाभको कामना र उद्धारकार्यलाई गति दिन भारतीय सरकार तथा प्रशासनसित अनुरोध गर्दछ ।

हामीलाई यस विषयमा प्रशन्नता छ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उत्तराखण्डको उक्त घटनाको सन्दर्भमा उद्धार तथा आवश्यक सहयोगका लागि पहलकदमी गरिरहेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उक्त घटनाको सन्दर्भमा आवश्यक सक्रियतालाई तीव्रता दिनेमा पनि हामी विश्वस्त छौँ ।

भारतको उत्तराखण्डमा पश्चिम नेपालमा हजारौँ नेपालीहरू जाने गरेका छन् । नेपालमा रोजगारीको व्यवस्था नभएको कारणले नै नेपालीहरू उत्तराखण्डमा पुग्ने गरेका हुन् । त्यहाँ पुगेर पनि उनीहरूले शारीरिक रूपमा अत्यन्त कठिन काममा संलग्न हुँदै आइरहेका छन् । अहिले पहिरो गएको क्षेत्रमा पनि नेपालीहरूले घोडामार्फत् भारी ओसारपसार गर्ने, होटेल सञ्चालन गर्ने र आफै भारी बोक्ने काम गर्ने गरेका छन् ।

राष्ट्रिय जनमोर्चा नेपाली नागरिकका लागि देशभित्रै रोजगारीको अवसर सृजना गर्न तथा त्यस्तो व्यवस्था हुनुभन्दा पहिला यस खालका बिपत्जन्य घटनामा परेका प्रभावित नेपालीको पक्षमा तदारुकताका साथ ठोस कदम उठाउन नेपाल सरकारसमक्ष माग गर्दछ ।

रुद्रप्रयाग गौरीकुण्ड पहिरोको सन्दर्भमा नेपाल सरकारले भारत सरकारसित कूटनीतिक पहलदमी गरेर मृतकलाई क्षतिपूर्ति दिलाउने, घाइतेको उपचार गर्ने र बेपत्ताको खोजी गर्ने व्यवस्था मिलाउन हामी माग गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार