काठमाडौँ । नेकपा (मसाल) ले एमसिसी सम्पूर्ण रूपमा अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । एमसिसीबारे राय दिन गठित सत्तारूढ दल नेकपाभित्रको कार्यदलले बुझाएको प्रतिवेदनको सन्दर्भमा पार्टीको सो धारणा सार्वजनिक भएको हो । कार्यदलको अवधारणा सार्वजनिक नगरिएको अवस्थामा मसालले भनेको छ– कार्यदलले जे–जस्तो राय दिए पनि एमसिसीलाई संशोधनसहित पारित गर्ने होइन, त्यसलाई सम्पूर्ण रूपमा अस्वीकार गर्नुपर्दछ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७६ फागुन ९ गते जारी प्रेस वक्तव्यमा पार्टीको सो धारणा सार्वजनिक भएको हो । वक्तव्यमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा भएको भ्रष्टाचारबारे उच्चस्तरीय छानबिन गर्न नेकपा (मसाल) ले मागसमेत गरेको छ । उक्त घटनाले सरकारभित्रै गम्भीर प्रकारको भ्रष्टाचार व्याप्त भएको कुरा उदाङ्गो भएको भन्दै पार्टीले सो माग गरेको हो ।
वक्तव्यमा अगाडि भनिएको छ– “सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचारको काण्डप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यो काण्डले सरकारमा गम्भीर प्रकारको भ्रष्टाचार व्याप्त भएको कुरालाई पुनः उदाङ्गो बनाएको छ । त्यसकारण हामीले अन्य भ्रष्टाचारका काण्ड, जस्तै– उक्त सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी काण्डबारे पनि उच्चस्तरीय छानबिन गरेर सबै दोषीलाई कडा सजाय दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।
नेकपाले गठन गरेको एमसिसीसम्बन्धी आयोगले आफ्नो प्रतिवेदन नेतृत्वलाई बुझाएको कुरा प्रेस माध्यमले बाहिर ल्याएका छन् । तर त्यो प्रतिवेदनमा उनीहरूले के राय दिएका छन् ? आधिकारिक रूपमा त्यो कुरा सार्वजनिक गरिएको छैन । तर उनीहरूको राय जे–जस्तो भए पनि एमसिसीलाई कुनै संशोधनसहित पारित गर्ने कुरालाई हाम्रो पार्टीले दृढतापूर्वक विरोध गर्दछ र त्यसलाई सम्पूर्ण रूपले अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
एमसिसीबारे जुनसुकै प्रकारले भ्रम दिने वा वास्तविकतामाथि पर्दा हाल्ने प्रयत्न गरिए पनि सार रूपमा त्यो इन्डो–प्यासिफिक रणनीतिको नै अङ्ग भएको र त्यसको मुख्य उद्देश्य अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै भएको कुरा दिनको उज्यालो झै छर्लङ्ग छ । त्यसकारण त्यसले कुनै पनि अवस्थामा नेपालको हित नगर्ने र त्यसलाई स्वीकार गरेमा नेपालको असंलग्न नीति समाप्त हुने छ र हाम्रो देश घोषित रूपमा नै अमेरिकी साम्राज्यवादको रणनीतिक गोटी बन्न जाने कुरा प्रष्ट छ । त्यसकारण हाम्रो पार्टीले त्यसलाई अस्वीकार गर्नका लागि सबै देशभक्त जनताको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।”