प्यारी जुनेली,
मीठो सम्झना, छोराछोरीलाई पनि न्यानो माया, बाबा आमालाई ढोग छ।
तिमीरु सबै त्यहाँ सन्चै आरामै छौ होला, म पनि यहाँ सन्चै नै छु ।
दु:खको कुरा आज 10 दिन भै सक्यो सानो कोठामा बन्दी बनेर बसेको छु ।
समाचारहरुको माध्यमबाट थाहा नै पायौ होला । अहिले यो कोरोना भन्ने बिमारीले सम्पूर्ण जगतलाई संक्रमित बनाएको छ,हजारौं मानिसहरुको ज्यान लिइसकेको छ र मर्ने क्रम जारी नै छ ।
म बसेको देश पनि यस बिमारीबाट अछुतो रहेन, यहाँ पनि मानिसहरु दिनहुँ संक्रमित हुँदैछन्, मानिस मरिरहेका छन् । सौभाग्यले भनौँ या के भनुँ अहिलेसम्म त म सुरक्षित नै छु । मेरो चिन्ता नगर्नु तर भोलिको अबस्था के हुने हो यो कसैलाई थाहा छैन ।
बिरान छ,सहर बजार रोडहरु शुन्यतामा हराएका छन् । कर्फ्यू लागेको छ, बाहिर निस्कन पनि पाईदैन।
समाचारको माध्यमबाट यति मरे उति मरे भन्ने खबरहरुले मनमा भय पैदा गरिदिन्छ ।
आज बन्द कोठाबाट यो सोचिरहेको छु कि त्यो आकाशमा उड्ने पंक्षीलाई पिंजरा भित्र कती अत्यास लाग्दो होला !
स्वदेशमा बस्दा गरीबीको पींडा थियो तर परदेशमा पनि पींडाहरुले कुनै न कुनै रुपमा पछ्याई रहेको छ ।
कारखानाको मालिकले कारखाना अस्थायी रूपमा बन्द गरिदिएका छन् । हामी मजदुरहरुलाई रोजिरोटिको चिन्ता छ, तनखा कहाँबाट आउँछ ? कोठाभाडा कहाँबाट बझाउने हो, अब के खाने कहाँ जाने ?
के कमाएर घर पठाउने हो । यस्तो अबस्थामा चाहेर पनि स्वदेश फर्कन पाईदैन । मलाई थाहा छ यस्तो अबस्था केही समयको लागि हो, तर कति समय त्यो थाहा छैन ।
कोरोना नियन्त्रणमा कहिले र कसरी हुन्छ यो कुरा सम्बन्धित विद्वानहरुलाई पनि थाहा छैन ।
नेपालमा पनि कोरोनाले प्रवेश गरेको छ, यस बिमारीबाट एक जना संक्रमित भएको खबर छ, नेपालमा पनि बन्दको घोषणा गरेको छ ।
प्यारी जुनेली
आफ्नो र सबै परिवारको ख्याल गर्नु,
भिडभाड बाट बच्नु,।
साबुन पानीले नियमित हात धुनु
करेसाबारीमा साग सब्जी फलाएर खानु
आँटो पिठो ढिंडो खानु
बजारिया खाना नखानु
बासी खाना नखानु ।
मलाई आशा छ मानव जाति माथी आएको यो चुनौती हामीले जित्ने छौं, कोरोना बिमारीलाई हराउने छौं र सकुशल छिट्टै नै स्वादेश फर्कने छु ।
अहिलेलाई यत्ति नै बाँकी अर्को पत्रमा ।
उही
तिमीलाई माया गर्ने मान्छे