नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले इजरायलमा रहेका नेपालीहरूको जीवनरक्षा गर्न आग्रह गर्नुका साथै ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा अक्टुबर ९, २०२३ को मध्यरातमा शोकवक्तव्य जारी गर्दै मूल प्रवाहले मृतकका आफन्तप्रति गहिरो समवेदनासमेत व्यक्त गरेको हो ।
वक्तव्यमा यसअघि पनि नेपालबाहिर नेपालीले पटक पटक ज्यान गुमाउनुपरेको स्मरण गराउँदै राज्यसत्ता जनताप्रति उत्तरदायी नहुँदा यसरी विभिन्न समयमा नेपाली नागरिकले ज्यानु गुमाउनुपरेको बताइएको छ ।
वक्तव्यमा लेखिएको छ :
“इजरायलमा भएको त्रासदीपूणर् घटनामा परि ज्यान गुमाएका सम्पूर्ण नेपाली विद्यार्थीहरूप्रति हाम्रो संगठन भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं, साथै सम्पूणर् घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
देशमा उपर्युक्त शिक्षा र रोजगारको अभावमा प्रवासीएकाहरु माथि पर्ने गरेका यस प्रकारका मानवीय संकटहरुबाट नेपालीहरुले कैयौं पटक अनाहक मै ज्यान गुमाउँदै आइरहेका छन् । आजभन्दा करिब २० वर्ष पहिला इराकमा १२ जना नेपालीहरुले अनाहक मै ज्यान गुमाएका थिए । २०६१ साल भदौमा जोर्डन हुँदै इराक पुगेका नेपाली १२ जना नागरिकलाई इराकी अतिवादी समूह सुन्नीले २०६१ साल भदौ १५ गते राति हत्या गरेको थियो । त्यस्तै भारतको जम्मु कश्मिर र पूर्वोत्तरको कार्विआङलाङमा पनि कैयौं नेपालीहरुले ज्यान गुमाएका थिए । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक रुपमा विदेशी भूमिमा ज्यान गुमाउनेहरुको शव बाकसमा बन्द भएर आएका दृष्यहरु जोकसैले पनि देखेको वा थाहाभएको विषय हो । यो सबै हुनुको मुख्य कारण राज्य र राज्यसत्तामा रहेका शासक वर्ग जनताप्रति उत्तरदायी नहुनुले नै हो । देशमा उचित शिक्षा र रोजगारको व्यवस्थापन हुनसके कुनै नेपालीले विदेशी भूमिमा अनाहक मै ज्यान गुमाउनु पर्ने स्थितिमा न्यून हुने थियो ।
आज देशमा सत्तासिन राजनीतिक दलहरुको आड र मिलिभगतमा कैयौं मेनपावरहरुले ‘लर्न एण्ड अर्न’ को नाममा नेपाली युवाहरुलाई विदेश पलायन गराइरहेका छन् । हालै कृषि सम्बन्धि अध्ययन गर्न ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत तीन विश्वविद्यायका २६५ विद्यार्थी इजरायल गएका थिए । जसमा सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना थिए, जस मध्यका १७ जना विद्यार्थीहरू बसेको बंकरमाथि हमास समूहका विद्रोहीहरूले आक्रमण गर्दा १० जना विद्यार्थीले ज्यान गुमाएको समाचार छ । कैयौं विद्यार्थीहरु बंकर मै फसेको हुनसक्ने समाचारहरु पनि आइरहेका छन् । त्यस्तै रोजगारका लागि गएका नेपालीहरुको जीवन पनि जोखिममा रहेको समाचारहरु आइरहेका छन् ।
मानवीय संकटको यस घडीमा नेपाल सरकारले जुनसुकै उपाए अपनाएर भए पनि आफ्नो देशका नागरिकको स्थिति पत्ता लगाई उनीहरूको जीवनरक्षा गर्न र उद्धार गर्नका लागि गम्भीरतापूर्वक पहलकदमीका लागि अपिल गर्दछौँ ।”
……………
ठाकुर खनाल
(अध्यक्ष)