यस वर्षको नोबेल शान्ति पुरस्कार कारागारमा बन्दी इरानी मानवअधिकारकर्मी नर्गेस मोहम्मदीलाई प्रदान गरिएको छ । ५१ वर्षीया नर्गेस मानवअधिकारको क्षेत्रमा काम गरेको भन्दै २०११ देखि कैयौँ पटक जेल परेकी थिइन् ।
नर्गेसलाई इरानमा महिला अधिकार र मानवअधिकारको संरक्षणमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको हो ।
नर्गेस नोबेल पुरस्कार विजेता शिरिन इबादीले स्थापना गरेको ‘डिफेन्डर अफ ह्युमन राइट्स सेन्टर’की उपप्रमुख हुन् । बीबीसीले सार्वजनिक गरेको विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नर्गेसलाई पनि समावेश गरिएको छ ।
नोबेल पुरस्कार विजेता छनोट गर्ने समितिका अनुसार नर्गेस मोहम्मदीले इरानमा महिला उत्पीडनका विरुद्ध धेरै लडाइँ लडेकी छन् र देशमा सबैको मानवअधिकार र स्वतन्त्रताका लागि लड्दै आएकी छन् ।
ओस्लोमा रहेको नर्वेजियन नोबेल कमिटीका प्रमुख बेरिट रेइस एन्डरसनले भने, “इरान सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको छ, पाँच पटक दोषी ठहर गरेको छ र ३१ वर्षको जेल सजाय सुनाएको छ।” उनी अझै जेलमै छिन् ।
नर्गेसलाई शान्ति पुरस्कार दिने नोबेल समितिको यो निर्णय देशमा महिला स्वतन्त्रता आन्दोलन सुरु भएको एक वर्षपछि आएको हो ।
गत वर्ष सेप्टेम्बर २०२२ मा नैतिक प्रहरी हिरासतमा २२ वर्षीया महशा अमिनीको मृत्यु भएपछि यी आन्दोलनहरू सुरु भएका थिए। चाँडै देशभर व्यापक विरोधहरू फैलियो र महिला स्वतन्त्रतादेखि लिएर सत्ताको उल्ट्याउनसम्मका मागहरू थिए।