इजरायल घटनाका मृतकप्रति अन्तर्राष्ट्रिय नेपाली एकता समाजको श्रद्धाञ्जली

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले इजरायल घटनामा ज्यान गुमाएका दस जना नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा निजका शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८० असोज २३ गते मङ्गलबार जारी प्रेसवक्तव्यमार्फत समाजले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको हो ।

प्रेसवक्तव्यमा समाजले घाइतेको शीघ्र उपचार तथा मृतकका शव नि:शुल्क परिवारसमक्ष पुर्‍याउन पनि माग गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“अक्टोबर ७, २०२३ का दिन इजरायलमाथि प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासद्वारा गरिएको आक्रमणमा परी दस जना नेपालीसमेत मारिएको र कैयौँ घाइते भएको घटनाप्रति अन्तर्राष्ट्रिय नेपाली एकता समाजले गम्भीर दुख प्रकट गर्दछ ।

नेपालमा रोजगारीको अवस्था सिर्जना नहुँदा लाखौँ नेपाली कामकै खोजीमा संसारभरि भौतारिरहेको सन्दर्भमा पछिल्लो केही समययता नेपाली विद्यार्थीसमेत विदेश जान थालेका छन् । इजरायलमा पनि धेरै नेपाली कामदारको रूपमा र केही विद्यार्थीको रूपमा कार्यरत रहेका छन् ।

लामो समयदेखि प्यालेस्टाइन र इजरायलका बिचमा युद्ध चल्दै आइरहेको स्थितिमा त्यहाँ नेपालीहरूले ज्यान गुमाउनुपर्ने अवस्था उत्पन्न हुनु नेपाल र नेपालीका लागि अत्यन्तै दुखद र पीडादायी हो । अहिले इजरायलमा दस जना नेपाली विद्यार्थीले ज्यान गुमाइसकेको र कैयौँ अङ्गभङ्ग र घाइते भएका छन् ।

यस दुखद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै नेपाल सरकारले तत्काल कूटनैतिक पहलमार्फत घाइतेहरूको उद्धार र मृतकको शव घरपरिवारसमक्ष नि:शुल्क पुर्‍याउने व्यवस्था गर्न जोडदार माग गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार