काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी योगराज ढकाल रिगल राष्ट्रपतिबाट माफी पाएर कारागारमुक्त भएको घटनाले नेपालमा राजनीतिक नेतृत्वले गर्दै आएको अक्षम्य अपराधको पर्दाफास गर्यो । पीडित परिवारले न्यायका लागि आवाज उठाएपछि राजनीतिक आवरणमा भईरहेका अन्य उदाहरणहरु पनि सतहमा आएका छन् ।
चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धर आफ्ना श्रीमानको बिभत्स हत्याको घटना सम्झिदै राजधानीमा आएर डाँको छोडेर रुदै न्याय खोजिरहेकी छन् । न्यायको ढोका ढक्ढकाउन सर्वोच्च अदालत पुग्दा त्यही ढलेर अहिले अस्पतालमा उपचारमा रहेकी भारतीका लागि सर्वोच्चबाट हुने फैसला नै अन्तिम सहारा हुने छ ।
नेपालगञ्जको धम्बोजी चोकमा दिन दहाडै खुँडा हानेर हत्या गर्ने व्यक्तिको दुई तिहाइ कैद सजाय माफी दिने राष्ट्रपति रामचन्द्र पौडेल र सिफारिस गर्ने सरकार दुवै संस्थाको ब्यापक आलोचना भईरहेको छ ।
यो विषयले सडकदेखि सदनसम्म तताएको छ । सो घटनाले नेपालमा राजनीतिक आवरणमा भईरहेका अक्षम्य अभ्यासहरु पनि एकपछि अर्को गर्दै सतहमा ल्याएको छ । जिल्ला अदालत र उच्च अदालतबाट दोषी ठहर भएका र सर्वोच्चमा पुनरावेदनका लागि दिएको मुद्दा आफैले फिर्ता लिएका योगराज ढकालले पाएको २० वर्षको कैद सजायमा उनले जम्मा आठ वर्ष जेलमा विताएका छन् ।
राष्ट्रिय दिवसहरु पारेर कैद सजाय मिनाहा गर्ने परम्पराको गलत प्रयोग गर्दै राष्ट्रपतिले माफी दिएपछि रिहा भएका रिगलको नेपालगञ्जमा जसरी स्वागत भयो त्यो दृष्य झन् डरलाग्दो थियो । आजीवन कानूनी शासनका लागि लडेको भनिएका र आफैं कानूनका स्नातक राष्ट्रपति रामचन्द्र पौडेलले नै कानूनी राजको धज्जी उडाएको आरोप लागिरहेको छ । संविधान दिवस कैदको दिवस भएको पीडितशास्त्री डा. शंकर कुमार श्रेष्ठ बताउनुहुन्छ ।
रिगलको माफी प्रकरणले राज्य संचालकहरुले राजनीतिक आवरणमा अपराधलाई कसरी प्रश्रय दिँदै आएका छन् भन्ने पर्दाफास पनि गरेको छ । गत संविधान दिवसको दिन मात्रै राष्ट्रपतिले माफी दिएका जघन्य अपराधका १७० जना जेलबाट छुटेको खुलासा भएको छ । राजनिती र अपराध सगोत्री रहेको नेपालमा उच्च पदस्थ व्यक्तित्वबाट अन्तर्राष्ट्रिय अभ्यासको अपब्याख्या गर्ने गरेको विश्लेषण पनि भईरहेको पीडितशास्त्री डा. शंकर कुमार श्रेष्ठ बताउनुहुन्छ ।
हुन त वर्तमान राष्ट्रपति पौडेलले मात्रे गलत अभ्यास गर्नुभएको होइन । यस अघिका सरकारले पनि आफ्ना आसेपासे र पार्टीका गुण्डाहरुका सातखतमा आँखा चिम्लिएर माफी दिँदै आएकोमा शंका छैन । पीडित परिवारले गुपचुप सहेका कारण उनीहरु विवादमा पर्नबाट जोगिएका मात्रै हुन ।
अहिले भारती मानन्धरले न्यायका लागि सर्वोच्च अदालतको ढोका ढक्ढकाउनु भएको छ । आम मानिसका आँखा पनि सर्वोच्चतिर नै सोझिएका छन् । भारतीले काठमाडौंका सडकमा बगाएका आँसुले न्याय नपाउने हो भने यो देशमा कसैले पनि न्याय पाउने आशा नगरे हुन्छ ।