अपराधीलाई हदैसम्मको कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सांसद राजेशको माग

  • "सिराहामा दलित उत्पीडन "
  • काठमाडौँ । सिराहाको औरही–५ हुलाकी सडकछेउ बसिरहेका दीपक मरिक (डोम) को घर भत्काइएपछि राष्ट्रिय जनमोर्चाका केन्द्रींय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले अपराधीलाई हदैसम्मको कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।

    २०८१ चैत ८ गते शुक्रबार राष्ट्रियसभाको शून्य समयमा विषय उठान गर्दै सांसद विश्वकर्माले सो माग गर्नुभएको हो ।

    ‘सरकारले तुरुन्त ती अपराधीलाई पक्राउ गरेर हदैसम्मको कारबाही गरोस्’ उहाँले भन्नुभयो–’पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरोस् भन्ने मैले माग गर्न चाहन्छु ।’

    मन्तव्यको क्रममा उहाँले औरही गाउँपालिकाका अध्यक्षको नेतृत्वमा घर भत्काइएको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो–’विष्णु महायज्ञ लगाउने ठाउँमा दलितहरू हिँडडुल गर्न नहुने भनेर दीपकको घर भत्काएर त्यहाँ जातीय छुवाछुत र भेदभावको चरम नमुना देखाइएको छ ।’

    सो स्थानमा यही चैत १७ गतेदेखि विष्णु महायज्ञ लगाउने भन्दै जनता आवाज कार्यक्रमअन्तर्गत गत ३० वर्षदेखि बस्दै आएका दीपकको घर भत्काइएको थियो । उनी बसेको घरको माटोसमेत अशुद्ध हुने भन्दै डोजर लगाएर त्यहाँको दुई फिट तलसम्मको माटो खनेर फ्याँकिएको थियो ।

    सांसद राजेशका अनुसार उनीहरू त्यहाँदेखि पाँच सय मिटर पर बिजुलीपानीको व्यवस्था नभएको स्थानमा अस्थायी रूपमा बसोबास गरिरहेका छन् ।

    पीडित दीपक गाउँपालिकाको सफाइ कर्मचारी भएकाले निजले विरोधको आवाज उठाउन नसकेको बताइएको छ ।

    घटनामा बजरङ्गी बाबा, गाउँपालिका अध्यक्ष शिवाजी यादव र पूर्व वडाअध्यक्ष दिलिप यादवलगायतको भूमिका रहेको सांसद राजेशले युगदर्शनलाई बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार