काठमाडौँ । काठमाडौँको कपन–ज्योतिनगरस्थित राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनमा सहयोगदाताको नाम कालो रङको ग्रेनाइटमा स्वर्णअक्षरमा लेखिने भएको छ । २०८० कात्तिक २१ गते मङ्गलबारदेखि शिलालेखन कार्य सुरु भएको हो ।
राजमो केन्द्रीय कार्यालयका अनुसार सहयोगदाताको नाम कालो रङको ग्रेनाइटमा स्वर्ण (Golden Color) अक्षरले लेखिने छ । लेखनकार्यका लागि केही महिना लाग्ने राजमोले जनाएको छ ।
सहयोगदाताको नामावली २०७५ सालमा पहिलोपटक “हाँक” साप्ताहिकमा प्रकाशित भएको थियो । सोही नामावली एकपटक पुन: युगदर्शन डट कममा २०८० कात्तिक १ गते प्रकाशन भएको थियो । सो नामावलीमाथि कात्तिक ६ गतेभित्र सुझाव दिन भनिएको थियो ।
उक्त नाममा जनस्तर र सम्बन्धित समितिमार्फत कैयौँ टिप्पणी आएका थिए । त्यसलाई समेट्दै पुन २०८० कात्तिक ९ गते नामावली सार्वजनिक गरिएको थियो । उक्त नामबारे कुनै संशोधन वा छुट भएमा कात्तिक १२ गते आइतबारसम्म जानकारी दिन आग्रह गरिएको थियो ।
सो सूचनाअनुसार आएका सुझाव समेट्दै तयार भएको नामावली अहिले शिलालेखमा पठाइएको छ ।
राजमोले दस हजार नेपाली रुपियाँभन्दा माथि सहयोग गर्ने सहयोगदाताको नाम भवनमा लेख्ने पहिल्यै घोषणा गरेको थियो । सोहीअनुसार अहिले ग्रेनाइटमा नामावली लेखन प्रक्रिया अगाडि बढेको हो ।