
काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) का एसिया कोअर्डिनेटर सञ्जय सिङ्घवीको निधन भएको छ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मासलाइनका पोलिटब्युरो सदस्यसमेत रहनुभएको सिङ्घवीको अप्रिल २३, २०२५ राती १० बजे मुम्बईको हिन्दुजा अस्पतालमा निधन भएको हो ।
मासलाइनका नेता प्रदीपसिंह ठाकुरका अनुसार उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । स्मृतिशेष सिङ्घवी गत ४० वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ टियुसिआईको पनि महासचिव रहिसक्नुभएको थियो ।
“कमरेड सञ्जयको मृत्यु हाम्रो पार्टी र हाम्रो देशको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय स्तरमा ठुलो क्षति हो” ठाकुरले लेख्नुभएको छ– “कमरेड सञ्जयको मृत्यु हाम्रो पार्टी र हाम्रो देशको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको लागि ठुलो क्षति हो । कमरेड जेनप्रति केन्द्रीय समितिले गहिरो समवेदना व्यक्त गर्दछ ।”
उहाँले कमरेड सञ्जयको सपना स्वतन्त्र, लोकतान्त्रिक र समाजवादी भारत निर्माण गर्नु रहेको पनि बताउनुभएको छ ।
मूल प्रवाहद्वारा श्रद्धाञ्जली
यता, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पनि शोकवक्तव्य जारी गर्दै सिङ्घवीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष ठाकुर खनालद्वारा अप्रिल २३ गते नै सामाजिक सञ्जालमा वक्तव्य सार्वजनिक गर्दै शोक व्यक्त गरिएको हो ।
वक्तव्यमा भनिएको छ– “भाकपा (मार्क्सवादी–लेनिनवादी) मासलाइनका पोलिटब्युरो सदस्य सञ्जय सिङ्घवीको निधनको खबरले स्तब्ध बनायो ।
सादा जीवन उच्च विचारलाई व्यवहारमा उतार्ने उहाँ क्रान्तिकारी हुनुहुन्थ्यो । सम्भ्रान्त पारिवारिक पृष्ठभूमिको बाबजुद मजदुरको सुखदुखमा हमेसा साथ दिने तथा उनीहरूको हकहितमा कानुनी एवम् सडक सङ्घर्षमा निरन्तर सकृय हुनुको ट्रेड युनियन सेन्टर आफ इन्डिया (टियुसिआई) को महासचिव हुनुहुन्थ्यो । वहाँ र टियुसिआईसँग हाम्रो लामो वैचारिक एवम् भाइचारा सम्बन्ध रहँदै आएको थियो । भारतका विभिन्न स्थानमा संयुक्त मजदुर आन्दोलनमा सहकार्यको दौरान भएको भेट दुई देशको वामपन्थी आन्दोलन एवम् विश्व कम्युनिस्ट आन्दोलनको बारेमा चर्चा परिचर्चा भइरहन्थ्यो ।
वरिष्ठ अधिवक्तासमेत रहेका सिङ्घवी लामो समयदेखि घातक रोग क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । गत ३ मार्च २०२५ का दिन उहाँको मुम्बईस्थित ल फर्ममा भेट भएको थियो । बिमारीले गर्दा शरीर धेरै थकित भएता पनि उहाँको मनोबल धेरै मजबुत थियो ।”