एमसीसी कार्यान्वयन हुन नदिन मसालको आह्वान, १३ गते देशब्यापी आन्दोलन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अमेरिकी परियोजना एमसीसी कार्यान्वयन हुन नदिन आह्वान गरेको छ ।

गतवर्ष संसदबाट १२ बुँदे ब्याख्यात्मक घोषणासहित पारित भएको विवादति अमेरिकी परियोजना एमसीसी पास हुन नदिन मसालले लगातार आन्दोलन गर्दै आएको थियो ।

एमसीसी कार्यान्वयन गर्ने दिन भदौ १३ गते राष्ट्रिय जनमोर्चाले देशब्यापी विरोधका कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमलाई सफल पार्नसमेत मसालले आह्वान गरेको छ।

प्रवक्ता रामप्रकाश पुरीले शनिबार विज्ञप्ति प्रकाशित गरी ‘एमसीसीलाई खारेज गराउनका लागि देशभक्तिपूर्ण आन्दोलनलाई उच्च बनाउनुपर्ने आवश्यकता’ औँल्याउनुभएको छ।

विज्ञप्तिमा भनिएको छ,

“गत वर्ष नेपालको संसदबाट एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) पारित गराइसकेपछि अहिले त्यसलाई लागू गराउने प्रक्रियामा अगाडि बढाइएको छ । एमसीसी नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हित विपरित रहेकोले त्यसको खारेजी हुनुपर्छ भनेर हाम्रो पार्टीले त्यसका विरुद्ध सडक र सदनमा संघर्ष गर्दै आएको छ ।

देशभक्त नेपाली जनताले पनि त्यसका विरुद्ध आवाज उठाउनुको साथै संघर्ष गर्दै आएका छन् । अहिले एमसीसी लागू गराउने प्रक्रिया अगाडि बढाइएकोले देशको राष्ट्रियता गम्भीर समस्यातर्फ धकेलिएको छ । त्यसैले एमसीसीलाई खारेज गराउनका लागि देशभक्तिपूर्ण आन्दोलनलाई उच्च बनाउनुपर्ने आवश्यकता भएको छ । यस सन्दर्भमा भाद्र १३ गते राष्ट्रिय जनमोर्चाका तर्फबाट देशव्यापी रुपमा सम्पन्न हुने विरोध कार्यक्रमलाई सफल पार्नका लागि हामीले सम्पूर्ण देशभक्त जनतालाई हार्दिक अपील गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार