संघीयता नेपाल र नेपालीको लागि बोझ बनेको छः सिंह

  • एक दिवसीय कार्यशाला नयाँ दिल्लीमा भव्यरुपमा सम्पन्न
  • नयाँ दिल्ली, ९ फरवरी । नेपाल र नेपालीको लागि संघीयता दिन प्रतिदिन बोझ बन्दै गएको नेकपा (मसाल) का महामन्त्रि मोहनविक्रम सिंहले बताउनु भएको छ । महामन्त्री सिंहले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न एक दिवशीय कार्यशालालाई सम्बोधनको क्रममा सो धारणा राख्नु भएको हो ।

    ‘संघीयता नेपाल र नेपालीको लागि दिन प्रतिदिन बोझ बन्दै गएको छ । यसको तत्काल खारेज गर्नुको विकल्प छैन ।’ सिंहले भन्नु भयो– ‘आर्थिक रुपले देश झन पछि झन कंगाल बन्दै गएको छ । वैदेशिक ऋणको भारी हरेक नेपालीको टाउकोमा थोपरिएको छ । एक पछि अर्को गर्दै हामी नेपालीहरु अन्य देशको आश्रीत बन्दै गएका छौं ।’

    ‘नेपालमा सङ्घीयताका थुप्रै असर वा दुष्परिणाम देखा पर्दै गइरहेका छन् । सङ्घीयताको मुख्य दुष्परिणाम नेपालको राजनीतिक क्षेत्रमा देखा परिरहेको छ ।’ महामन्त्रीले भन्नु भयो– ‘प्रदेश र केन्द्रका बिचमा लगातार द्वन्द्व चलिरहेको छ । केन्द्रले दिएका अधिकार अपर्याप्त भएको वा प्रदेशप्रति हेपाहा नीति वा केन्द्रीकृत मानसिकता भएको विषय जबरजस्त ढङ्गबाट उठिरहेको छ ।’ सिंहले यो प्रवृत्तिले विखण्डनकारी क्षेत्रीयतावादी सोचाइ विकास हुँदै गएको बताउनु भयो ।

    ‘नेपालमा राष्ट्रिय आवश्यकताका आधारमा नभएर विदेशी शक्तिको दबाबको कारणले सङ्घीयता जबरजस्ती लाद्ने काम भएको हो ।’ सिंहले अगाडि भन्नु भयो– ‘सङ्घीयताको तत्कालीन उद्देश्य पहाडबाट तराई टुक्राउने, एक मधेस एक प्रदेश निर्माण गरि बेग्लै राज्य बनाउने र अन्ततः त्यसलाई भारतमा गाभ्ने राष्ट्रिय अखण्डता विरुद्धको षड्यन्त्रले काम गरेको थियो र अहिले पनि त्यो पक्षले काम गरिरहेको छ ।’
    सिंहले स्वदेशमा चल्ने विभिन्न न्यायिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका रहँदै आएको बताउनु भयो । राष्ट्रिय जनमोर्चाले आगामी २४ देखि ३० सम्म चल्ने राजधानी केन्द्रीत आन्दोलनलाई पनि आर्थिक, नैतिक एवं भौतिक रुपमा सहयोग गर्न अपिल समेत गर्नु भयो ।

    आन्दोलन सफल पार्न आर्थिकको खाँचो छ : शर्मा

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले कुनै पनि आन्दोलनलाई सफल पार्न आर्थिकको पनि निकै महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

    ‘पैसा आफैमा साध्य नभएर साधन भएता पनि, आन्दोलन सफल पार्न आर्थिक पाटोको पनि महत्वपूर्ण भूमिका रहन्छ ।’ शर्माले भन्नु भयो– ‘कुनै बुर्जुवा पार्टीले नेतृत्व नगरेर यो श्रमजिवी वर्गको पार्टीले नेतृत्व गरेको हुँदा धेरै अभावहरुका बावजुध आन्दोलन सफल पार्न लागेका हौं ।’ शर्माले उक्त आन्दोलनलाई प्रवासी नेपालीहरुले पनि चौतर्फी रुपमा सहयोग पु¥याउनु पर्ने आशा राखेको बताउनु भयो ।

    महिलाहरु पनि आन्दोलनमा सरिक बनौं : दुर्गा पौडेल

    राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले महिलाहरु पनि राष्ट्रियताको रक्षाको आन्दोलनमा सरिक हुन आव्हान गर्नु भयो ।

    ‘मानव समाजका जननी हामी महिलाहरु अब मातृभूमि रक्षाको लागि अगाडि सरिक हुनुपर्ने आवश्यकता छ ।’ पौडेलले भन्नु भयो– ‘हामी महिलाहरु विगत लामो समयदेखि विभिन्न प्रकारका वाधा र व्यवधानका विरद्धमा संघर्षरत छौं, अब नेपालको अखण्डताको लागि पनि संघर्षमा होमिनु पर्ने वाध्यता श्रृजना भएको छ ।’

    मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालको अध्यक्षता एवं महासचिव प्रेम पौडेलको सञ्चालन र उपाध्यक्ष कपिल खनालको स्वागत मन्तव्यबाट अगाडि बढेको सो कार्यक्रममा हिमाचल, पञ्जाब, हरियाणा, राजस्थान, उत्तर प्रदेश र दिल्ली लगायतका राज्यहरुबाट कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो । कार्यक्रमको अन्तमा सचिवालय सदस्य धनवीर पुन मगरले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार