गठबन्धनको विघटन हुनु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन २१ गते सोमबार जारी प्रेसवक्तव्यमा पार्टीको यस्तो धारणा अभिव्यक्त भएको हो ।

पूर्व गठबन्धनले प्रतिगमन विरुद्ध ऐतिहासिक र महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै पार्टीले त्यसको विघटनबाट प्रतिगमनलाई बल पुगेको बताएको छ ।

बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको पक्षमा मसाल गम्भीर रहेको बताउँदै पार्टीले आफूहरू त्यसको पक्षमा लगातार सङ्घर्ष गर्ने प्रतिबद्धता वक्तव्यमा व्यक्त गरिएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“आज पूर्व गठबन्धनको विघटन भएको कार्यप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ गठबन्धन सरकारको निर्माण भएको छ ।

प्रतिगमनका विरुद्धको सङ्घर्षमा पहिलेको गठबन्धनको ऐतिहासिक र महत्त्वपूर्ण भूमिका रहेको थियो । त्यो गठबन्धनको विघटनबाट प्रतिगमनलाई बल पुग्ने सम्भावना देखा परेको छ । त्यसैले हाम्रो पार्टीले पूर्व गठबन्धनको विघटनलाई गलत मान्दछ र त्यो कार्यको तीव्र आलोचना गर्दछ ।

वर्तमान सरकारको नीति र कार्यक्रम कस्तो हुने छ ? त्यो कुरा आउने दिनमा प्रष्ट हुँदै जाने छ र त्यसको लेखाजोखा गरेर नयाँ सरकारप्रति हाम्रो पार्टीले आफ्नो नीति निर्धारित गर्ने छ ।

हाम्रो पार्टीले पहिले झैँ अहिले पनि बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षतामा जोड दिन्छ । त्यसका साथै यो कुराप्रति पनि हाम्रो पार्टीको ध्यान छ कि आज ती सबैका विरुद्ध खतरा बढ्दै गइरहेको छ । त्यसका साथै देशको राष्ट्रियताका अगाडि पनि गम्भीर खतरा बढ्दै गएको छ । यी सबै प्रश्नमा हाम्रो पार्टीले गम्भीर ध्यान दिने छ र बहुदलीय व्यवस्था, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता तथा व्यापक जनहितसमेतका लागि लगातार र दृढतापूर्वक सङ्घर्ष गर्दै जाने प्रतिबद्धता प्रकट गर्दछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार