- सुमन सङ्गम
तिमीलाई अनेकौं प्रश्न
सोध्न मन लागिरहेछ..
तिमी जन्मेको यो धर्ती
म जन्मेको यो माटो
एउटै थियो
म मुस्कुराउन नपाउँदै
फेरि यहि माटोले
तिम्रो गन्तव्य तय गर्यो…
धेरै प्रश्नहरू तिमीसंग सोध्न बाँकी नै रहे
तिम्रो आँखामा आँसु देख्दा
अवोध मानसपटलमा
तिमीले नै सिकाएका
कर्कलाको पातमा
टिलपिलाउने जूनको पानी लाग्थ्यो
आँसुका थोपासंग मुस्कुराउँदै
सन्तान प्रतिको वात्सल्य
ग्वाम्लाङ्ग अङ्गालो मारेर
बादल पछिको छ्याङ्ग खुलेको .
आकाश जस्तै देखिन्थ्यौ…
प्रेमको खाँचो हुँदा
जूनसंग कसरी आफूलाई डुबायौ ??
मनको वह
बादलको झरिसंग कसरी पोख्यौ??
मन फाटेको बेला सृष्टि जत्तिकै
ठुलो हृदय बनाउँथ्यौ..
कसरी सक्यौ आमा?
त्यो नदि अनि कन्दरासंग
त्यो घाम उदाउने क्षितिजसंग
तिम्रो बारेमा सोध्न मन छ
तिम्रा ती हातले कसरी सक्यो
पुषको कठ्याङ्ग्रीदो
चिसोमा पनि तान बुन्न ??
तिमीलाई सोध्ने अनेकौं
यक्ष प्रश्न मध्ये …
एउटै प्रश्न सोध्न मन छ
मनमा पीडा हुँदा पनि मुस्कुराउँथ्यौ
कसरी सक्यौ
तिमिले दुखमा पनि मुस्कुराउन ?
कसरी सक्यौ
रुदै हाँसेको अभिनय गर्न ??
(“माइतीघरको फूल” कविता संग्रहबाट )