दाङ । दाङमा आगलागीका घटना बढ्दै गएपछि राष्ट्रिय जनमोर्चा दाङले त्यसप्रति उच्च सावधानी अपनाउन आग्रह गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले २०८१ वैशाख १७ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै वक्तव्य यस्तो आग्रह गरेको हो ।
वक्तव्यमा दाङका राजपुरलगायतका विभिन्न स्थानमा आगलागीबाट कैयौँ घरसहित सिङ्गो बस्ती नै उजाड भएको उल्लेख छ । पीडितहरू गास, बास, कपास जस्ता आधारभूत समस्याबाट अत्तालिरहेको बताउँदै राजमोले तीनै तहका सरकार र जनताका विभिन्न तप्कासित सहयोगको अपिल गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्णै पाठ :
“अहिले जिल्लाका धेरै ठाउँमा आगलागीका घटना भइरहेका छ्न । त्यसले ठुलो क्षति पनि भइरहेको छ । गर्मी बढ्दो क्रममा छ । मौसमविद्का अनुसार अझै गर्मी बढने अनुमान छ । त्यसैले उच्च सावधानी आवश्यक छ । हामीले सम्पूर्ण नागरिकमा उच्च सावधानीका लागि अनुरोध गर्दछौँ ।
कतिपय ठाउँमा लामो समयसम्म जङ्गलमा आगलागी भएर बोटबिरुवा र वन्यजन्तुलाई नोक्सानी हुनुका साथै पर्यावरणमा समेत असर गरिरहेको छ । कतिपय ठाउँमा मानव बस्ती नै समाप्त गरेको छ । वैशाख १६ गते राजपुर गाउँपालिका–७ हाडबासको मानव बस्तीमा आगलागी हुँदा २४ घर पूर्ण रूपमा नष्ट भएर सिङ्गो बस्ती नै उजाड भएको छ । त्यहाँ अहिले बस्ने बास, खाने गाँस र लगाउने लत्ताकपडासमेत नभएर नागरिकहरू अत्तालिरहेको अवस्था छ । त्यसैले दुःखमा परेका नागरिकको उद्धार र राहतका लागि सहयोग गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्पूर्ण सामाजिक सङ्घसंस्था, उद्योग वाणिज्य सङ्घसहित सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गर्दछौँ ।”